फिचर

विपी कोइराला क्यान्सर अस्पतालका लागि ‘केमो’ बन्लान् त डा. विजय?

img

डिबी खड्का

बिपी कोइराला क्यान्सर अस्पताल र नवनियुक्त कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य


विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर । गेटबाट भित्र छिर्नेबित्तिकै बिरामी र उनका आफन्तलाई लाग्छ, वाह! अस्पताल भनेको यस्तो पो हुनुपर्छ । सुन्दर बगैँचा, आँप, लिची लगायतका फलफूलको ठूलो बगान, चिटिक्क परेका अस्पताल भवनले बाँकी नेपाली अस्पतालको चित्रै बिर्साइदिन्छ । तर, जब सेवाका लागि पाइला अस्पताल भवनभित्र बढ्छन्, त्यसपछि बाहिरको त्यो भव्यताको अर्थ हराउँछ । न ओपिडीमा नियमित डाक्टर, न सिटी स्क्यान, एमआरई गर्ने समय, न त रेडियोथेरापी र शल्यक्रिया नै नियमित । धेरैलाई लाग्थ्यो, बाहिर जति स्फुर्त देखिए पनि क्यान्सर अस्पतलाल भित्रभित्रै आफैँ क्यान्सरले थिलथिलो बन्दै गएको छ ।

झन्डै एक महिनास अघिसम्म क्यान्सर अस्पतालमा यस्तै दृश्य देखिन्थ्यो ।

देशभरिमै सरकारी स्तरबाट सञ्चालित एकमात्र र ठूलो क्यान्सर अस्पतालको भित्री अवस्था रुग्ण बन्दा त्यसको फाइदा बिरामीका दलाल, निजी स्तरबाट सञ्चालित अस्पताल र कमाउ धन्दाका लागि सेतो कोट पहिरिएकाहरुले लिए । संगठित रुपमै अस्पताललाई कमजोर बनाउँदै लगे । भरतपुर क्यान्सर अस्पतालका लागि यी ट्युमरकै रुपमा बढ्दै गए ।

क्यान्सर अस्पतालका बाहिरी ट्युमरलाई शल्यक्रिया र भित्री क्यान्सरलाई ‘केमो’ दिनुपर्ने अवस्थामा अस्पताल सञ्चालक समितिले नयाँ कार्यकारी निर्देशकका रुपमा नियुक्त गर्‍यो डा. विजयचन्द्र आचार्यलाई । उक्त पदका १३ जना आकांक्षीबाट रोजिएका डा. आचार्य बहुसंख्यक आकांक्षीभन्दा ‘जुनिएर’ थिए । त्यसैले वरिष्ठलाई पाखा लगाएर उनलाई अघि सारिएको भन्दै विरोधका स्वर पनि सुनिए ।

निरन्तर ओरालो यात्रामा रहेको अस्पतालका नयाँ निर्देशकले ‘पद’ मात्रै ग्रहण गर्छन् कि अस्पतालको ‘भार’ पनि सम्हाल्छन् भन्नेमा धेरैको चासो थियो । वैशाखको अन्तिम साता निर्देशकका रुपमा जिम्मेवारी सम्हालेका थिए डा. विजयले । उनी निर्देशक भएको एक महिनापछि क्यान्सर अस्पताल अवलोकन गर्ने मौका मिल्यो । मनमा खुलदुली थियो, नयाँ निर्देशक डा. आचार्य क्यान्सरग्रस्त क्यान्सर अस्पताललाई ‘केमो’ दिन कत्तिको कस्सिएका होलान्?

निरन्तर ओरालो यात्रामा रहेको अस्पतालका नयाँ निर्देशकले ‘पद’ मात्रै ग्रहण गर्छन् कि अस्पतालको ‘भार’ पनि सम्हाल्छन् भन्नेमा धेरैको चासो थियो ।

भरतपुर क्यान्सर अस्पतालमा धेरैले गुनासो गर्ने सेवामा पर्थ्यो प्याथोलोजी र रेडियोलोजी। एक्स–रे, सिटी स्क्यान, एमआरई, मेमोग्राफी गराउन पनि ‘डेट’ लिनुपर्ने स्थिति थियो। एक महिनासम्म बिरामीले पालो कुनुपर्ने। त्यहीँबाट सुरु गरियो अवलोकन। त्यो दृश्य भने यसपल्ट फेरिएको पाइयो। अस्पतालमा रेडियोलोजी सेवामा ‘डेट’ लिनुपर्ने चलन केही दिन अघिदेखि हटिसकेको रहेछ। कसरी भयो एकाएक यस्तो? हामीले त्यहीँ कार्यरत एक कर्मचारीलाई सोध्यौँ। उनको जफाव थियो, ‘बिरामीलाई डेट दिएर नफर्काउने बरु कर्मचारीले नै थप समय काम गर्नुपर्ने नियम बसेको छ।’ दिनमा २० देखि २५ वटा मात्र हुने सिटी स्क्यानको संख्या बढेर अहिले ५०–५५ को हाराहारीमा पुगेको आँकडा उनले दिए। थप समय काम गर्ने कर्मचारीका लागि थप रकमको व्यवस्था पनि गरिएको रहेछ। थप पारितोषिक आउने भएपछि कर्मचारी पनि ‘ओभरटाइम’ खट्न जारी भए।

नवनियुक्त निर्देशक डा. आचार्यले यसबाहेक अन्य ल्याब सेवा नियमित हुन नसक्नुको अर्को महत्वपूर्ण समस्याको पनि भर्खरै निदान गरेका रहेछन्। ‘सप्लायरले ल्याबमा चाहिने ‘रिएजेन्ट’ नियमित आपूर्ति नगरिदिँदा समस्या थियो। नियमित आपूर्ति नहुनुको कारण थियो, अस्पतालले रकम नियमित भुक्तानि नदिनु,’ डा. आचार्यले भने, ‘मैले सप्लायर्सलाई नियमानुसार पाउनुपर्ने रकम रोकिँदैन, सप्लाई नरोक्नुहोस् भनिसकेको छु। सायद अब यो समस्या आउँदैन।’

यसअघि अस्पतालको सेवा प्रभावित हुनुमा आवश्यक सामाग्री खरिदको टेन्डरमा ढिलाइ पनि प्रमुख कारण रहेको अस्पताल प्रशासनले पहिल्याएको छ । अघिल्ला वर्षमा माघ मसान्ततिर मात्रै टेन्डर हुने चलनलाई उल्ट्याएर उनले असारभित्रै टेन्डर खोल्ने तयारी थालिसकेका छन्।

साना–साना कुरामा ध्यान दिँदा सेवाग्राहीले सुधारको महसुस गर्न सक्ने कुरामा नयाँ व्यवस्थापन सचेत भएको देखिएको छ। त्यसैले ‘क्यु सिस्टम’को सुरुवात गरेर त्यसको नतिजा महसुस गरिसकेको छ। अर्को महिनासम्ममा अस्पताललाई ‘इलेक्ट्रिकल मेडिकल रेकर्ड’ र ‘सफ्टवेयर नेटवर्किङ’मा लगेर कागजविहीन बनाउने योजना पनि अघि सारिएको छ।

अघिल्लो दिनको कामको मूल्यांकन गर्ने परिपाटी अस्पताल सुधारका लागि महत्वपूर्ण कडी भइरहेको डा. आचार्यले अनुभव गरेका छन् । ‘यसअघि अस्पतालका गतिविधिको समीक्षा हुँदैन थियो। हामीले डाक्टर र व्यवस्थापनका गरी प्रत्येक दिन दुई चरणमा समीक्षात्मक बैठक गरिरहेका छौँ। यसको उपलब्धि पनि देखिएको छ,’ उनी अस्पतालले छोटो समयमै सुधारको बाटो समाएको बारे भन्छन्, ‘धेरै कर्मचारी अस्पतालको नकारात्मक टिप्पणीले आजित छन्। सुधार गर्न पाए हुन्थ्यो भन्ने मनशायमा छन्। यसकारण ९८ प्रतिशत कर्मचारी अस्पताल सुधारको अभियानमा सहयोगी बनिरहेका छन्।’

क्यान्सर अस्पताल बलियो हुँदै जाँदा त्यहाँका बिरामी दलाली गरेर आयआर्जन गर्नेहरुको भने निद्रा हराएको छ। त्यो समूहले बेलाबेला केही कर्मचारीलाई भड्काउने गरेको अस्पताल स्रोतको दाबी छ। अस्पताल स्रोत भन्छ, ‘त्यसको समाधानका लागि प्रशासनले ‘दलाल’ पहिचान गरी कारबाहीको प्रक्रियामा पनि भित्रभित्रै अघि बढाएको छ।’

क्यान्सर अस्पतालमा सुधारको संकेत आँकडाबाट देख्न सकिन्छ। अस्पतालले उपलब्ध गराएको आँकडा अनुसार वैशाखमा ९६ लाख ४७ हजार ९ सय ९३ रुपैयाँ आम्दानी भएकोमा जेठमा मात्र ५० लाखको हाराहारीमा आम्दानी बढेको छ। जेठको आम्दानी १ करोड ४६ लाख ५ हजार ९ सय १ रुपैयाँ छ।

प्याथोलोजीमा चेकअप गराउनेहरु ४४ हजारबाट ५७ हजार पुगेका छन्। ‘रेडियो डायग्नोसिस एन्ड इमेजिङ डिपार्टमेन्ट’मा वैशाखमा १९ सय ८६ ले सेवा पाएकोमा झन्डै दोब्बरले बढेर जेठमा ३२ सय ५८ पुगेको  छ। वैशाखमा जम्मा ९ हजार बिरामीले सेवा पाएकोमा जेठमा १२ हजारले सेवा पाएका छन्। रेडियोथेरापी सेवा लिनेहरु त ८ सयबाट बढेर १८ सय पुगेका छन्।

अस्पतालको आँकडामा इन्धन खर्च मात्रै आधाभन्दा बढीले घटेको देखिएको छ। डा. आचार्यले पेट्रोलको कुपन जाथभावी बाँड्ने प्रवृत्तिलाई नियन्त्रण गरेका छन्। अस्पतालको गाडीको दुरुपयोग पनि उनले रोकेका छन्। जसका कारण चैतमा २ लाख २४ हजार ५ सय ८४ रुपैयाँ इन्धनमा भएको खर्च जेठमा घटेर एक लाख ७ हजार ६ सय ९४ मा झरेको छ। त्यसैगरी, अस्पतालले खाजा र चियाका नाममा हुने जथाभावी खर्च कटौती गरेको छ।

शक्ति समूहलाई रिझाउन मोटो रकम खर्चिनुपर्ने भएकाले कार्यकारी पदमा हुँदा त्यो रकम ‘उठाउने’ चलनले अस्पतालहरु थिलथिलो हुने गरेका समाचारहरु लुकेका छैनन्। हाम्रो कार्यकारी निर्देशक डा. आचार्यलाई प्रश्न थियो, ‘सुरुमा आफूलाई जसरी प्रस्तुत गरे पनि त्यो प्रथा कसरी उलंघन गर्न सकिएला?’ उनले दृढ भएर जवाफ दिए, ‘कार्यकारी निर्देशक बनाइदिनुपर्‍यो भनेर मैले कसैलाई रकम त के एक कप चिया समेत खुवाएको छैन। त्यसैले मलाई यहाँ पैसा उठाउनु छैन, काम गर्नु छ।’

 

यति हुँदाहुँदै पनि अस्पतालको महत्वपूर्ण उपकरण ‘लिनियाक रेडियोथेरापी’ रहेको भवनमा भने हामीले भ्रमण गरेको दिन बिरामी थिएनन्। दुईवटै लिनियाक रेडियोथेरापी मेसिन बिग्रिएर बसेका छन्। बाँकी रहेको एउटा मेसिनबाट मात्रै रेडियोथेरापीको काम भइरहेको पाइयो। ‘त्यही एउटा मेसिनले काम गर्नेगरी कर्मचारीलाई ओभरटाइम खटाएर भए पनि बिरामी फर्काउने गरेको छैन,’ डा. आचार्यले भने, ‘लिनियाक ब्रान्डका दुवै मेसिनको कार्यावधि सन् २०१२ मै सकिएको हो। त्यसपछि पनि चार वर्ष चलाइएका मेसिन अहिले पूर्ण रुपमा ठप्प छन्। अब चाँडै रेडियोथेरापीको अत्याधुनिक मेसिन ल्याउने तयारीमा छौँ।’ कामै ठप्प हुनेगरी मेसिनको समयावधि सकिँदासम्म मर्मत हुन नसक्नु र नयाँ मेसिन खरिद प्रक्रिया अघि नबढाउनु यसअघिका अस्पताल प्रशासनको कमजोरी मान्न सकिन्छ।

कुनै पार्टी वा राजनीतिज्ञको कृपाले बनेका अस्पतालका कार्यकारी निर्देशक उनीहरुप्रति नतमस्तक हुने गरेका प्रसस्त उदाहरण छन्। राजनीतिज्ञसँगै स्वार्थ समूहले आफ्ना स्वार्थका काम गर्न निर्देशकलाई वाध्य पार्ने भएकाले पनि अस्पतालको विकासमा ध्यान नपुग्ने गरेको आरोप लाग्ने गरेको छ। त्यसैगरी शक्ति समूहलाई रिझाउन मोटो रकम खर्चिनुपर्ने भएकाले कार्यकारी पदमा हुँदा त्यो रकम ‘उठाउने’ चलनले अस्पतालहरु थिलथिलो हुने गरेका समाचारहरु लुकेका छैनन्। हाम्रो कार्यकारी निर्देशक डा. आचार्यलाई प्रश्न थियो, ‘सुरुमा आफूलाई जसरी प्रस्तुत गरे पनि त्यो प्रथा कसरी उलंघन गर्न सकिएला?’ उनले दृढ भएर जवाफ दिए, ‘कार्यकारी निर्देशक बनाइदिनुपर्‍यो भनेर मैले कसैलाई रकम त के एक कप चिया समेत खुवाएको छैन। त्यसैले मलाई यहाँ पैसा उठाउनु छैन, काम गर्नु छ।’ आफूभन्दा पाकाहरुलाई उछिनेर कम उमेरमै उनले यो जिम्मेवारी हासिल गरेका छन् । उनी भन्छन्, ‘यो मेरो उमेर र जीवनको महत्वपूर्ण समय हो। यही बेला म खरो उत्रिन सकिनँ भने मेरो करियरको बाँकी १५–२० वर्ष पनि बेकार हुन सक्छ।’

डा. आचार्यले आफूले कार्यकारी निर्देशकको जिम्मेवारी पुष्टि गर्ने प्रतिबद्धता सहित भने, ‘६ महिनामा सेवाग्राहीले महसुस गर्ने कुनै परिवर्तन गर्न सकिनँ भने राजीनामा दिन्छु।’ उनले दाबी गरेको अवधिमा बेथितिको ट्युमरले क्यान्सरग्रस्त बन्दै गएको अस्पतालका लागि ‘केमो’ बन्न सक्लान् त डा. विजय?

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने