टिप्स/जानकारी

मन शान्त राख्ने उपाय (ध्यान विधि सहित)

स्वामी आनन्द अर्हत

शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक– यी सबैको समस्वर स्थितिलाई स्वास्थ्य भनिएको हो । आधुनिक स्वास्थ्य विज्ञानका अनुसार शरीरको रक्तचाप, तापक्रम, रगतमा भएको ग्लुकोजको मात्रा आदिको सन्तुलनलाई निरन्तर कायम राख्नु स्वास्थ्य हो । जब यो स्थितिको सन्तुलन बिग्रिन्छ, प्रथमतः हाम्रो शरीरमा यसको असर देखिन्छ र विस्तारै यो असन्तुलनले मन अनि भावनामा पनि प्रतिकूल असर गर्न थाल्छ । यसबाट तनावको अवस्था सिर्जना हुन थाल्छ।

मानव सामाजिक प्राणी भएकाले यो तनावले हाम्रो मनोवैज्ञानिक स्थितिलाई पनि भित्रभित्रै हल्लाउन थाल्छ, मक्काउन थाल्छ । यसले हाम्रो सोच्ने तरिकामा पनि प्रतिकूल असर गर्ने हुनाले वरिपरिको वातावरण र अन्य मानिससँगको हाम्रो सम्बन्ध वस्तुगत र तार्किक नभई एक अज्ञात डर र भयद्वारा निर्देशित हुन थाल्छ।

प्रकृतिमा अनेक किसिमका घटना हुन सक्छन् । त्यसका बारेमा हामीलाई पूर्वज्ञान हुँदैन । जस्तो: बाटोमा हिँड्दा हिँड्दै एक्कासी सर्प अगाडि देखियो भने पछाडि हुत्तिइन्छ । कुनै हिंस्रक जनवारले आक्रमण गर्न खोज्दा ज्यान जोगाउन जोडले भागिन्छ । त्यस बेला सामान्य स्थितिमा नाघ्न नसकिने खाल्डो नाघ्न सकिन्छ । प्रकृतिले यस्तो घटनाबाट जोगिन हामीभित्र भिड्ने वा भाग्ने आन्तरिक क्षमता दिएको छ । ज्यानै खतरामा परेको यस्तो संकटकालमा मुटुको धड्कन आफैं बढ्छ, मुटुले बढी रगत पम्प गर्छ । पेटका धमनीहरु खुम्चिन्छन्, आँखाको नानी ठूलो हुन्छ, श्वास बढ्छ । मांसपेशी शक्तिशाली हुन्छन् । कलेजोबाट रगतमा ग्लुकोज छोडिन्छ । मस्तिष्क र शरिरको क्रियाकलाप बढ्छ।

वास्तवमा यो आत्तिएको अवस्थामा शक्ति उत्पादन गर्ने र खर्चिने (श्वासप्रश्वासको दर बढाउने) हाम्रो मस्तिष्कको भाग सक्रिय भएर आउँछ । खतरामुक्त स्थितिको बोध भएपछि यो शारीरिक ज्वार र कम्पन विस्तारै कम हुन्छ ।  हामी फेरि पुरानै अवस्थामा फर्किन थाल्छौं । यो स्वाभाविक प्रक्रिया हो।

कहिलेकाहीँ घटनाहरु मनोगत हुन थाल्छन् । अर्थात् वास्तविक खतरा नभए पनि मनले त्यो खतराको कल्पना गर्न थाल्छ । अक्सर कुनै आघातको असर मनमा गहिरिएमा यस्तो हुन थाल्छ । कल्पना र अज्ञात भयको पनि आफ्नै खालको शक्तिशाली जैविक, शारीरिक, मनोवैज्ञानिक र संवेगात्मक प्रतिक्रिया हुनसक्छ । प्रत्येक पटक मनमा त्यो कल्पना आउनासाथ ज्यानलाई खतरा हुने वास्तविक घटनाले जस्तै मुटुको गति बढ्नेदेखि लिएर अनेकौँ शारीरिक प्रतिक्रिया र संवेग उत्पन्न हुन्छन्।

यस्तो स्थिति लामो समयसम्म जारी रहेमा यसले अनेकौँ शारीरिक र मानसिक खतरा निम्त्याउँछ । तनावबाट सबैभन्दा पहिले रक्तचाप बढ्न थाल्छ, जुन स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । निरन्तर तनावले हृदयघात, मधुमेह, अनेकौँ खालका एलर्जी, पाचन प्रणालीको सन्तुलन बिग्रिने, अकारण डर लाग्ने, निद्रा नलाग्ने जस्ता दैनिक जीवनलाई सीधै असर पार्ने रोग देखिन थाल्छन्।

यस्ता कल्पनाजन्य खतरा र भयबाट उत्पन्न तनावलाई समयमै नियन्त्रणमा ल्याउने कोसिस गर्नुपर्छ । वास्तविक खतराभन्दा पनि भविष्यको खतराको भय भयावह हो । वास्तविक खतरा छोटो समयका लागि हुन्छन् । मनोवैज्ञानिक डर सिर्जना हुन नदिने केही सामान्य उपाय अवलम्बन गर्न सकिन्छ । ज्यानलाई खतरा भएका बेला सुरक्षित स्थानमा सर्नु र बस्नु जति जरुरी छ, मनलाई शान्त राख्नु, धैर्य नगुमाउनु र सहयोगी भावना राख्नु पनि उत्तिकै जरुरी छ । एक्लै कुरा खेलाउने र धूमिल भविष्यको कल्पनामा गर्नाले रोग देखा पर्छ । शरीरको रोगसँग लड्ने क्षमता ह्रास हुँदै जान्छ।

मनलाई शान्त राख्न गरिने अभ्यासले संकट आएका बेला छालका रुपमा आउने संवेगहरुलाई समुद्ररुपी चेतनामा समायोजित गर्न आघात निरोधकको काम गर्छ । अन्यथा सचेतन रुपले जवाफ दिन पर्ने स्थितिमा हामी अचेतन प्रतिक्रिया गर्न सक्छौं । जुन घातक हुन सक्छन् । शान्त मनमा दौडिने सकारात्मक भावहरुले संकट व्यवस्थापन गर्न मद्दत गर्छ।

विज्ञानले जतिसुकै प्रगति गरे पनि अनेकौं प्राकृतिक विपत्ति हाम्रो नियन्त्रणमा छैनन् । यस्ता क्षति हामीले खेप्नैपर्छ । यस्ता विषम परिस्थिति हामी आत्तिनु पनि स्वाभाविक हो । तर, यस्तो परिस्थिति नभएका बेला पनि आत्तिरहनु र अरुलाई पनि अत्याइरहनु अस्वाभाविक हो । यस्तो समयमा मनलाई शान्त राखेर सम्भावनालाई पहिल्याउनु जरुरी हुन्छ ।
मनमा उठेका खराब संवेगहरुलाई शारीरिक व्यायाम, योग, सहयोगी र सुरक्षाको भाव, ध्यानले कम गर्न सकिन्छ। त्यस्तै नकारात्मक प्रकृतिका कुराकानीबाट जोगिने, आफूलाई स्थिर राखी उत्साही बन्ने प्रयासको अभ्यास पनि धेरै महत्वपूर्ण हुन्छ । प्रकृतिको नियतिलाई नकार्न सकिँदैन ।  तर, यसैमा अल्झिएर ऊर्जा  खेर फाल्नु हुँदैन । योग गरौं । ध्यान गरौं । जुन सहज जीवनका लागि लाभदायी हुन सक्छ।

ध्यान विधि

ढाडलाई सीधा राखी सजिलो स्थितिमा बसौं । काँधलाई तनावरहित छाडौं । बूढी औंला र चोर औंलालाई एक अर्काले छोएर बनेको ध्यान मुद्रामा हातलाई तिघ्रामाथि राखौंं । लामो श्वास विस्तारै लिऔं, सहज रुपले श्वासले फोक्सो भरिँदै जाओस्, श्वास तान्न बाँकि नरहेपछि विस्तारै श्वास छोडौं । यो दुई मिनेटसम्म लगातार गरौँ।

त्यसपछि सेकेन्डको गन्तीमा १, २, ३, ४, ५ सम्म गन्दै श्वास तान्दै फोक्सोलाई वायुले भरौँ । ५ सम्मको गन्तीमा आइपुगेपछि श्वासलाई भित्रै राखौं अनि मनमनै १, २, ३, ४, ५ गन्दै भित्रै श्वास रोकौं । फेरि १, २, ३, ४, ५ गन्दै श्वासलाई बाहिर फालौँ । फेरि मनमनै १, २, ३, ४, ५ गन्दै श्वास बाहिर फालेकै स्थितिमा रहौँ । फेरि १, २, ३, ४, ५ सम्म गन्दै श्वास तान्दै फोक्सोलाई वायुले भरौँ । फेरि माथि उल्लिखित रुपले यही तरिकाले करिब १५ चोटी यसको अभ्यास गरौं।

त्यो अभ्यासपछि आइरहेको गइरहेको श्वासलाई महसुस गरी शान्त बसौँ । विचारको आउनेजाने क्रमलाई हस्तक्षेप नगरी निरपेक्ष स्थितिमा ध्यानमा बसौं । यस्तो तीन मिनेटसम्म गर्न सकिन्छ।

गुञ्जन ध्यान– ढाडलाई सिधा राखी सजिलो स्थितिमा बसौं । काँधलाई तनावरहित छाडौं । बूढी औँला र चोर औँलालाई एक अर्काले छोएर बनेको ध्यान मुद्रामा हातलाई तिघ्रामाथि राखौँ । लामो श्वास विस्तारै लिऔं, सहज रुपले श्वासले फोक्सो भरिँदै जाओस्, श्वास तान्न बाँकी नरहेपछि विस्तारै श्वास छाडौं । यो दुई मिनेटसम्म गर्न सकिन्छ ।
जिब्रोको पूरै माथिको सतहलाई तालुमा हल्का रुपले जोडौँ । विस्तारै ओठहरु बन्द गरी ह… म…को आवाजलाई ४–५ मिटरको दूरीसम्म सुनिने गरी भित्रभित्रै गुञ्जन गरौंं । यस्तो पाँच मिनेट गर्न सकिन्छ।

यसबाट उठ्ने कम्पनहरु दुई दिशामा प्रवाहित हुन थाल्छन् । ह…म…को तरंग जिब्रोद्वारा मस्तिष्कतिरको दिशामा बहन थाल्छ भने कण्ठबाट तल हृदयतिर पनि बहन थाल्छ । यो अभ्यासको दौरान माथि मस्तिष्कतिर प्रवाहित गुञ्जनका कम्पनहरुले मनलाई शान्त बनाउँछन् भने तल हृदयतिर फैलिने कम्पनले भावनाहरुलाई सन्तुलित बनाउन मद्दत गर्छन् । यो ध्यानको विधि जहाँसुकै जुनसुकै बेला पनि आफ्नो सुविधा अनुसार प्रयोग गर्न सकिन्छ । सुत्नुअघि यो अभ्यास गर्नाले अनिद्राको समस्याबाट छुट्कारा पाउन सकिन्छ।

- (लेखक ओशो तपोवनका आवसीय ध्यान प्रशिक्षक हुन्)

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने