विचार/ब्लग

'प्याथोलोजी' नामले नै बदनाम भएको मेरो पेशा

डा. रुना झा

काठमाडौँसहित अन्य ठूला सहरका गल्लीगल्लीमा, मैले देखेको र नदेखेका सानातिना सहरहरुमा, अझ भनौँ झन्डैझन्डै प्रत्येक औषधि पसलमा र एउटा मात्रै डाक्टर कहिलेकाहीँ पुग्ने हरेक क्लिनिकमा 'प्रयोगशाला' भेट्न सकिन्छ। सबैमा नभए पनि कतिपयमा बोर्ड या भित्तामै लेखिएको देख्न सकिन्छ 'फलानो प्याथोलोजी...यहाँ रगत, दिशा, पिसाब, खकार, वीर्य आदि जाँच गरिन्छ।' प्याथोलोलिस्टले कहिले पाइला नटेकेका यस्ता 'प्याथोलोजी'ले प्याथोलोलिस्टको मात्र नभई सम्पूर्ण प्रयोगशालाकर्मीकै गरिमा धुलोमा मिलाउन ठूलो योगदान दिएका छन्।

यस्तै एउटा 'प्याथोलोजी'का मालिकलाई 'किन दिशा, पिसाब, वीर्य जाँचिन्छ' भनेर लेखेको भनी सोध्दा जवाफ दिन्छन्, 'लेखेन भने बिरामीले कसरी थाहा पाउॅछ, नमूना कहाँ दिने भनेर।' औषधि पसलमा 'सिटामोल पाइन्छ' या क्लिनिकमा 'ज्वरोको उपचार हुन्छ' भनी लेखेको त मैले कतै देखेको छैनI बरु अरुसँग उपलब्ध नभएका आफूले दिएका विशिष्ट सेवा भए त्यसबारे पो लेखेको भए हुने।

प्याथोलोजी शब्दको मतलब 'रोग सम्बन्धी पढाइ' होI यसमा मानिसका रोगहरु के-के हुन्, किन लाग्छन्, रोग लाग्नुका कारण के-के हुन्, ती कारणबाट रोग लाग्ने प्रक्रिया के हो, ती रोग पत्ता लगाउन के-के परीक्षण कसरी गरिन्छ आदि बारे ज्ञान हासिल गरिन्छI बिनाप्याथोलोजीको ज्ञान कुनै पनि रोग बुझ्न नसकिने हुनाले एमबिबिएसमा मात्र होइन, पारामेडिकल र नर्सिङमा पनि प्याथोलोजीको आवश्यक ज्ञान दिइन्छ।

यसको विशेषज्ञता हासिल गर्न र प्याथोलोलिस्ट कहलाउन साढे पाँच बर्से एमबिबिएसपछि तीन बर्से एमडी गर्नुपर्छ। त्यसपछि पनि पटक-पटक ट्रेनिङ, फेल्लोसिप र स्वअध्ययन गर्दै आफ्नो ज्ञान र सीपमा निखार ल्याउनुपर्ने हुन्छ। कम्तिमा साढे आठ वर्षको तपस्यापछि प्राप्त ज्ञान र प्याथोलोलिस्टको नामलाई 'प्याथोलोजी' नाम दिइएर राखिएका यस्ता बोर्डहरुले खिसी गरिरहेजस्तो लाग्छ।

कसैलाई 'म डाक्टर हुँ' भन्नेबित्तिकै प्रश्न आउँछ 'के सम्बन्धी?'

'म प्याथोलोजिस्ट हुँ' भन्नासाथ प्रश्न सोध्ने कतिपय मानिसको नाक यसरी खुम्चिन्छ कि मानौँ मेरो जवाफमा निस्किएका शब्द नै गन्हाइरहेका छन्। त्यसैले अचेल कसैले सोध्दा 'म क्यान्सर र रगत सम्बन्धी रोग पत्ता लगाउने डाक्टर' भन्न थालेकी छुI यस्तो भनेपछि सुन्नेका अगाडि मेरो व्यक्तित्व तुरुन्तै आकर्षक बन्छ, मेरो मानसम्मान बेग्दै हुन्छ। क्यान्सर, रक्त क्यान्सर र अन्य रगतसम्बन्धी रोगबारे थप प्रश्नैप्रश्न बर्सिन थाल्छ। मेरो कामै त्यही भए पनि प्याथोलोजिस्टको सट्टा मैले गर्ने कामको विवरण दिँदा यति फरक पर्दो रहेछI

म पाकिस्तानमा एमबिबिएस अध्ययन गर्दा तेस्रो वर्षमै अत्यन्त रूपवति, सधैँ सजिएकी, आफ्नो पालामा एमबिबिएसको एक या दुईबाहेक सबै विषयमा युनिभर्सिटीका पाँचवटै कलेजमध्येबाट प्रथम हुन सफल र पढाउनमा पनि उत्तिकै राम्रो प्रोफेसरबाट म प्रभावित भएकी थिएँ। म पछि गएर प्याथोलोजीमै एमडी गर्ने निधोमा त्यसबेलै पुगेकी थिएँ। मेडिकल अधिकृत छॅदा अस्पतालमा सर्पदंशको केसलाई लिएर बिरामीका आफन्तले त्यहाँ उपस्थित स्वास्थ्यकर्मीलाई गरेको गालीगलौज र दुर्व्यवहारले बिरामीको धेरै सम्पर्कमा आउनुपर्ने क्लिनिकल विषयहरुबाट मेरो मन झन्डैझन्डै उठिसकेको थियो।

त्रिवि शिक्षण अस्पतालमा एमडी प्याथोलोजीमा भर्ना लिनुअघि त्यतिबेला भारतको नयाँदिल्ली जानु भएका बुबालाई फोन गरेर मञ्जुरी मागेँ। वर्षमा पाँच सय करोड भारतीय रुपैयाँभन्दा बढीको कारोबार गर्ने दिल्लीस्थित 'डाक्टर लाल प्याथल्याब्स'मा त्यही बिहान रगत दिएर आउनु भएका मेरो बुबाले सायद त्यो ल्याब देखेर होला 'हुन्छ' भन्न गार्हो मान्नु भएन। तर, पछि मैले प्याथोलोजीमा एमडी गर्दैछु भन्ने कुरा डाक्टर बाहेक अरु धेरै पढेलेखेकै नातेदारले सजिलै पचाएनन्। धेरैजसोले मलाई एमडी सकेपछि डिजियो (गाइनो प्रसूतिमा डिप्लोमा) गर्ने सल्लाह पनि दिए।

नेपाल सरकारका एक जना इन्जिनियरले त मैले आरामले राति सुत्न पाउने सुःखका लागि 'डाक्टरी पेशा त्यागेर' समाजप्रति गैरजिम्मेवार भएको आरोप लगाए। सरकारी संस्थामै डेप्युटी जनरल मेनेजर एक आफन्तले 'पेशागत आत्महत्या' गरेको संज्ञा दिए। यो मेरो मात्र व्यथा होइन। प्याथोलोजी पढेका या पढ्न खोजेका अरु धेरैसँग मिल्दोजुल्दो अनुभव हो। आधुनिक चिकित्सा पद्दतिको 'ब्याक बोन' अथवा 'मेरुदण्ड' कहलिएको प्याथोलोली पढ्दैमा 'डाक्टरी पेशा त्याग' कसरी भयो? एमबिबिएस नपढी पढ्न नमिल्ने एमडी प्याथोलोली कसरी 'पेशागत आत्महत्या' भयो? ती सज्जनहरुलाई मैले बुझाउन सकिनँ। यसो हुनुमा टोलटोलमा छ्याप्छ्याप्ती पाइने 'प्याथोलोजी' नामक साइनबोर्ड र तिनले आर्जन गरेको बदनामी र भ्रम नै मुख्य कारण हो भन्ने मेरो ठम्याइ छ।

स्टेथेस्कोपको सट्टा माइक्रोस्कोप समाएर, नानाथरि आधुनिक उपकरणले घेरिएकोमा म आफूलाई डाक्टर मात्र नभई डाक्टर र वैज्ञानिक दुईवटै ठान्छु। आजको युगमा प्याथोलोलिस्टलाई 'डाक्टरको पनि डाक्टर' भन्ने संज्ञा दिइएको छ। तर हालसालै पनि त्रिभुवन विश्वविद्यालयमा पिएचडी गरिरहेकी नातेदारले 'एमबिबिएस गरेर पनि किन प्याथोलोजी पढेको?' भनेर प्रश्न गर्दा मलाई उनको चेतनामाथि दया लागेर आयो। सँगसँगै आफ्नो पेशाप्रति समाजका जान्नेसुन्ने भनाउँदाको यो मानसिकताले आफूलाई खल्लो लागिरहन्छ। मानौँ एमबिबिएस गरेर डाक्टर भएकी मैले एमडीपछि त्यो उपाधि गुमाएँ।

विशुद्ध पैसा मात्र कमाउने ध्येयले सीमित साधनस्रोत र अदक्ष जनशक्तिबाट खोलिएका 'कोठे प्याथोलोजी'ले मेरो पेशालाई अत्यन्त हलुका बनाइदिएको छ। त्रिवि शिक्षण अस्पताल र वीर अस्पताल वरिपरि खुलेका सानासाना दोकाने 'प्याथोलोजी'हरुले भएभरका सबै परीक्षण आफ्नै प्रयोगशालामा गर्न मिल्नेजस्तो गर्छन्। मेरो विशेषज्ञताको सामाजिक मर्यादा छिन्नभिन्न गर्न जहाँतहीँ खुलेका 'प्याथोलोजी सेवा' र तिनका नामसँगै लेखिएका 'दिशा, पिसाब, खकार, वीर्य आदि परीक्षण' जस्ता शब्दले अहम् भूमिका खेलेका छन्।

मेरो विशेषज्ञता यही भएको भए र यसको नाम 'प्याथोलोजी' नभएर अरु नै भइदिएको भए समाजले हेर्ने आँखा पनि अर्कै हुन्थ्यो होला। प्याथोलोजिस्ट मात्र होइन प्रयोगशाला सम्बन्धी अन्य जनशक्ति पनि समाजको यस्तो सोचबाट अछुतो छैनन्। मैले चिनेको एक जना महिला मेडिकल ल्याब टेक्नोलोजिस्टको इन्जिनियरसँग बिहे हुने भयो। बिहेअघि सासुससुराले मेडिकल टेक्नोलोजीमा स्नातकलाई ठुलो गुण माने पनि एउटा शर्त राखे, 'बिहेपछि पढाउन या अन्य जागिर गर्न पाइने तर प्रयोगशालामा काम गर्न नपाइने।'

मैले आपति जनाएको प्रयोगशालाहरुले प्याथोलोजी मात्र बदनाम गरेका छैनन् बिरामीलाई समेत अँध्यारोमा राख्ने काम गरेका छन्I यिनले भन्न खोजेका रगत परीक्षणमा हेमोग्लोबिन, त्यस्तै एउटा दुइटा अन्य साधारण टेस्ट र केही बयोकेमिस्ट्री सम्बन्धी परीक्षण हुन्छ। पिसाब पनि 'स्ट्रिप' चोपेर सुगर र प्रोटिन भए/नभएको हेर्ने र माइक्रोस्कोप भएमा पिसाबमा 'पस सेल' र 'रेड ब्लड सेल' हेर्नेसम्मको काम हुन्छ। दिसामा पनि जुका बाहेक अन्य परीक्षण हुन सक्दैन। खकारमा के हेर्छन् होला? सायद क्षयरोगको किटाणू। वीर्य परीक्षण पुरुषको सन्तान उत्पादन गर्ने क्षमताको परीक्षण भएकाले मनोवैज्ञानिक असर राख्ने परीक्षण हो। यस्ता प्रयोगशालामा कसले वीर्य परीक्षण गराउँछ र त्यसको भरमा कुन स्त्रीरोग विशेषज्ञ वा युरोलोजिस्टले पुरुष वा महिला बाँझोपनको उपचार गर्छन् होला त्यो पत्याइसक्नु छैन।

प्रयोगशाला सेवाको मुख्य नमूना रगत नै हो। केही अपवाद छाडेर मानिसमा हुने साधारणदेखि क्यान्सरजस्ता कडा रोगसम्ममा रगतको नमूना परीक्षण आवश्यक हुन्छ। पिसाबमा हुने परीक्षण 'स्ट्रिप' चोप्नु वा गर्भ रहे/नरहेको जाँच गर्नु मात्र होइन। मेरो १५ बर्से करियरमा सयौंको पिसाब र खकार परीक्षणबाट किड्नी र फोक्सोको क्यान्सर भएको यकिन गरेकी छु। वीर्य परीक्षणमा पनि सिङ्गै किताब नै प्रकाशित छन्। त्यसैले सेवाग्राहीलाई सही जानकारी दिन प्रयोगशालाले आफूले गर्ने परीक्षणको सूची राख्नुपर्छ। कुन परीक्षणका लागि कस्तो नमूना चाहिने हो त्यो लेख्नुपर्छI

प्रयोगशाला यस सम्बन्धी विभिन्न तहका जनशक्ति मिलेर गर्ने एउटा सामूहिक पेशा होI तर, जनशक्तिको अभाव र पहिलेदेखि चलिआएको चलनले गर्दा सबैथरि जनशक्तिलाई स्वायत भएर प्रयोगशाला सञ्चालन गर्ने अधिकार दिइएको छ। ग्रामीण र दुर्गम क्षेत्रमा मात्र होइन महानगरपलिकामा समेत न्यून लगानीमा सञ्चालित न्यूनतम पूर्वाधार र परीक्षण भएका ल्यावहरु च्याउसरि छन्। यसले प्रयोगशाला धेरै पढाइलेखाइ र लगानी नचाहिने पेशाका रुपमा स्थापित गराएको छ।

रातिराति ड्युटी गर्नु नपर्ने, परिवारिक जीवन र पेशागत जीवन सन्तुलनमा राख्न सकिने, बिरामीका आफन्तबाट हुने दुर्व्यहार न्यून हुने, प्रसस्त आम्दानी हुने, आफ्नो सुविधा अनुसार घरबाट पनि काम गर्न मिल्ने यो विशेषज्ञता विषेशतः महिला डाक्टरहरुको प्राथमिकतामा पर्न सक्छ तर यससँग जोडिएको सामाजिक र घरपरिवारको सोचले धेरैलाई निरुत्साहित गरिदिन्छI

प्याथोलोजिस्टहरुको संगठन एसोसिएसन अफ क्लिनिकल प्याथोलोलिस्ट अफ नेपाल (एसिपिएन)ले अब प्याथोलोलिस्ट उपलब्ध नभएका प्रयोगशालाहरुको नाममा 'प्याथोलाेजी' शब्दको दुरुपयोग गर्न रोक लगाउनेतर्फ अभियान थाल्नुपर्छ। सबै प्रयोगशाला सम्बन्धी एसोसिएसन र प्रयोगशालाकर्मीलाई प्रयोगशाला पेशाले पाउनुपर्ने सामाजिक मर्यादामा बाधक यस्ता साइनबोर्ड हटाउन र यस्ता सानासाना पसले प्रयोगशालालाई निरुत्साहित गर्नुपर्छI व्यवसाय गर्नु सबैको अधिकार हो, तर कुनै सहरको ठूलो अस्पताल वरिपरि दुई किलोमिटरभित्र एक वा दुईजना प्रयोगशालाकर्मी भएको २० वटा प्रयोगशालाको सट्टा २० देखि ४० जना प्रयोगशालाकर्मी भएको एउटै ठूलो प्रयोगशालाले बिरामीलाई गुणस्तरीय सेवा दिनेतर्फ लाग्ने हो भने यस पेशाको सामाजिक मर्यादा पनि पक्कै उँचो हुनेछ।

(डा. झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट हुन्। उनी एसोसिएसन अफ क्लिनिकल प्याथोलोलिस्ट अफ नेपाल (एसिपिएन) की उपाध्यक्ष पनि हुन्।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live