अन्तर्वार्ता

'कान्ति अस्पतालको इमेज विस्तारै फर्कंदै छ'

स्वास्थ्य खबरपत्रिका

देशमा बालबालिकाको उपचारका लागि भरपर्दो सरकारी स्वास्थ्य संस्था हो कान्ति बालअस्पताल। त्यहाँ देशैभरिबाट बिरामी बालबालिका लिएर अभिभावकहरु आइपुग्छन्। तर, त्यहाँ पुग्दा सोचे र भनेजस्तो सेवा नपाएको गुनासो पनि उत्तिकै हुने गर्छ। अस्पतालको विकास, सुधारका कार्य र चुनौतीहरुबारे स्वास्थ्यखबरका संवाददाता प्रवीण ढकालले अस्पताल विकास समितिका अध्यक्ष सुवोधराज आचार्यसँग कुराकानी गरेका छन्।

कान्ति बालअस्पताल विकास समितिको अध्यक्ष हुनु भएको पाँच महिना भयो। बाहिरबाट हेर्दा र व्यवस्थापकीय आँखाबाट हेर्दा के फरक पाउनु भयो?

नागरिकका रुपमा बाहिरबाट हेर्दा अस्पतालमा सबै कुरा बिग्रिएको र भत्किएको देखिन्थ्यो। बिरामीले सेवा नै पाएका छैनन् कि भन्ने हुन्थ्यो। तर, यहाँ आएपछि सबै त्यस्तो होइन रहेछ भन्ने अनुभव भयो। तर, यसको मतलव निकै राम्रो छ भन्ने पनि होइन।

बाहिरबाट देख्दा शतप्रतिशत खत्तम देखिन्थ्यो भने यहाँ आएर हेर्दा ५० प्रतिशत जति बिग्रेको पाइयो। सबैभन्दा ठूलो कुरा यहाँको ‘चेन अफ कमान्ड’ नै भत्किएको रहेछ। काम गर्नेलाई पेलिरहने र नगर्नेले उन्मुक्ति पाइरहने अवस्था रहेछ। जसले गर्दा सेवा प्रवाहदेखि हरेक काममा समस्या आइरहेको थियो। यति हुँदा पनि कान्ति बालअस्पताल काठमाडौँका अरु अस्पतालको तुलनामा औसतस्तरभन्दा माथिल्लो तहमा थियो। औसतभन्दा माथि रहे पनि लामो समयदेखि स्थिर अवस्थामा थियो। यसलाई सुधार्ने थुप्रै ठाँउ छन्। अस्पताल चलिरहेको छ, थप किन गर्ने भन्दै नयाँ योजना ल्याउने कसैले आँट गरेको रहेनछ।

यो अवधिमा केकस्ता काम गरेर सुधारको पहल गर्नु भयो?

हेर्दा साना लाग्ने तर बिरामीलाई प्रत्यक्ष फाइदा पुग्ने काममा अहिले हात हालेको छु। सबैभन्दा पहिला त विकास समितिको अध्यक्षले अस्पतालमा बसेर काम गर्ने स्थान नै थिएन। अध्यक्षले यहाँ बस्ने ठाँउ नै नभएपछि कसरी समस्याको पहिचान गर्न सक्छ? त्यही भएर अध्यक्षको कार्यकक्ष २५ वर्षदेखि ढल जमेर फोहोर भएको स्थान नजिकैको कोठामा बनाएँ। त्यहाँ कोही जान नमान्ने रहेछन्। मैले ढल र फोहोर सफा गराउँदै कोही नजाने कोठामा मानिसहरुलाई नियमित आऊजाऊ गर्न सक्ने बनाएँ।

लामो समयदेखि योजना बनेको तर कार्यान्वयनमा आउन नसकेको विस्तारित स्वास्थ्य सेवा सुरु भइसकेको छ। यसले गर्दा बिरामीले पाउने सेवाको स्तर र समयावधि बढेको छ। अतिरिक्त समयमा खटेर काम गर्न चाहने डाक्टरहरुलाई पनि सजिलो भएको छ। सेवा अवधि बढेपछि बिरामीहरु आउने क्रम पनि बढ्दै गएको छ। अस्पतालको आम्दानी पनि बढेको छ। विस्तारित सेवा र आफ्नै फार्मेसी चलाएर अस्पताललाई आत्मनिर्भर बनाउने तर्फ हामी लागेका छौँ।

बिरामीका अविभावकले सहज सेवा पाएको महसुस हुनेगरी केही काम भए यस अवधिमा?

बिरामीको रिपोर्ट अनलाइनबाट घरमै हेर्न मिल्ने बनाउन खोजेका छौँ। लाइनको समस्या समाधानका लागि ‘टोकन सिस्टम’ सुरु भइसकेको छ। कान्ति बालअस्पतालमा आइसियूको ठूलो समस्या थियो। यहाँ आएका धरै बिरामी रेफर हुनुको कारण पनि आइसियू अभाव नै हो। हामीले आइसियूलाई विस्तार गरेर ५२ बेडको पुर्‍याउँदै छौँ। १८ वटा मात्र आइसियू भएको ठाँउमा ५२ वटा पुग्नु ठूलो उपलब्धि हुनेछ। यसका लागि आवश्यक जनशक्ति पनि तयार पारिसकेका छौँ। यति मात्र होइन यहाँको आइसियू खाली छ कि छैन भन्ने कुरा अनलाइनमै हेर्न मिल्ने व्यवस्था गरिरहेका छौँ। ५२ बेडमध्ये कति खाली छ भनेर आममानिसले सोझै हेर्न सक्ने भएपछि जिल्लाहरुबाट बिरामी ल्याउन पनि सजिलो हुन्छ।

हिजोका दिनमा अस्पतालमा डाक्टरदेखि अरु कर्मचारी मिलेर अस्पतालको बेड खाली भए पनि बिरामीलाई निजी अस्पतालमा रिफर गरिदिन्छन् र त्यसबापत ‘कमिसन’ लिन्छन् भन्ने आरोप थियो। पुष्टि हुने कुनै आधार नभेटिए पनि आमतहमा फैलिएको यो बुझाइलाई चिर्न आवश्यक छ।

कान्ति अस्पतालको शौचालय अर्को मुख्य समस्या थियो। पछिल्लो समय स्वास्थ्य मन्त्रालयले निकासा गरेको बजेटबाट पनि हामीले अस्पतालमा अरु शौचालय बनाउँदैछौँ। वर्षौंदेखि रङरोगन हुन नसकेको कान्ति अस्पताललाई यसपालि रङरोगन गरेर सफा देखाउन खोजेका छौँ।

सरकारी अस्पतालप्रति बिरामी र कुरुवाहरुको अपनत्व नहुँदा पनि जटिलता आउने रहेछ। बच्चाका कुरुवाहरुले डाइपरहरु समेत लगेर शौचालयमा फालिदिन्छन्। उसले आफ्नै घरमा भएको भए त्यो काम कहिल्यै गर्ने थिएन। तर, अस्पताल सरसफाइ राख्नुपर्छ र यहाँ जथाभावी गर्नुहुन्न भन्ने चेतना विकास नहुँदा समस्या आउने रहेछ। हामीले पनि डस्टबिन राखिदिन सकेका रहेनछौँ। यस्तै सानासाना कुराहरुमा सुधार भइरहेको छ।

बालबालिका बिरामी हुनासाथ उपचारका लागि कान्ति अस्पताल नै उपयुक्त विकल्प हो भन्ने अवस्था किन आउन सकेन?

अस्पतालले सुरु गरेको अतिरिक्त सेवाले यो असन्तुष्टिलाई सम्बोधन गर्ला भन्ने लाग्छ। कान्तिको ब्रान्डका कारण डाक्टरहरुको क्लिनिक चल्यो, तर अस्पताल भने बिरामीको रोजाइमा परेन। यो समस्या समाधान गर्न हामी लागिपरेका छौँ। विस्तारित सेवा पनि त्यसैको एउटा रुप हो। डाक्टरहरुलाई अतिरिक्त समयमा बाहिर काम नगर्नु भन्ने निर्देशन दिन नमिल्ला। तर, उनीहरुलाई केही ‘इन्सेन्टिभ’ दिएर अस्पतालमै व्यस्त बनाउने वातावरण बनाउनु हाम्रो जिम्मेवारी हो।

दिउँसो ३ बजेपछि बाहिर निस्कने डाक्टरहरु ५ बजेसम्म अतिरिक्त सेवा दिएर बस्न थालेका छन्। ५ बजेपछि पनि शल्यक्रियाहरु सञ्चालन भइरहेका छन्। कान्तिको जुन इमेज थियो त्यो विस्तारै फर्कंदै छ।

विकास समितिले अस्पताल सुधारमा कुन हदसम्म काम गर्न सक्दो रहेछ?

कान्ति बालअस्पतालमा नेपाल सरकार र अस्पताल विकास समितिको जनशक्तिको संख्या करिब बराबरीजस्तो छ। अस्पताल सञ्चालक समितिमा ९ जना पदाधिकारी छन् तर त्यहाँ विकास समिति अन्तर्गतका कर्मचारीको प्रतिनिधित्व हुँदो रहेनछ। हामीले आमन्त्रित भनेर प्रतिनिधित्व गराउन खोजेका छौँ।

पेशागत सुरक्षाको सवालमा भने नेपाल सरकारको कर्मचारीको तुलनामा विकास समितिका कर्मचारीहरु तनावमा हुन्छन्। किनभने सरकारी कर्मचारीका सेवा–सुविधा सबै सरकारले नै हेर्ने भएकाले कुनै समस्या हुँदैन। तर, विकास समितिको स्रोत–साधन सीमित भएकाले कर्मचारीको नियमित तलब, सुविधादेखि अवकासका बेलामा उपदानसम्मको विषयले पिरोल्ने रहेछ।

विकास समिति अन्तर्गतका जनशक्ति कटौती गर्दै जाने सोच जायज हो। कान्तिमै पनि विकास समिति मातहत दुई सय ५०भन्दा बढी जनशक्ति छ। यहाँ कतिसम्म छ भने अस्पतालमा पेन्टर भनेर दरबन्दी राखिएको छ। पेन्टरको काम १० बजेदेखि ५ बजेसम्म रङ लगाइरहनुपर्ने हो। तर, हाम्रो हकमा पेन्टरको दरबन्दीमा रहेका साथीले मेन्टिनेन्समा राम्रो काम गरेकाले कुनै गुनासो आउँदैन। तर, दरबन्दी अनुसारको काम त भएन।

विकास समितिको अध्यक्ष मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भएका हुन्छन्। तर, विकास समिति मातहतका कतिपय कर्मचारी सोझै प्रधानमन्त्री वा कुनै प्रभावशाली नेताको सिफारिसमा नियुक्त भएको हुँदा रहेछन्। उसले अस्पताल निर्देशकलाई टेर्ने कुरै भएन।

कतिपय अस्पतालका विकास समितिमा ‘ओभर स्टाफिङ’कै कारण तलब खुवाउन नसक्ने अवस्था छ। कान्ति अस्पताल पनि हरेक महिना २० लाख रुपैँया घाटामा छ। अस्पतालकै नियममा नेपाल सरकारका कर्मचारीको तलब बढ्नासाथ विकास समितिका कर्मचारीको पनि तलब बढ्ने व्यवस्था छ। बढाउनु ठिकै हो, तर त्यसका लागि नेपाल सरकारले स्रोत बढाएर दिँदैन, यसले चुनौती थपिदिएको हो।

विकास समितिहरुको कामकारबाही त्यति प्रभावकारी भएन, यसलाई खारेज गर्नुपर्छ भन्ने आवाज पनि उठिरहेको छ नि। के भन्नुहुन्छ?

धेरै ठाँउमा अस्पतालको विकास समिति आफन्त, नातेदार र दलका कार्यकर्ताको जागिर खुवाउने थलो बनेको छ। अर्कोतर्फ वरपरका २–४ जना कार्यकर्तालाई जागिर नखुवाएसम्म नेता भइँदैन भन्ने सोच छ। मलाई पनि यहाँ जागिरका लागि केही गरिदेऊ भन्नेहरु निकै छन्। समाजमा पनि भनसुनकै संस्कार झाँगिएको छ। यही मानसिकताकै कारण विकास समितिप्रति नकारात्मक भावना पैदा भएको हो। तर, विकास समितिले निर्धक्क काम गर्न पाउँदा अस्पतालको विकास र विस्तारमा टेवा नै पुग्नेछ।

प्रतिफल दिन नसकेका जनशक्तिलाई ‘गोल्डेन हेन्डसेक’बाट अवकाश दिने बाटो अपनाउन सकिन्छ। नेपाल सरकारको सहयोगबिना विकास समितिका कर्मचारीको व्यवस्थापन सम्भव छैन। त्यसको साटो नेपाल सरकारको दरबन्दी सिर्जना गर्दै गएर दीर्घकालीन रुपमा व्यवस्थापन गर्न सकिन्छ।

अस्पतालमा नेपाल सरकारका पदाधिकारी उच्च तहमा पुग्छन्। तर, विकास समितिका तर्फबाट भने उपल्लो तह भनेको अधिकृत मात्रै हो। समितिमै केही डाक्टरहरु छन्। उनीहरुले अवकाश लिँदा उपदान दिन अर्को महाभारत पर्छ। नेपाल सरकारका अन्य संस्थानहरु धराशायी हुँदा अस्पताल नहुनुको एउटै कारण त्यो अस्पताल भएर मात्रै रहेछ। किनभने अस्पताल जसरी पनि चल्नैपर्छ, त्यो बन्द हुन मिल्दैन।

बिरामीको चाप सधैँ बढिरहने तर अस्पताल चाहिँ घाटामा जाने। यस्तो कसरी हुन्छ?

विकास समितिले ठूलो संख्यामा कर्मचारी नियुक्त गरेपछि खर्च बढ्नु स्वभाविकै हो। आयआर्जनका क्षेत्र सीमित छन्। अस्पताल घाटामा हुनुको मुख्य कारण आवश्यकताभन्दा बढी जनशक्ति नै हो। अर्कोतर्फ नेपाल सरकारले निःशुल्क घोषणा गरेका कार्यक्रमका कारण हामीले पनि निःशुल्क व्यवस्था गर्नुपर्‍यो। तर, सरकारले सोधभर्ना नगरेको उदाहरण पनि भेटिने रहेछ।

कान्ति बालअस्पतालबाट बिरामीहरु ठूलो संख्यामा रिफर हुन्छन्। सबैभन्दा ठूलो संख्यामा रिफर हुने आइसियूमा रहेछ। ५२ बेडको आइसियू पूर्ण रुपमा सञ्चालन गर्न सकिएमा यस्ता गुनासो आफैँ घटेर जान्छ।

कान्ति अस्पताललाई प्रतिष्ठानमा रुपान्तरण गर्ने योजना कत्तिको सम्भव छ?

सम्भव छ। कान्ति अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको एउटा सदस्य हो। डा. गोविन्द केसीको आन्दोलनले समेत सरकारी अस्पतालहरुको स्तरोन्नतिमा जोड पुगेको छ। मन्त्रीले पनि पटकपटक यो कुरामा जोड दिनुभएको छ। तर, जति गृहकार्य र अभ्यास हुनुपर्ने हो त्यो भएको छैन। जग्गा लगायतका पूर्वाधारको हकमा कुनै अभाव छैन। जनशक्तिको पनि अभाव छैन।

हाम्रो अर्को चाहना, बालबालिकाकै हकमा पनि कान्ति अस्पताल सामान्य रोगको उपचार भन्दा पनि विशेषज्ञ सेवासहितको रिफरल कामकै लागि प्रयोग होस् भन्ने हो। झाडापखाला लागेर आएका बिरामी देखाउने ठाउँभन्दा पनि बालबालिकाका गम्भीर रोगहरुको उपचारमा कान्ति अस्पतालको स्रोतसाधन बढी प्रयोग होस् भन्ने चाहना छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने