प्रोफाइल

जसले २० हजारभन्दा बढीको शल्यक्रिया गरिसके

img

डिबी खड्का

डाक्टर सुवोध अधिकारी राजधानी सहरको एउटा व्यस्त र सिद्धहस्त सर्जनको नाम हो । उनले झन्डै तीन दशक बिताइसके सर्जरीमा, त्यो पनि वीर अस्पतालजस्तो सधैँ बिरामीको भीडभाड रहने ठाउँमा । कति जनाको ज्यानमाथि चल्यो होला यी सर्जनको ‘स्कालपेल’ ? स्कालपेल अर्थात् सर्जनले प्रयोग गर्ने छुरी ।

एक–एकको हिसाब किताब राख्नुपर्ने मतपत्र कहाँ हो र, उनले शल्यक्रिया गरेर ज्यान जोगाएका मान्छेहरुको गन्ती । जति आफ्नो रोग उतार्न शल्यक्रियाका लागि उनीकहाँ आइपुगे सकेसम्म तिनको ज्यान जोगाउन डा. अधिकारीको स्कालपेल चल्यो र चलिरहेको छ । ठ्याक्कै हिसाब नराखे पनि सोलोडोलो तथ्यांक छ उनको दिमागमा । भन्छन्, ‘अहिलेसम्म २० हजारभन्दा बढीको ज्यानमाथि चलिसक्यो मेरो स्कालपेल।’

सर्जरी शिल्प
‘फलानो सर्जनको हात सफा छ’ यो वाक्यांशले कुनै सर्जनले प्रसिद्धि कमाउनुको संकेत गर्छ। सफा अर्थात् सर्जरीमा सिपालु । सानाभन्दा साना शरीरका भागहरु काट्न र जोड्न हातको शिल्प जरुरी छ । तर, सधैं शिल्पले मात्रै बिरामीको ज्यान जोगाउन सकिँदैन, दिमागले नयाँ तरिका सुझाउनु पनि पर्छ । 

भारतको अल इन्डिया इन्स्टिच्युटबाट ग्यास्ट्रोइन्ट्रोलोजी सर्जरीमा एक वर्षे तालिम सकेर उनी भर्खर नेपाल आएका थिए । वीर अस्पतालमा एउटी बिरामी आइन् । एसिड खाएका कारण खानेनली जलेर सुकेको थियो उनको । केही महिना घरमै राखेर मात्रै अस्पताल ल्याइएको थियो बिरामीलाई । उनले समस्या त थाहा पाए, तर समाधान के ? एक वर्ष तालिम गर्दा उनले यस्तो समस्या भेटेका थिएनन्। उनलाई एउटा युक्ति सुझ्यो, ठूलो आन्द्रा काटेर खानेनली बनाउने र भुँडीमा गाँस्ने। ‘पेटको शल्यक्रिया गरेर ठूलो आन्द्राको एक टुक्राले खानेनली बनाएर पेटमा गासेँ,’ उनले त्यो शल्यक्रिया सम्झिए, ‘यही केसलाई विशेष सर्जरी त नभनौँ, तर पहिला नगरेको र नदेखेको भएकाले होला पहिलो बिरामी नै ठीक हुँदा असाध्यै खुशी लाग्यो ।’ त्यसपछि त अनेक उपाय लगाएर उनले धेरैको ज्यान जोगाइसकेका छन् ।

विद्यार्थीकालमा उठाएको जोखिम
सर्जरीको कुरा आउँदा डा. अधिकारीले सम्झिरहने अर्काे घटना उनी जिआई सर्जरी अध्ययनका क्रममा अल इन्डिया मेडिकल इन्सिच्युट (एम्स) मा हुँदै घटेको हो । ‘करिब, १७ वर्ष जतिको एउटा किशोर अल्सर भएर भर्ना गरिएको थियो,’ उनले भने, ‘मेरै साथी राउन्डमा थिए । उनीहरुलाई इमर्जेन्सी कल आयो, बिरामी त ‘कार्डियाक एरेस्ट’मा गयो ।’ अल्सरका कारण रगत बान्ता गरेर बिरामी कार्डियाक एरेस्टको अवस्थामा पुगेको डाक्टरहरुले देखे। ‘चार तलामा रहेको बिरामी ८ तलामा रहेको शल्यक्रिया कक्षमा लैजाँदा र शल्यक्रियाको तयारी थाल्दा २० देखि ३० मिनेट लाग्ने देखियो। उनले भने, ‘के गर्ने भन्ने सोच्दासोच्दै बिरामी फेरि बेहोस भए, रगत आइरहेको थियो मुखबाट ।’ 

त्यसपछि डाक्टरहरुले वार्डमै सर्जरी गरेर रगत रोक्नुपर्ने निर्णय लिए । त्यहीँ शल्यक्रिया थालेर रगत आइरहेको ठाउँमा हातैले रोकेर शल्यक्रिया कक्षमा पुर्याइयो। ‘यसरी तत्काल निर्णय लिएर बिरामीको ज्यान जोगाइयो,’ उनले भने, ‘हामी दंग थियौँ, बिरामीको ज्यान जोगायौँ भनेर ।’ तर उनीहरुले गरेको काम अस्पतालको नियमानुसार गलत थियो भने वरिष्ठ सर्जनहरुको आँखामा आलोकाँचो काम । समीक्षा मिटिङ भयो । काम आलोकाँचो भए पनि उनीहरुले बिरामीको ज्यान जोगाएकाले कसैले केही भनेनन् । उनले भने, ‘तर, ‘के गरेको केटा हो त्यस्तो’ भनेर पछिसम्म अग्रजहरुले जिस्काइरहे । हामीले पनि पछि महसुस गर्यौँ, बिरामीको मृत्यु भएको भए हाम्रो हालत के हुन्थ्यो होला?’

जनकपुरको त्यो जटिलता
डा. अधिकारी दूरदराजका सरकारी अस्पतालमा सर्जरी सेवा दिने डाक्टरप्रति नतमस्तक हुन्छन्। त्यो उनले २०५१ सालमा जनकपुर अञ्चल अस्पतालमा काम गर्दा परेको छाप हो । उनले भोगेका छन्, सरल ‘केस’को शल्यक्रियामा पनि कति जटिलता आइलाग्छन् भन्ने कुरा । 

उपत्यका बाहिरका सरकारी अस्पतालको अहिलेको हालत त यस्तो छ भने २०५१ सालतिर कस्तो थियो होला ? डा. अधिकारी उक्त अस्पतालमा हुँदा एउटी बिरामी आइन्, ‘नाइटोबाट पानी निस्किने रोग लाग्यो’ भन्दै । डा. अधिकारीलाई बिरामी भनिन्, ‘पेटमा बच्चा छ जस्तो लागेको थियो पहिले । तर, हावा रहेछ निस्क्यो । पछि यस्तो रोग लाग्यो ।’ डा. अधिकारीले पेटको एक्स–रे गरेर हेरे, बच्चाको हड्डी जस्तो देखियो । त्यसपछि उनले शल्यक्रिया गरे । उनले त्यो घटना सम्झिए, ‘बच्चा त ‘युटेरस’ फुटेर भुँडीमा आएर बसेछ । एक महिनाअघि नै मृत्यु भइसकेको बच्चा गलेको अवस्थामा भेटियो । उचित उपकरण अभावमा त्यो शल्यक्रिया गर्दाको जटिलटा म कहिल्यै भुल्दिन ।’

हेल्थ क्याम्पपै १० किलोको ट्युमर 
डा. अधिकारी एकपटक हेल्थ क्याम्पका क्रममा सिन्धुली पुगेका थिए। एक जना १२ वर्षकी किशोरीको पेट अस्वभाविक ठूलो थियो । एकदमै पातली ती किशोरीलाई हिँड्न नै गाह्रो थियो । स्कुलको पढाइ छुटेको थियो । 

आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि परिवारले अस्पताल पु¥याएको थिएन । डा. अधिकारीले हेल्थ क्याम्पमा गएका बेला त्यहीँ ट्युमर निकाल्ने निर्णय लिए । भने, ‘हेल्थ क्याम्पमै शल्यक्रिया गरेर ती किशोरीको पेटबाट १० किलोको ट्युमर निकालियो ।’ डा. अधिकारीको निर्णय सहीसही सावित भयो । बिरामी निको भइन् । त्यो शल्यक्रियापछि उनको चर्चा पनि खुब भयो त्यसबेला । 

टीका छाडेको दशैँ
एउटा डाक्टर त्यसमाथि सर्जन । रातबिरात, चाडपर्व केही भन्न नपाइने जागिर । डा. अधिकारीले करियरको तीन दशकमा यस्ता क्षण कति आए, कति आए । तर, एकपटकको दशैँ उनले सम्झिरहन्छन् । साइतको टीका लाउने बेलामा अस्पतालतिर दौडनुपर्दाको क्षण उनको स्मृतिमा गाढा बनेर बसेको छ । विवाह गरेको पहिलो सालको दशैं । घरमा आमाको हातबाट टीका थापेर ससुराली जाने योजनामा थिए उनी । ‘साइत आउन केही मिनेट बाँकी नै थियो,’ उनले सम्झिए, ‘यत्तिबेलै वीर अस्पतालबाट फोन आयो– धेरै बिरामी आएका छन् तुरुन्तै शल्यक्रिया गर्नुपर्ने । तत्काल अस्पताल आउनु पर्यो।’ 

