समाचार

गोरखाः स्वास्थ्यचौकी पुनःनिर्माणमा ढिलाई, टेण्टबाटै सेवा

स्वास्थ्य खबरपत्रिका

गोरखा-  ‘गोरखा भूकम्प’ ले क्षति पुर्‍याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिएअनुसार तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरेको छैन । युनिसेफले दर्बुङ स्वास्थ्य चौकी भवन मात्रै पुनःनिर्माण गरेको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गुम्दाको माछाखोला, गुम्दा गाउँ, बारपाक, लाप्राक, छोप्राक, आरुपोखरी, फुजेल, गोरखा नगरपालिकाअन्तर्गत तारानगर, बक्राङ, देउराली र नाम्जुङ स्वास्थ्य चौकी पुनःनिर्माण गर्ने जिम्मा लिएको युनिसेफले भूकम्प गएको डेढ वर्ष भइसक्दा पनि ती भवन पुनःनिर्माणमा चासो दिएको छैन। 

स्वास्थ्य चौकी पुनःनिर्माण नहुँदा त्रिपाल, टेन्टबाटै बिरामीलाई सेवा दिनुपरेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । गत वर्ष मङ्सिरमा निर्माण सामग्री थुपारे पनि अहिलेसम्म स्वास्थ्य चौकी भवन पुनःनिर्माण सुरु नभएको नाम्जुङ स्वास्थ्य चौकी प्रमुख लीला गुरुङको भनाइ छ । उनले भने, ‘प्रिफ्यावको सामान प्रत्यक्ष घाममा नराख्नु भनेर लेखिएको छ । तर यहाँ घाममा सामान थुप्राइएको छ । सामान थुप्राएर गएका युनिसेफका कर्मचारी फर्केर पनि आएनन् ।’ 

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले युनिसेफलाई पटक–पटक पत्राचार गरी भवन निर्माण सक्न निर्देशन दिएको जनाएको छ । कार्यालयमा रही सङ्घसंस्था हेर्दै आएका स्वास्थ्य सहायक नानीबाबु दानीले भने, ‘युनिसेफले काम गर्न नसक्ने हो भने अरु संस्थालाई काम दिन्छौँ । काम गर्न नसक्ने हो भने सक्दिन भन्नुप¥यो ।’ 

सन् २०१६ मा भवन निर्माण सक्ने गरी जिम्मेवारी लिएको युनिसेफले अझै स्वास्थ्य चौकी भवन निर्माणलाई तीव्रता नदिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । भवन निर्माण नगरी अलपत्र छाडेकोबारे प्रतिक्रिया लिँदा युनिसेफका कर्मचारीले आफूहरुले सूचना दिन नमिल्ने भन्दै पन्छिने गरेका छन्। 

भूकम्पले गोरखाका ५२ वटा स्वास्थ्य चौकी क्षति पु¥याएको थियो । यीमध्ये पाँच वटा असल छिमेकी नेपाल पोखराले पुनःनिर्माण गरिसकेको छ । केयर नेपाल, आइएमसीलगायत विभिन्न सङ्घ संस्थाले पनि स्वास्थ्य चौकी भवन निर्माण गरिदिएका छन् । पक्की भवन निर्माण गर्न ढिलो भइसक्दा पनि अर्धपक्की भवन निर्माण सकिएको छैन। रासस 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live