मुख्य समाचार

नेपालमा पुनः कलेजो प्रत्यारोपण हुन सकेन, कुर्दाकुर्दै २ बिरामीको मृत्यु

img

प्रवीण ढकाल

काठमाडौं– नेपाली चिकित्सा क्षेत्रमा ६ महिना अगाडि पहिलो पटक सफल कलेजो प्रत्यारोपण भएसँगै नयाँ इतिहास रचिएको थियो। नेपालमै कलेजो प्रत्यारोपण सुरु हुनु गर्व गर्न लायक विषय पनि थियो।

तर, त्यसयताको ६ महिनाको अवधिमा भने पुनः अर्को बिरामीमा कलेजो प्रत्यारोपण हुन सकेको छैन। बरु यस बीचमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणका लागि कुरेका दुई बिरामीको ज्यान गएको छ।

केन्द्रले पहिलो पटक कलेजो प्रत्यारोपण गरेर पुनः प्रत्यारोपण सेवा दिन नसक्दा ६ महिनाको अवधिमा झापाका ५२ वर्षीय गोपाल सिटौला र चितवनकी ३६ वर्षीया श्रेष्ठ थरकी एक महिलाको मृत्यु भएको हो।

केन्द्रले अर्को प्रत्यारोपण चाँडै हुने भन्दै झुलाउँदा उनीहरुको मृत्यु भएको बताइएको छ। केन्द्रले पहिलो प्रत्यारोपण सफल भएलगत्तै प्रत्यारोपण सेवाले निरन्तरता पाउने र १५ लाखमै प्रत्यारोपण गराउन सक्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो।

‘भारतमा करोड लाग्ने उपचार नेपालमा १५ लाखमै हुने भएपछि उहाँहरु प्रत्यारोपणको आशमा यहीँ कुरेर बस्नु भएको थियो,’ केन्द्रका एक कर्मचारीले स्वास्थ्यखबरसँग भने, ‘तर यहाँ हुन्छ–हुन्छ भन्दै झुलाउँदा दुई जनाको ज्यान नै गयो।’
‘एक जना बिरामी भारत जान्छु भन्दा पनि यहीँ गर्ने भन्दै रोकिएको थियो,’ उनले भने। उनका अनुसार प्रत्यारोपण हुने सम्भावना नदेखेपछि अन्य दुई जना बिरामी भने भारत गइसकेका छन्।

कलेजो प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा नभई हतारमा सेवा सुरु गर्नाले सेवाले निरन्तरता पाउन नसकेको केन्द्रकै कर्मचारी स्वीकार गर्छन्। केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पनि प्रत्यारोपण सेवाले निरन्तरता नपाउनुमा तयारी नपुगेको बताएका छन्।

‘फेरि पनि प्रत्यारोपण सुरु गर्न धेरै तयारी गर्नुपर्छ,’ उनले स्वास्थ्यखबरसँग भने, ‘तयारी सकेको छैन त्यही भएर काम अगाडि बढेन।’ डा. श्रेष्ठले कलेजो प्रत्यारोपणका विषयमा थप कुरा भने गर्न चाहेनन्।

केन्द्र स्रोतका अनुसार प्रत्यारोपण सेवा हुने आशमा केन्द्रमा धेरै बिरामीको लाइन लाग्न थालेपछि केन्द्रले पुनः कोरियाबाट डाक्टर बोलाएर थप दुई जनाको प्रत्यारोपण गर्ने तयारी गरिरहेको छ। तर, नेपालका डाक्टरबाटै प्रत्यारोपण हुन नसके सेवा दीगो नहुने चिकित्सकहरु बताउँछन्। ‘पहिलो पटक सुरु गरेँ भन्ने क्रेडिट लिन प्रत्यारोपण सुरु गरेको देखियो,’ एक चिकित्सकले भने, ‘नेपाली चिकित्सकबाट सम्भव नभएसम्म प्रत्यारोपण सेवा दीगो हुन सक्दैन।’ केन्द्रमा हाल कलेजो प्रत्यारोपण विज्ञ डा. छेतेन योञ्जन तामाङ र डा. प्रवीण जोशी कार्यरत छन्।

पहिलो प्रत्यारोपणमै जटिलता, लुकाइयो खबर

मानव अंग प्रत्यारोपण केन्द्रमा ६ महिना अगाडि २०७३ मंसिर २२ गते बुधबार कोरियन डा. डेबिड कोनको नेतृत्वमा २० जनाको टोलीले भक्तपुरका ३६ वर्षीय बलराम नागामा कलेजो प्रत्यारोपण गरेका थिए। करिब ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको थियो। बिरामी नागालाई उनकै दिदीले कलेजो दान गरेकी थिइन्।

तर, उक्त प्रत्यारोपणमा जटिल समस्या देखिएको थियो। कलेजो प्रत्यारोपण गरेर कोरियन टोली फर्किसकेका थिए। प्रत्यारोपणपछि आवश्यक पर्ने अन्य तयारी राम्रो नहुँदा बिरामीमा थप जटिलता देखिएको थियो। बिरामीको अवस्था नाजुक बन्दै गएपछि केन्द्रले त्यसबेला काठमाडौँ मेडिकल कलेजमा काम गर्ने कलेजो प्रत्यारोपण विज्ञ डा. छेतेनलाई बोलाएको थियो। डा. छेतेन तुरुन्तै केन्द्रमा पुगेर पुनः बिरामीको शल्यक्रिया गरेकी थिइन्।

‘नेपालमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सुरु गरेको ‘क्रेडिट’ लिने नाममा केन्द्रले हतारमा सेवा सुरु गर्दा झन्डै गम्भीर दुर्घटना हुन पुगेको थियो,’ अस्पतालका एक कर्मचारीले भने, ‘धन्न नेपालमै दक्ष डाक्टरहरुको टोली रहेछ र सम्भाव्य दुर्घटना टर्‍याे।’ उनका अनुसार केन्द्रले त्यसपछि डाक्टर छेतेनलाई केन्द्रमै कामको अवसर दिएको हो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live