उनी उभिइरहेकै अवस्थामा आमाको हातबाट टीका थापेर अस्पतालतिर हुर्रिए । बस दुर्घटनाका धेरै घाइते अस्पतालमा ल्याइएका थिए। ‘तीमध्ये चार जनाको पेटको शल्यक्रिया गर्नुप¥यो,’ डा. अधिकारीले भने, ‘घर पुग्दा त राति १० बजिसकेको थियो ।’ 

एउटै परिवारका ८ जनाको शल्यक्रिया
३० वर्षको अवधिमा डा. अधिकारीले कसको शल्यक्रिया गरेनन् होला र । देशका अति विशिष्ट कोटीमा पर्ने व्यक्तिहरुदेखि कसैले सोधपुछसम्म नगर्ने निरिह व्यक्तिसम्मले उनको सेवा पाए । उनले एउटै परिवारका ८ जनासम्मको शल्यक्रिया गरेका छन् । ‘एक जनालाई शल्यक्रिया गरेर निको बनायो। फेरि परिवारको अर्काे सदस्यलाई समस्या हुँदा मलाई नै खोज्दै आइपुग्थे,’ उनले आफ्नो सेवालाई विश्वास गर्ने परिवारबारे भने, ‘एउटै परिवारका ८ जनासम्मको शल्यक्रिया गरेँ मैले ।’

डा. अधिकारीले आफ्नै परिवार वा आफन्तको शल्यक्रिया गर्नु प¥यो कि परेन ? ‘बिरामीका रुपमा आफ्नो परिवारबाहेकका मान्छेको शल्यक्रिया डाक्टरले निर्धक्क गर्छन् । तर, आफ्नै नजिकको मान्छेको शल्यक्रिया गर्नुप¥यो भने केही तनाव चाहिँ पक्कै हुन्छ,’ डा. अधिकारीले जवाफ दिए, ‘मैले मेरी भतिजीको हर्नियाको शल्यक्रिया गरेको छु। डाक्टर भए पनि आफन्तको शल्यक्रियामा केही बढी पीर, केही भावुकता हुने नै रहेछ । कोही पनि डाक्टरले आफन्तको ठूलो शल्यक्रिया वाध्यता बाहेकको अवस्थामा गर्नु नपरोस् नै भन्ने ठान्छन् जस्तो लाग्छ ।’

स्वास्थ्य मन्त्रालय अन्तर्गतका एक्ला जिआई सर्जन
विभिन्न मेडिकल कलेज र निजी स्वास्थ्य संस्थामा जिआई सर्जन अरु पनि छन् । तर, स्वास्थ्य मन्त्रालय अन्तर्गतका एक्ला जिआई सर्जन हुन् डा. अधिकारी । जिआई सर्जनको दरबन्दी नै नहुँदा उनले बढुवा खानै १५ वर्ष कुर्नुपरेको थियो । २०४५ सालमा लोक सेवा पास गरेर सरकारी सेवामा प्रवेश गरेका उनले सर्जनका रुपमा आफ्नो दक्षता त देखाए तर बढुवा हुनका लागि दरबन्दी नभएपछि रोकिएको रोकियै हुनुप¥यो । २०६० सालमा स्वास्थ्य मन्त्रालयले दरबन्दी सिर्जना गरेर उनलाई बढुवा गर्यो‍ । 

वीर अस्पतालको स्तरोन्नति गर्न भारत सरकारले केही डाक्टरलाई विशेषज्ञ तालिम दिने भएपछि डा. अधिकारीले जिआई सर्जरी छानेका थिए । उनका अनुसार जिआई सर्जरी छान्नु पनि वाध्यता थियो। ‘सिनियरहरुले त्यसबेला ‘स्कोप’ भएका विशेषज्ञ सर्जरी छानिसकेकाले कसैले नछानेको जिआई मेरो भागमा प¥यो,’ उनले भने, ‘पछि तालिम लिन जानेबेला म एक्लै भएँ । तालिमका लागि निकै कम खर्च दिने भएपछि अरु डाक्टरले चासो देखाएनन् ।  म मात्रै पुगेको थिएँ भारतको एम्समा ।’ एम्सबाट २०५१ सालमा तालिम लिएर फर्किएपछि  उनले झन्डै एक वर्ष जनकपुरमा काम गरे । त्यसपछि देखि उनी वीरमै छन् ।

वीरबाट रिटायर्ड हुने वर्षहरु नजिकिँदै गर्दा उनलाई पीर लागेको छ, ‘जिआई सर्जरीमा नयाँ पुस्ता आएन ।’ उनैले तालिम दिएका केही शिष्य त छन्, तर सरकारले दरबन्दी नमिलाउँदा समस्या छ । बाहिरबाट पनि यही दरबन्दीकै कारण वीरमा जिआईका सर्जन आउन समस्या भएको उनी बताउँछन् । डा. अधिकारीको लक्ष्य छ, ‘वीर छाडेर जाने दिनसम्ममा यहाँ बलियो जिआई सर्जरी टिम बनाएर जान्छु ।’
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live