जीवनशैली

के हो टाइप एक र टाइप दुई मधुमेह ?

डा. अंशुमाली जोशी

मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शक्ति शरीरभित्र रहेका सेल्स (कोशिकाहरु) भित्र हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिन नामक हर्मोनले गर्छ । इन्सुलिन पेटको प्यान्क्रियाज भन्ने ग्रन्थीले उत्पादन गर्छ। यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरुप ग्लुकोज कोशिकाहरुभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ र पिसाबबाट बाहिर निस्कन्छ थाल्छ ।  यसले गर्दा शक्ति उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान थाल्छ ।

यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्याधिक बढेको हुन्छ भने कोशिकाहरुमा शक्तिको उत्पादन हुन नसकेर शरीर कमजोर हुँदै जान्छ । यही अवस्थालाई डाइबिटिज वा मधुमेह भनिन्छ । यसरी रगतमा ग्लुकोजको मात्रा बढ्दै गएपछि मुख सुक्ने, बढी तिर्खा लाग्ने र धेरै पिसाब लाग्ने जस्ता लक्षण देखिन थाल्छन्। पिसाबमा ग्लुकोज जान थालेपछि दुब्लाउदै जाने, भोक बढी लाग्ने, हातखुट्टा झमझम गर्ने जस्ता लक्षण देखिन थाल्छन् ।

टाइप एक मधुमेह

यसमा इन्सुलिनको उत्पादन शुन्य हुन्छ । त्यसैले यसलाई इन्सुलिनमा निर्भर रहने मधुमेह भनिन्छ । यो कुल मधुमेह रोगीको करीब १० प्रतिशतमा पाइन्छ । यो प्रायः बालबालिका र दुब्ला मानिसमा बढी देखिन्छ । यसमा मधुमेहको लक्षण पनि छिटो देखापर्छ । यसमा इन्सुलिन सुई लिनैपर्ने हुन्छ । छिनछिनमा पिसाव लाग्ने, प्यास बढी लाग्ने, भोक धेरै लाग्ने, तौल अचानक घट्ने, अधिक थकान महसुस हुने यसका लक्षण हुन् । यो मधुमेह प्याक्रियाजमा भाइरसको संक्रमण, अटो इम्युन  र ५ प्रतिशत जति वंशाणुगत कारणले हुन्छ । यो अधिकांश आफै हुने मधुमेह भएकाले यसबाट बँच्ने कुनै उपाय हुंदैन ।

टाइप दुई मधुमेह

यसमा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुँदैन र इन्सुलिनले उचित मात्रामा काम पनि गर्न सक्दैन । यसलाई इन्सुलिनमा निर्भर नरहने मधुमेह पनि भनिन्छ । यो मधुमेह नेपालमा सबैभन्दा बढी देखिएको छ । यो करीब ९० प्रतिशत मधुमेह रोगीमा पाइन्छ । यो प्रायः ४० वर्षभन्दा बढी उमेरका मानिसलाई देखिने भए पनि केहीलाई २० बर्षमा पनि देखिएको छ । यो मोटोपना र अस्वस्थकर जीवनशैलीबाट बढी हुने भएकाले यसलाई नियन्त्रण गर्न सकिन्छ । यो मधुमेह केहीलाई वंशाणुगत कारणले पनि हुन्छ ।

यदि बंशजमा छ भने जीवनशैली परिवर्तन गरे केही हदसम्म यसबाट बँच्न सकिन्छ । यो ३० देखि ५० प्रतिशतलाई कुनै पनि लक्षण बिना नै देखिन सक्छ । शरीर कमजोर हुने, खुट्टा झमझम गर्ने, पिसाबमा कमिला लाग्ने, लामो समयसम्म घाउ निको नहुने यसका लक्षण हुन् । समयमै ध्यान दिए यो मधुमेहबाट बँच्न सकिन्छ । जीवनशैली परिवर्तन, शारीरिक व्यायाम, तौल नियन्त्रण, सूर्तीजन्य पदार्थको प्रयोग नगर्ने, चिल्लो तथा नुनिलो कम गर्ने, तनाव नलिने र खानपानमा ध्यान पु¥याउँदा यसबाट बँच्न सकिन्छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने