टिप्स/जानकारी

आँखाका यस्ता समस्यामा ‘भिजन थेरापी’

अशेष आचार्य

हाम्रा आँखा सिधा रहनका लागि आँखामा ६ वटा मांशपेशीले निरन्तर काम गरिरहेका हुन्छन्। आँखाको समायोजन नमिल्दा आँखा टेढो हुने गर्छ। जसले गर्दा आँखा अल्छी हुने, दुवै आँखाले एकैचोटि काम गर्न नसक्ने, पढ्दा धरै बेरसम्म एकाग्रता नरहने, पढ्दापढ्दै एक्कासी अक्षरहरु दौडिएको देखिने, एउटा अक्षरमाथि अर्को अक्षर खप्टिने, आँखा चाँडै  थाक्ने, मन्द टाउको दुख्ने जस्ता लक्षण देखा पर्छन्। ती मांशपेशीको संयोजन बिग्रिँदा ‘भिजन थेरापी’को आवश्यकता पर्छ। भिजन थेरापीले आँखाका ती सबै समस्या समाधान गर्न मद्दत गर्छ।

लामो समयसम्म शरीरमा रोग लाग्दा, धेरै समयसम्म कम्प्युटरजस्ता उपकरणमा काम गर्दा, शारीरिक दुर्वलता हुँदा, चोटका कारण, वंशाणुगत गुण र कुनैकुनै कारणबिना पनि यस्तो समस्या देखा पर्ने गर्छ। 

के हो अल्छी आँखा
कुनै पनि बालबालिकाको १० वर्षभन्दा मुनि आँखा डेढो हुदा“, दुवै वटा आँखाको दृष्टिदोष फरक हुदा“ वा दुवैको दृष्टि दोष धेरै हुँदा आँखाभित्र पूर्णरुपमा प्रकाश नगएर पूर्ण आकृति बन्द सक्दैन।

एउटा वा दुवै आँखाले लामो समयसम्म पनि दृश्य सफा देख्न सक्दैन। पछि गएर एउटा निश्चित उमेरदेखि सोही रोगको उपचार साधारण प्रक्रियाद्वारा गर्दा पनि देखिँदैन। त्यस्तो अवस्थालाई नै ‘अल्छी आँखा’ (एम्ब्लोपिया) भनिन्छ। 

पहिले–पहिले आँखा अल्छी हुँदा जुन आँखाले राम्रो देख्छ त्यसलाई पट्टी लगाएर अर्को आँखालाई हेर्न लगाइन्थ्यो भने अहिले भिजन थेरापीले आधुनिक प्रविधि मार्फत उपचार गर्ने गरिन्छ। यो प्रविधिबाट १० वर्षभन्दा बढी उमेरकाको पनि अल्छी आँखाको उपचार सम्भव भएको छ।

निरन्तर दृष्टि विशेषज्ञको निगरानीमा यो प्रविधि मार्फत अल्छी आँखाको समस्या धेरै हदसम्म समाधान गर्न सकिन्छ। तर, अल्छी आँखा कति मात्रामा छ भन्ने कुराले कति प्रतिशत समाधान हुन्छ भन्ने कुरालाई इंगित गर्छ। 

कस्ता समस्यामा भिजन थेरापी
आँखा र हातको संयोजन राम्रो नहुने, अल्छी आँखा, टेढो आँखा, पढ्दापढ्दै एक्कासी अक्षरहरु दौडिएको देखिने, पढ्दा वा कुनै वस्तुलाई हेर्दा एक्कासी दुइटा देखिने, धेरै बेरसम्म पढ्न नसक्ने, पढ्ने बित्तिकै आँखा थाक्ने, कम उमेरमै नजिकमा अक्षरहरु हेर्न गाह्रो हुने जस्ता समस्या भिजन थेरापीले उपचार गर्न सक्छ।

यी समस्या बाहेक ‘डिक्लेक्सिया’, मस्तिष्कघातले गर्दा भएको दृष्टि सम्बन्धी समस्या, ‘डाउन सिन्ड्रोम’ जस्ता अवस्थामा पनि भिजन थेरापी उपयोगी हुन्छ।

यद्यपि, भिजन थेरापीबाट आँखाको चस्मा हटाउन सकिन्छ भन्ने ठान्नु भएको छ भने, त्यो वैज्ञानिक रुपमा प्रमाणित नभएको कुरा हो।

कसरी गरिन्छ भिजन थेरापी?
भिजन थेरापी लेन्स, प्रिज्म, कम्प्युटर तथा विभिन्न उपकरणको सहायताले गरिन्छ। यो दुई स्थानमा गर्न सकिन्छ, एउटा घरमा र अर्को अस्पताल वा स्वास्थ संस्थामा। स्वास्थ्य संस्थामा सुरुमा उपकरण तथा कम्प्युटरको सहायताले दृष्टि विषेशज्ञ (भिजन थेरापिस्ट) द्वारा विभिन्न खालका तालिम गराइन्छ।

विषेशज्ञको सल्लाह अनुसार प्रत्येक दिनदेखि हप्तामा एकपटक सम्म (जटिलता हेरेर) थेरापीका लागि बोलाइन्छ। केही दिनपछि बिरामीले घरमै थेरापी गर्नेगरी विभिन्न तालिमहरु दिने गरिन्छ। त्यसपछि भने घरमै तालिमअनुसार भिजन थेरापी गर्न सकिन्छ।

- आचार्य अप्टोमेट्रिस्ट हुन्, उनी दृष्टी आँखा उपचार केन्द्रमा कार्यरत छन् । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live