फिचर

किन गर्ने बिरामी नपर्दै ‘होल बडी चेकअप’ ?

img

डिबी खड्का

लुम्बिनी विकास कोष, रुपन्देहीका सूचना प्रमुख ४० वर्षीय हरिध्वज राई दुई महिनाअघि काम विशेषले काठमाडौँ आइपुगे । त्यस्तो कुनै बिमारको आशंका नभए पनि काठमाडौँ आएको मौकामा शरीरको हालखबर बुझिराख्नुप¥यो भनेर उनले निजामति अस्पतालमा ‘मास्टर हेल्थ चेकअप’ गराए । रिपोर्टले उनको किड्नीमा समस्या देखायो । किड्नीका केही कोष बढेको भन्दै डाक्टरले उपचार थाल्न सल्लाह दिए । मानव प्रत्यारोपण केन्द्रका डा. नारायण भुसालले उनको सर्जरी गरे । अहिले राईले स्वास्थ्य लाभ लिइरहेका छन् । डा. भुसालका अनुसार समयमै राईको समस्या पत्ता लागेकाले उनको उपचार समयमै मात्र होइन, सस्तोमै भयो । डा. भुसाल भन्छन्, ‘लक्षण नदेखिँदै जाँच गरेकाले समस्या जटिल भएर क्यान्सर हुन पाएन । किड्नीका साथै ज्यान जोगाउन सकियो । लक्षण देखिएपछि अस्पताल आएको भए क्यान्सर भइसकेको हुनसक्थ्यो ।’

निजामति अस्पतालका फेमिली मेडिसिन विभाग प्रमुख डा. दिनेश लम्साल सात वर्षको अवधिमा धेरैले बेलैमा परीक्षण गराएर लाभ लिएको बताउँछन् । उनी भन्छन्, ‘कतिको पत्थरी देखिएको छ । कतिमा डायबिटिज देखिएको छ । कतिमा मुटु र किड्नी सम्बन्धी समस्या ।’

अधिकांश नेपाली थला पर्ने गरी बिरामी नभई अस्पतालको दैलो ढक्ढक्याउँदैनन् । कतिपय त ‘बिस्तारै ठिक भइहाल्ला नि’ भनेर शरीरको सानोतिनो दुःख सहेर बसिदिन्छन् । तर, शरीरका कतिपय अङ्गको समस्यामा लक्षण देखिँदासम्म निकै ढिलो भइसक्ने भन्दै अचेल चिकित्सकहरु बेला–बेला आफ्नो स्वास्थ्य जाँच गरिरहन सुझाउँछन् । विभिन्न ल्याब र अस्पतालले यसका लागि प्याकेज बनाएका छन् । विभिन्न उमेर र रोगका आधारमा ६–६ महिना वा एक वर्षको अन्तरमा गर्नुपर्ने चेकजाँचहरु उक्त प्याकेजमा राखिएको हुन्छ ।

के–के जाँच गरिन्छ ?

औषधि उपचारका विषयमा सचेत नेपालीको जिब्रोमा झुन्डिएको शब्द हो ‘होलबडी चेकअप’ । तर, यथार्थमा विभिन्न अस्पताल र ल्याबले बनाएको ‘होलबडी चेकअप’का प्याकेजमा चाहिँ पूरै शरीरको जाँच हुँदैन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी वरिष्ठ कन्सल्ट्यान्ट प्याथलोजिस्ट डा. रुना झा ‘होलबडी’ शब्दका कारण कतिपयमा भ्रम सिर्जना भएको बताउँछिन् । उनी भन्छिन्, ‘एकपल्ट यो प्याकेज अन्तर्गत स्वास्थ्य परीक्षण गराएकाहरु आफूमा कुनै रोग नरहेको भ्रममा हुन्छन् । त्यो गलत हो ।’

खास गरी ल्याब परीक्षण बिरामीको लक्षणमा आधारित हुन्छ । हरेक अङ्गको परीक्षण हुन सक्छ तर एउटा मानिसलाई सामान्य अवस्थामा सबै खालका परीक्षण जरुरी नहुने र कतिपय परीक्षणका ‘साइड इफेक्ट’ पनि हुने भएकाले लक्षण नदेखिँदासम्म गराइँदैन ।  निश्चित उमेर पार गरेकालाई केही विशेष खालका रोगहरु लाग्ने सम्भावना हुने भएकाले तिनलाई ध्यान दिएर स्वास्थ्य परीक्षण गर्ने चलन छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि सामान्य अवस्थामा के कुराको चेकजाँच गर्ने भनेर कुनै गाइडलाइन बनाएको छैन । विभिन्न प्रयोगशाला र ल्याबले अन्तर्राष्ट्रिय प्रचलन अनुसार आफ्नै खालका प्याकेज बनाएर प्रयोगमा ल्याएका छन्।

नेपालमा गुणस्तरीय ल्याबका रुपमा अन्तर्राष्ट्रिय मान्यता पाएको पुल्चोकस्थित सम्यक डाइग्नोस्टिक प्रालिका अनुसार सामान्य अवस्थाका व्यक्तिको बायोकेमेस्ट्री, क्लिनिकल प्याथोलोजी र हेमाटोलोजी गरी तीन भागमा विभाजन गरेर जाँच गरिन्छ । ‘एक्जुक्युटिभ हेल्थ चेकअप’ नाम दिइएको यो प्याकेजमा ग्लुकोज फास्टिङ, युरिक एसिड, किड्नी फङ्सन टेस्ट, लिभर फङ्सन टेस्ट, लिपिड प्यानल÷प्रोफाइल, युरिन रुटिन, स्टुल रुटिन र हेमाटोलोजी जाँचलाई समावेश गरिएको छ । यसैगरी, नर्भिक अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायतका स्वास्थ्य संस्थामा पनि उमेर, रोगका लक्षण र सम्भावित रोगका आधारमा स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज छन्।

सम्यकका निर्देशक तथा प्याथोलोजिस्ट डा. देविश प्याकुरेलका अनुसार नियमित स्वास्थ्य परीक्षणमा विश्वव्यापी रुपमा शरीरका महत्वपूर्ण अङ्गहरु मुटु, कलेजो, किड्नी र रगतमा सुगरको मात्राको जाँच गर्ने गरिएको छ । उनी भन्छन्, ‘शरीरमा कुन तत्वको मात्रा कतिसम्म हुँदा ठीक हुन्छ भन्ने विश्वव्यापी मापदण्ड छ । त्योभन्दा बढी वा घटी के छ भनेर यो जाँचबाट पत्ता लाग्छ । जस्तोः किड्नी जोखिममा पर्ने सम्भावना के–कस्ता छन् भनेर त्यसमा हुने विभिन्न तत्वहरु युरिया, क्रियाटिनिन, सोडियम र पोटासियमको मात्रा हेर्ने गरिन्छ । यी तत्वको घटीबढीका आधारमा मिर्गाैलाको स्थिति थाहा हुन्छ ।’

बिरामी नहुँदै गरिने यस्ता स्वास्थ्य परीक्षण सामान्य रुपमा हेर्दा ४० वर्षमुनिका मानिस लक्षित हुन्छन् । त्यसैले सामान्य परीक्षणका रुपमा डाइबिटिज, मुटुसम्बन्धी रोगहरु, क्यान्सरको जोखिम, मिर्गौैलासम्बन्धी रोगहरुलाई ध्यानमा राखेर प्याकेज बनाइने निजामति अस्पतालका डा. लम्सालको भनाइ छ । उनले भने, ‘४० वर्षमाथि सुगरको जाँच अनिवार्य गरिएको हुन्छ । त्यसमा पनि प्याकेजका रुपमा ‘फास्टिङ’ राख्ने गरिन्छ ।’ फास्टिङ भनेको बिहानको खाली पेटमा रगतमा भएको चिनीको मात्रा परीक्षण गर्ने विधि हो । उनका अनुसार अर्को एचबिएनसी परीक्षण हो, जसबाट  पछिल्लो तीन महिनामा रगतमा भएको चिनीको मात्राको परीक्षण गरिन्छ । उनी भन्छन्, ‘यसले पछिल्लो तीन महिनाको औषधि ‘ब्लड ग्लुकोज’को मात्रा देखाउँछ । प्रायः ल्याबहरुले यसलाई पनि परीक्षणमा समावेश गरेका हुन्छन् ।’

यी प्याकेजमा रहेका जाँचहरु ‘नन इन्भेजिब टेस्ट’ हुन् । शरीरका नमूनाहरु लिएर गरिने परीक्षण नन इन्भेजिब टेस्टमा समावेश हुने गरेको डा. रुना झा बताउँछिन् । यसमा एक्स रे, अल्ट्रासाउन्ड, एमआरआई, सिटी स्क्यान जस्ता परीक्षण समावेश हुँदैनन् । त्यसैले अहिले ‘होडबडी’ भन्ने गरिएको प्याकेजमा पूरै शरीरको जाँच हुँदैन । यी बाहेकका शरीरका अंगको जाँच गर्दा साइड इफेक्ट हुने भएकाले लक्षण नदेखिई परीक्षण गरिँदैनन् ।

किन गर्ने जाँच ?

काठमाडौँ बालकुमारीका ३० वर्षीय समिर कार्कीलाई स्वास्थ्यमा केही समस्या छ जस्तो लागेको थिएन । उनको शरीर हट्टाकट्टा नै छ, खानपानमा समस्या छैन अनि शारीरिक रुपमा पनि कुनै गडबडी आएको थिएन । जब स्वास्थ्य मन्त्रालयले ‘मेरो वर्ष २०७४’ अभियान अन्तर्गत ‘म स्वस्थ, मेरो देश स्वस्थ’का लागि पाँच प्रतिबद्धता जनाउन सबै नागरिकलाई आग्रह ग¥यो । तब उनी कार्यरत कम्पनीले पनि सबै स्टाफको स्वास्थ्य परीक्षण गराउने भयो । कुनै रोगको संकेत नभए पनि स्टाफको हुलमा मिसिएर उनी पनि पुगे स्वास्थ्य परीक्षण गराउन ।

रिपोर्टमा अरु सबै ठिकठाक भए पनि कलेजोमा केही समस्या देखियो । चिकित्सकले बोसोजन्य खाद्य पदार्थको प्रयोग र मदिरा सेवनलाई नियन्त्रण गर्न सल्लाह दिए । यसैगरी, उनको नयाँ काम थपियो, दैनिक व्यायाम । उनी भन्छन्, ‘मदिरा तथा चिल्लोजन्य खानेकुरा कम गर्नुपर्छे र ब्यायाम गर्नु पर्छ भन्ने कुरामा त म सचेत नै हो तर कहिल्यै जाँगर चलेको थिएन । जब थोरै भए पनि कलेजोमा समस्या देखियो । मैले मदिरा र बोसोजन्य खानपान ठ्याक्कै छाडेको छु । एक्सरसाइज पनि नियमित गर्न थालेँ । थाहा नपाउन्जेल त केही मतलब नहुँदो रहेछ, अलेली समस्या छ भन्ने थाहा पाएपछि आफैँ सचेत होइँदो रहेछ।’ उनका अनुसार एकातिर आफू सम्भावित जोखिममा रहेको कुराले सचेत गराएको छ भने अर्कातिर जीवनशैली स्वस्थ बन्दै गएको छ ।

हृदयाघात भन्ने बित्तिकै धेरैको मुटु यत्तिकै हल्लिन्छ । नर्भिक इन्टरनेसनल अस्पतालका मुटुरोग विशेषज्ञ डा. शेखर राजभण्डारी हृदयाघात हुने अवस्थासम्म आइपुग्न मुटुले विभिन्न चरण पार गर्ने बताउँछन् । मुटु कत्तिको जोखिममा छ भनेर ‘लिपिड प्रोफाइल’ हेर्ने गरिन्छ । उनका अनुसार रगतमा बोसोको मात्रा हेर्न यो विधि अपनाइन्छ । रगतमा फ्याटको मात्रा बढी भएमा हर्ट अट्याक्टको जोखिम बढाइदिने भएकाले पहिले नै सावधानी अपनाउन यो परीक्षण गर्नु उपयुक्त हुन्छ । रगतमा बोसोको मात्रा बढी भएमा रक्तनलीमा त्यसले एक खालको तह निर्माण गर्छ र पछि रक्तनली साँघुरिएर हृदयाघात हुनसक्ने भएकाले यो परीक्षणबाट बेलैमा लाभ लिन सकिन्छ ।

आफूलाई स्वस्थ ठानेर ‘एकपल्ट चेकअप गराइहालौँ’ भनेर स्वास्थ्य परीक्षण गराउन आइपुग्नेहरुमध्ये कतिपयको मुटुमा ९० प्रतिशतसम्म ‘ब्लकेज’ भेटिएको डा. राजभण्डारी बताउँछन् । उनी भन्छन्, ‘नियमित परीक्षणका लागि नआएको भए उनीहरुमा हृदयघात हुने सम्भावना उच्च थियो ।’

यसैगरी, कलेजोमा समस्या उमेरभन्दा पनि अन्य कारणले आउने गर्छ । जुनसुकै उमेर समूहको व्यक्तिको पनि कलेजोमा खराबी आउन सक्ने भएकाले कलेजो परीक्षण यस्ता प्याकेजमा छुटाइएको हुँदैन । कलेजो र मिर्गाैलाको समस्यामा पनि लक्षण देखिँदासम्म ढिलो भइसक्ने हुनाले बेला–बेलामा जाँच गराउन चिकित्सकहरु सल्लाह दिन्छन् ।

कहिले गर्ने जाँच ?

स्वस्थ मानिसले ६ महिनादेखि १ वर्षको अन्तरमा स्वास्थ्य परीक्षण गरेको राम्रो मानिन्छ । स्वास्थ्य परीक्षणका क्रममा कुनै नतिजा असामान्य खालको देखिएमा उनीहरुलाई भने नियमितभन्दा छिटो परीक्षण गर्न डाक्टरहरुले सुझाउने गरेका छन् । जस्तोः कसैलाई मधुमेह देखिएमा ६ महिना वा एक वर्षको साटो त्योभन्दा छिटो नै रगतमा सुगरको परीक्षण गराउनुपर्छ ।

कुन उमेर समूहका मानिसले यसरी नियमित स्वास्थ्य परीक्षण गर्ने भन्नेबारे कुनै नियम छैन । तर पनि २० देखि ४० वर्षको मानिसलाई यो समूहमा राखेर नियमित स्वास्थ्य परीक्षणको सल्लाह दिन सकिन्छ । साथै, जति उमेर बढ्दै गयो, उति नै रोगको सम्भावना बढ्ने हुनाले स्वास्थ्य परीक्षणलाई झन् संवेदनशील रुपमा लिनुपर्छ । निजामति अस्पतालका डा. लम्साल भन्छन्, ‘पहिले–पहिले ४०–५० वर्ष उमेर पार गरेपछि मात्रै रोग लाग्छ भन्ने एकखाले बुझाइ थियो । तर आजभोलि खानपान र जीवनशैलीका कारण जुनसुकै उमेर समूहका मानिसलाई रोगले जकडेको हुन सक्छ । त्यसैले नियमित परीक्षण गर्नुपर्ने हुन्छ ।’ अझ निस्क्रिय र अस्वस्थ जीवनशैली भएकाहरुले बेला–बेला स्वास्थ्यको जानकारी लिइराख्नु राम्रो हो ।

विशेष गरी ४० वर्षभन्दा माथिका उमेर समूहका मानिसमा क्यान्सरको परीक्षण महत्वपूर्ण मानिन्छ । यो उमेर नाघेका पुरुषले पेट÷आन्द्राको क्यान्सर, प्रोस्टेट क्यान्सर आदिको परीक्षण गराउनु जरुरी छ । यसैगरी, महिलाले पाठेघरको मुखको साथै स्तन क्यान्सरको नियमित रुपमा परीक्षण गर्न चिकित्सकहरुको सल्लाह छ । पाठेघरको मुखको क्यान्सर त सक्रिय यौनजीवन सुरु भएदेखि नै नियमित परीक्षण थाल्नुपर्ने हुन्छ ।

‘होलबडी’ चेकअपका नाममा हुने स्वास्थ्य परीक्षणमा शरीरका सबै अंगको परीक्षण नगरिने भए पनि मुख्य अंगहरुको अवस्थाबारे जानकारी पाउन सकिन्छ । त्यसैले ‘मलाई रोगै लागेको छैन? मलाई के हुन्छ र? बिरामी भएपछि उपचार गराउँला’ जस्ता बाहाना बनाएर आफ्नो शरीरको चेकजाँच नगर्ने हो भने तपाईं थाहै नपाई गम्भीर रोगको शिकार बनिसकेको हुन सक्नु हुन्छ । यसतर्फ बेलैमा सोच्नु जरुरी छ ।

६० वर्ष कटेपछि गर्नुपर्ने जाँच

१. पेटको अल्ट्रासाउन्ड एकपटकः पेटभित्रको ठूलो धमनी (उन्डोमिनल एवर्टा) फुल्ने रोग (एनोरिज्म) पत्ता लगाउन ।

२. रक्तचापः उमेर पाको हुँदै जाँदा रक्तचापमा घटबढ आउने भएकाले, समय समयमा ।

३. दिसामा रगतको जाँचः हरेक वर्ष ठूलो आन्द्राको क्यान्सर निदानका लागि ।

४. डिप्रेसनः हरेक पटक अस्पताल पुग्दा ।

५. रगतमा सुगरको मात्राः मधुमेहको निदानका लागि गर्नुपर्छ । कुनै पनि लक्षण नभएकाले कम्तिमा हरेक ३ वर्षमा एकपटक ।

६. तौलः हरेकपटक अस्पताल पुग्दा ।

७. कोलेस्टेरोलः रगतमा चिल्लोको मात्रा थाहा पाउनका लागि, हरेक पाँच वर्षमा कम्तिमा एकपटक ।

८. म्यामोग्राफीः उमेर बढ्दै जाँदा स्तन क्यान्सर हुने जोखिम बढ्ने हुनाले स्तनको अल्ट्रासाउन्ड गर्नुपर्छ । ४० वर्ष कटेका महिलाले हरेक वर्षमा एक पटक गराउँदा राम्रो ।

९. डेक्सा स्याक्नः हड्डीको कमजोरी थाहा पाउन यो प्रविधिबाट जाँच गरिन्छ । ६५ वर्षभन्दा माथिका महिलाले कमसेकम एकपल्ट यो जाँच गराउँदा राम्रो ।

- डा. रमेश कँडेल, वृद्धवृद्धा रोग विशेषज्ञ, पाटन अस्पताल
 

आफूखुसी औषधि लिनु हुँदैन

डा. रुना झा, वरिष्ठ कन्सल्ट्यान्ट प्याथोलोजिस्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

स्वास्थ्य परीक्षण गर्दा गुणस्तरीय ल्याब खोज्नुपर्छ । कुनै ल्याबबाट गरिएको परीक्षणको नतिजाका आधारमा एकैपल्ट औषधि सेवन गर्नु हुँदैन । सम्बन्धित रोगको विशेषज्ञ वा फिजिसियनलाई देखाउनुपर्छ । उनीहरुको सल्लाह बमोजिम उपचार थाल्नु राम्रो हुन्छ ।

ल्याब रिपोर्टमा शंका लागे औषधि उपचार गर्नुअघि फेरि एकपटक परीक्षण गराउनु बुद्धिमानी हुन्छ । सामान्यतया एक वर्षको अन्तरमा स्वास्थ्य परीक्षण गर्नु राम्रो हो । तर, आफूलाई कुनै रोगको आशंका लाग्यो भने तत्काल परीक्षण गराउनुपर्छ । उमेरसँगै रोगका जोखिम बढ्ने भएकाले विशेष ख्याल गर्नुपर्छ ।

नियमित परीक्षण गरिने भनेको ‘नन इन्भेजिब टेस्ट’ हुन् । यसमा शरीरका नमूनाहरु लिएर बाहिरबाटै परीक्षण गरिन्छ । तर, पाचन प्रणालीको परीक्षणका लागि इन्डोस्कोपी र क्रानोस्कोपी गर्नुपर्ने हुन्छ । त्यस्तै, अरु अङ्गका लागि एक्स–रे, एमआरआई, सिटी स्क्यान जस्ता रेडियोलोजिकल जाँच हुन्छन् । तर, यी जाँचहरुको साइड इफेक्ट हुने भएकाले लक्षण नदेखिई वा डाक्टरले सिफारिस नगरी गर्नु हुँदैन । यस्ता परीक्षणमा केही जोखिम पनि हुने भएकाले डाक्टरको परामर्श अनिवार्य मानिएको हो । यी मध्ये कतिपय परीक्षण त जटिल अवस्थामा मात्रै प्रयोग हुने भएकाले पनि डाक्टरहरुको सल्लाह र सिफारिसलाई अनिवार्य मानिन्छ ।

 

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live