फिचर

जाँदाजाँदै स्वास्थ्य सचिव डा. उप्रेतीका ८ ठट्टा

img

डिबी खड्का

काठमाडौँ– स्वास्थ्य मन्त्रालयको सचिवबाट अवकाश लिएका डा. सेनेन्द्रराज उप्रेतीको ‘सेन्स अफ ह्युमर’को खुब तारिफ हुने गर्छ। उनी कुनै पनि कार्यक्रममा बोल्नुपर्दा तथ्यलाई रमाइलो तरिकाले प्रस्तुत गर्छन्। सुन्नेहरुको ध्यान आफूतिर आकृष्ट गर्न उनी सदा सफल हुन्छन्। सोमबार मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा वक्तव्य दिँदा पनि उनी ठट्यौलो पारामै देखा परे। उनले गरेका ठट्टा, ठट्टै मात्र थिएनन्, उनको करियरसँग जोडिएका तथ्यहरु पनि थिए।

१. म पहिलो– डा. उप्रेतीले आफू एक हिसाबले पहिलो भएको दाबी गरे। उनको तर्क थियो, ‘नेपालमै पढेर, स्वास्थ्य कार्यकर्ता भएर सचिव भएको म पहिलो हुँ। अब मजस्तै अरु पनि हुनेवाला छन्। शुभकामना छ।

२. आउँदा–जाँदा मन्त्री छैन– उनी अघिल्लो साउनमा स्वास्थ्य सचिव भएका हुन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जाँदाजाँदै उनलाई सचिव नियुक्त गरेको हो। यसकारण उनी सचिवका रुपमा मन्त्रालय छिर्दा मन्त्री बाहिरिइसकेका थिए। त्यसैले उनी आउँदा मन्त्री थिएनन्। अहिले पनि संयोग के प¥यो भने, उनले बिदा लिनुभन्दा केही दिन अघि नै स्वास्थ्यमन्त्री गगन थापाले बिदा लिइसकेका थिए। यही कुरा उप्काए डा. उप्रेतीले। उभने, ‘म अभागी सचिव हुँ। पोहोर साल आउँदा पनि मन्त्री भेटिनँ। अहिले जाँदा पनि मन्त्री हुनुहुन्न।’ उनले जाँदै गर्दा मन्त्रीज्यूले खादा लगाइदिए छाती अझै चौँडा हुन्थ्यो कि, भनेर ठट्टा गरे।

३. गुलियो हो कि तीतो– डा. उप्रेतीले आफ्नो कार्यकालाई कुन संज्ञा दिने भनेर अन्यौल रहेको बताए। ‘३८ वर्षे साधना अत्य गर्न लागेको दिनमा मुख गुलियो–गुलियो पनि भएको छ, तीतो–तीतो पनि भएको छ।’

४. हिमालतिर १८ वर्ष– डा. उप्रेतीले १८ वर्ष हिमाली जिल्लामा बिताएको बताए। नेपालमा १६ वटा हिमाली जिल्ला रहेको तर आफूले १८ वर्ष हिमाली जिल्लामा काम गरेको अनुभव उनले सुनाए। अहिले पनि दुर्गममा डाक्टर जान नरुचाउने गरेको समाचार आइरहँदा उनको यो अनुभवलाई धेरैले तालीले सम्मान गरे। यहाँ पनि उनको ठट्टा आयो, ‘त्यतिका वर्ष त्यस्तो चिसो ठाउँमा बस्दा अरु भए धेरै रक्सी खाएर सिरोसिस भएरै सिदिन्थे होला, म बँचेर यहाँसम्म आएँ।’

५. सरुवा ३४ ठाउँमा– उनले जति वर्ष स्वास्थ्य सेवामा बिताए, झन्डै–झन्डै त्यति नै ठाउँमा सरुवा भएको प्रसंग सुनाए। उनी ३४ ठाउँमा सरुवा भएका रहेछन्। ‘मेरो सरुवा छिटोछिटो भइहाल्थ्यो। छुच्चो थिएँ, मन नपरेको कुरा फ्याट्ट भनिदिने। हाकिमसँग ठ्याक्कठुक्क पर्याे कि सरुवा गरिहाल्थे,’ उनले भने, ‘कहिल्यै सरुवा गरिपाऊँ र सरुवा बदर गरिपाऊँ भनेर निवेदन चाहिँ हालिनँ।’ जसलाई उनकी सहकर्मी डा. किरण रेग्मीले सदर गर्दै भनिन्, ‘जहाँ पनि उहाँ खुशी भएर जानुहुन्थ्यो। कहिल्यै गुनासो गर्नु भएन।’

६. बाँकी रह्यो एउटा पद– उनले स्वास्थ्य सेवा अन्तर्गतका अधिकांश ओहदामा रहेर काम गरेका रहेछन्। भने, ‘लिन मिल्ने र हुन मिल्ने सबै पदमा बसेर काम गरेँ, एउटा क्षेत्रीय निर्देशक हुन पाइनँ।’ हेल्थ असिस्टेन्ट, मेडिकल अधिकृत, वरिष्ठ मेडिकल अधिकृत, विभिन्न शाखा, महाशाखा प्रमुख र स्वास्थ्य सचिवसम्म भएर अवकाश भएका हुन् उनी। तर, क्षेत्रीय निर्देशक हुने संयोग भने उनलाई जुरेन।

७. गाली नखाई बिदा– सचिव हुँदा र जाँदा एउटै कुराको डर रहेछ उनलाई, देशमा महामारी फैलियो भने स्वास्थ्य सचिवका हैसियतले गाली खाइन्छ। तर, संयोग भन्नुपर्यो, एक वर्षे कार्यकालमा त्यस्तो विपत्ति देशले भोगेन र उनले पनि गाली खानुपरेन। आफूले गाली नखाई मन्त्रालयको चाबी बुझाएको भन्दै केही दिनमा विपत्ति आइलागे गाली नगर्न अनुरोध गर्दै ठट्टा गरे, ‘अबको जिम्मेवारी म लिन्नँ। केही आइपरे, गाली नगर्नुहोला।’

८. छुच्चो म– आफू स्वभावतः छुच्चो रहेको उनले स्वीकार गरे। त्यसैले नेपाल सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न आनाकानी गर्ने आफू मातहतका कर्मचारीमाथि कडा भएर प्रस्तुत भएको बताए। उनले आफ्नो यो स्वभावलाई विस्तारै घटाउँदै लगेको पनि जनाएका थिए। ‘तर, नानीदेखि लागेको बानी जाँदैन रहेछ। कसैको चित्त दुखेको भए माफी दिनु होला। सरकारको कामका लागि कसैको चित्त दुखाएको भए माफ दिनु, बिर्सिदिनु। तर, मेरै सेवा र चाकडी नगरेकोमा वा व्यक्तिगत कामका लागि चित्त दुखाएको भए माफी पनि दिनुपर्दैन,’ उनले ठट्टा गरे।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live