मुख्य समाचार

बिरामीले सोचेको कुरा मोबाइलमा आउने एप बनाउँदै महावीर पुन

नेपालमा मात्र नभई संसारभरका बिरामीका लागि फाइदा पुग्ने : पुन

img

प्रवीण ढकाल

काठमाडौं- सामाजिक अभियान्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले प्यारालाइसिस भएर ओछ्यान परेका बिरामीका लागि उपयोगी मोवाइल एप बनाउने भएको छ।
केन्द्रले विभिन्न कारणले ओछ्यानमा थलिएर बोल्न तथा हातगोडा समेत चलाउन नसक्ने बिरामीको सोचाई पढ्न सक्ने एप बनाउने काम अगाडी बढाएको हो। ओछ्यानमा थलिएका बिरामीले दिमागले सोचको कुरा मोवाइल एपमा आउने सफट्वेयर निर्माणको काम अगाडी बढाइसकेको पुनले जानकारी दिए।

उक्त एप निर्माणका लागि केन्द्र र  नेपाल स्वास्थ्य अनुसन्धान परिषदबीच सम्झौता पनि भैसकेको छ। पुनका अनुसार एप मार्फत पक्षघात भएका बिरामीले दिमागले सोचेर सहयोगीलाई आफ्ना आवश्यकता बताउनसक्ने छन्।

‘हातगोडा नचल्ने र बोल्न पनि नसक्ने बिरामीले आफूलाई चाहिएको वा भन्न खाजेको कुरा व्यक्त गर्न सक्दैनन्,’ उनले भने, ‘तर यो प्रविधिको विकासपछि त्यस्ता बिरामीले चाहिएको वा माग्न खोजेको कुरा दिमागले सोचेपछि तुरुन्तै सहयोगीको मोवाइलमा एप मार्फत सन्देश आउने छ।’ उनका अनुसार यसका लागि बिरामीको टाउकोमा सेन्सरसहितको विशेषखालको प्रविधि जडान गर्नुपर्ने हुन्छ। केन्द्रले उक्त सेन्सरसहितको प्रविधि निर्माणको काम अगाडी बढाइसकेको छ।

यो प्रविधि कार्यान्वयनमा ल्याउन सकेमा नेपालमा मात्र नभई संसारभरका बिरामीका लागि फाइदा पुग्ने पुन बताउँछन् । ‘बिरामीको सोचाई एप मार्फत मोवाइलमा सन्देशका रुपमा आउन सक्ने यो एप निकै प्रभावकी हुने छ,’ उनले भने, ‘ओछ्यानमा थलिएका नेपाली बिरामीमात्र नभई संसारभरका बिरामीलाई यसबाट फाइदा पुग्नेछ।’ 

उनका अनुसार यस एपका माध्यमबाट बिरामीले आफूलाई भोक लागेको, दिसापिसाव लागेको, बत्ति बाल्नुपर्ने, निभाउनुपर्ने, गर्मी भएको, जाडो भएको, केही खान मन लागेको, लगायत हरेक सोचेका कुरालाई सेन्सरका माध्यमबाट सहयोगीको मोबाइलमा सन्देशका रुपमा आउने छ।

यो आविष्कार स्वास्थ्यसँग सम्बनिधत भएकाले स्वास्थ्य अनुसन्धान परिषदसँग प्रविधि निर्माण गर्ने विषयमा सम्झौता भएको हो। उक्त कार्यका लागि स्वास्थ्य मन्त्रालयले पनि सहयोग गर्ने भएको छ। प्रविधिको विकासपछि त्यसको कार्यान्वयनमा पनि मन्त्रालयले सहयोगी भूमिका खेल्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलले जानकारी दिए।

स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले केन्द्रले गर्ने स्वास्थ्यसम्बनिध हरेक कार्यमा सहयोग गर्दै जाने बताए। उनले नेपालजस्तो भौगोलिक विकटता भएको क्षेत्रमा केन्द्रले औषधि बोक्ने मेडिकल ड्रोनदेखि प्यारालाइसिस भएर बोल्न नसक्ने बिरामीका बनाउन लागेको नयाँ आविष्कार निकै प्रभावकारी हुने जानकारी दिए।
केन्द्रले परिषद्सँग दुर्गममा औषधि ढुवानी गर्न स्वचालित यन्त्र ‘मेडिकल ड्रोन’सहित स्वास्थ्य उपकरण निर्माण गर्ने विषयमा पनि सम्झौता गरिसकेको छ।


यो पनि पढ्नुहोसः

दुर्गममा औषधि बोक्ने ‘मेडिकल ड्रोन’ बनाउन महावीर पुन र स्वास्थ्य मन्त्रालयबीच सम्झौता

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live