अन्तर्वार्ता

पोखराका मेयर भन्छन्ः नागरिकको स्वास्थ्य प्रतिकूल कुनै काम गर्दिन

img

ईश्वरी पौडेल

कास्कीको पोखरा–लेखनाथ महानगरपालिका पर्यटकीय सहरका रुपमा विख्यात छ। प्रदेश–४ को प्रस्तावित राजधानी पोखरामा समग्र स्वास्थ्य अवस्था र योजनाबारे महानगरपालिकाका नवनिर्वाचित मेयर मानबहादुर जिसीसँग स्वास्थ्य खबरपत्रिकाका लागि ईश्वरी पौडेललक्ष्मण शर्माले गरेको कुराकानीः 

पोखरा–लेखनाथ महानगरपालिकामा के–कस्ता स्वास्थ्य समस्या देख्नु भएको छ? 

पोखरा–लेखनाथ महानगरको अहिलेको सबैभन्दा प्रमुख समस्या र चुनौती फोहोर व्यवस्थापन हो। फोहोर व्यवस्थापनको अर्को पक्ष अस्पतालबाट निस्कने ‘मेडिकल वेस्ट’ पनि हो। हामी महानगरलाई ‘क्लिन र ग्रिन सिटी’ बनाउने र शुद्ध खानेपानी उपलब्ध गराउनेगरी योजनाबद्ध रुपमा काम अघि बढाउन प्रतिबद्ध छौँ, जसमा महानगरवासीका स्वास्थ्यसम्बन्धी सबै सरोकार जोडिन्छन्। 

यहाँ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज जस्ता ठूला अस्पताल र दर्जनौँ नर्सिङ होम सञ्चालित छन्। यस्तो स्थितिमा पोखराको स्वास्थ्य अवस्था कस्तो छ? अहिलेको स्थिति सुधार गर्न तत्काल के गर्न सकिन्छ? सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाको अनुगमन गर्न प्रभावकारी संयन्त्र कुन हो र कसरी गर्ने? सेवा अनुगमनको खाका के? यसबारे सरोकारवाला निकाय, विज्ञ र महानगरपालिकाले संयुक्त अध्ययन र छलफल गरी दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्ने तयारी गरिरहेका छौँ। 

महानगरवासीमाझ स्वास्थ्य चेतना जगाउने, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता र सुनिश्चितताका लागि वातावरण बनाउने महानगरको लक्ष्य कसरी पूरा गर्ने भन्नेमा विस्तृत अध्ययन भइरहेको छ। महानगर स्थानीय सरकार पनि भएकाले अब हुने नगर परिषद्बाट स्वास्थ्यसम्बन्धी बजेट तथा योजना पारित गर्नेछौँ। यसका लागि स्वास्थ्य बीमा प्रभावकारी बनाउनुपर्छ। करिब चार लाख ४० हजार महानगरवासी स्वस्थ्य नभए महानगरले कसरी विकास गर्न सक्छ? 

महानगरका ३३ वटै वडामा पार्क बनाउने, ‘ब्युटिफिकेसन’ गर्ने, पार्कलाई जेष्ठ नागरिकहरूको क्लबका रुपमा विकास गरी उनीहरूको दिनचर्या सहज बनाउन हामी योजना बनाइरहेका छौँ। उनीहरूलाई उपचारमा सघाउन छुट्टै क्लिनिक/अस्पताल स्थापना गर्न छलफल गरिरहेका छौँ। 

महानगरवासीलाई स्वस्थ राख्न खेलकुदमा सहभागी गराउने योजना बनाइरहेका छौँ र यो सम्भव पनि देखेका छौँ। यसका लागि महानगरपालिकामा ‘सुपर स्पोर्ट्स जोन’ अर्थात खेलकुद एकेडेमी स्थापना किन नगर्ने? पछिल्लो समय मर्निङवाक गर्ने ठाउँ अभाव छ। ताजा हावामा मर्निङ वाक गर्न सेती, फिर्के खोला, फेवा तथा बेगनास ताल किनारमा ‘फुट ट्र्याक’ निर्माण गर्ने योजना छ। 

पोखरा–लेखनाथवासीलाई जिल्लामै उत्पादित अग्र्यानिक, ताजा र स्वस्थ खाद्यान्न, तरकारी, फलफूल उपभोग गराउन सम्भव छ/छैन अध्ययन गरिरहेका छौँ। सम्भव भए यसले रोजगारी बढाउनुका साथै महानगरवासी पनि स्वस्थ्य हुन्छन्। 

तपाईंले देखेका समस्या समाधान गर्न पर्याप्त स्रोत, साधन र जनशक्ति महानगरसँग छ त? 

जनताको स्वास्थ्य जस्तो अति संवेदनशील मुद्दामा कहीँ कुनै सम्झौता गर्न नहुने पक्षमा हामी छौँ। स्थानीय तह अधिकारसहितको स्थानीय सरकार भएकाले स्रोत साधन पहिचान र समुचित उपयोगको दायित्व पनि हामीमा छ। हामीले उठाएका समस्या समाधानमा हाल पर्याप्त जनशक्ति नभए पनि अहिले उपलब्ध जनशक्तिको अधिकतम प्रयोग गर्दै थप जनशक्ति व्यवस्था गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा महानगरवासीलाई उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ। 

संविधानले स्थानीय तहलाई दिएको स्वास्थ्यसम्बन्धी अधिकार पर्याप्त छ? 

मैले भनिसकेँ, अहिलेको स्थानीय तह अधिकारसहितको स्थानीय सरकार हो। संविधानले स्थानीय तहमा दिएका अधिकारमध्ये स्वास्थ्यसम्बन्धी अधिकार धेरै छन्। ती पर्याप्त नभए संविधानसँग नबाझिने गरी आवश्यकता अनुसार नीति नियम निर्माण र कार्यान्वयन गर्न पाउने भएकाले जनताका समस्या समाधान गर्न कुनै कठिनाइ पर्छ जस्तो लाग्दैन। 

महानगरभित्र सरकारी र निजी अस्पताल, मेडिकल कलेज, नर्सिङहोम, क्लिनिक र औषधि पसल छन्। तिनमा पर्याप्त भौतिक पूर्वाधार रहे/नरहेको, सेवा र मापदण्ड पालनाको अनुगमन कसरी गर्नुहुन्छ? 

अस्पताल सञ्चालन र सेवा मापदण्ड तथा भौतिक पूर्वाधारबारे हामी छिट्टै वृहत्तर छलफल गर्ने र योजना सार्वजनिक गर्ने सोचमा छौँ। तर, सरकारले तोकेको मापदण्ड विपरितका कुनै पनि संघ–संस्थालाई महानगरले छुट दिने छैन।

अर्को कुरा, हामी पोखरालाई आधुनिक सहर बनाउने योजनामा रहेकाले आधुनिक सहरमा म्याच हुने अस्पताल र क्लिनिक हुनुपर्छ। देशका अन्य भूभागमा बस्ने नेपाली र विदेशीले समेत पोखरा–लेखनाथ महानगरमा गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवा पाइन्छ भन्ने अनुभूति दिलाउन हामी प्रतिबद्ध छौँ। 

सबै अस्पतालले १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्नुपर्ने सरकारी नीति छ। तर, पोखरामा त्यसो गरिँदैन भन्ने गुनासो छ। महानगरले कसरी अनुगमन गर्छ? 

पोखरा–लेखनाथलाई प्रविधिमैत्री बनाउनु पर्छ भन्दै आएका छौँ र बनाउनै पर्छ। यहाँका सबै अस्पताल प्रविधिमैत्री बन्नुपर्छ, डिजिटल प्रणाली जडान हुनैपर्छ। सबै समस्या तत्काल समाधान हुन्छन् भन्न त नसकिएला तर प्रविधिको सहयोगले धेरै समस्या समाधान गर्न सकिन्छ भन्ने लागेको छ। 

एकातिर सम्पन्न र सचेत वर्गका बिरामी यहाँका स्वास्थ्य संस्थामा उपचार गराउँदैनन्। अर्कोतिर स्वास्थ्य संस्थाले पनि स्तरीय र भरपर्दो सेवा दिन नसकेको गुनासो सुनिन्छ। के भन्नुहुन्छ? 

हामी पनि त्यही वर्गका मान्छे हौँ र यो हामीले पनि भोगेको कुरा होे। यहाँका सबै स्वास्थ्य संस्थाले सर्वसाधारणको विश्वास जित्नुुपर्छ। नाफा कमाउन मात्र होइन आधुनिक, गुणस्तरीय र सुलभ सेवा दिन प्रतिबद्ध हुनुपर्छ।

सर्वसुलभ र गुणस्तरीय सेवा दिन आवश्यक सहयोग गर्न महानगर तयार छ, तर उनीहरू तत्पर हुन जरुरी छ। अर्को कुरा, चिकित्सकले जस्तो उपचार गरे पनि हुन्छ भन्ने मानसिकता अन्त्य हुन जरुरी छ। हामीले नै पनि सेवा दिने क्रममा सेवाग्राहीलाई प्रभावकारी, उचित र पारदर्शी सेवा दिन नसके क्षतिपूर्ति दिनुपर्छ, त्यसरी नै उपचारमा संलग्न स्वास्थ्यकर्मीको लापरवाही र अनियमितता पुष्टी भए पीडितलाई उचित क्षतिपूर्ति दिने व्यवस्था गर्न आवश्यक छ। 

महानगरको गरिबी र महँगो स्वास्थ्य उपचारबीच कसरी तालमेल हुन्छ? 

कुनै पनि महानगरवासी उपचार अभावमा अकालमा मर्नु हुँदैन भनेर महानगरले योजना बनाउनुप¥यो। हामी महानगरवासीलाई स्वास्थ्य बिमा गर्ने वातावरण बनाउँछौँ। त्यसपछि सक्नेबाट लिने र नसक्नेलाई दिने नै हो। स्पष्ट दृष्टिकोण, खाका र मापदण्डसहित उपचार कोष स्थापना गर्ने र सबैखाले रोगका उपचारको प्रबन्ध गर्नेतर्फ महानगरले अवश्य पनि योजना बनाउने छ। 

हाल पोखरा–लेखनाथ महानगरमा जाइकाको परियोजना सञ्चालित छ। तर खानेपानी अभाव र अनियमित वितरण समस्या कायम छ, कसरी समाधान गर्नुहुन्छ? 

शुद्ध खानेपानी वितरण गर्न सके पनि धेरै हदसम्म महानगरवासी स्वस्थ हुन्छन् भनेर ग्रिन सिटी, क्लिन सिटी र शुद्ध खानेपानी व्यवस्था गर्न हामी प्रतिबद्ध छौँ। जाइकाको परियोजना कसरी छिटो सञ्चालन र शुद्ध खानेपानी वितरण गर्न सकिन्छ छलफल गर्ने छौँ। हामी पोखरालाई बोतलरहित सहरका बनाउन खोजेका छौँ । यसका लागि जिम्मेवार निकायलाई सचेत गराउँदै महानगरले प्रभावकारी अनुगमन र आवश्यक सहयोग गर्नेछ।

पोखरा–लेखनाथको ढल व्यवस्थापन कति प्रभावकारी छ? 

पोखराको ढल व्यवस्थापनबारे सडक डिभिजन कार्यालयसँग एउटा छलफल भइसकेको छ। यहाँका अधिकांश ढल साना छन्। अहिले ढलमा नभएर सडकमा ढलको पानी बग्न थालिसकेको छ। कतिपय ढल पुरिएका छन्, कतिपय भत्किएका छन् भने कैयौँ स्थानमा गाडी घरमा लैजान घरधनीले नै ढल पुरेको अवस्था छ। महानगरका इन्जिनियरको अगुवाइमा सम्पूर्ण ढलको अनुगमन गरी आवश्यक स्थानमा भत्काएर मर्मतसम्भार गर्दै तत्काल सञ्चालनमा ल्याउन काम सुरु भइसकेको छ भने दीर्घकालका लागि पनि आवश्यक योजना निर्माण गर्दैछौँ। 

अन्त्यमा पोखरा–लेखनाथको स्वास्थ्य क्षेत्र सुधारका योजनाबारे थप केही भन्न चाहनुहुन्छ? 

सबैका लागि अपरिहार्य पानीको मुहानदेखि धारासम्म शुद्ध हुनुपर्छ। मुख्य कुरा रोग लाग्नै नदिनु हो, यसका लागि जनचेतना बढाउन आवश्यक छ र के कस्तो खान हुने र नहुने ज्ञान महानगरवासीमा हुनु जरुरी छ। महानगरको स्पष्ट धारणा छ– रोग लागिहाले स्वास्थ्य संस्थामा सहज, सर्वसुलभ र गुणस्तरीय सेवा पाउनुपर्छ। कसैले पनि उपचार अभावमा अकालमा ज्यान गुमाउनु पर्दैन भन्ने सन्देश प्रवाह गर्नु हाम्रो दायित्व हो, यसका लागि हामी लागिसकेका छौँ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने