अन्तर्वार्ता

'सही उपचारका लागि प्रयोगशाला गुणस्तरीय हुनैपर्छ'

img

प्रवीण ढकाल

 डा रुना झा, वरिष्ठ कन्सल्ट्यान्ट प्याथोलोजिष्ट (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु)


स्वास्थ्य मन्त्रालयले देशभरमा रहेका र भविष्यमा स्थापना हुने प्रयोगशालालाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन नयाँ निर्देशिका कार्यान्वयनमा ल्याएको छ। प्रयोगशालाको नियमनका लागि छुट्टै कानुन नहुँदा यो क्षेत्रमा विकृति बढेको भन्दै मन्त्रालयले ‘प्रयोगशाला स्थापना, सञ्चालन तथा मापदण्ड सम्बन्धी निर्देशिका, २०७३’ ल्याएको हो। उक्त निर्देशिका निर्माणका क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत डा. रुना झा सक्रिय रुपमा सहभागी थिइन्। प्रयोगशालाका क्षेत्रमा भएका बेथिती रोक्न उनले लामो समयदेखि आवाज उठाउँदै आएकी थिइन्। उनीसँग स्वास्थ्य खबरले गरेको कुराकानीः

प्रयोगशालालाई नियमन गर्ने निर्देशिका आएसँगै यसको कार्यान्वयनमा प्रश्न उठ्न थालेको छ नि ?

बिरामीको रोग पहिचान गर्दै उपचारका लागि मार्ग निर्देश गर्ने महत्वपूर्ण पाटो प्रयोगशाला रिपोर्ट नै हो। त्यसकारण प्रयोगशाला सधैं गुणस्तरीय हुनुपर्छ। तर, नियमन नहुँदा प्रयोगशालाको क्षेत्रमा केही विकृति देखिएका छन्। प्रयोगशालालाई व्यवस्थित र मर्यादित बनाउन र गुणस्तरमा कुनै ‘कम्प्रमाइज’ नगर्न निर्देशिकाको आवश्यकता परेको हो। निर्देशिका ल्याउन निकै ठूलो मेहनत परेको छ। निर्देशिका आएसँगै यसको कार्यान्वयन पनि अगाडि बढीरहेको छ। तर, कार्यान्वयन गर्ने क्रममा चुनौतीहरु आउनु स्वभाविक हो। ती सबै चुनौतीको सामना गर्दै निर्देशिकाको कार्यान्वयन तर्फ अगाडि बढ्नुपर्छ। आजको भोलि सबै बुँदा कार्यान्वयनमा ल्याउन केही कठिनाई पक्कै हुन्छ। त्यसकारण निर्देशिकाका हरेक बुँदालाई प्राथमिकताका आधारमा क्रमशः कार्यान्वयनमा ल्याइएको छ। ‘निर्देशिका त आयो तर कार्यान्वयन हुँदैन’ भन्दै हल्ला गर्नेहरु पनि छन्। तर, यी सबै हल्ला गलत हुन्। निर्देशिकाका धेरै बुँदा कार्यान्वयनमा आइसकेका छन्। केही कार्यान्वयनमा आउने क्रममा छन्। सरकारले ल्याएको नियम सबैले मान्नु पर्छ। यदि कसैले मान्दैन भने नियम अनुसार कारवाहीको दायरामा आउँछन्। 

भनेपछि अब भर्‍याङमुनिका प्रयोगशाला बन्द हुन्छन् ?
बिरामीको उपचारको महत्वपूर्ण अंग भएर पनि प्रयोगशालालाई प्राथमिकतामा राख्ने गरेको पाइन्न। पछिल्लो समयमा बल्ल यसको महत्व बुझ्ने जमात बढ्दै गएको छ। अस्पतालहरुको आम्दनीको स्रोत भएर पनि प्रयोगशालालाई अँध्यारो र सानो कोठामा, भर्‍याङ मुनि राख्ने चलन थियो। तर, अब यो सोचमा परिवर्तन आउन थालेको छ। प्रयोगशाला गुणस्तरीय हुन भौतिक पूर्वाधारसँगै जनशक्ति, उपकरण तथा केमिकल पनि गुणस्तरीय हुनुपर्छ भन्ने सोचको विकास भइसकेको छ। अस्पतालहरुले क्रमशः भर्‍याङ मुनिका प्रयोगशालालाई विस्थापित गर्दै गुणस्तरीय र आकर्षक बनाउन सुरु गरिरहेका छन्। 

तर, साना क्लिनिक तथा उपत्यका बाहिर त यो समस्या उस्तै छ नि ?
हामीले पनि अनुगमनका क्रममा सानो काठले बारेर अगाडि औषधि पसल पछाडी ल्याब चलाएको पनि भेटेका छौं। विगतमा त्यस्ता ल्याबलाई कडा कारवाही गर्न सक्ने अवस्था थिएन। तर, अब यस्ता ल्याब भेटियो भने मापदण्ड पूरा गर्न एक माैका  दिइन्छ। यति हुँदा पिन सुधार गरेनन् भने बन्दै गर्न सकिन्छ।

एकैपटक बन्द गराउन मिल्दैन र ?
नमिल्ने त होइन । तर, कोही सुधारेर सबै मापदण्ड र गुणस्तर पूरा गर्न चाहन्छ भने किन मौका नदिने भन्ने हो। यसरी मौका दिँदा उनीहरुलाई निश्चित समयसीमा दिइन्छ। त्यो अवधिमा मापदण्ड र गुणस्तर पूरा गरेर आउनेले चलाउन पाउँछन्। तर, सुधार्न चाहँदैनन् भने त बन्द नै गर्ने हो।

ल्याबलाई कसरी गुणस्तरीय बनाउने ?
ल्याबलाई गुणस्तरीय बनाउन नै यो निर्देशिका ल्याइएको हो। यो निर्देशिकामा ल्याबलाई पाँच समूहमा विभाजन गरेर मापदण्डहरु तोकिएका छन्। समूह अनुसार नै ल्याबका लागि चाहिने भौतिक पूर्वाधार, जनशक्ति, उपकरण, केमिकल लगायतका आवश्यक कुराहरु तोकिएको छ। ती सबै कुरा पूरा नगरी ल्याब सञ्चालनको स्विकृति नै पाइँदैन। नयाँ खुल्ने ल्याबले ती कुरा पूरा भएपछि गुणस्तरमा प्रश्न नआउँला। अर्को कुरा भइरहेका ल्याबलाई गुणस्तरीय बनाउन अनुमगनलाई जोड दिनुपर्छ। ल्याब सञ्चालकले पनि बिरामीलाई गुणस्तरीय सेवा दिनुपर्छ। सञ्चालकले पनि सबैको विश्वास जित्ने काम गर्नुपर्छ। गुणस्तरीय सेवाबाट नै हो विश्वास जित्ने भनेको । उनीहरुले यसका लागि परीक्षण पद्दती पनि सुधार गर्नुपर्छ। कतिपय अवस्थामा परीक्षण गर्ने विधि तलमाथि हँुदा विश्वसनीय नतिजा देखिदैन । ल्याबमा विभिन्न तहका जनशक्ति छन्, तर त्यस अनुसार कामको जिम्मेवारी बाँडफाँड छैन । त्यसले पनि समस्या पारिरहेको छ। यसलाई सुधार गर्नैपर्छ। 

उपत्यका बाहिर ल्याबको अवस्था के छ ? 
काठमाडौं उपत्यका बाहिर ल्याबको कुनै कमी छैन । तर गुणस्तरको पक्ष भने निकै कमी छ। स्वास्थ्य सेवा दिन जति जरुरी छ, गुणस्तरीय सेवा त्यो भन्दा पनि महत्वपूर्ण हो । त्यसलाई सुधार गर्नुपर्ने देखिन्छ। यो निर्देशिकाले उपत्यकाका मात्र नभई उपत्यका बाहिरका ल्याबलाई पनि गुणस्तरीय बनाउने छ। विगतमा ल्याबहरु जुन रुपमा खुलेका थिए, उनीहरुले त्यही रुपमा कमानउन पनि खोजेका छन्। त्यस्ता ल्याबका कारण सुधार गर्न खोज्दा केही हदसम्म विरोधहरु भएका छन् । तर गुणस्तरमा सम्झौता भने गर्न मिल्दैन । 

ल्याबमा प्रयोग हुने रिएजेन्टहरु पनि कमसल हुन्छ भन्ने गुनासो छ नि ?
सबै ल्याबमा यस्तो समस्या त नहोला। तर, यो गुनासो हामीले पनि सुनेका छौं। कतिपयमा ल्याबका प्राविधिकहरुले रिएजेन्ट हाल्ने बेलामा नै नमूना हाल्नुअघि नै रिजल्ट आएको बताउँछन् । ल्याब रिपोर्ट फरक आउनुमा यो पनि एउटा कारण हो। रिएजेन्टको अनुगमन र नियमन नहुँदा पनि समस्या आएको हो। अब रिएजेन्टको नियमित अनुगमन हुनुपर्छ। यसको नियमनमा गुणस्तर तथा नापतौल विभाग र हामीले हेर्ने हो । रिएजेन्टको लट अनुसार परीक्षण गरेर गुणस्तरीय प्रमाणित गर्न सकिन्छ । तर, हालसम्म भइसकेको छैन । यो काम तुरुन्तै गर्नुपर्ने देखिएको छ। यसैगरी रिएजेन्ट बिक्री गर्नेहरु पनि प्रमाणिकरण हुनुपर्ने र दर्ता हुनुपर्छ। अर्कोतर्फ सार्वजनिक खरिद कानूनले सस्तो नै खरिद गर्नुपर्ने हुन्छ। महंगो खरिद भएमा अख्तियारको चक्कर लगाउनुपर्छ । त्यसले पनि गुणस्तरीय सामान आउनमा समस्या भइरहेको छ। गुणस्तरीयमध्ये सस्तो खरिद हुने गरी व्यवस्था गर्नुपर्छ। 

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live