प्रोफाइल

न्युरो सर्जरीकी महिला डाक्टरको अनुभूती

सर्जन्स स्टोरी

img

डिबी खड्का

डा. माया भट्टचन

नेपालमा डाक्टरको स‌ंख्या २० हजारको हाराहारीमा पुगिसक्यो । यसमा महिला डाक्टरको संख्या करिब सात हजार छ । तर, सर्जन महिलाको संख्या दुईपल्ट औँला भाँच्दै गन्ने हो भने पूरा हुन्छ । अर्थात् २० जना जति । त्यसमाथि सर्जरीमा स्पेसियालिटी रोज्नेको संख्या अझै न्यून छ । यसका पछाडि अनेक कारण हुन सक्छन् । तर, शल्यक्रिया लामो समयसम्म उभिएर गर्नुपर्ने काम भएकाले शारीरिक ऊर्जा उत्तिकै चाहिने र जुनसुकै समयमा पनि खट्नुपर्ने कारणले सर्जरी विधा निकै कमले रोज्छन् । तिनै थोरै महिला सर्जनमध्येकी एक हुन् माया भट्टचन । 

यसरी बनिन् सर्जन

नेपाल मेडिकल कलेजमा कार्यरत डा. भट्टचन डाक्टर बन्नु, न्युरो सर्जरी रोज्नु र यसैमा अहोरात्र खाट्नुको एउटै कारण छ ‘सेवाभाव’ । सेवामा समर्पित हुने उत्कट चाहनाले कतिपय व्यक्तिगत इच्छालाई तपशिलमा राखेर अघि बढिरहेकी छिन् उनी।

पितापुर्खा मुस्ताङका भए पनि काठमाडौँमा हुर्के बढेकी हुन् माया । सेन्ट मेरिज स्कुल जाउलाखेलमा उच्च माध्यामिक तहसम्म अध्ययन गरेकी उनलाई त्यहाँ समाजसेवाबारे बताइएको कुराले गहिरो छाप छोडेछ । एसएलसी दिएर नतिजा कुर्दै गर्दाका महिना उनले पशुपतिनाथस्थित वृद्धाश्रममा समय दिइन् । डा. माया भन्छिन्, ‘सेवा भन्ने कुराले मलाई निकै प्रभावित पारेछ । सडक बालबालिका देखे पनि माया लाग्ने, वृद्धाश्रममा बूढाबूढी देखे पनि माया लाग्छ । उनीहरुका लागि केही गर्न पाए हुने भन्ने कुरा मनमा खेल्न थाल्छ।’ 

सेवामा छोरीको लगाव देखेपछि उनका बुवाले बाटो पहिल्याइदिए, ‘सेवा नै गर्न मन छ भने चिकित्सा पढेर गर ।’ उनलाई पनि बुवाको सुझाव  उचित लाग्यो । त्यसपछि चिकित्सा पढ्न रसिया पुगिन् । रसियामै  चिकित्सा शिक्षा पढ्दा ‘प्राक्टिलक’का लागि केही समय उनको सर्जरीमा पोस्टिङ भयो । त्यही पोस्टिङले डा. मायालाई सर्जरीप्रति माया जगायो।

रसियाबाट एमबिबिएस सकेर आएपछि उनले वीर अस्पतालमा केही समय स्वयंसेवकका रुपमा बिरामीको सेवा गरिन् । केही महिना उनले न्युरो सर्जरी विभागमा सेवा दिइन् । उनलाई न्युरो सर्जरीमा कार्यरत चिकित्सकको व्यवहारले तान्यो । भन्छिन्, ‘न्युरो सर्जरीका वरिष्ठ चिकित्सकहरु डा. गोपालरमण शर्मा, डा. प्रकाश विष्ट, डा. उपेन्द्र देवकोटा, डा. पवन सुल्तानियाहरु राति ११ बजेसम्म पनि राउन्ड लिन आउनुहुन्थ्यो ।’ न्युरो सर्जरीका विषयमा बुझ्दै जाँदा उनलाई त्यही क्षेत्रमा केही गर्ने रहर पनि बढ्दै गयो । उनले न्युरो सर्जरीमै एमपिएच गर्ने अठोट लिइन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट उनले न्युरो सर्जरीमा एमसिएच गरेकी हुन् । सर्जरी रोज्ने दोस्रो महिला डाक्टर बनेकी उनी संयोगले न्युरो सर्जरीमा एमसिएच गर्ने पहिलो भइन्।

पहिलो न्युरो सर्जरी

वीर अस्पतालमा काम गर्दा उनले पहिलो न्युरो सर्जरी गरेकी थिइन् । चोट लागेर बिरामीको दिमागको झिल्लीमा रगत जमेको थियो । उनका सिनियरहरुले केही परे आफूले सम्हाल्ने भन्दै उनलाई सर्जरी गर्न हौस्याए । जुन सफल भयो । आफ्नै बलबुतामा गरिएको पहिलो सर्जरीका रुपमा चाहिँ शिक्षण अस्पतालमा एमसिएच गर्दाताका गरिएको सर्जरीलाई सम्झिन्छिन् उनी । त्यहाँ उनले वरिष्ठ न्युरो सर्जनहरु डा. सुशीलकृष्ण सिल्पकार र डा. मोहनराज शर्मा मातहत रहेर न्युरो सर्जरी सिकेकी हुन् । अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. शर्माले उनलाई एक बिरामीको ‘पिट्युटरी ग्रन्थी’को ट्युमर झिक्न लगाएका थिए । डर र उत्साहबीच साढे तीन घन्टामा उनले उक्त सर्जरी सफल तुल्याएकी थिइन्।

पाठ सिकाउने त्यो सर्जरी

डाक्टरले हरेक बिरामीलाई अन्तिम अवस्थासम्म बचाउने प्रयास गर्छन् । तर, उपचार प्रक्रिया र पद्दति उनीहरुले हासिल गरेको ज्ञानका आधारमा हुन्छ । तिनै आधारहरुको लेखाजोखाबाट बिरामी जोगाउन सकिने वा मृत्यु हुन सक्ने सम्भावनाको हिसाब निकाल्छन् चिकित्सकहरुले । त्यही गणित अनुसार एउटा बिरामी नबाँच्ने सम्भावना बढी देखेकी थिइन् उनले । ‘सिविएर हेड इन्जुरी’ भएका एक जना बिरामी ल्याइएको थियो । बिरामीको ज्यान जोगाउन सकिने सम्भावना न्यून नै देखेकी थिइन् उनले तर आफूले जाने–सकेको गरिरहिन् । उनी भन्छिन्, ‘मलाई बिरामी बाँच्ला भन्ने आशा थिएन । प्रयास जारी राखेँ । बिरामी बाँच्यो । यसले मलाई ठूलो पाठ सिकायो ।’ त्यो सर्जरीले उनलाई सिकायो, ‘आशा मार्नु हुँदैन, अन्तिम घडीसम्म प्रयास जारी राख्नुपर्छ ।’ त्यसपछि पनि उनले सर्जरी गरेर बाँच्ने निकै कम आशा गरिएका केही बिरामी तन्दुरुस्त भएर घर फर्केका छन्। 

बिरामी र आफन्तकोे प्रेम

न्युरो सर्जरीका लागि धेरै आउने चोटपटक लागेर हो । चोटपटक धेरै लगाउनेमा बालबालिका र युवा हुन्छन् । सर्जरीपछि ज्यान जोगाइदिएकोमा अनुग्रह त सबैले प्रकट गर्छन् । कतिले चाहिँ पछिसम्म सम्झिरहन्छन् । डा. मायाले उपचार गरेका केही त्यस्ता बिरामी छन्, जसले उनलाई वर्षांैसम्म सम्झिरहेका छन् । ‘सानो हुँदा सर्जरी गरेका केही बच्चाकी आमाहरु ‘यी छोरो÷छोरी स्कुल जान थाल्यो नि’ भनेर देखाउन आउँछन् अस्पतालमा,’ उनले सम्झिइन् । उनले सर्जरी गरेकाहरु कतिपय विदेश पुगिसकेका छन् । तर, तीनका आफन्तहरु उनीहरुको जन्मदिनको चकलेट पु¥याउन अस्पताल आइपुग्छन् । न्युरो सर्जरीपछि बिरामी लामो समय अस्पताल रहने भएकाले पनि आत्मीयता बढ्ने उनी बताउँछिन् । बिरामी र उनीहरुका आफन्तको प्रेमले उनलाई आफ्नो कर्ममा थप खट्न हौस्याउँछ।

केही अविश्वास, केही रमाइलो

डाक्टर भनेपछि धेरै नेपालीको दिमागमा पुरुषको चित्र आउँछ । यद्यपि चिकित्सा अध्ययन गर्नेमा अहिले छात्राको संख्या पुरुष बराबरै पुग्न थालेको छ । त्यसैमाथि महिला सर्जन त कमै हुने भएकाले पहिले–पहिले उनीप्रति अविश्वास प्रकट गर्थे बिरामी र उनीहरुका आफन्त । उनले सर्जरी गर्ने कुरा पत्याउँदैन थिए कतिले । कतिले उनैलाई सोध्थे, ‘सिस्टर, डाक्टर खोई ?’ भन्दै । डा. मायाले यसलाई बिरामी र उनीहरुको स्वभाविक प्रतिक्रियाका रुपमा लिँदै अघि बढिन् । अविश्वास गर्ने बिरामी र तिनका आफन्तको विश्वास जित्दै गइन् उनी। 

महिला डाक्टर हुँदाको अर्काे रमाइलो अनुभव पनि छ उनीसँग । ‘लामो समय उपचारमा रहेका बिरामीहरुको डाक्टरसँग घनिष्टता बढ्दै जान्छ । विस्तारै डाक्टर भन्न छाडेर दिदी, आन्टी भन्न थाल्छन्,’ ‘उनी भन्छिन्, ‘तर, पुरुष डाक्टरलाई अंकल, दाइ भनेर सम्बोधन गरेको भने कमै पाइन्छ ।’ आत्मीयता र आदर प्रकट गर्ने क्रममा कहिलेकाहिँ ४५ वर्ष हाराहारी उमेरका बिरामीले पनि उनलाई ‘आन्टी’ भनिदिँदा रहेछन् । उनले हाँस्दै भनिन्, ‘हुन त त्यो सम्बोधन एउटा आत्मीयताको सम्बोधन हुन्छ, तै पनि मानवीय स्वभाव नि आफूभन्दा पाको मान्छेले आन्टी भन्दाचाहिँ असहज नै लाग्ने रहेछ।’ 

अभिभावकलाई एउटा सुझाव 

डा. भट्टचनले दुर्घटनामा परेका धेरै बिरामीको सर्जरी गरेकी छिन् । तीमध्ये अधिकांश बालबालिकालाई घरकै छत, भ¥याङ आदिमा लडेर चोटपटक लाग्ने गर्छ । उनी भन्छिन्, ‘बालबालिकाको स्वभावै चञ्चले। चाहिन्छ खेल्ने ठाउँ। तर, त्यस्तो ठाउँ अहिले शहरबजारमा अभाव छ, त्यसैले घरमै खेल्छन्। तर, घरमा बालबालिका सुरक्षित छैनन्। त्यसैले बालबालिका खेल्दा र खेल्ने ठाउँमा अभिभावकले होस् पु¥याउनुपर्छ।’ 

बिरामी निको हुनुमा एउटा डाक्टरसँगै अस्पताल, त्यहाँको वातावरण आदिको पनि भूमिका हुन्छ । सफल शल्यक्रिया भएर पनि अस्पतालजन्य संक्रमणका कारण बिरामीको ज्यान तलमाथि पर्दा उनको मन कटक्क हुन्छ । त्यसैले अस्पतालजन्य संक्रमण नियन्त्रण गरी सफल शल्यक्रिया गरिएका सबै बिरामी जोगाउन पाए हुन्थ्यो जस्तो लाग्छ उनलाई । त्यो अस्पतालहरुमा त्यो दिन आउँछ भन्ने उनको सपना पनि हो ।

सच्याइएको : आदरणीय पाठकज्यूहरुबाट आएको सुझाव अनुरुप न्युरो सर्जरीमा पहिलो महिला डाक्टर बेन्जु प्रधान भएको पुष्टि हुन आएकाले भूल सुधार गरिएको छ। -सम्पादक

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live