मुख्य समाचार

विशेषज्ञ डाक्टर लाइसेन्सिङ परीक्षाः १३ मध्ये ३ देशमा पढेका सबै फेल

img

प्रवीण ढकाल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ तहको चिकित्सकीय अभ्यास दर्ता परीक्षा (लाइसेन्सिङ)मा १३ देशमा अध्ययन गरेका नेपाली डाक्टर सहभागी थिए। चिकित्सा शिक्षाको विशेषज्ञ तह (एमडी, एमएस, एमडिएस) अध्ययन सकेर लाइसेन्सिङ परीक्षामा सहभागीमध्ये ७० प्रतिशत फेल भए।

परीक्षामा ३ वटा देशमा अध्ययन गरेर फर्केका विद्यार्थी सबै फेल भएका छन्। यस्तै, ४ देशमा अध्ययन गरेर परीक्षामा सामेल भएका विद्यार्थी भने सबै पास भएका छन्।

काउन्सिलले शनिबार विशेषज्ञ डाक्टरका लागि स्वयम्भुस्थित नेपाली सेनाको मेडिकल कलेजमा लाइसेन्सिङ परीक्षा लिएको थियो। परीक्षाका लागि दुई सय ३७ जनाले आवेदन दिएकोमा दुई जना विद्यार्थी अनुपस्थित थिए। परीक्षा दिएका २ सय ३५ जनामध्ये ७१ जना मात्र पास भए। 

काउन्सिलले उपलब्ध गराएको जानकारी अनुसार परीक्षामा सबैभन्दा बढी चीनमा अध्ययन गरेका विद्यार्थी सहभागी थिए। चीनमा अध्ययन गरेका १ सय ३२ जनाले परीक्षाका लागि आवेदन दिएका थिए। तीमध्ये एक जना परीक्षामा उपस्थित भएनन् भने एक सय ११ जना फेल भए। चीन अध्ययन गरेर आएका जम्मा २० जना विद्यार्थी मात्र पास भएका छन्।

परीक्षामा चीन, नेपाल, बंगलादेश, बेलारुस, भारत, दक्षिण कोरिया, काजकस्तान, किर्गिस्तान, पाकिस्तान, फिलिपिन्स, रसियन फेडेरेसन, श्रीलङ्का र थाइल्यान्डमा अध्ययन गरेका विद्यार्थी सहभागी थिए।

३ देशमा पढेका सबै विद्यार्थी फेल

परीक्षामा सहभागीमध्ये बेलारुस, किर्गिस्तान र रसियन फेडेरेसनमा अध्ययन गरेका सबै विद्यार्थी फेल भएका छन्। परीक्षामा बेलारुसमा पढेका २, किर्गिस्तानमा पढेका ६ र रसियन फेडेरेसनमा पढेका १० विद्यार्थी सहभागी थिए। उनीहरु कोही पनि लाइसेन्सिङ परीक्षामा पास हुन सकेनन्। 

४ देशमा पढेका सबै पास

परीक्षामा सहभागीमध्ये चार वटा देशमा अध्ययन गरेर फर्केका विद्यार्थी सबै पास हुन सफल भएका छन्। परीक्षामा दक्षिण कोरिया, काजकस्तान, श्रीलङ्का र थाइल्यान्डमा अध्ययन गरेका एक–एक जना विद्यार्थी सहभागी थिए। उनीहरु सबै पास भए। 

तालिकामा हेरौँ कुन देश पढेका कति पास र फेल

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने