फिचर

सुर्ती नियन्त्रणमा नेपाली ताराको अन्तर्राष्ट्रिय ख्याति

img

डिबी खड्का

डा. तरासिंह बम । तस्विर सौजन्य: सिटिजन न्युज डट ओआरजी।


‘बाटोमा हिँड्दा ठोक्किएर जाने धेरै हुन्छन्। तर, एकदम कम मात्रै त्यस्ता मान्छे ठोकिन्छन्, जसलाई फर्किएर हेर्न मन लाग्छ,’ कसैले भनेको थियो मलाई। डा. तारासिंह बम भेटेपछि विस्मृतितिर धकेलिसकेको यो पङ्ती सम्झिएँ। केही दिनअघि मात्रै ‘साउथ एसिया टोबाको कन्ट्रोल लिडरसिप’ प्रोगाममा भेट भएको थियो उनीसँग। उनको स्वभाव र धारणाले दिमागमा झट्का लगाएर गएको रहेछ। 

पहिले धारणाकै कुरा गरौँ। आजसम्म चुनौती भोगियो, पढियो र पार गरियो। हरेक पाइला चाल्नुअघि आँखाले चुनौती देख्थे। किनकि समाजले असहज काम गर्नुलाई चुनौतीका रुपमा अथ्र्याइदियो। जे कुरालाई मैले आजसम्म चुनौती ठानेँ, तीमध्ये धेरै त अवसर रहेछन्। यो महसुस डा. बमले गराए। चुनौतीलाई अवसरका रुपमा अथ्र्याउने डा. बमको खुबी प्रशंसनीय लाग्यो। हो पनि, चुनौती पार गर्न सके न सफलताको अवसर मिल्ने हो। चुनौतीलाई अवसरका रुपमा लिए न अघि बढ्ने आँट आउने हो। 

सुर्तीजन्य पदार्थको सेवन धेरै भएका ठाउँमा नियन्त्रण गर्ने अवसर पनि उत्तिकै रहेको अर्थ लगाए उनले। हामीले चाहिँ नियन्त्रण गर्ने चुनौती ठानिरह्यौँ।

अब स्वभावको कुरा गरौँ। हरेक मान्छेले रुचाउँछ, आफ्ना राम्रा कुराको प्रशंसा गरुन् र नराम्रा बानीमाथि नजरअन्दाज गरिदिउन्। कसैको प्रिय बन्न हरेकले अपनाउने सजिलो उपाय यही हो। तर, यो मान्यताको उल्टो गतिमा हिँड्छन् डा. तारा। कुनै व्यक्तिमा रहेका कमजोरी सिधासिधी औँल्याइदिन्छन् उनी। खराब बानी थाहा पाए प्याच्च भनिदिने स्वभाव छ उनको। एकछिन मान्छेलाई चसक्क हुन्छ तर पछि महसुस गर्छ ‘सही भनेकोे’ रहेछ भन्ने। जस्तो कि शरीरमा बिझेको काँडा निकाल्दा चसक्क दुख्छ तर निकालिसकेपछि सन्चो हुन्छ। तत्कालका लागि होइन, दीर्घकालका लागि सोच्ने गज्जबको स्वभाव छ उनको। 

नेपाललाई मात्रै होइन, विश्वलाई धूमपान रहित बनाउने कर्ममा मनैदेखि लागेका एउटा अभियन्ता हुन् डा. तारासिंह बम। विश्वव्यापी रुपमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था ‘द युनियन’को सिंगापुरस्थित उप क्षेत्रीय कार्यालयका उप–निर्देशक हुन् उनी। ‘टेक्निकल कन्सल्ट्यान्ट’, ‘कन्ट्री लिड एन्ड एड्भाइजर’ र  क्षेत्रीय सल्लाहकार हुँदै उनी यो पदमा पुगेका हुन्। 

डा. बम सुदूरपश्चिमको डोटी जिल्लाको दुर्गम गाउँमा जन्मेका हुन्। उनी हुर्किंदै गर्दा उनले हरेक व्यक्तिले आफ्ना लागि सुर्ती खेती गरिरहेको देखे। उनका अनुसार जीवन जिउने क्रमका आइलाग्ने तनावबाट मुक्ति पाउन धूमपानले सघाउने गाउँलेहरुको धारणा थियो। उनले ‘द युनियन’ अनलाइनलाई बताए अनुसार उनको पिताको मृत्यु दमका कारण भयो, जुन अत्यधिक धूमपानको परिणाम थियो। उनले अरु आफन्त पनि धूमपानकै कारण मृत्युको मुखमा पुगिरहेको देखे। ‘त्यतिन्जेल पनि मलाई यसका सबै असर थाहा थिएन, तर मैले सुर्तीलाई समस्याका रुपमा देखेँ,’ उनले भनेका छन्। 

गाउँकै स्कुलमा माध्यामिक शिक्षा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरे। त्यसपछि ‘नेसनल टिबी प्रोगाम’का प्राविधिक अधिकृत भए। ‘डट्स भर्खरै सुरु भएको थियो। टिबी नियन्त्रणका लागि उत्साहपूर्ण समय थियो,’ उनी भन्छन्।

त्यसताका क्षयरोगका बिरामी उपचारको पहुँचमा ढिलो पुग्नु उनलाई वर्गीय र लैंगिक समस्या हो कि जस्तो लाग्थ्यो। क्षयरोगले ग्रस्त भएका महिला वा गरिब मानिस अन्तिम अवस्थामा मात्र अस्पताल आइपुग्थे। गरिबी र महिलालाई गरिने विभेदका कारण समयमै उपचार गराउन नआएका होलान् भन्ने उनको ठम्याई थियो। जब उनले यसको कारण पत्ता लगाए, चकित परे। क्षयरोगको उपचार गराउन ढिलो गरी जानुको मुख्य कारण थियो धूमपान। क्षयरोग लागेका मानिसले लगातारको खोकीलाई धूमपानको कारण ठान्थे र उपचार गराउन जाने आवश्यकता देख्दैन थिए। जब सिकिस्त भएर अस्पताल पुग्ने, तब ढिलो भइसकेको हुन्थ्यो। यस्तो महसुस गरेपछि धूमपानप्रतिको उनको धारणा शतप्रतिशत परिवर्तन भयो। 

उनलाई लाग्न थाल्यो, ‘सुर्तीजन्य पदार्थको सेवन माफी गर्न लायक कुरा होइन। यो रोग लाग्ने जोखिमको कारक मात्र होइन, आफैँमा रोग हो। यदि, क्षयरोग उन्मूलन गर्ने हो भने पहिले धूमपानको लत उन्मूलन गर्न जरुरी छ।’ धूमपान मात्रै समस्या थिएन, समस्या धुवाँ पनि थियो। उनको लक्ष्य थियो, ‘बिरामीलाई धूमपान छोडाउने अनि निस्क्रिय धूमपान र सेकेन्डह्यान्ड धुवाँ पनि नियन्त्रण गर्दै जाने।

सन् २००४ मा उनी स्नातक अध्ययनका लागि थाइल्यान्डको बैंकक पुगे र सन् २००७ मा पिएचडी पूरा गरे।

सन् २००७ ताराले द युनियनकै ‘द ब्लुमवर्ग इनिसिएटिभ टु रिड्युस टोबाको युज (बिआई)’ मा दरखास्त हाले। उनी दुई वर्षका लागि द युनियन साउथ–इस्ट एसिया अफिस नयाँ दिल्ली बसेर काम गरे। त्यसपछि इन्डोनेसिया पुगे। जहाँ सुर्तीजन्य पदार्थको सेवन अत्यधिक मात्रामा हुन्थ्यो। उनले युनियनको एउटा कार्यालय सुरु गरे (अहिले तीनटा छन्)। उनलाई त्यहाँ काम गर्न सजिलो थिएन। एकातिर जनस्वास्थ्यमा रोग निवारण र मृत्युदर घटाउनुपर्ने थियो भने अर्कातिर सुर्तीजन्य उद्योगहरु इन्डोनेसियालाई विश्वकै पाचौँ ठूलो सुर्तीजन्य पदार्थको बजार बनाउने लक्ष्य लिएर अघि बढिरहेका थिए। सुरुमा ती उद्योगहरुले नियन्त्रणका लागि जुटेका अभियन्ताहरुलाई जताततैबाट रोक्न खोजे, यहाँसम्म कि कानुन कार्यान्वयनमा पनि।

डा. बमले एकजना व्यक्तित्व भेटेका थिए, प्राध्यापक डन इनर्सन। उनका ‘मेन्टर’ बनेर आएका इनर्सनले उनलाई गहिरो प्रभाव छाडेर गए। इनर्सनले तारालाई भनेका थिए, ‘यदि तिमी तिम्रो कामलाई महत्व दिन्छौ भने मात्रै अरुले पनि तिम्रो कामलाई महत्व दिन्छन्।’ यो ताराका लागि सफलताको एउटा मूलमन्त्र जस्तै बनेको छ। त्यसैले उनी आफूले गरिरहेको कामलाई असाध्यै महत्व दिन्छन्। यसको उदाहरण इन्डोनेसियामा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उनले खेलेको भूमिकालाई लिन सकिन्छ।

सन् २००८ मा इन्डोनेसियाका ‘बिआई पार्टनर’हरु स्थानीय सरकार तहमा केन्द्रित हुनुपर्ने निष्कर्षमा पुगे। त्यसपछि स्थानीय सहरका प्रमुखहरु सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभियानमा सहभागी हुन थाले। यसैको फलस्वरुपमा सन् २००९ मा इन्डोनेसियाले धूमपान निषेध गर्ने पहिलो कानुन बनायो। जसका लागि डा. ताराको ठूलो भूमिका छ। उनले गर्वका साथ भन्छन्, ‘इन्डोनेसियामा सुर्तीजन्य पदार्थ नियन्त्रणमा एकपछि अर्काे कानुन बने, एकपछि अर्काे प्रणालीको विकास भयो र अहिले सुर्तीजन्य पदार्थ नियन्त्रणमा उदाहरणीय देशमध्ये पर्छ।’ डा. ताराको यो उपलब्धिलाई सन् २०११ मा अमेरिकाको न्युयोेर्कका मेयर माइकल आर ब्लुमवर्गले पुरस्कृत गरे। 

सुर्तीजन्य पदार्थको नियन्त्रणमा प्राप्त गरेका एकपछि अर्काे सफलताले उनलाई हौस्याउँदै लग्यो। अन्तर्राष्ट्रिय स्तरमा काम गर्दा सुर्तीजन्य पदार्थ नियन्त्रणमा हासिल गरेका अनुभवलाई उनी नेपालमा प्रयोग गरिरहेका छन्। उनको बुझाइमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले उपलब्धि हासिल गरिरहेको छ। नीति–नियम निर्माणमा दक्षिण एसियाकै उदाहरणीय देशका रुपमा कहलिएको छ नेपाल। अहिले सुर्तीजन्य पदार्थका बट्टामा ९० प्रतिशत ‘पिक्टोरियल वार्निङ’ अर्थात् चित्रात्मक शन्देस उल्लेख गर्नुपर्ने कानुन छ। एउटा–एउटा खिल्ली बेच्न नपाइने, अस्पताल, स्कुल जस्ता संवेदनशील क्षेत्र वरिपरि सेवन र बिक्री–वितरण गर्न नपाइने तथा सार्वजनिक स्थानमा पनि सेवन गर्न नपाइने जस्ता नियम नेपालले बनाएको छ। नेपालले सुर्तीजन्य पदार्थको सेवन नियन्त्रणमा हासिल गरेका उपलब्धिका लागि अन्तर्राष्ट्रिय स्तरबाट पुरस्कृत पनि भएको छ। यस्तो नीति–नियम र प्रणालीको विकास गर्ने केही हातमध्ये एउटा महत्वपूर्ण हात डा. तारासिंह बमको पनि हो। 

सुर्तीजन्य पदार्थको नियन्त्रणमा उनको अनवरत प्रयास र प्रतिबद्धताले यस क्षेत्रमा उनको प्रभाव बढ्दै गएको छ। सुदूरपश्चिमको एउटा दुर्गम गाउँबाट उदाएका तारा अहिले विश्वमाझ चम्किँदै गइरहेका छन्। तारा यसरी चम्किनुमा ‘चुनौती’लाई ‘अवसर’का रुपमा लिने उनको स्वभाव र आफ्नो कामलाई आफूले दिने महत्व नै मुख्य आधार हो। 
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live