मुख्य समाचार

उपत्यकाभरि ‘१०२’ का एम्बुलेन्स, भाडा जम्मा ६ सय!

img

प्रवीण ढकाल

काठमाडौं– आकस्मिक अवस्थाका बिरामीलाई जति सक्दो छिटो स्वास्थ्य संस्थामा पुर्‍याउन सक्यो बिरामीमाथि पर्ने जोखिम त्यति नै कम हुन्छ। तर, काठमाडौँ उपत्यकाको पट्यार लाग्दो ट्राफिक जाममा भनेको बेलामा बिरामीलाई कसरी अस्पताल पुर्‍याउने? कसरी आकस्मिक अवस्थाका बिरामीको उपचार गर्ने? राजधानीमा बस्नेहरुका लागि अहिले यो चिन्ताको विषय बनेको छ।

तर, यो समस्याको समाधानका लागि र आकस्मिक अवस्थामा रहेका बिरामीको समयमै उपचार र उद्धारका लागि काठमाडौँका सडकमा अत्याधुनिक उपकरण र तालिमप्राप्त स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स गुडिरहेका छन्। ‘१०२’ नम्बरमा फोन गर्नेबित्तिकै आकस्मिक अवस्थामा परेका बिरामीको उद्धारका लागि नजिकै रहेको स्टेसनबाट अस्पतालको आइसियूमा रहेको सुविधासरहको सेवा लिएर पुग्छन् ‘नेपाल एम्बुलेन्स सेवा’द्वारा सञ्चालित एम्बुलेन्सहरु।

१०२ नम्बरमा फोन गरेपछि बिरामीको सेवाका लागि पुग्ने एम्बुलेन्समा आकस्मिक अवस्थामा रहेका बिरामीलाई तत्कालै गर्नुपर्ने आवश्यक उपचारका लागि चाहिने सम्पूर्ण उपकरण, औषधि र तालिमप्राप्त स्वास्थ्यकर्मी सँगै पुग्ने एम्बुलेन्स सेवाका चिफ अपरेटिङ अफिसर अमित जोशीले जानकारी दिए। उनका अनुसार सुविधाका हिसाबले अस्पतालको आइसियू सरह रहेकाले यसलाई एक हिसाबले गुड्ने अस्पताल भन्दा पनि हुन्छ।

‘बिरामीको अवस्था अनुसार कहिँलेकाहीँ डाक्टरसहितको टोलीनै बिरामी लिन पुगेका छन्,’ उनले भने, ‘यस्तो अवस्थमा डाक्टरको टोलीले आवश्यक उपचार प्रक्रिया सुरु गर्दै अस्पताल ल्याउँछन्।’

विशेषगरी हृदयाघात, मस्तिष्कघात, अत्यधिक रक्तस्राब भएका, दुर्घटना तथा कुनै विपत्तिमा परेका, सुत्केरी हुने क्रममा रहेका महिलाहरुलाई एम्बुलेन्स सेवासहित आवश्यक उपचार पनि सँगसँगै चाहिने हुन्छ। यस्तो अवस्थामा १०२ मा फोन आउने बित्तिकै एम्बुलेन्स सेवाले बिरामीको अवस्था अनुसार टोली परिचालन गर्ने गरेको उनले बताए।

उनका अनुसार सेवाका क्रममा गम्भीर अवस्थामा पुगेका धेरैलाई मेडिकल टिमसहितको एम्बुलेन्स सेवाले नयाँ जीवन दिएको छ। ४० भन्दा बढी महिलाले एम्बुलेन्सभित्रै बच्चालाई सुरक्षित जन्म दिएका छन्। ‘काठमाडौँको जामका कारण समयमा अस्पताल पुर्‍याउन नसक्ने बिरामीलाई हाम्रो एम्बुलेन्समा रहेको मेडिकल टिमले आवश्यक उपचार गरेर सुरक्षित साथ अस्पतालमा पु¥याउने काम गर्छन्,’ उनले भने, ‘कतिपय अवस्थामा हाम्रो टोलीले गर्भवती महिलाको व्यथा बढ्दा उनीहरुको घरमै सुरक्षित सुत्केरी गराएर थप उपचारका लागि एम्बुलेन्समा ल्याएका समेत छन्।’

‘हामी बिरामीलाई छिटोभन्दा छिटो सेवा दिने गर्छौँ,’ जोशीले भने, ‘नजिकै रहेको स्टेसनबाट बिरामी भएको स्थानमा पुग्न अहिलेसम्म बढीमा १८ मिनेट मात्र समय लागेको छ।’ उनका अनुसार काठमाडौंमा हाल डिल्लीबजार, त्रिपुरेश्वर, सातदोवाटो र गौशालामा एम्बुलेन्सको स्टेसन छ।

उपत्यकाबाहिर सेवा

सन् २०१० देखि सेवा सुरु गरेको संस्थासँग हाल १० वटा सुविधासम्पन्न एम्बुलेन्स छन्। तीमध्ये चितवन र पोखरामा एक–एक वटा एम्बुलेन्सले सेवा दिइरहेका छन् भने बाँकी एम्बुलेन्स काठमाडौँमै छ। एम्बुलेन्स सेवाको माग बढ्दै गएपछि संस्थाले बुटवल र बनेपामा पनि सेवा विस्तार गर्न लागेको छ। ‘सेवा विस्तारको काम अगाडि बढिसकेको छ,’ जोशीले भने, ‘बुटवलमा तत्कालै सुरु हुँदैछ भने बनेपामा सुरु गर्न धुलिखेल अस्पतालसँग सम्झौता गर्ने कुरा भइरहेको छ।’

हालसम्म संस्थाले २४ हजारभन्दा बढीलाई सेवा दिइसकेको छ। सुविधासम्पन्न एम्बुलेन्स भएका कारण ठूला विपत्ति तथा कुनै दुर्घटनामा सरकारलाई एम्बुलेन्सको आवश्यकता प¥यो भने सरकारले यिनै एम्बुलेन्स प्रयोग गर्ने गरेको जोशीले जानकारी दिए। यसका साथै, नेपाल आर्मीले पनि कहीँ उद्धार गर्नुपर्‍यो भने १०२ लाई नै सम्झने गरेको उनले जनाए।

सबै एम्बुलेन्सलाई १०२ नेटवर्कमा ल्याउने प्रयास

आकस्मिकका सहयोगी देशभरका एम्बुलेन्स सेवालाई एउटै नेटवर्क अन्तर्गत ल्याउने प्रयास भइरहेको छ। देशभरमा विभिन्न संस्थाबाट सञ्चालित एम्बुलेन्सका फोन नम्बरहरु धेरै हुने र कहाँ, कति, कस्ता एम्बुलेन्स छन् भन्ने जानकारी नहुने हुँदा सबैलाई सहज हुने १०२ नम्बरको नेटवर्क अन्तर्गत ल्याउने प्रयास संस्थाले गरिरहेको छ।

‘सरकारले पनि यो कुरामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ,’ जोशीले भने, ‘सरकारसँगै अस्पताल तथा अन्य संस्थाहरुको सहयोग हुने हो भने देशैभर एउटै नेटवर्कमा एम्बुलेन्स चल्नेछन्। जसले गर्दा गुणस्तर र मूल्यमा समेत समानता आउनेछ।’ संस्थाले नेपाल टेलिकमको सहयोगमा एम्बुलेन्सका लागि तीन अंकको १०२ नम्बर लिएको हो।

भाडा ६ सय मात्र

काठमाडौँको महँगीमा यी एम्बुलेन्सले उपत्यकाभरि जहाँ गए पनि जम्मा ६ सय रुपैयाँमा सेवा दिइरहेका छन्। तर, एम्बुलेन्स सेवाका क्रममा कुनै औषधि वा थप उपचार सेवा गर्नुप¥यो भने औषधि र उपचार सेवाका आधारमा केही रकम भने तिर्नुपर्ने हुन्छ। गैरनाफामुलक संस्था भएकाले बिरामीसँग महँगो शुल्क नलिएको जोशी बताउँछन्। उनका अनुसार बिरामीबाट लिने भाडाले एम्बुलेन्सको तेल र मर्मत खर्च मात्र धान्छ।

संस्थामा कार्यरत झन्डै ४० जना कर्मचारीलाई तलब तथा सेवासुविधा भने ‘च्यारिटी फन्ड’ मार्फत दिने गरिएको छ। यसका लागि संस्थामा २७ जना कर्पोरेट सदस्य र एक सय ५० जना प्याटेन्ट सदस्य छन्। कर्पोरेट सदस्यहरुले संस्थालाई मासिक पाँच/पाँच हजार र प्याटेन्ट सदस्यले मासिक एक÷एक हजार रकम दिँदै आइरहेका छन्। तर, सदस्यताको निरन्तरता भने चुनौतीपूर्ण बन्दै गएको उनले बताए। लामो दूरीमा जानुपर्ने अवस्था धेरै आइरहेकाले संस्थाले भाडा दरमा केही रकम बढाउने तयारी गरिरहेको जोशीले जानकारी दिए।

अस्पतालजन्य फोहोरमैला व्यवस्थापनमा सक्रिय महेश नकर्मीले सन् २००९ मा एउटै नेटवर्कभित्र एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना अगाडि बढाएका हुन्। उनको यो काममा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, व्यावसायी पवन अग्रवाल, बृहत् इनभेस्टमेन्टका ओमराज भण्डारी, प्रिज्मा एडभरटाइजिङका रञ्जित आचार्य, किस्ट बैंक (हाल प्रभु बैंक) लगायतले सहयोग गरेका थिए। उनीहरुको सहयोगमा पाँच वटा एम्बुलेन्स लिएर सन् २०१० बाट सेवा सुरु भएको थियो। हालै मात्र संस्थालाई इन्टरनेसनल मेडिकल कर्पले पाँच वटा नयाँ एम्बुलेन्स सहयोग गरेको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने