विचार/ब्लग

मनमोहन मिर्गौला प्रकरणः शल्यक्रिया गर्ने डाक्टरको वयान

img

डिबी खड्का

सितापाइलास्थित प्रस्तावित मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नुवाकोट विदुरका ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौलाको पत्थरीको शल्यक्रिया भयो। शल्यक्रियाका क्रममा उनको मिर्गौला झिकियो। रिमाल र रिमालका आफन्तले अस्पतालले बेच्ने नियतले मिर्गौला झिकेको आरोप लगाइरहेका छन् भने अस्पताल प्रशासनले शल्यक्रियाका क्रममा समस्या आएपछि बिरामीको ज्यान जोगाउन मिर्गौला झिक्नुपरेको बताइरहेको छ। उक्त शल्यक्रियाको नेतृत्व गरेका वरिष्ठ युरोलोजिस्ट प्राडा गुणकुमार श्रेष्ठले स्वास्थ्यखबरका डिबी खड्कासँग घटनाबारे आफ्नो भनाइ राखेका छन्ः

मैले युरो सर्जरी गर्न थालेको २५ वर्ष भयो। शिक्षण अस्पताल महाराजगञ्जमा रहेर हजारौँ बिरामीको यस्तोखालको सर्जरी गरेको छु। पछिल्लो समय म प्रस्तावित मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत छु। नेपालमा पहिलोपल्ट मिर्गाैला प्रत्यारोपण हुँदा सर्जिकल टिममा म पनि सहभागी थिएँ। साढे दुई दशकदेखि चिकित्सकीय पेशामा रहेको मलाई केही दिनदेखि सञ्चार माध्यममा आइरहेको समाचारले स्तब्ध बनाएको छ।

बिरामी रिमालको मिर्गौलाको पत्थरी निकाल्न गरिएको शल्यक्रियाका क्रममा एउटा मिर्गौला निकाल्नुपर्ने परिस्थिति सिर्जना भएको सत्य हो। तर, डाक्टरले मिर्गौला बेच्न वा अन्य कारणले निकालेको भन्ने आरोप कसरी लाग्यो हामी अचम्मित भएका छौँ। यो सरासर झुट हो। यो मैले कल्पना पनि गर्न नसक्ने आरोप आइलागेको छ।

एक महिनाअघि बिरामी रिमाल उपचारका लागि अस्पताल भर्ना भएका हुन्। उनको उपचारका क्रममा दुवै मिर्गौलामा पत्थरी देखियो। उनको बायाँतर्फको मिर्गौलामा दुई सेन्टिमिटर लम्बाइको पत्थरी  थियो। जसका लागि जाँच गर्दा उनको बायाँ मिर्गौला जन्मजात रुपमै सामान्य अवस्थामा तल (मुत्रथैलीको नजिकै) देखिएको थियो। सामान्य भन्दा फरक स्थानमा मिर्गौला रहेका कारण शल्यक्रिया जटिल हुन सक्ने जानकारी हामीले बिरामीका आफन्तलाई दिएका थियौँ। बिरामी पक्षले पनि पर्न जाने भवितव्यका लागि अस्पताल र डाक्टर दोषी नहुने भनेर हस्ताक्षर गरेका हुन्।

शल्यक्रियाका लागि पेट खोलेर हेर्दा मिर्गौला टाँसिएको भेटिएको थियो। अगाडिबाट आन्द्रासँग टाँसिएको मिर्गौलाको पत्थरी सफलतापूर्वक झिकेपछि रक्तस्राव हुन थाल्यो। बाहिरबाट कुनै त्यस्तो घाउ नलागेका कारण मिर्गौला भित्रैबाट रक्तश्राव भएकोमा हामी प्रस्ट भयौँ र रक्तस्राव रोक्ने प्रयास गर्‍यौँ। पत्थरी मिर्गौलाको रक्तनलीसँग टाँसिएको हुँदा झिक्ने बित्तिकै रक्तस्राव भएको हुन सक्ने अनुमान गरियो। सक्दो रोक्ने प्रयास गरियो, तर मिर्गौलामा संक्रमण भएका कारण प्रयास असफल भयो। 

हामीले उपचारका क्रममा जटिलता आएको कुरा बिरामीका आफन्तलाई तुरुन्तै जानकारी गरायौँ। बिरामीको काका नाता पर्ने मान्छेसँग यसबारे कुरा भएको थियो। रक्तस्राव नरोकिने भएपछि मिर्गाैला निकालेर बिरामीको ज्यान जोगाउनुको विकल्प थिएन। सामान्यतया २० देखि २५ प्रतिशत रगत मिर्गौलाबाटै प्रवाह हुने भएकाले तुरुन्तै मिर्गौला निकाल्ने निर्णय गर्नुपर्ने भयो। यसरी बिरामीको ज्यान जोगाइयो। सोही निर्णयले गर्दा बिरामीको अर्को मिर्गौलाको पत्थरीसमेत झिकेर तन्दुरुस्त बनाएर घर पठाइएको हो।

खासगरी, उपचारमा आउने यस्ता जटिलताबारे सचेत नेपालीको संख्या न्यून छ। एउटा मिर्गौलाले पनि मान्छेलाई जोगाउँछ। तर, एउटा मिर्गौला निकाल्नु परेपछि उनी मानसिक रुपमा कमजोर होलान् भन्ने लागेर अस्पतालले काउन्सिलिङ गर्‍यो। वैदेशिक रोजगारी उनको आयको बाटो भएको कुरा आएपछि अस्पतालले मानवीय दृष्टिकोणले हेर्ने निर्णय लियो। यसकारण उपचार निःशुल्क गर्ने, उनलाई अस्पतालमै रोजगारी दिने र पछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आए त्यसको व्यवस्था पनि अस्पतालले गर्ने निर्णय लिएको हो।

यो सम्झौतामा राजी भएर उनी र उनको परिवार हाँसीखुसी एक महिनाअघि घर फर्किएको थियो। तर, पछि उनी आफूलाई एकमुष्ट ५० लाख रुपैयाँ दिनुपर्ने माग दाबी गर्न आइपुगेछन्। उपचारका क्रममा आएको जटिलतालाई लिएर भन्दा पनि मानवीय दृष्टिकोणले अस्पतालले उक्त सहुलियत दिएको थियो। यसकारण उनको यो माग पूरा गरिएन। त्यसपछि उनले अस्पताल तोडफोड गर्नेदेखि पत्रकार सम्मेलन गर्नेसम्मको धम्की दिए। सोही अनुरुप उनले एक महिना पुरानो यो घटना बाहिर ल्याएका हुन्। 

चिकित्सकले शल्यक्रिया मार्फत् बिरामीलाई समस्याबाट छुट्कार दिलाउने प्रयास गर्ने हो। कहिलेकाहीँ यस्ता प्रयास भनेजस्तो सहज हुँदैन। यसपल्ट पनि भएको त्यही हो। उनको शल्यक्रिया भनेजस्तो सजिलो भइदिएन। 

मिर्गौला बेच्ने नियतले झिकियो भन्ने आरोप लगाएर हिँड्नुभन्दा उहाँहरुले कानुनी प्रक्रिया नै थालेको भए राम्रो हुन्थ्यो। यदि, गल्ती प्रमाणित भयो भने म हदैसम्मको कानुनी कारबाही भोग्न तयार छु। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live