प्रवास

अमेरिकाको कान्ससमा चम्किरहेका डाक्टर प्रकाश

स्वास्थ्य खबरपत्रिका

डा. प्रकाश न्यौपाने, हेमाटोलोजिस्ट अंकोलोजिस्ट, एसोसिएट प्रोफेसर, डिपार्टमेन्ट अफ मेडिकल अंकोलोजी, युनिभर्सिटी अफ कान्सस


डा. प्रकाश न्यौपाने अमेरिकाको कान्ससस्थित युनिभर्सिटी अफ कान्ससको मेडिकल अंकोलोजी विभागमा एसोसिएट प्रोफेसर हुन् । कामप्रतिको लगाव र काममा आउने हरेक चुनौतीलाई अवसरका रुपमा लिने उनको बानीका कारण अहिले उनी अमेरिकाको कान्ससमा चम्कीरहेका नेपाली डाक्टरका रुपमा परिचित छन्। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबिबिएस अध्ययन सकेपछि थप अध्ययनका लागि उनी सन् १९९५ मा अमेरिका गएका थिए । सुरुमा अमेरिकामा इन्टरनल मेडिसिन अध्ययन गरेका डा. न्यौपानेले अमेरिका बसाइका क्रममा हेमाटोलोजी अंकोलोजीमा पनि विशेषज्ञता (फेलोसिप) हासिल गरे । डा. न्यौपानेले हालै नेपाल आएका बेला आफ्नो अनुभव र नेपालमा क्यान्सरको अवस्थाबारे स्वास्थ्य खबरपत्रिकाका प्रवीण ढकाललाई यसरी बताएः

मैले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज)बाट सन् १९९१ मा एमबिबिएस सकेको हुँ । एमबिबिएस अध्ययनपछि एमडी अध्ययनका लागि नेपालमा त्यतिबेला धेरै विषय थिएनन् । नयाँ विषय अध्ययन गर्न बाहिर नै जानुपर्ने अवस्था थियो । त्यही सिलसिलामा म थप अध्ययनका लागि सन् १९९५ मा अमेरिका पुगेको हुँ।

सुरुमा मैले इन्टरनल मेडिसिन पढेँ । त्यसपछि हेमाटोलोजी अंकोलोजी फेलोसिप गर्ने मौका पाएँ । आवासीय डाक्टरले जहाँ गए पनि अत्यन्तै व्यस्त र कडा परिश्रम गर्नुपर्ने हुन्छ । लामो समयसम्म काम गर्नुपर्ने हुन्छ । राम्रोसँग सुत्न पाइँदैन । त्यो मिहिनेतको फल पनि राम्रै हुन्छ फेरि । त्यतिबेला जति व्यस्त भइयो त्यति दक्षता हासिल गर्न सकिन्छ । जति धेरै बिरामी हेर्‍यो त्यति फाइदा । मैले त्यसलाई अवसरका रुपमा लिएँ । मलाई जसरी पनि राम्रो तालिम लिनु थियो । त्यही भएर दुःख भयो भनेर कहिले पनि ‘फिल’ भएन।

इन्टरनल मेडिसिन अध्ययन सकेपछि हेमाटोलोजी अंकोलोजीमा फेलोसिपको अवसर आयो । मैले क्यान्सरका विषयमा धेरै बुझ्ने र सिक्ने मौका पाएँ । अमेरिका र नेपालमा क्यान्सरको अवस्था, संक्रमण र फैलावटमा निकै फरक पाएँ । नेपालमा युवाअवस्थामा नै ठूलो आन्द्राको क्यान्सर हुने बिरामी धेरै छन् । यहाँका १९–२० वर्षका युवामा ठूलो आन्द्राको क्यान्सर देखिन्छ । तर, अमेरिकामा ५० वर्षभन्दा माथिकामा मात्र यस्तो क्यान्सर देखिन्छ । युवाअवस्थामा त फाट्टफुट्ट मात्र समस्या देखिन्छ । यस्तै नेपाली युवतीलाई २५–३० वर्षमै स्तन क्यान्सर देखिने गरेको छ । नेपालमा किन यस्तो समस्या आइरहेको छ भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने बेला आइसक्यो । यसको पछाडिका कारण खोजी गर्दै समाधान गर्नुपर्छ।

नेपालमा आएको मौकामा मैले वीर अस्पतालमा फोक्सोको क्यान्सरका विषयमा बुझेँ । अमेरिकामा धेरैजनालाई ५० वर्षपछि फोक्सोको क्यान्सर हुन्छ । तर, यहाँ त ३० वर्षभन्दा माथिकालाई नै फोक्सोको क्यान्सर भेटियो । धूमपान गर्नेहरुमा पनि लामो समयपछि क्यान्सर हुन्छ । धूमपान मात्र नभई यो समस्याको पछाडि अन्य कारण पनि हुन सक्छन् । काठमाडौंमा एक हप्ता बस्दा आकाश निलो देख्न सकिनँ । फोक्सोको क्यान्सर हुनुमा त्यसको पनि केही योगदान होला सायद । धुलो–धुँवा र प्रदूषणका कारण क्यान्सरका बिरामीको केही संख्या थपिएको हुन सक्छ । यो हाम्रो अनुमान मात्र हो । यसको वास्तविकता पहिचानका लािग अनुसन्धान नै गर्नुपर्छ।

क्यान्सरका बिरामीको अवस्था हेर्दा नेपालमा सबैजसो क्यान्सर युवाअवस्थामा नै बढी देखिने गरेको छ । किन यस्तो भइरहेको छ ? त्यो सहजै भन्न सक्ने अवस्था छैन । यसमा धेरै कारण हुनसक्छन् । तीमध्ये एक वंशाणुगत कारणले केही समस्या आएको हुन सक्छ । जस्तै, नेवारी समुदायमा स्तन र पाठेघरको क्यान्सर बढी छ भन्ने कुरा आइरहेको छ । यो ‘बिआरसिए’ भन्ने जिनका कारण हुन सक्छ । यो जिन परिवारका सदस्यमा सर्दै जाने हुन्छ । त्यो जिन ‘हेरिडिटी क्लस्टर’ (समान वंशाणूगत समूह) बन्न सक्छ । नेवार–नेवार समुदायमा नै विवाह सम्बन्ध हुने भएकाले त्यो जिनले असर गरेको हुन सक्छ ।
नेपालका सहरी क्षेत्रमा पछिल्लो समय बढ्दै गएको प्रदूषण पनि क्यान्सरको अर्को कारण हुन सक्छ । अर्को ठूलो समस्या भनेको नेपालमा पछिल्लो १० वर्षयता बढेको विषादियुक्त तरकारी, फलफूल तथा खाना हो । लगातार रुपमा विषादियुक्त खाना खाइरहँदा पनि क्यान्सरको समस्या बढेको हुन सक्छ । विदेशमा प्रतिबन्धित विषादि हाम्रोमा खुलमखुल्ला प्रयोग भइरहेका छन् । खुला सिमानाका कारण अवैध रुपमा त्यस्ता विषादि भित्रिरहेका छन् । यसले क्यान्सर रोगीको संख्या बढाइरहेको छ भन्ने हामी सहजै अनुमान लगाउन सक्छौँ।

युवाअवस्थामा हुने अधिकांस क्यान्सरलाई कमी ल्याउन आवश्यक कदम अगाडि बढाउनुपर्छ । यसका लागि हामी विदेशमा रहेका डाक्टरहरु सहयोग गर्न तयार छौँ । उपचारका क्षेत्रमा मात्र नभई अन्य रोगको रोकथामका लागि आवश्यक क्षेत्रमा हामी सहयोग गर्न सक्छौँ।

नेपाल सरकारले क्यान्सरका बिरामीलाई उपचारका लागि एक लाख रुपैयाँ दिँदै आइरहेको छ । यो सँगै क्यान्सर हुने कारकको खोजी गर्दै समाधान तर्फ पनि लाग्नुपर्छ । क्यान्सर भएका बिरामीहरुको उपचारमा सहज पहुँच छैन । उपचारको पहुँचमा आएकाहरुको पनि समयमा उपचार हुन सकेको छैन । नेपालमा क्यान्सर उपचारका लागि दक्ष जनशक्ति छन्, तर ती जनशक्ति संस्थागत हुन सकेका छैनन् । एक जनाले सबै काम गर्छु भन्ने होड छ । टाउको र घाँटीको शल्यक्रिया गर्नेले स्तन पनि गर्छु, आन्द्रा पनि गर्छु, फोक्सो पनि गर्छु भनेर सबैतिर हात हाल्न खोज्छन् । भएका जनशक्तिले विधागत रुपमा आफूलाई ‘अपग्रेड’ गर्ने हो भने निकै राम्रो हुन्थ्यो । डाक्टरहरु व्यक्तिगत भन्दा पनि संस्थागत रुपमा अगाडि बढ्नुपर्छ।

क्यान्सरको शल्यक्रिया भनेको काटेर फाल्ने मात्र होइन । एक जना डाक्टर एउटा अंगमा फोकस हुने हो भने गुणस्तरीय सेवा दिन सकिन्छ । जनशक्ति नभएको पनि होइन । राम्रा सर्जनहरु प्रसस्त छन् यहाँ । उनीहरु एक ठाँउमा बसेर म यो विधामा, तिमी यसमा भनेर छुट्याउने हो भने विश्वस्तरको सेवा नेपाली डाक्टरले दिन सक्छन् । सबैले ‘म’ होइन ‘हामी’ भन्ने भावना लिएर काम गर्ने हो भने धेरै समस्या समाधान हुन्छ।

नेपालमा क्यान्सर उपचार सेवा समय अनुसार विस्तार र विकास गर्न मैले शैक्षिक कार्यक्रमहरुमा सहयोग गर्दै आएको छु । मैले अमेरिकामा सिकेको प्राविधिक सीप र ज्ञान यहाँ आएर बाँड्ने गरेको छु । हरेक वर्षजस्तो नेपाल आएर तालिम दिन्छु । १० दिन नेपाल बस्दा १० जना बिरामी हेर्नुभन्दा १० जनालाई तालिम दिन सकियो भने त्यसले ठूलो फाइदा हुन्छ भनेर तालिममा जोड दिएको हुँ।

नेपाली जनशक्तिलाई समयअनुसार अपडेट गराउन ‘अमेरिकन सोसाइटी अफ अंकोलोजी’ले आयोजना गर्ने टुरमा हरेक वर्ष नेपाली डाक्टरले अवसर पाउन थालेका छन् । सन् २००४ देखि मेरो प्रयासमा यो अवसर नेपालीले पाउन थालेका हुन् । सुरुमा डा. विष्णु पौडेलले अमेरिकामा जाने अवसर पाउनु भएको थियो । त्यसयता हरेक वर्ष दुईदेखि तीन जनासम्म डाक्टरले यो अवसर पाउन थालेका छन् । यो अवसरसँगै ‘रिसर्च ग्रान्ट’, ‘प्यालेटिभ केयर ट्राभल’जस्ता अवसर पनि आए । यस्ता कार्यक्रममा नयाँ डाक्टरलाई नै अवसर दिने गरिएको छ । उनीहरुले अन्तर्राष्ट्रिय फोरममा सिकेका कुरा नेपालमा आएर प्रयोग पनि गरिरहेका छन्।

क्यान्सर उपचारको क्षेत्रमा भएका नवीनतम ज्ञानलाई आदानप्रदान गर्न सन् २०१० देखि अमेरिकन सोसाइटि अफ अंकोलोजीको ‘एजुकेसन सिम्पोसिजिएम’ नेपालमा हुन थालेको छ । त्यो पनि हाम्रो लागि गर्वको कुरा हो । अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा क्यान्सर विशेषज्ञ उत्पादनका लागि डिएम अंकोलाजीको पढाइ सुरु भएको छ । यो निकै खुसीको कुरा हो । डाक्टरहरुको व्यक्तिगत करिअरका लागि मात्र नभई नेपालका लागि पनि यो राम्रो पक्ष हो।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने