प्रोफाइल

डा. हरिगोविन्द श्रेष्ठको जीवन यात्राः ओभरसियर बन्न हिँडेका उनी यसरी बने डाक्टर

प्याथोलोजीका प्रवर्धक

img

डिबी खड्का

डा. हरिगोविन्द श्रेष्ठलाई नेपालका प्याथोलोजिस्टहरु ‘फादर अफ प्याथोलोजी’ भन्छन् । उनी नेपालको पहिलो प्याथोलोजिस्ट भएकैले मात्र यो उपमा दिइएको होइन । नेपालमा प्याथोलोजी विशेषज्ञतालाई फुलाउने, फैलाउने काम पनि उनैले सुरु गरेका हुन् । उमेरले ७३ वर्षको उकालो हिँडिरहेका डा. श्रेष्ठ अझै आफ्नो कर्ममा सक्रिय छन् । २०२६ सालमा  मेडिकल अफिसरका रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेका उनीे २०३३ सालमा कन्सल्टेन्ट प्याथोलोजिस्ट र २०४१ सालदेखि प्रोफेसरका रुपमा कार्यरत छन् । त्रिवि शिक्षण अस्पतालमा १६ वर्ष बिताएका उनले त्यसपछि नेपाल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, जानकी मेडिकल कलेजको प्रिन्सिपल र प्याथोलोजी विभाग सम्हाल्दै आए । ६ वर्षदेखि भने उनी नेपाल आर्मी इन्सिच्युट अफ हेल्थ साइन्सेजमा कार्यरत छन्।

ओभरसियर बन्न आउँदा डाक्टर

धनुकटास्थित गोकुलेश्वर हाइ स्कुलबाट २०१५ सालमा एसएलसी पास गरेका हुन् डा. श्रेष्ठले । एसएलसी पास गर्ने १५ जनामा उनी राम्रो अंकका साथ पास हुने मध्ये परेका थिए । उनले ५६ प्रतिशत नम्बर ल्याए । राम्रो नम्बर ल्याउनेलाई काठमाडौँमा कोलम्बो प्लान अन्तर्गत ओभरसियर पढाउने सुनेपछि उनीसहित केही साथी काठमाडौँ हान्निए।

उनका अनुसार कोलम्बो प्लान अन्तर्गत ओभरसियर पढ्दा पढाइ खर्च ब्यहोरेर केही रकम बच्थ्यो । उक्त रकमले घर खर्च पनि टर्ने र पढाइ सक्नासाथ जागिर पाइने हिसाब लगाउँदै उनी र साथीहरुले ओभरसियरको अध्ययन रोजे । विद्यार्थी छान्ने मान्छेले उनको नम्बर देखेपछि ओभरसियर नपढ्न सुझाव दिँदै भने, ‘तिमी राम्रो पढ्न सक्ने रहेछौ । ओभरसियर डिप्लोमा लेबल हो । एग्रिकल्चरमा बिएस्सी गरेर डिग्री नै लेऊ ।’ त्यसबेला एसएलसी पास गरेपछि एग्रिकल्चरमा बिएस्सी गर्न पाइन्थ्यो । उनलाई कुरो मनासिव लाग्यो र ओभरसियर पढ्न छाडेर बिएस्सी एजी पढ्न कुरे।

तर, पछि बिएस्सीका लागि प्रक्रिया अघि बढाउँदा थाहा भयो, उक्त विषय पढ्न उनको उमेर एक वर्षले नपुग्ने रहेछ । ‘म दुवैतिर चिप्लिएँ । त्यसपछि काठमाडौँमै बसेर आइएस्सी पढ्न थालेँ,’ उनले सम्झिए, ‘आइएस्सी पढ्दै गर्दा कांग्रेस नेतृत्वको सरकार बन्यो । यो २०१६ सालको कुरा हो । मेरै जिल्लाका प्रेमराज आङ्देम्बे मन्त्री बने । उनका निजी सचिव भए मेरा दाजु नारायणबहादुर पहाडी भए । त्यसपछि उहाँहरुले मलाई अब डाक्टर बन्नुपर्छ भनेर हौस्याउनुभयो।’

आफू सरकारमा रहेकाले डाक्टर पढ्ने व्यवस्था मिलाउने भन्दै उनलाई पढ्न जोस्याइयो, उनको पढाइ पनि राम्रो भयो । तर, उनको आइएस्सी सकिँदा कांग्रेसको सरकार ढलिसकेको थियो । सोर्सफोर्स नचल्ने पक्का भयो । तर, उनले हिम्मत हारेनन् । तत्कालीन सोभियन संघले उपलब्ध गराउने एमबिबिएसको छात्रवृत्ति कोटाका लागि भएको खुला प्रतिस्पर्धामा उनले पहिलो नम्बरमै नाम निकाले । दाजू र मन्त्री आङ्देम्बेले पढ्न हौस्याएको त्यहाँ काम आयो। उनी २०२६ सालमा चिकित्सा शिक्षा हासिल गरेर सोभियत संघबाट नेपाल फर्किए।

ओलाङ्चुङगोलाको सकस

सोभियत संघबाट फर्केपछि उनी स्वास्थ्य सेवा अन्तर्गत रहेर काम गर्न थाले । सुरुको एक वर्ष वीर अस्पतालबाट सेवा दिए । त्यसपछि उनलाई सरुवा गरियो नवलपरासी । २०२८–०२९ सालतिरको कुरा हो । उनी परासीस्थित १५ बेडको जिल्ला अस्पताल प्रमुख भएर पुगेका थिए । दुई हेल्थ असिस्टेन्ट र एक जना नर्सको समेत दरबन्दी थियो । उनी पुगेर सेवा दिन थालेपछि अस्पतालमा बिरामीको भीड बढ्न थाल्यो ।

‘एक दिनमा ५०–५५ जना बिरामी ओपिडीमा हेर्थें,’ उनले भने, ‘जिल्लामा मेरो नाउँ चल्न थालेको थियो, कपिलवस्तु जिल्ला अस्पताल सरुवा भइहालेँ ।’ त्यहाँ पनि उनले केही समय मात्रै सेवा दिन पाए । फेरि सरुवा भयो, ताप्लेजुङको ओलाङ्चुङगोला । तत्कालीन श्री ५ को सरकारको उत्तर प्रशासन क्षेत्र भनेर हुम्ला र ओलाङ्चुङगोलामा कार्यालय थियो र स्वास्थ्य संस्था पनि । उनलाई सम्झना छ, ‘धरानबाट ८ दिन पैदल हिँडेपछि पुगिन्थ्यो त्यहाँ । पुग्न त पुगेँ तर जँचाउन आउने बिरामी नै छैनन् । जनसंख्या नै कम । धेरै बिरामी हेरिरहेको मान्छे त्यहाँ कामविहीन हुनुपर्दा उकुसमुकुस भयो।’

उनले बिरामी धेरै हुने अस्पताल सरुवा गराइदिन सरकारसँग बिन्ती चढाए । तर, एक वर्षका लागि भनेर पठाइएका उनको कार्यावधि थपेर दुई वर्ष पु¥याइयो । चिकित्सकीय अभ्यास गर्न नपाएर जानेकै सीप बिर्सिएला भन्ने पीरले उनलाई निकै पिरोल्यो।

गएको डिप्लोमा पढ्न, फर्किंदा एमडी

ओलाङ्चुङगोलामा बिरामीविहीन दुई वर्ष कटाउन मुस्किल हुने भएपछि उनी फेरि एकपल्ट गुनासो पोख्न स्वास्थ्य सेवा विभाग पुगे । उनलाई सरुवा होइन, बरु प्थालोलोजीमा डिप्लोमा (जसलाई डिसिपी भनिन्थ्यो) गर्न जानेबारे प्रस्ताव आयो । खासमा त्यो समय प्याथोलोजी, रेडियोलोजी र एनेस्थेसिया पढ्न डाक्टरले त्यति मन गर्दैन थिए । उनी भन्छन्, ‘त्यसमा पनि डिसिपी अर्थात् प्याथोलोजीमा डिप्लोमा पढ्न त कोही खोज्दै नखोज्ने । किनभने डब्लुएचओको छात्रवृत्ति थियो यो र उसले पढाउन भारत पठाउँथ्यो।’

उनको अनुमानमा आफूलाई पन्छाउन उक्त प्रस्ताव ल्याइएको थियो, तर उनले खुसीखुसी प्रस्ताव स्वीकार गरे । भने, ‘ओलाङ्चुङगोलामा बसेर जानेको सीप बिर्सिनुभन्दा केही नयाँ कुरा सिक्न जानु नै मेरा लागि उत्तम विकल्प थियो ।’ पढाउने पक्का गरेर उताबाट ‘कन्फरमेसन लेटर’ आएपछि सबै बन्दोबस्त मिलाएर उनी भारत पुगे । त्यहाँ कलेज भर्ना हुने बेला आइलाग्यो झन्झट ।

भारतले त्यस बेलासम्म सोभियत संघबाट एमबिबिएस पढेर आएकालाई थप अध्ययनका लागि मान्यता दिएकै रहेनछ । ‘फर्केर जान भनेपछि, ‘सोभियत संघको एमबिबिएस मान्य नहुने’ भन्ने लिखित दिनुप¥यो भनेर अड्डी कसेँ,’ उनले सम्झिए, ‘म पढ्न पुगेको बम्बई युनिभर्सिटी र अरु सरकारी निकायले नदिने औपचारिक निर्णय त गरेका थिएनन् तर व्यावहारिक रुपमा नमान्ने रहेछन्।’ लिखित दिन पनि नसक्ने, भर्ना गर्न पनि आनाकानी गर्ने भएपछि उनी दिल्लीस्थित नेपाली राजदूतावासदेखि भारतको परराष्ट्र मन्त्रालयसम्मलाई गुहारे।

भर्ना नलिए पनि उनलाई दिल्ली स्थिति अल इन्डिया इन्सिच्युट अफ मेडिसिन (एम्स) को होस्टेलमा बस्न र अन्य सुविधा भने दिइएको थियो । उनी नेपाली दूतावास धाइरहे। दूतावासका एक कर्मचारीले उनलाई भारतको परराष्ट्र मन्त्रालयका नेपाली भाषी कर्मचारी अटुक भन्नेलाई भेटाइदिए । अटुकले मन्त्रालयका सह–सचिवलाई बोलाएर पढ्ने बन्दोबस्त गरिदिन अह्राए । उनले एम्सका रजिस्ट्रारलाई चिठी त लेखेछन् तर टेरेनछन् । फेरि उनी गुनासो लिएर अटुककहाँ नै पुगे । अटुकले एम्सका रजिस्ट्रारलाई फोन गरेर ‘मिल्दैन भनी लेखी पठाउने वा पढाउने’ निर्णय गर्नु भनिदिए । त्यसपछि मात्र एम्सका रजिस्ट्रार हच्किए।

उनले थाहा नदिईकनै अन्तर्वार्ता लिने बन्दोबस्त गरेर भोलिपल्टै ४ बजे भेट्न आउनु भने । डा. श्रेष्ठ भेट्न जाँदा एम्सका केही प्रोफेसरहरु थिए । उनीहरुले चरणबद्ध रुपमा प्रश्न गरे । उनले जानेको उत्तर दिए । ‘त्यो त प्याथोलोजीमा एमडी गर्नका लागि लिइएको रहेछ,’ उनले भने, ‘पछि म फर्किने तयारी गरेर लिखित माग्न जाँदा एकजनाले सोधे– एमडी गर्न मन छैन ? त्यसपछि त खुसीको सिमै रहेन।’

उनले राम्रो अंकसहित एमडी पास गरे । एमडीको सर्टिफिकेट दिँदै गर्दा प्याथोलोजीका हेड अफ डिपार्टमेन्ट स्वामी रामलिङ्गमले भने, ‘तिमीले दुईटा परीक्षा पास ग¥यौ आज । एउटा एमडीको र अर्काे सोभियत संघबाट एमबिबिएस पढ्नेले पनि यहाँको एमडी पढ्न सक्ने भन्ने ।’ एम्सले त्यसपछि मात्रै सोभियत संघमा पढेका भारतीय र नेपाली विद्यार्थीलाई पोस्ट ग्राजुएटका लागि भर्ना लिन थालेको उनी बताउँछन्। भन्छन्, ‘मेरै उदाहरण दिँदै धेरै साथीहरुले एमडीमा एप्लाई गरेको मलाई भनेका छन्।’

गुरु भेट्न आएको दिन

जीवनका महत्वपूर्ण घडी धेरै हुन्छन् । तर, कतिपय क्षण यस्ता हुन्छन्, जो रोकेर राख्न मन लाग्छ । त्यस्तै दिन आयो डा. श्रेष्ठको जीवनमा । त्यो दिन २०५५ साल वैशाख १९ गते थियो । जुन दिन उनी चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन भएका थिए।

उनी डिन भएपछि उनलाई विशेषज्ञ डाक्टर बनाउने एम्सका स्वामी रामलिङ्गमले सम्पर्क गरेर खुसी प्रकट गरेका थिए ।  त्यसको केही दिनमै डब्लुएचओको माथिल्लै पोस्टमा रहेका उनी डा. श्रेष्ठलाई भेट्नकै लागि जेनेभाबाट नेपाल आए । आफ्नो गुरु भेट्न आउँदाको क्षण सम्झिँदै गर्दा डा. श्रेष्ठको अनुहारमा अहिले पनि चमक देखियो । उनले भने, ‘गुरु त आइओएममै भेट्न आउनु भयो । उहाँको सम्मानमा म डिनको कुर्सी छाडेर सँगै बस्न गएको थिएँ । उहाँले मेरो चेला डिनको कुर्सीमै बसेको हेर्न यति टाढाबाट आएको हुँ भन्दै कुर्सीमा बसाल्नुभयो । गुरुको त्यो माया र सम्मान म कहिल्यै भुल्दिनँ।’

डा. श्रेष्ठले आफूलाई एमडीको प्रमाणपत्र दिँदै गर्दा स्वामी रामलिङ्गमले भनेको वाक्य सम्झिएर सुनाए, ‘तिमीलाई एमडीको प्रमाण पत्र दिनुको अर्थ तिमी ल्याबका विशेषज्ञ भइसक्यौ भनिएको होइन, ल्याबमा काम गर्न पाउँछौ भनिएको हो ।’ यसैले प्याथोलोजीमा विशेषज्ञता हासिल गर्ने पहिलो नेपाली डाक्टर भए पनि त्यसको घमन्ड उनमा कहिल्यै आउन पाएन । उनी सधैँ आफूलाई सक्रिय र अप टु डेट गराउन लागि परिरहे।

विशेषज्ञताको अध्ययन थालनी

नेपालमा प्याथोलोजीको विशेषज्ञता शिक्षा प्रदान गर्न डा. हरिगोविन्द श्रेष्ठले नै अगुवाइ गरेका हुन् । एम्सबाट एमडी गरेर आएपछि उनले ७ वर्ष वीर अस्पतालमा काम गरे । जहाँ ‘हिस्टो प्याथोलोजी’को सुरुवात गरेको जस पनि उनैलाई जान्छ । त्यसपछि आइओएममा एमबिबिएस पढाउन सुरु गरियो । बेसिक साइन्समै प्याथोलोजी भएकाले प्याथोलोजीको प्रोफेसर जरुरी थियो । उनी प्याथोलोजीको विभागीय प्रमुख र असिस्टेन्ट प्रोफेसरका रुपमा त्यता सरे, २०४१ सालमा।

त्यस्तै, २०५१–०५२ सालतिर आएर आइओएमले डिसिपी भनेर १० महिने प्याथोलोजी विषय पढाउने योजना अघि सार्‍यो । जुन सरकारको योजना थियो । डाक्टरले पढ्नुपर्ने तर स्नातक तहमा मात्रै गनिने कोर्सले एक खालको विभेद सिर्जना गर्ने देखे उनले । किनभने अन्य विषयमा विशेषज्ञता थियो र विशेषज्ञहरु प्रथम श्रेणीका अधिकृत हुने भए । तर, प्याथोलोजीमा विशेषज्ञ तहको पढाइ नेपालमा नभएकाले १० महिने कोर्स गरेका डाक्टरहरुले भने दोस्रो श्रेणीको अधिकृतमै चित्त बुझाउनुपर्ने भयो । ‘ल्याबमा काम गर्ने डाक्टरहरु दोस्रो श्रेणीका अधिकृत हुने भएपछि यो क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो हुँदैन । उसै पनि त्यस बेला ल्याबमा काम गर्नेलाई उति धेरै महत्व दिइँदैन थियो,’ उनले भने, ‘त्यसपछि मैले त्यो १० महिने कोर्स रोकेर प्याथोलोजीमा एमडी सुरु गर्ने अठोट लिएँ।’

उनको योजना कतिपयलाई चित्त बुझेन । कतिपयले महत्वाकांक्षी योजनाको संज्ञा दिए । उनी आफ्नो अडानमा पछि नहटेपछि केही परे सबै जिम्मा लिनुपर्ने शर्तसहित सुरु गर्न दिइयो, प्याथोलोजीमा एमडी । उनलाई सघाउन भर्खरै एमडी पूरा गरेर आइपुगेकी थिइन् डा. सुशीला दली । यसरी डा. श्रेष्ठले २०५३ सालमा दुई जना विद्यार्थी लिएर आईओएममा प्याथोलोजीको विशेषज्ञता शिक्षा प्रारम्भ गरेका थिए।

प्याथोलोजिस्टलाई हेप्ने जमाना

डा. श्रेष्ठले प्याथोलोजी पढेर आउँदाका सुरुवाती दिन कष्टकर थिए । उनका अनुसार प्याथोलोजिस्टलाई हेर्ने दृष्टिकोण नै राम्रो थिएन । ‘प्याथोलोजिस्ट भनेको रगत, दिसा र पिसाब जाँच्ने त हो नि, भनिन्थ्यो,’ उनले त्यसबेलाको हेलाहोँचो सम्झिए, ‘सामान्य मानिस र अरु पेशामा रहेका पेशाकर्मीको त कुरै छाडौँ, डाक्टरहरुमै यही सोचाइ थियो।’

प्याथोलोजी पढेपछि उनले त बुझेका थिए, उपचारको जग भनेकै प्याथोलोजी हो । ‘रोगको कारण प्याथोलोजीले पत्ता लगाए मात्र त्यसको उपचार कसरी गर्ने भन्ने निक्र्याैलमा पुग्न सकिन्छ’ भन्ने बुझाउन पनि उनले उत्तिकै संघर्ष गर्नुप¥यो। ‘बिरामीले भनेका लक्षणका आधारमा औषधि दिनु भनेको एक प्रकारले अनुमान गर्नु हो, तर ल्याबबाटै यही भएको भनेर निक्र्र्याैल भएपछि औषधि दिनु वैज्ञानिक उपाय हो । त्यसैले प्याथोलोजिस्ट पनि डाक्टर नै हुन्,’ आफूले ऊ बेला भन्ने गरेको कुरा दोहोर्‍याए उनले।

प्याथोलोजिस्टहरुको संस्था ‘एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट नेपाल’ (एसिपिएन) का संस्थापक महासचिव डा. श्रेष्ठ उक्त संस्थामा दुई कार्यकाल अध्यक्ष भए । यसैगरी, उनी ‘एसिया प्यासिफिक एसोसिएसन अफ सोसाइटी अफ प्याथोलोजी’को अध्यक्षसमेत भए । उनले इन्टरनेसनल एकडेमी अफ प्याथोलोजीको नेपाल डिभिजनको अध्यक्ष भएर पनि काम गरे।

बसेनन् कामविहीन

विगत ६ वर्षदेखि उनी नेपाल आर्मी इन्सिच्युट अफ मेडिसिनमा प्याथोलोजी र परीक्षा विभागको प्रमुखको जिम्मेवारीमा छन् । उमेरले ७३ र करियरको ४७ वर्षमा उनी कामविहीन बसेको सम्झँदैनन् । हरेक दिनलाई महत्वपूर्ण बनाउनुपर्छ भन्ने मान्यता राख्ने डा. श्रेष्ठ आइओएमको डिनको कुर्सीमा पनि न एक दिन बढी बसे, न एक दिन कम । उनी अनुमान गर्छन्, ‘आइओएमको डिनका रुपमा पूरा ४ वर्ष कार्यअवधि पूरा गर्ने सायद मै मात्र होला।’

२०६१ सालमा आइओएमबाट सेवानिवृत्त भएपछि २०६५ साल फागुनसम्म उनले नेपाल मेडिकल कलेजको प्याथोलोजी विभाग सम्हाले । त्यसपछि एक वर्ष काठमाडौँ मेडिकल कलेज र एक वर्ष जानकी मेडिकल कलेजमा विभागीय प्रमुखसहितको जिम्मेवारी उनको काँधमा आयो । त्यसयता हालसम्म उनी नेपाल आर्मी इन्सिच्युट अफ हेल्थ साइन्समा खटिरहेका छन्।

नेपालको प्याथोलोजी सेवामा आफूले सक्दो गरेको उनको दाबी छ । डा. श्रेष्ठको अध्ययन, जागिर र सक्रिय जीवनको आरोह–अवरोह बुझ्ने हो भने उनी साँच्चै त्यो दाबीको हकदार पनि छन् । डा. श्रेष्ठको भनाइ छ, ‘काम गर्न पुग्यो भन्ने दिन चटक्कै काम छोडिदिन्छु ।’ उनमा एउटा गज्जबको स्वभाव छ, काम गरुन्जेल सक्रिय भएर लाग्ने । त्यसकारण उनी आज पनि उत्तिकै सक्रिय प्रोफेसर र विभागीय प्रमुखका रुपमा नेपाल आर्मी इन्सिच्युट अफ हेल्थ साइन्समा कार्यरत छन् ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने