प्रोफाइल

एसएसलसी तेस्रो श्रेणीमा उत्तिर्ण अर्जुन कार्की कसरी बने टप डाक्टर ?

स्वास्थ्य खबरपत्रिका

करिब चार दशकअघि परिवारले राजधानी पढ्न पठाउँदा पनि बरालिएर हिँड्न थालेपछि गाउँ फर्काएर घाँस–दाउरा, मेलापात र गोठालो जीवनमा हराइरहेको युवा नेपालकै नामी डाक्टर बन्ला भन्ने कसैले सोचेको थिएन । न त स्वयं त्यो युवाले नै यसबारे दुरदृष्टि राखेको थियो । तर, जीवनमा यस्ता संयोग जुर्दै गए गोठाला र घाँस–दाउरा छाडेर केही दिनका लागि तय भएको काठमार्डौँ यात्राले सफल र असल डाक्टरको क्षितिजतिर डोर्‍यायो । यस्तो संयोगपूर्ण यात्राका यात्री हुन् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति एवं इन्टरनल मेडिसिन, स्वासप्रस्वास र सघन उपचार (इन्टेन्सिभिस्ट) विशेषज्ञ डा. अर्जुन कार्की ।

कार्कीको जन्म २०१२ असोज १५ गते काठमाडौँंमा भयो । पुख्र्यौली घर सिन्धुपाल्चोकको पेटकु गाविसमा भए पनि उनको जन्म काठमाडौँँमा भयो । त्यतिबेला उनका बुबा काठमाडौँँमा नेपाली सेनामा कार्यरत थिए । धेरै सरकारी जागिरेका छोराछोरीको बाध्यता नै हो बुबाको सरुवा जता हुन्छ त्यतै पछि लाग्नु । कार्कीले पनि १–२ कक्षा काठमाडौँँको टेवहालस्थित एक प्राथमिक विद्यालयमा पढे ।

बुबाको सरुवा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भयो र चौतारापछि रामेछाप । दुवै जिल्लामा गरी झन्डै पाँच वर्ष बसे । चौतारामा बसेका बेला उनले स्थानीय श्रीकृष्ण विद्याश्रममा पढे । तर, रामेछाप पुगेपछि सदरमुकाममा राम्रो अध्ययन नहुने भएकाले बुबाले उनलाई ‘साँघुटार’ स्थित हिमगंगा माध्यमिक विद्यालयमा पढ्न पठाए । ‘साँघुटार’ रामेछाप र ओखलढुंगा जिल्लाको सिमानामा छ । उनले झन्डै दुई वर्ष त्यहाँ पढे ।

बुबाको जागिर आर्मीमा भए पनि औपचारिक अध्ययन भने थिएन । तर, जागिरका क्रममा देशविदेश घुम्ने अवसर पाएकाले पनि होला बुबामा छोरालाई पढाउनुपर्छ भन्ने चेतना थियो । उनका बुबाले दोस्रो विश्वयुद्धमा नेपालको सैन्य सहयोग अन्तर्गत बेलायतको पक्षमा बर्मामा गएर विश्वयुद्धसमेत लडेका थिए ।

रिटायर्ड जीवन बिताउन गाउँ फर्किएका बुबाले छोरालाई गाउँको चिनेजाने मान्छेको जिम्मा लगाएर काठमाडौँँ पढ्न पठाए । तर, उनले काठमाडौँँ आएर पनि ध्यान दिएर पढ्न सकेनन् । ८–९ वर्षको केटो, रेखदेख गर्ने कोही नभएर होला उनले पढाइभन्दा डुलेर समय बिताउन थाले । कक्षा ६ को परीक्षामा अनुत्तीर्ण भएपछि नपढ्ने रैछ भन्दै परिवारले उनलाई गाउँ फर्कायो ।

त्यसपछिको कार्कीको दैनिकी कृषकको जस्तै भयो । खेतिबाली लगाउने, खेतबारी खन्ने र गोठालो जाने गर्दै उनको झन्डै चार वर्ष बित्यो । राति गोठमा सुत्नुपथ्र्यो । पढाइमा प्रतिस्पर्धा गर्नुपर्ने उमेर रातभरि गोठमा आगो बालेर भकारी कालो पार्ने प्रतिस्पर्धामा बित्न थाल्यो । त्यसपछिको कार्कीको दैनिकी कृषकको जस्तै भयो । खेतिबाली लगाउने, खेतबारी खन्ने र गोठालो जाने गर्दै उनको झन्डै चार वर्ष बित्यो । राति गोठमा सुत्नुपथ्र्यो । पढाइमा प्रतिस्पर्धा गर्नुपर्ने उमेर रातभरि गोठमा आगो बालेर भकारी कालो पार्ने प्रतिस्पर्धामा बित्न थाल्यो । भकारी जति कालो भयो उति बलियो हुन्छ भन्ने मान्यता थियो । ‘मैले त्यतिबेला थुपै्र धुँवा निकालेँ’ स्वासप्रस्वास रोग विशेषज्ञ डा.कार्कीले पुराना दिन सम्झँदै भने, ‘अहिले सोच्छु, त्यसबाट आफ्नो फोक्सोलाई कति बिगारियो होला ।’ बन–बाख्रा, मेलापाता र गोठ–गोठाला गर्दागर्दै उनको जीवनमा एउटा नयाँ मोड आयो । उनका मामाको जागिर काठमाडौँमा थियो । मामाले हजुरआमालाई समेत काठमाडौँँ लिएर गए । अर्जुनकी आमा हजुरआमालाई भेट्न काठमाडौँ आउने तय भयो । साथमा को जाने ? यसअघि नै काठमाडौँ देखिसकेको र जेठो सन्तान पनि भएकाले उनी आमाको साथमा काठमाडौँ आउनेमा परे ।

 उनी पहिलो पटक काठमाडौँ आउँदा तीन दिन हिँडेका रहेछन् । तर यसपटकको यात्रामा अरनिको राजमार्ग बनिसकेको थियो । औपचारिक पढाइलाई निरन्तरता दिन नसके पनि पढ्ने स्वाभव सुरुदेखि नै थियो । उनले मामाको डेरामा एउटा किताब भेटे । त्यो किताबलाई ध्यानपूर्वक पढ्दै गर्दा मामाकी घरबेटीकी छोरी (जो शिक्षित थिइन्)ले देखिन् । उनले यतिधेरै पढाइमा चासो राखेको देखेपछि अर्जुनकी आमालाई यस्तो छोरालाई नपढाई हुन्न भनेर जोड गरिन् । आमा एक्लै घर फर्किइन्, छोरालाई काठमाडौँमै पढ्न छाडेर ।

उनी पाटनको त्रिपद्म विद्याश्रम हाइस्कुलमा भर्ना हुन गए । तीन–चार वर्ष पढाइ छुटेकाले ६ कक्षामै नपढाउने र ७ कक्षामा भर्ना गर्ने कुरा भयो । तर ७ कक्षामा विद्यार्थी चापले सिट नै थिएन । कक्षा आठमा भर्ना लिन प्रवेश परीक्षा दिनुपर्ने भयो । ६ कक्षामा फेल भएर गाउँ फर्किएको मान्छे, यतिका वर्षपछि प्रवेश परीक्षा दिन सहज थिएन । तर पनि तिनै घरबेटीकी छोरीले सिकाएको ज्ञानका आधारमा उनले परीक्षा पास गरे । पढाई जसोतसो अगाडि बढाए । र, २०२८ सालमा तेस्रो श्रेणीमा एसएलसी पास गरे ।  उनी पाठ्यक्रमभन्दा बाहिरी पुस्तक पढ्न बढी रुचाउँथे । यसैबीच, उनमा डाक्टर बन्ने सपना अंकुरित भइसकेको थियो । तर, एसएलसीमा तेस्रो श्रेणीको नतिजाले त्यो सपना पूरा गर्ने बाटो कठिन पारिदियो । उनले प्रविणता प्रमाणपत्र तहमा विज्ञान विषय पढ्न पाएनन् । उनी मानविकी संकायमा पाटन क्याम्पस भर्ना भए । दुई वर्ष पढे पनि । त्यही समयमा चिकित्साशास्त्र अध्ययन संस्थाले एचए पढ्नका लागि विज्ञापन खुलायो । उनले दुई पटक प्रयास गर्दा पनि एचए (हेल्थ असिस्टेन्ट) पढ्न पाएनन् । लिखितमा निस्के पनि अन्तर्वार्ताका बेला उनले अनपेक्षित घटना सामना गर्नुपर्‍यो ।  एक पटक उनी टिसर्ट लगाएर अन्तर्वार्तामा गएका थिए । टिसर्टमा ५५ लेखेको थियो । दुब्लो, पातलो र लामो कपाल पालेका अर्जुनलाई सायद अन्तर्वार्ताकर्ता डा. द्वारीकानाथ रेग्मीले मन पराएनन् होला । टिर्सटमा लेखिएको ५५ को अर्थ के हो भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ दिन नसकेकाले उनी पुनः अन्तर्वार्तामा फेल भए । दोस्रोपटक अनुत्तीर्ण हुँदा पनि उनले हरेस खाएनन् ।

000

त्यतिबेला सिन्धुपाल्चोक जिल्लामा स्विस सरकारको सहयोगमा सघन पहाडी क्षेत्र विकास योजना सुरु भएको थियो । गाउँमा पढेका मान्छे कमै हुन्थे । उनले त्यही विकाश योजनामा दोभासेको काम सुरु गरे । काम नयाँ भए पनि डाक्टर बन्ने सोच हराएको थिएन । त्यो कार्यक्रम अन्तर्गत गाउँमा क्लिनिक सञ्चालित थियो । उनले त्यो क्लिनिकमा सुरुमा लाइनमा बसेका मान्छेको नाम बोलाउने, औषधि  बाँड्ने, घाऊ सफा गर्ने र सुई लगाउनेसम्मको काम गर्ने अवसर पाए । त्यहाँ खटिएका स्वास्थ्यकर्मीले उनको चिकित्सा सेवाप्रतिको लगाबको मूल्यांकन गरेर नै त्यस्ता काम सिक्ने अवसर दिएका थिए ।  तेस्रो पटक आवेदन खुल्दा पनि लिखित पास गर्नमा कुनै समस्या परेन । फेरि अन्तर्वार्ताको समय आयो । अन्तर्वार्ता लिनेमा थिए नवीन प्रकाशजंग शाह । ‘पास गरेको यतिका वर्ष भएछ, किन त्यसै बसेको’ भनेर सोधे । कार्कीले स्विस सरकारको सहयोगमा सञ्चालित विकाश योजना अन्तर्गतको क्लिनिकमा काम गरेर बसेको सुनाए । संयोग नै भन्नुपर्छ, कार्कीले आफूले काम गरेको अवधिको सिफारिस पत्र बनाएर लगेका थिए । राम्रो कागजमा, लेखिएको सिफारिस पत्र आकर्षक थियो । शाहले उनीसँग प्रमाण छ ? भनेर सोधे । उनले पनि सिफारिस पत्र देखाइदिए । यसपटक चाहिँ उनी एचए पढ्न पाउनेमा परे ।

बल्ल उनले मनले रोजेअनुसारको विषय पढ्न पाए । उनको दिमाग निकै तेज थियो । आफूले मनपराएको विषय पढ्न पाएको कारणले होला उनी पढाइमा पनि अब्बल भएर निस्के । दुई सेक्सनमा झन्डै एक सय ५० विद्यार्थीमध्ये उनी टप टेनभित्र पर्न थाले । एचएको पढाई सकेपछि उनी सरकारी जागिरमा छिरे । पोस्टिङ भयो नुवाकोटको खरानीटार हेल्थ पोस्टमा ।  त्यहाँ उनी ग्रामीण स्वास्थ्य कार्यकर्ताको नातेदारको घरमा बस्थे । तर, बिस्तारै ती ग्रामीण स्वास्थ्य कार्यकर्ताले आफू अफिस नआएको दिनको पनि हाजिर मिलाइदिने जस्ता अनुचित दबाब दिन थालिन् । एचए पढ्ने बेलादेखि नै कार्कीले वामपन्थी राजनीतितिर झुकाव राखिसकेका थिए । उनलाई के ठीक, के बेठीक भन्ने राम्रो थाहा थियो । यो बुझाइले नाजायज काममा सहमत हुनुहुन्न भन्ने सचेतना राम्रैसँग थियो । उनले त्यो परिस्थितिबाट उम्किने एउटै बाटो सरुवालाई ठाने र त्यहाँबाट सरुवा मागेर दोलखा जिल्लास्थित बोँच हेल्थपोस्टमा गए ।

नेपालमा २०३५ सालमा पहिलोपटक एमबीबीएस तहको पढाइ सुरु भयो । ०३६ सालमा विद्यार्थी आन्दोलन । आन्दोलनका कारणले त्यसवर्षको एमबीबीएस कार्यक्रममा भर्ना हुनका लागि निवेदन दिने म्याद र प्रवेश परीक्षाको मिति पछि सारिएका कारण उनी एमबीबीएसको दोस्रो ब्याचमा भर्ना हुन सफल भए । यदि, त्यसो नभएर साविककै मितिमा प्रवेश परीक्षा भएको भए सायद उनी अर्को वर्ष भर्ना हुन्थे वा सो अवसर नपाउन सक्थे । ३६ सालको विद्यार्थी आन्दोलनले उनलाई गुन लगायो । उनका लागि यो मिठो संयोग बन्यो । एचएमा राम्रो विद्यार्थी भएकाले गर्दा उनलाई एमबीबीएसमा छिर्न गाह्रो भएन ।

 नेपालमा एमबीबीएस सुरु गर्दा चिकित्सकहरूकै एउटा ठूलो समूह विरोधमा थियो । तर, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का तत्कालीन डिन डा. मोइन शाह अग्रमामी सोचका थिए । उनले नेपालमा चिकित्साशास्त्र पढाउन सकिन्छ, त्यो पनि नवीनतम अवधारणा, सिद्धान्तमा आधारित र नेपाली समाज सुहाउँदो भन्ने सोच अगाडि सारे ।

 त्यतिबेला विश्वव्यापी रूपमा पढाइने भन्दा फरक ढंगले एमबीबीएस पढाइ हुनुपर्छ भन्ने शाहको मान्यता थियो । धेरै देश बेलायतको औपनिवेशबाट ग्रुजिएर आएको हुँदा चिकित्साशास्त्र पढाइको मोडल बेलायती मात्र हो भन्ने बुझाइ अन्य देशमा पनि व्याप्त  थियो । संसारमा अरू पनि मोडल हुन सक्छन् भन्ने बहससँगै नेपालमा नयाँ सोचमा आधारित चिकित्सक उत्पादन सुरु भएपछि त त्यो हल्लाखोर समूह यहाँ पढ्न थालेकाहरूलाई हतोत्साही पार्नतिर लाग्यो । यी कुराले एमबीबीएसका विद्यार्थीकोे मनमा ठूलो शंका र मानसिक तनाव गरायो ।

 कार्कीले शंकालाई ऊर्जामा बदले । संसारमा चिकित्साशास्त्रको अध्ययन सम्बन्धी व्याप्त मान्यता र अवधारणा एवं प्रवृतिबारे उनले गहिरो अध्ययन थाले । त्यतिबेलाको माहोल नेपाल भित्रबाटै चिकित्सक उत्पादन गर्न लागिएको प्रक्रियाको विरुद्धमा थियो । केही प्रोफेसरमा मात्रै हामी सही बाटोमा छौँ भन्ने आत्मविश्वास थियो । त्यस्ता वरिष्ठहरूको ढाडस र यो शास्त्रबारे गहिरो अध्ययनपछि कार्कीलाई विश्वास बढ्दै जान थाल्यो ।

000

आईओएमको पहिलो ब्याच निस्किने समय आयो । बजारमा बुज्रुक हल्लाबाजहरूले चिकित्साशास्त्र अध्ययन संस्थानमा पढेका विद्यार्थी कुनै हालतमा पनि राम्रा डाक्टर हुन सक्दैनन् भन्ने भ्रम छरेका थिए । त्यसलाई चिर्न आईओएमले पहिलो ब्याचका विद्यार्थीको गुणस्तर प्रमाणित गर्न संसारका ख्यातिप्राप्त विश्वविद्यालयका वरिष्ठ प्राध्यापक, डाक्टरहरूलाई बाह्य परीक्षकका रूपमा बोलायो । पहिलो ब्याचमा २२ मध्ये १२ पास भएका थिए । नेपाली विद्यार्थीलाई विभिन्न चरणमा परीक्षा लिएपछि ती प्राध्यापकहरूले सार्वजनिक सञ्चार माध्याममा आईओएममा तालिम लिएका विद्यार्थी भारत लगायत अन्य मुलुकबाट उत्पादित चिकित्सकभन्दा कुनै पनि हिसाबले कम नभएको मात्र होइन कतिपय आधारमा त अझै अब्बल भएको बताए । यस्तो कुरा सञ्चार माध्यमबाट सार्वजनिक भएपछि हल्लाबाजहरूको होस्हवास उड्यो ।

 कलेजबारे चलेका नराम्रा हल्लाविरुद्ध बुझ्न र ‘राम्रा डाक्टर बन्दैनौ’ भनी हतोत्साही गर्नेलाई देखाउन कार्कीले मनमा गहिरो इख लिएर पढाइ अगाडी बढाएका थिए । उनी प्राध्यापकहरूले सिकाएका कुरा कक्षामै बुझेर तत्काल अझ सजिलोगरी अरू साथीलाई सिकाउन सक्थे । त्यति बेलासम्म अर्जुन राम्रो र विद्यार्थीको प्राज्ञिक नेताका रूपमा स्थापित भइसकेका थिए । त्यही अध्ययनको पृष्ठभूमिले उनलाई चिकित्सा शिक्षासम्बन्धी सैद्धान्तिक क्षेत्रको ज्ञाता बन्ने बाटोमा अग्रसर गरायो । उनले बुझे, ‘चिकित्साशास्त्रको मूल उद्देश्य हाम्रो समाजमा विद्यमान स्वास्थ्य समस्या हल गर्ने हुनुपर्छ ।’ उनले त्यतिबेलैको आफ्नो स्पष्ट बुझाइ सुनाए, ‘कुनै देशमा एक प्रकारको पढाइ हुन्छ भन्दैमा सबैले त्यही मापदण्डलाई हुबहु मान्नुपर्छ भन्ने होइन । आईओएमले सुरु गरेको आफ्नै सामाजिक, सांस्कृतिक र आर्थिक परिवेश सुहाउँदो कार्यक्रम नै सही सावित भयो ।’  उनी अध्ययनबाहेक विद्यार्थी आन्दोलनमा पनि सरिक हुन्थे । यही क्रममा उनलाई तत्कालीन पञ्चायत सरकारले २०३८ सालतिर जेल पनि हाल्यो ।

 त्यतिबेला चिकित्साशास्त्रका विद्यार्थी पहिचानको संकटमा थिए । उनी लगायत अन्य विद्यार्थी नेताको अगुवाइमा ‘नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी’ स्थापना भयो । त्यही क्रममा इन्टरनेसनल फेडेरेसन अफ मेडिकल स्टुडेन्ट एसोसिएसन (आईएफएमएसए) ले १९८४ मा स्विडेनमा आयोजना गरेको विश्वभरका चिकित्शासास्त्रमा अध्ययनरत विद्यार्थीको महाधिवेशनमा नेपालका तर्फबाट उनले प्रतिनिधित्व गरे । त्यतिबेला सम्ममा भारतमा एमबीबीएस पढ्ने अधिकांशले आईएफएमएसएबारे सुनेकै थिएनन् । उनी सोही समाजको एसियन क्षेत्रका लागि सिंगापुरमा आयोजना भएको सातौँ क्षेत्रीय सम्मेलनमा समेत सहभागी भए ।

 उनले सन् १९८५ मा एमबीबीएस पास गरे । आईएफएमएसएले विश्व स्वास्थ्य संगठनको ‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराको लक्ष्य प्राप्तिका लागि विकासशील मुलुकका चिकित्सा विज्ञान अध्ययनरत विद्यार्थीको भूमिकाबारे सम्मेलन गर्‍यो । भियानमा भएको सम्मेलनको आयोजक समितिको अध्यक्षका रूपमा डा. कार्कीले भियानामै बसेर तयारी गरे । झन्डै १० महिनाको तयारीपछि सम्मेलन सफल भयो । उनी त्यतिबेला आईएफएमएसएको एसिया प्यासिफिक क्षेत्रको सहायक सचिव थिए । सम्मेलन सिध्याएर नेपाल फर्किएर प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) पूरा गरी उनी आईओएममै जागिरे भए ।  २०४५ सालमा उनले बंगलादेशमा इन्डोक्राइनोलोजीमा एमडी गर्ने अवसर पाए । दुई सय जना बीचबाट चार–पाँचजना छान्दा उनको नाम एक नम्बरमा निस्कियो । उनले पढ्न थालेपछि उनलाई त्यहाँको पढाइ पूरै यान्त्रिक लाग्यो । उनकै शब्दमा ‘त्यहाँको पढाइ तोरी लाउरे पाराको थियो । यस्तो पाराले हुनुपर्ने जस्तो विशेषज्ञ डाक्टर बन्दिन भन्ने लागेर उनी पढाइ छाडेर नेपाल फर्किए ।

000

 २०४६ सालको आन्दोलन सुरु भयो । सचेत वर्गको बाहुल्यता रहेको क्षेत्र भएकाले आईओएम आन्दोलनको एउटा केन्द्र थियो । त्यहाँको आन्दोलनको नेतृत्वकर्तामध्ये उनी पनि एक थिए । आन्दोलनपछि सामाजिक कामलाई अगाडि बढाउने सोचले उनीसहितका चिकित्सक र सामाजिक अगुवा मिलेर प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) नामको संस्था खोले । त्यसको संस्थापक कार्यकारी निर्देशक थिए डा. कार्की । त्यसपछि एनजीओ फेडरेसनको स्थापनामा समेत उनको सक्रिय भुमिका र योगदान रहेको छ । डा. कार्की त्यसको संस्थापक सदस्य हुन् ।  सन् १९९२ मा उनलाई स्विडेनको लुन्ड विश्वविद्यालयमा रिसर्च फेलोका रूपमा काम गर्ने अवसर मिल्यो । पक्षघात हुँदा मस्तिष्कमा पर्ने चोटको साइज कसरी कम गर्न सकिन्छ र त्यसको असरलाई कसरी घटाउन सकिन्छ भनेर मुसामा गरिएको परीक्षण थियो त्यो । उनलाई त्यहाँ सिक्दै गरेको अनुसन्धान नेपालमा काम लाग्दैन भन्ने लाग्यो । स्विडेनमै बस्ने भए त्यो पढाइ निकै राम्रो थियो । त्यसैले उनी एक वर्षमै स्विडेन बसेर फर्किए । उनको उद्देश्य त उपचार गर्ने डाक्टर बन्नु थियो । गुणस्तरीय र अब्बल डाक्टर बन्नका लागि उनले अमेरिका पढ्न जानुपर्छ भन्ने निक्र्यौल गरे ।

000

त्यतिबेला नेपालमा एमडी पढाइ सुरु भएको थिएन । त्यसैले स्विडेन बसाइको समयमा उनले अमेरिकामा गएर तालिम लिनका लागि नभई नहुने ईसीएफएमजी परीक्षा पनि पास गरिसकेका थिए । तर, अमेरिका गएर विशेषज्ञ चिकित्सक बन्ने तालिमका लागि कडा प्रतिस्पर्धा हुन्थ्यो । लिखित पास गरेर मात्र नहुने, अन्तर्वार्ता पनि दिनुपर्ने हुन्थ्यो । त्यो पनि अमेरिका नै गएर । अमेरिकनहरूले उनलाई भिसा दिन नै गाह्रो माने । उनलाई अन्तर्वार्ताका लागि अमेरिका बोलाइयो तर दूतावासले तालिमका लागि छानिएकोे प्रमाणित कागजात माग्यो । र, दूतावासले भिसा दिनै मानेन । उनले  अनेक गरेर टेलिफोन अन्तर्वार्ताको व्यवस्था मिलाए । अन्तर्वार्ता लिने अमेरिकी चिकित्सकको चासो खास डाक्टर हो कि होइन र अंग्रेजी भाषामा उसको दखल कस्तो छ भन्ने नै रहेछ । उनले टेलिफोन अन्तर्वार्ता पास गरेपछि औपचारिक कागजात पेस गरे । त्यसपछि बल्ल दूतावासले भिसा दियो ।

उनले सन् १९९३ देखि ९६ सम्म न्युयोर्कस्थित स्टेट युनिभर्सिटी अफ न्युयोर्कबाट इन्टरनल मेडिसिनमा तालिम लिएर पास गरे । १९९६ देखि १९९९ सम्म रोड आइल्यान्डस्थित ब्राउन विश्वविद्यालयमा स्वासप्रस्वास र आईसीयू विषयमा तालिम लिए । विशेषज्ञ तहको तालिमले मान्यता पाउन बोर्ड सर्टिफाइड हुनुपर्छ । तीन वटा विषयमा विशेषज्ञता लिएर उनी नेपाल फर्किहाले । अमेरिकामा उक्त तालिम लिने क्रममा उनले अमेरिका र क्यानडामा बसोबास गर्नेहरूलाई परिचालन गरेर नेपालको स्वास्थ्य स्थिति सुधार अभियानको उद्देश्यले साथीहरूको सहयोगमा ‘अमेरिका नेपाल मेडिकल फाउन्डेसन’ स्थापना गरे । उनी त्यो फाउन्डेसनको संस्थापक अध्यक्ष पनि हुन् ।

 नेपाल फर्केपछि आफू कार्यरत शिक्षण अस्पतालमा अत्याधुनिक आईसीयू सेटअप तयार पार्ने उनको सपना थियो । तर नेपालमा परिस्थिति फरक पाए उनले । यति धेरै डिग्री लिएपछि नेपाल फर्किंदैन भन्ने ठानेका रहेछन् अरूले । उनी फर्केपछि उनका विरुद्ध ‘खुरापाति’ सुरु भयो । स्वाभिमानी अर्जुन धेरैका प्रिय बन्न सकेनन् । उनले शिक्षण अस्पताल छाडे । र,  करिब ६ महिना बीएन्डबी अस्पतालमा काम गरे । बीएन्डबीमा आईसीयू स्थापना गर्न सहयोग गरे । बीएन्डबीपछि उनी काठमाडौँं विश्वविद्यालय गए । त्यतिबेला काठमाडौँँ विश्वविद्यालयले एमबीबीएसका लागि सम्बन्धन दिए पनि ऊसँग आफ्नो आंगिक मेडिकल कलेज थिएन ।

000

 उनले डा. सरोज धिताल, डा. शरद वन्त, डा. शंकरमान राई लगायत साथीसँग मिलेर काठमाडौँ युनिभर्सिटी मेडिकल स्कुल (कुम्स) स्थापनाका लागि परियोजना संयोजकका रूपमा काम थाले । र, सन् २००१ देखि सुरु भएको एमबीबीएस कार्यक्रमको संस्थापक निर्देशकका रूपमा काम गरे । तर, पढाई सुरु भएको तेस्रो वर्ष नपुग्दै डा. सुरेशराज शर्माको टोलीले संस्थालाई पूरै अपारदर्शी रूपमा चलाउन थाल्यो । द्वन्द्व बढ्दै गयो । डा. कार्कीसहित ९ जनाले कुम्स छाडे । उनले १९ पृष्ठ लामो राजीनामा पत्र लेखेर दिएका थिए । राजीनामा पत्रमा काठमाडौँ विश्वविद्यालयका तत्कालीन नेतृत्वसँग पहिलो चरणको वार्तादेखि नै कुम्सलाई कुन सोच र दिशातर्फ लाने भन्नेबारे भएको समझदारी कुनकुन समयमा उल्लंघन भयो भन्ने उदाहरणसहित विचार र आदर्शका लागि दासका रूपमा काम गर्न नसकिने व्यहोरा विस्तृत रूपमा उल्लेख छ । सुरुमा पनि उनले म जागिरका लागि यहाँ आउन्न भनेका रहेछन् । प्राविधिक रूपमा सक्षम र सामाजिक उत्तरदायित्वको सोच भएको चिकित्सक तयार गर्ने उद्देश्य थियो उनको ।

कार्कीको टोलीसँगको सहमतिमा कुम्सको शिक्षण अस्पताल पाटनलाई बनाउने भन्ने थियो । तर डा. शर्मा समूहले कुम्सको स्थापनामा समर्पित भएर लागेका र नेतृत्वमा रहेका डा. कार्की लगायतको समूहलाई छलेर कुम्सको शिक्षण अस्पताल बीएन्डबीलाई बनाउने गोप्य सम्झौता ग¥यो । यसबारे समाचार प्रकाशन भएपछि डा. कार्की र डा. शर्माबीचको द्वन्द्व चरमोत्कर्षमा पुगेको थियो ।  कुम्सबाट अलग भएको डा. कार्कीको समूहले नेपाल सुहाउँदो चिकित्सक उत्पादन गर्ने मेडिकल कलेजको सपना देख्न छाडेन । मिसन अस्पतालका रूपमा सञ्चालन हुँदै आएको पाटन अस्पतालप्रति जनताको भरोसा रामै्र थियो । उनले आफ्नो लक्ष्य प्राप्तिका लागि सन् २००३ देखि पुनः तयारी सुरु गरे । डा. कार्की पाटन छिरेपछि त्यहाँ पनि सुरुमा ठूलो वैचारिक लडाइँ भयो । मिसनवालाहरू मेडिकल कलेज मात्रै चाहने । उनको अनुमान छ, ‘मेडिकल कलेज मात्रै भए त्यहाँ उत्पादित डाक्टरलाई पनि धर्म प्रचारको प्रभावमा पार्न सकिन्छ भन्ने सोच थियो होला मिसनवालाहरूको,’ उनले थपे, ‘तर मैले चिकित्सा शिक्षामा सार्थक योगदान गर्न प्राज्ञिक स्वतन्त्रता अपरिहार्य भएकाले छुट्टै विश्वविद्यालयको अवधारणामा लानुपर्ने कुराको वकालत गरेँ ।’ सन् २००८ मा संसद्ले त्यसलाई अनुमोदन ग¥यो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तयार हुनमा धेरैको मिहेनत, सद्भाव र सदासयताले काम गरेको ठान्छन् उनी । तर, डा. कार्र्की सम्झिनै पर्ने नाम गिरिजाप्रसाद कोइरालाको भएको बताउँछन् । उनले स्मरण गरे, ‘प्रधानमन्त्री र राष्ट्रिय नेताकै रूपमा कोइरालाको पूर्ण समर्थन नभएको भए अनेक स्वार्थ समूहको चेपुवामा संस्था स्थापनाको योजना ढिला हुनसक्थ्यो वा तुहिन सक्थ्यो ।’

त्यतिबेला डा. कार्की कोइरालाको उपचार गर्ने चिकित्सक समूहमा थिए । उनले शक्तिको नजिक भएर केही व्यक्तिगत फाइदा लिएनन् तर कोइरालालाई आफ्नो अवधारणा सुनाए । कोइरालाले पनि हुन्छ भने । प्रतिष्ठान बनेपछि पाटन अस्पताल बोर्डका तत्कालीन अध्यक्ष डा. हिक्मत विष्टलाई उपकुलपति बनाउनुपर्छ भन्ने डा. कार्कीको धारणा थियो । डा. विष्ट चिकित्सक नभई पीएचडी थिए । तत्कालीन स्वास्थ्य मन्त्रालयको नेतृत्वले उपकुलपति बन्न त चिकित्सक पृष्ठभूमि भएको व्यक्ति नै चाहिन्छ भन्ने अडान लिएपछि सबै अवधारणा तयार पारेको र संस्था स्थापनाका लागि सबैभन्दा बढी खटेको हिसाबले सबैले डा. कार्कीकै नेतृत्व हुनुपर्छ भने । उनी पनि आएको जिम्मेवारीबाट भाग्न खोजेनन् । र उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापक उपकुलपति बने ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा शिक्षाको क्षेत्रमा नयाँ सोच लिएर आयो ।  नेपालका ग्रामीण भेगमा रहेका विपन्न समुदायका छात्रछात्रालाई पनि डाक्टर बनाउने उनको सपना थियो । र, उनीहरूलाई दुर्गममा बसोवास गर्ने समुदायमा स्वाथ्य सेवा पुर्‍याउने काममा सरिक गराउने लक्ष्य । उनले भने, ‘सामाजिक उत्तरदायित्वको भावनायुक्त चिकित्सक तयार पार्ने सोचमा आधारित यो प्रतिष्ठानका विद्यार्थीले पढाइ थालेदेखि नै गाउँले परिवेशमा घुलमिल हुनुपर्छ ।’ प्रत्येक ६–६ महिनामा गाउँको भ्रमण लगेर जनताकै घरमा उनीहरूसँग बस्नुपर्छ विद्यार्थीले । स्थापनाको चार वर्षमै पाटनले लक्ष्य अनुरूप काम गरेपछि चर्चा र प्रशंसा ओइरिन थाल्यो ।

डा. कार्कीको चार वर्षे कार्यकाल सकियो । धेरैले कार्कीलाई नै थप एक कार्यकालका लागि उपकुलपतिका रूपमा देख्न चाहेका थिए । उनका शुभेच्छुकले एकपटक मन्त्रालयसम्म पुगेर पुनः नेतृत्वका लागि कुरा गर्न आग्रह गरे तर कार्की गएनन् । मागेर पाएको पदमा रहेर केही गर्न सकिन्न भन्नेमा उनी स्पष्ट थिए र छन् ।  तर, परिस्थिति यस्तो आइदियो कि फरक सोचबाट स्थापना भएर अगाडि बढिरहेको संस्थाको नेतृत्वकर्ता नियुक्त गर्ने समयमा मन्त्रालयले प्रतिष्ठानका कसैसँग सल्लाह गरेन । पार्टीको कुनै विभागमा नियुक्त गरेजसरी उपकुलपतिको नियुक्ति भयो । नयाँ नेतृत्वले संस्थाको सोच नै फरक पार्नेगरी निर्णय लिन थाल्यो । स्वास्थ्य मन्त्रालयको तत्कालीन नेतृत्वले निजी स्वार्थसिद्धका लागि संस्थालाई नै तहसनहस गर्नेगरी निर्णय गरेको ठहर कार्कीको छ । पाटनमा ठूलो अन्दोलन भयो । पुनः संस्थाभित्रैबाट उपकुलपति खोजी हुँदै थियो । तर निष्ठाको रोटी खान रुचाउने डा. कार्की कसैसँग पद माग्न गएनन् ।

 पाटनबाटै नयाँ उपकुलपति छानिए । कार्की अहिले विशुद्ध प्राज्ञिक र क्लिनिकल काममा मात्रै छन् । उनले जीवनभर जुन आदर्शलाई पालना गरे त्यसबाट एक इन्च पनि डगमगाएका  छैनन् । पद उनको प्राथमिकता होइन र जीवनमा कहिल्यै चाकडीमाथि विश्वास गरेनन् । उनले इमान्दारीपूर्ण गरिने काम र पेसालाई सधैँ महत्व दिए । पेसाप्रतिको निष्ठा, इमान्दारिता, स्वस्थ र न्यायपूर्ण नेपाल नै डा. कार्कीको ‘अर्जुनदृष्टि’ हो । 

(यो सामग्री स्वास्थ्य खबरपत्रिकाको २०७० असार अंकमा प्रकाशित भएको थियो । एसईई नतिजाको सन्दर्भमा पुनःप्रकाशित गरिएको हो – सं) 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live