मुख्य समाचार

स्थानीय तहमा स्वास्थ्यका कर्मचारी खटाइँदै, कुन तहमा कसको नेतृत्व?

img

प्रवीण ढकाल

काठमाडौं– संघीय संरचना अनुसार स्वास्थ्य मन्त्रालयले मातहतका कर्मचारीलाई स्थानीय तहमा खटाउन सुरु गरेको छ। मन्त्रालयले निर्वाचन सम्पन्न भइसकेका स्थानीय तहमा कर्मचारी पठाउन सुरु गरेको हो।

पहिलो चरणमा मन्त्रालयले महानगरपालिकामा पठाउने कर्मचारीको सूची तयार पारेको हो। मन्त्रालयले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा १०औं तहका कर्मचारीको संयोजकत्वमा कर्मचारी पठाउँदैछ। जसअनुसार काठमाडौं महानगरपालिकामा विश्वराम श्रेष्ठ, ललितपुरमा डा. खगेश्वर गेलाल र पोखरामा हेमन्त शर्मा पौडेलको संयोजकत्वमा पाँच–पाँच जना कर्मचारी रहनेछन्।

भरतपुर महानगरपालिकामा मतगणनाको टुंगो लागिनसकेकाले केही समयपछि मात्र उक्त क्षेत्रका लागि कर्मचारी तोकिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्त भोगेन्द्रराज डोटेलका अनुसार कर्मचारी समायोजनको ऐन नआइसकेकाले मन्त्रालयले तत्कालका लागि महानगरपालिकामा १०औं तहका कर्मचारीको संयोजकत्वमा पाँच जना, उपमहानगरपालिकामा ९औँ तहको संयोजकत्वमा चार जना, नगरपालिकामा आठौं तहको संयोजकत्वमा तीन जना र गाँउपालिकामा सातौँ तहको संयोजकत्वमा दुई जना कर्मचारी खटाउन लागेको छ।

‘अहिलेलाई क्षेत्र र जिल्लामा भएकालाई स्थानीय तहमा खटाउने तयारी भइरहेको छ,’ उनले भने, ‘स्थानीय तहमा खटिएका कर्मचारीले बजेट कार्यक्रममा भएका कुरालाई कार्यान्वयनमा लैजान काम गर्नेछन्।’ उनका अनुसार कार्यक्रम कार्यान्वयनमा लैजाने क्रममा उनीहरुले स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका संस्था र जनशक्तिको सहयोग लिनेछन्।

सरकारले जनतासँग प्रत्यक्ष सरोकार राख्ने र जनसरोकारका विषय भएको भन्दै पहिलो चरणमा स्वास्थ्य र शिक्षा मन्त्रालय मातहतका कर्मचारीको व्यवस्थापन अघि बढाएको हो। पहिलो चरणमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा आयुर्वेद औषधालयमा कार्यरत कर्मचारीलाई स्थानीय तहमा खटाइनेछ। स्थानीय तहका आधारमा आवश्यक पर्ने संयोजकहरु भने क्षेत्र, विभाग वा महाशाखा मार्फत पनि खटाइनेछ।

नयाँ संरचना अनुसार कार्यालयमा कार्यरत कर्मचारीसहित चलरअचल सम्पत्ती पनि स्थानीय तहमै समायोजन गर्न लागिएको छ। सरकारले सोही अनुसार स्थानीय तहमा स्वास्थ्यका कार्यक्रम र बजेट स्थानीय तहलाई नै दिइसकेको छ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मीका अनुसार स्थानीय तहमा औसतमा १४ करोड हाराहारीमा बजेट विनियोजन भइसकेको छ। ‘उक्त बजेट स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रमहरु र कर्मचारीको तलब तथा सेवासुविधामा खर्च हुनेछ’ उनले भनिन्, ‘स्थानीय तहमा स्वास्थ्यका धेरै कार्यक्रमहरु दिइएको छ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने