फिचर

सेरेब्रल पाल्सी भएका बालबालिकालाई यस्तो भरोसा

img

प्रवीण ढकाल

काठमाडौं– हातखुट्टा राम्रोसँग नचल्ने, शरीर अररो हुने, बोल्न नसक्ने, जे पायो त्यही खाने, बेसुरमा हुने बालबालिकालाई ग्रामीण भेगमा सुस्त मनस्थिति वा अन्य विभिन्न नाममा डोरीले बाँधेर राख्ने गरेको पाइन्छ। बाल मस्तिष्क पक्षघात (सेरेब्रल पाल्सी) भनिने रोगग्रस्त यस्ता बालबालिकालाई जति उमेर बढ्छ त्यति नै बलियो डोरीले बाँधेर राखिन्छ। जनचेतनाको अभावले गर्दा यस्ता बिरामीले समाज र परिवारबाट छि–छि र दूरदूरसँगै अथाह पीडा पाउने गरेका छन्।

तर, ललितपुर सातदोबाटोबाट करिब पाँच किलोमिटर टाढा धापाखेलस्थित ‘सेरेब्रल पाल्सी रिह्याबिलिटेसन सेन्टर’मा बाल मस्तिष्क पक्षघातग्रस्त धेरै बालबालिका कम्प्युटरमा रमाइरहेका, सिलाइबुनाइ गरिरहेका, पढिरहेका अनि कोही खेलिरहेका देखिन्छन्। सेरेब्रल पाल्सी भएका बालबालिकालाई त्यहाँ रोगको अवस्था अनुसार आवश्यक उपचार गरिन्छ, जसले उनीहरूको दैनिक जीवनयापन सहज बनाउँछ।

मस्तिष्क पक्षघातग्रस्त बालबालिकाकै लागि ३० वर्षअघि सुरु भएको सेन्टरले अहिले बालबालिकामा देखिने अन्य ‘न्युरोलोजिकल डिस्अर्डर’ (स्नायु र मस्तिष्कसम्बन्धीे समस्याले शारीरिक तथा मानसिक विकास नहुने) को पनि उपचार थालेको छ।

सेन्टरका कार्यक्रम प्रमुख डा. रितेश थापाका अनुसार बालबालिकाको पूर्ण विकसित नभएको कलिलो मस्तिष्कमा गर्भमा नै, जन्मिने क्रममा वा जन्मिएपछि विभिन्न कारणले असर पर्छ। जसले नवजातको शारीरिक तथा मानसिक विकासमा समस्या ल्याउँछ। ‘सेन्टरमा प्रायः सबै अवस्था र समस्याको उचित समाधानको कोसिस गरिन्छ,’ उनले भने, ‘तर हाम्रो परिचय भने मस्तिष्क पक्षघातको उपचामा स्थापित भएको छ।’

‘सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी नेपाल’ले चलाएको सेन्टरमा मस्तिष्क पक्षघातबाट बालबालिकामा परेका असरका आधारमा उपचार गर्ने गरिएको छ। ‘बाल मस्तिष्क पक्षघात र वयष्कलाई हुने पक्षघातमा फरक छ। शिशु जन्मने क्रममा, जन्मेपछि वा गर्भमै संक्रमण, जन्डिस, दुर्घटना वा टाउको ठोक्किनुजस्ता कारणले मस्तिष्कमा असर गरेको हुनसक्छ,’ डा. थापाले भने, ‘यस्तो असरले शिशुको हातखुट्टा चलाउने मस्तिष्कको ‘मोटर एरिया’मा प्रभाव पार्ने हुँदा शिशुको चालमा असर गर्छ।’ 

डा. थापाका अनुसार मस्तिष्क पक्षघात हुँदा हातखुट्टाको मोटर एरियासहित मस्तिष्कका अन्य भागमा पनि असर पर्ने हुँदा शारीरिक अपांगतासहित थप समस्या आउन सक्छ। जस्तो, मस्तिष्क पक्षघात भएका बालबालिकाको ‘भिजुअल कर्टेक्स’मा असर गरेको भए आँखा नदेख्ने, कान नसुन्ने, सिक्ने र बौद्धिक क्षमता रहने स्थानमा असर भए बौद्धिक अपांगता हुने जस्ता समस्या आउँछन्। उनले सेरेब्रल पाल्सीग्रस्त ६० प्रतिशत बालबालिकामा मानसिक अपांगता देखा पर्ने जनाए।

डा. थापाका अनुसार बाल मस्तिष्क पक्षघात ‘स्पास्टिक’, ‘डिस्काइनेटिक’ र ‘एटाक्सिड’ गरी तीन प्रकारको हुन्छ। तर, मस्तिष्कमा परेको असरका आधारमा भने यसलाई ‘ग्रस मोटर’ १ देखि ५ लेभल (तह) सम्म वर्गीकरण गरिएको छ। यी सबै रोगका विभिन्न अवस्था हुन्, जसले बालबालिका कतिसम्म रोगग्रस्त छन् भन्ने जनाउँछ। जस्तै, लेभल–५ भन्नाले पूर्ण रुपमा ओछ्यानमा थलिने अवस्था हो भने लेभल–१ भनेको आफैँ लामो दूरीसम्म हिँड्न सक्ने अवस्था हो। यसैगरी, लेभल–३ लाई कसैको सहायतामा हिँडडुल गर्न सक्ने अवस्थाका रुपमा बुझिन्छ। लेभलका आधारमा आवश्यक उपचार विधि अपनाइने डा. थापाको भनाइ छ। 

सेन्टरले बालबालिकालाई ग्रस मोटर लेभलका आधारमा ‘फिजियोथेरापी’, ‘स्पिचथेरापी’, ‘अकुपेसनलथेरापी’, कार्यगतथेरापी लगायत विभिन्न थेरापीबाट उपचार गर्ने गरेको सेन्टरका प्रमुख कार्यकारी अधिकृत विमललाल श्रेष्ठले जानकारी दिए। ‘यस्ता बालबालिकाको समस्या हातखुट्टाको होइन मस्तिष्कको हो,’ श्रेष्ठले भने, ‘हामीले उनीहरूको अवस्था र असरका आधारमा आवश्यकता अनुसार मस्तिष्कलाई तालिम दिएर सुधार गर्ने हो।’ 

श्रेष्ठका अनुसार यस्तो समस्या भएकामध्ये केहीको मस्तिष्क निकै तीक्ष्ण हुन्छ। साहित्यकार झमक घिमिरेको उदाहरण दिँदै उनले भने, ‘हातखुट्टा नचले पनि यस्तो अवस्थाका बालबालिकामध्ये केहीको मस्तिष्क सामान्य मानिसको भन्दा तीक्ष्ण हुन्छ। समयमै झमक घिमिरेको उपचार गरेको भए उनको अवस्था धेरै राम्रो हुन सक्थ्यो।’

सेन्टरका स्रोतव्यक्ति सुशीलमानसिंह प्रधानका अनुसार समयमा सम्पर्कमा आएका बालबालिकाको अवस्थामा सुधार भएर विद्यालय जाने पनि निकै छन्। सिलाइबुनाइ तथा अन्य सिर्जनशील काम गरेर धेरै जना आत्मनिर्भर भएका छन्। उनले भने, ‘समयै उपचार पाएका धेरै बच्चाको जीवनमा अनपेक्षित सुधार भई सामान्य व्यक्तिसरह जीवनयापन गरिरहेका छन्।’

सन् १९८६ मा स्थापना भएको सेन्टरले देशका २२ जिल्लामा घरमै आवश्यक उपचार तथा तालिम सेवासमेत उपलब्ध गराउँछ। यसका लागि सेन्टरले जिल्लामा तालिमप्राप्त जनशक्ति परिचालन गरेको छ। जिल्लाबाट बालबालिकाको अवस्थाका आधारमा आवश्यक परे सेन्टरमा रेफर गरिन्छ। ‘यहाँका सबै कार्यक्रमबाट वार्षिक २५ सय बालबालिकालाई सेवा दिएका छौँ,’ प्रमुख कार्यकारी श्रेष्ठले भने, ‘यो गैरनाफामूलक संस्था भएको र सहयोगी हात न्यून भएकाले देशका सबै ठाउँमा सेवा विस्तार गर्न सकिरहेका छैनौँ।’

उनले सरकार, सामाजिक संघ–संस्था लगायतले सहयोग गरे मस्तिष्क पक्षघातग्रस्त बालबालिकाको आडभरोसा बनेको सेन्टरलाई देशैभर विस्तार गर्न सकिन्छ। नेपालमा मस्तिष्क पक्षघातग्रस्त बालबालिकाको संख्या ८० हजारको हाराहारीमा रहेको अनुमान छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live