फिचर

स्थलगतः उपेक्षामा परेको एउटा अञ्चल अस्पताल

img

डिबी खड्का

भीमदत्तनगर– महाकाली अञ्चल अस्पताल। ठूलो क्षेत्रफलमा फैलिएका चिटिक्कका अस्पताल भवनहरु। सफा र हरियालीयुक्त परिसर। अस्पतालअघिको सडक हुँदै ओहोरदोहोर गर्नेलाई लाग्नेछ, अस्पताल त यस्तो पो हुनुपर्छ!
अस्पतालभित्र पस्दा पनि माथि उल्लेखित दृश्यले सरकारी अस्पतालको सुन्दर व्यवस्थापनलाई लिएर प्रशंसा गर्न मन लाग्छ। तर, जब अस्पतालको सेवाको कुरा आउँछ, तब अस्पतालका बाहिरी सुन्दर दृश्यको कुनै अर्थ रहँदैन।

एउटा मानिस हड्डी भाँचिएको एक्स–रे गरेर मात्रै थाहा भएजस्तै अस्पतालको एक्स–रे गर्दा देखिन्छ सेवाको यथार्थ रुप। अस्पतालले दिँदै आएको सेवालाई मूल्यांकन गर्ने हो भने अञ्चल अस्पताल होइन, स्वास्थ्यचौकीभन्दा पनि फरक पर्दैन। 

अस्पतालले दिने सेवाको सूची केलाउने हो भने ‘के छैन’ भनेर होइन, ‘के चाहिँ छ’ भनेर खोज्नुपर्ने हुन्छ। कतिपय प्राथमिक स्वास्थ्य केन्द्रले समेत सुरक्षित प्रसूति सेवा (शल्यक्रियाबाट गराइने प्रसूति) दिन थालिसके। तर, यो अञ्चल अस्पतालमा अहिले उक्त सेवा छैन।

कञ्चनपुरको महेन्द्रनगरजस्तो सुगम ठाउँमा रहेको यो अस्पतालमा सरकारले भौतिक पूर्वाधारदेखि उपकरणसम्म पु¥याएको छ। तर, पु¥याउनै पर्ने दक्ष जनशक्ति भने अहिलेसम्म पु¥याउन सकेको छैन। सय बेडको अस्पतालमा २७ जना डाक्टरको दरबन्दी छ। तीमध्ये १७ जना त विशेषज्ञ चिकित्सक नै हुनुपर्ने हो। तर अहिले अस्पतालमा जम्मा तीन जना विशेषज्ञ चिकित्सक छन्, ती पनि कामविहीन। 

अस्पतालका निमित्त निर्देशक डा. श्रीकृष्ण भट्ट आफैँ कन्सल्ट्यान्ट सर्जन हुन्। तर, एनेस्थेसियाका विशेषज्ञको अभावमा उनले शल्यक्रिया सेवा दिन  सकिरहेका छैनन्। अर्का एकजना अर्थाेपेडिक्स छन्, उनको हालत पनि उस्तै। एकजना रेडियोलोजिस्टले भने अस्पतालमा रहेका उपकरणको सदुपयोग गरिरहेका छन्। 

महाकाली अञ्चलका चार जिल्ला दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरका स्वास्थ्य संस्थाको रेफरल अस्पताल हो यो। तर, विडम्बना विशेषज्ञ सेवाका लागि गाउँगाउँका स्वास्थ्य संस्थाबाट आएका बिरामी क्षणभरमै त्यहाँबाट पनि अन्तै रेफर हुनुपर्ने वाध्यता छ।

अस्पताल भीमदत्त नगरजस्तो व्यस्त सहरको माझमा छ, त्यसैले बिरामीको चाप कम हुने कुरै भएन। तर, अस्पतालले उनीहरुलाई ‘सेवा छैन’ भनेर फर्काउनु परिरहेको छ। निमित्ति निर्देशक डा. भट्ट भन्छन्, ‘विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीले रिफर गरेर यहाँ पठाउँछन्। तर, सेवा छैन भनेर फर्काउनु परिरहेको छ।’

डा. भट्ट धवलागिरि अञ्चल अस्पतालबाट सरुवा भएर यहाँ पुगेका हुन्। उनको जन्मस्थल समेत रहेकाले उनी यहाँ सेवाका लागि उत्साहित भएर आइपुगे। उनले कल्पना गरेको अञ्चल अस्पताल नभेटिएपछि उनी छाँगाबाट खसेजस्तै भए। ‘म पहिले पनि लोकसेवा पास गर्ने बित्तिकै यहाँ आइपुगेको थिएँ। त्यसको वर्षौंपछि आउँदा धेरै परिवर्तन भइसकेको होला भन्ने ठानेको थिएँ। तर, केही फेरिएकै रहेनछ।’ 

आफूले अस्पतालको विकासका लागि पहल गरिरहेको बताउँछन् डा. भट्ट। तर, उनको प्रयासबाट मात्रै सुधार हुने अवस्था भने छैन। किनभने अभाव भनेको विशेषज्ञ डाक्टरकै हो। डाक्टर महाकालीमा जानै चाहँदैनन्। 

दुर्गममा डाक्टर जान नचाहेको समाचार आइरहँदा अचम्म लाग्दो कुरा के छ भने, महाकाली अञ्चल अस्पतालमा चाहिँ सुगम भएकै कारण डाक्टर आउन चाहँदैनन्। निमित्त निर्देशक डा. भट्ट भन्छन्, ‘सरकारको नियम अनुसार यसलाई सुगम मानिएको छ। महाकाली काठमाडौँबाट टाढा छ तर दुर्गममा पाइनेजस्तो सुविधा एवं बढुवा र अध्ययनका लागि थप अंक नजोडिने भएकाले डाक्टरहरु यहाँ आउन मानिरहनु भएको छैन।’

विशेषज्ञ मात्रै होइन, एमबिबिएस डाक्टर पनि यहाँ आउन खोज्दैनन्। १० जना मेडिकल अधिकृत हुनुपर्ने अस्पतालमा एक जना पनि स्थायी छैनन्। अहिले ६ जना कार्यरत छन्, ती सबै करारमा।

महाकाली अञ्चलको डडेलधुरामा उपक्षेत्रीय अस्पताल स्थापना भइसकेको र छिमेकी जिल्ला कैलालीमा सेती अञ्चल अस्पतालले सघन उपचार कक्ष, डायलाइसिस लगायतका विशेषज्ञ सेवा विस्तार गर्दै लगेको अवस्थामा यो अञ्चल अस्पताल भने प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवाकै तहमा अल्झिरहनु दुखद् भएको निमित्त निर्देशक डा. भट्ट बताउँछन्। उनले राजनीतिक, स्थानीय तह, नागरिक समाज लगायत सबै पक्षबाट सहयोग पाए अस्पताललाई अञ्चलकै भरोसाको केन्द्र बनाउन सकिने बताए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live