डक्टर्स आर्टिकल

थाइराइड परीक्षण गर्न जाँदा ध्यान दिनुपर्ने कुरा

डा. केयूर गौतम, वरिष्ठ प्याथोलोजिस्ट, सम्यक डायग्नोस्टिक

पछिल्लो समय धेरै मानिसमा स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने चेतना बढेको छ । समयमै आवश्यक परीक्षण गरेर सतर्कता अपनाउनु वा उपचार प्रक्रियामा जानु राम्रो कुरा हो । मानिसहरुमा बढेको चेतनासँगै थाइराइड जाँच गर्नेको संख्या पनि बढेको छ । थाइराइडको समस्या जुनसुकै उमेरमा पनि देखिन सक्छ । तर, यसो भन्दैमा थाइराइडको जाँच जतिबेला पनि गरिरहनुपर्छ भन्ने होइन।

अमेरिकास्थित थाइराइड एसोसिएसनका अनुसार सामान्यतया कुनै पनि लक्षण नदेखिएका ३५ वर्षमुनिका मानिसले पाँच वर्षमा एक पटक थाइराइड परीक्षण गर्दा हुन्छ । जाँचका क्रममा लक्षण नदेखिएका मानिसलाई थाइराइडको समस्या देखियो भने पुनः जाँच गर्नुपर्ने हुन्छ । ३ देखि ६ महिनामा पुनः परीक्षण गरेर हेर्नुपर्ने हुन्छ । तर, हामीकहाँ यस्तो चलन छैन । यहाँ त एकपटकको परीक्षणमा थाइराइडको समस्या देखियो भने तुरुन्तै औषधि लेखिदिने चलन छ । ३५ वर्षमुनिका मानिसमा कुनै लक्षण देखिएको छैन र एकपटकको परीक्षणमा थाइराइडमा समस्या देखिँदैमा औषधि दिइहाल्नु हुँदैन ।

थाइराइड ग्रन्थीबाट उत्पादन हुने ‘टि थ्री’ र ‘टि फोर’ हर्मोन बढ्ने÷घट्ने कारणले थाइराइडको समस्या आउँछ । कहिलेकाहीँ तनाव, माइग्रेन, परीक्षण समय, महिनावारीजस्ता कारणले पनि थाइराइड हर्मोनमा तलमाथि हुन सक्छ । यस्तो समयमा परीक्षण गर्दा आएको रिपोर्टका आधारमा नै औषधि चलाइहाल्नु हुँदैन । त्यसकारण थाइराइड परीक्षणबाट आएको रिपोर्ट हेरेपछि चिकित्सकले बिरामीबारे थप बुझ्न जरुरी हुन्छ । अमेरिकन थाइराइड एसोसिएसनले लक्षण नदेखिएका व्यक्तिमा एकपटकमा थाइराइडको समस्या देखियो भने ३ देखि ६ महिना ‘पर्ख र हेर’ भनेको छ ।

तर, चिकित्सकले अध्ययन गर्ने किताबहरुमा थाइराइडको परीक्षण जुनसुकै समयमा गर्दा हुन्छ भन्ने उल्लेख गरिएको हुन्छ । व्यावहारिक रुपमा हेर्दा बिहानको समयमा परीक्षण गर्नु सबैभन्दा राम्रो पाइएको छ। बिहान, दिउँसो, साँझ र राति परीक्षण गर्दा रिपोर्टमा तलमाथि हुने समस्या हुन्छ । त्यसकारण थाइराइडको परीक्षणलाई हामीले बिहान गर्न सुरु गरेका छौँ । एकपटक हामीकहाँ एक जनाको दिउँसो थाइराइड परीक्षण गरिएको थियो । परीक्षणका क्रममा थाइराइडको सामान्य मात्रा भन्दा तीन गुणा बढी देखियो । दुई दिनपछि पुनः बिहान गर्दा रिपोर्ट सामान्य नै छ । पछि हामीले उनको विषयमा थप बुझ्दा दुई दिनअघि जाँच गराउन आउँदा उनको माइग्रेनले टाउको असाध्यै दुखेको रहेछ । माइग्रेनकै कारण उनको थाइराइडको मात्रा तीन गुणासम्म बढी भएको रहेछ । अरु लक्षण नदेखिएका कारण उनलाई पुनः परीक्षण गर्न भनिएको थियो । फलस्वरुप पछिल्लो परीक्षणमा उनमा थाइराइडको समस्या देखिएन ।

यस्तै २२ वर्षकी एक युवतीको परीक्षणका क्रममा उनको रिपोर्टमा थाइराइडको समस्या देखियो । तर, उनलाई पनि कुनै लक्षण देखिएको थिएन । उनको रिपोर्ट अनुसार केही लक्षण देखा परिसकेको हुनुपथ्र्याे । यसकारण हामीले उनको पनि पुनः परीक्षण गर्ने निर्णय लियौँ । पछिल्लो परीक्षणमा उनको रिपोर्ट पनि सामान्य आयो । हामीले उनको विषयमा पनि थप जानकारी माग्यौँ । अघिल्लो पटक जचाउन आउँदा उनी तीन चार दिनदेखि राति राम्रोसँग सुतेकी नै रहिनछन् । परीक्षाका कारण रातभरि पढ्ने र ननिदाउँदा बढेको मानसिक तनावका कारण उनको थाइराइड ह्वात्तै बढेको रहेछ । तर, दुई तीन दिनपछि गरिएको परीक्षणमा उनको रिपोर्ट सामान्य आयो । यसैगरी, महिनावारी भएको समयमा परीक्षण गर्दा पनि रिपोर्ट तलमाथि हुन सक्छ । पिसाबमा प्रोटिन जाने समस्या भएका, स्टेरोइडका औषधि लिएकाको रिपोर्टमा पनि थाइराइड घटबढ हुन सक्छ ।

त्यसकारण परीक्षणका क्रममा समस्या देखियो भने बिरामीको ‘हिस्ट्री’ लिने र लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण गर्न सुझाउनुपर्छ । हामीकहाँ ल्याब, उपचारमा संलग्न डाक्टर र बिरामीबीच ‘कम्युनिकेसन ग्याप’ छ । जसका कारण आवश्यक सूचना आदानप्रदान नहुँदा कतिपय थाइराइडको समस्या नभएकाहरुले पनि औषधि खानुपरिरहेको छ । त्यसैले थाइराइडसँगै अन्य स्वास्थ्य परीक्षण गर्दा खानपान, आफ्नो स्थिति, समय र वातावरणमा ध्यान दिनुपर्ने हुन्छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live