मुख्य समाचार

श्राद्धको प्रसाद खाँदा बिरामी परेका धादिङका १८ जना टेकु अस्पतालमा

img

डिबी खड्का

काठमाडौं– श्राद्धको प्रसाद ग्रहण गर्दा धादिङको आदमटार–६ का ४० जना भन्दा बढी बिरामी परेका छन् । तीमध्ये १८ जनाको काठमाडौंस्थित टेकुस्थित शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

बुधवार आदमटार ६ स्थित गिरी परिवारको घरमा भएको श्राद्धको प्रसाद ग्रहण गर्नेहरु रातिदेखि बिरामी पर्न थालेको अस्पतालका निर्देशक डा रमेश खरेलले बताएका छन् ।  ज्वरो, झाडा, वान्ता र पेट दुख्ने समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा पुगेका उनीहरुलाई थप उपचारका लागि टेकु पठाइएको हो । बिहीवार ४ बजेतिर १४ जना अस्पताल आइपुगेको र आज मात्रै रिफर भएर थप ४ जना आइपुगेको डा खरेलले जानकारी दिए ।

टेकुमा भर्ना भएका बिरामीका अनुसार श्राद्धको प्रसाद ग्रहण गरेका ४० जना भन्दा बढीलाई यस्तो समस्या देखिएको हो । कतिको स्थानीय स्वास्थ्य संस्थामा नै उपचार भएको र कतिको भइरहेको उनीहरुले बताएका छन् । तीमध्ये धेरै समस्या देखिएका १८ जनालाई टेकुमा रिफर गरिएको हुन सक्ने डा खरेलले बताए ।

डा खरेलका अनुसार उनीहरुलाई फुड प्वाइजनिङ भएको देखिएको छ । उनीहरुले खाएको श्राद्धको खानामा रहेको बोडीमा अत्याधिक विषादी रहेको र त्यसैले फुड प्वाइजनिङ भएको हुनसक्ने अनुमान चिकित्सकको छ । अहिले १८ जनालाई नै ग्यास्ट्रो वार्डमा भर्ना गरि उपचार गरिरहेको डा खरेलले बताए । उनले भने, ‘हामीकहाँ आइपुगेका सवै बिरामीको उपचार भइरहेको छ । सवैको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live