फिचर

‘रक्तदान गरी गरौँ जीवनदान...’ यसरी लेखियो यो चर्चित गीत

img

प्रवीण ढकाल

कीर्तीमानी रक्तदाता प्रेमसागर


‘रक्तदान गरी गरौँ जीवनदान
दानमा दान, महादान रक्तदान...’

सम्भवतः देशका जुनसुकै क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यो गीत बज्ने गर्छ। रक्तदान कार्यक्रममा निरन्तर रुपमा यो गीत बज्न थालेको १४ वर्ष भइसकेको छ। रक्तदान गर्नलाई प्रोत्साहन गर्ने र रक्तदानको महत्व झल्काउने यो गीत धेरैले सुनेकै हुनुपर्छ।

तर, धेरैलाई थाहा छैन, यो गीतका लेखक को हुन् भन्ने। यो गीतका लेखक हुन् प्रेमसागर कर्माचार्य। यिनी तिनै कर्माचार्य हुन् जसले एक सय ५० पटक रक्तदान गरेर नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने कीर्तिमानी कायम गरेका छन्। धेरैले रक्तदाता प्रेमसागरलाई चिन्छन् तर उनले नै यो गीत लेखेको हो भन्ने जानकारी चाहिँ कमैलाई मात्र छ।

कर्माचार्यले यो गीत आफूले १००औं पटकको रक्तदान कार्यक्रममा एल्बलमार्फत सार्वजनिक गरेका थिए। यो गीत २०६० साल असोज १६ गते सार्वजनिक भएको हो। त्यसयता यो गीत हरेकजसो रक्तदान कार्यक्रममा निरन्तर बज्न थालेको हो।

गीत सार्वजनिक गर्ने समयमा कर्माचार्यलाई गीत यति धेरै चर्चित होला भन्ने लागेको थिएन रे। भन्छन्, ‘चेतना फैलाउने गीत हो, राम्रै होला तर यति धेरै चर्चित होला भन्ने चाहिँ सोचेको थिइनँ।’
दिनरात बिरामीलाई रगत जुटाउने काममा व्यस्त रहने स्वयंसेवी रक्तदाताले कसरी लेखे त यो गीत?

‘रक्तदान कार्यक्रममा मानिसहरुलाई जतिबेला पनि रक्तदान गरौँ भन्दै बोलाउन र फाइदाका बारेमा बताउँदा प्रभावकारी सन्देश दिन सकिएको थिएन,’ उनले भने, ‘एकातिर मानिसहरु रक्तदान गर्न त्यति नआउने अनि अर्कोतिर बिरामीले रगत नै नपाउने। बिरामीले रगत नै नपाई अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्नुपर्छ र यसका लागि सबैमा रक्तादनको सन्देश छर्नुपर्छ भनेर मैले गीत लेखेँ।’

उनका अनुसार गीतका लागि उपयुक्त शब्दहरुको खोजी गर्न भने धेरै मिहिनुत गर्नुपर्‍यो। ‘मानिसलाई रक्तदानको महत्व पनि दर्शाउन सकियोस् र रक्तदान गर्न आकर्षित पनि गर्न सक्ने गीत बनाउनु थियो मलाई,’ १४ वर्षअघि गीत लेख्दाको सकस सुनाउँदै भने, ‘धेरै पटक लेख्दै, च्यात्दै गरेँ। अन्ततः मैले चाहेकोझैँ समाजलाई सन्देश दिने यस्तो गीत तयार भयो।’

रक्तदान गरी गरौँ जीवनदान
दानमा दान, महादान रक्तदान
सबमा आओस् भावना, मानवता नै मानवमा
जीवन सबको अमूल्य, यो बुझी गरौँ रक्तदान
स्वस्थ र स्वच्छ रगत नै बुझौँ सबले अमृत नै
आवश्यक सबका लागि यो, बुझी गरौँ रक्तदान
न बन्छ यो कारखानामा, न बग्छ यो खोलानालामा
हरेक स्वस्थ व्यक्ति नै, हो यो पुण्य कर्मको मुहान्।

खोजेको शब्द त रचियो, तर कसलाई संगीत गर्न दिने र कसलाई गाउन दिने भन्ने पिरलो थपियो प्रेमसागरलाई। उनको दिमागले झ्वाट्ट सम्झियो, ‘यो गीतका लागि त गायक रामेश नै ठिक।’ उनी गीत बोकेर लागे गायक रामेश श्रेष्ठकहाँ।
‘गीत हेरेपछि रामेश पनि खुसी हुनु भयो र गीत गाउन राजी हुनुभयो,’ कर्माचार्यले भने, ‘उहाँलाई पनि गीतका शब्द सबै मन परे। एउटा पनि शब्द सम्पादन नगरी उहाँले नै संगीत भर्दै गीत गाइदिनुभयो।’

कर्माचार्यको यो गीत उनकै पहिलो गीति एल्बम ‘रक्तदान गीत’ मा संकलित छ। रक्तदानकै सन्देश फैलाउन उनले रक्तदानसँग सम्बन्धित पाँच वटा गीत समावेश गरेर एल्बम तयार पारेका हुन्। उनको यो गीत नेपाल भाषामा पनि आइसकेको छ। यो सँगै उनको गीत अंग्रेजी, मैथिली र भोजपुरीमा समेत आउने तयारीमा छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने