फिचर

मिर्गौला प्रत्यारोपण र डायलाइसिसका यस्ता सकस

प्रवीण ढकाल/डिबी खड्का

मिर्गौला ‘फेल’ हुनु मानिसलाई लाग्ने ठूला रोगमध्ये एक हो । मिर्गौला फेल भएपछि मानिसको आर्थिक, सामाजिक र व्यक्तिगत जीवनमा उथलपुथल नै आउँछ । तर, जति ठूलो रोग भए पनि मिर्गौला फेलको उपचार सम्भव छ ।  मिर्गाैला फेल भएपछि जीवन लम्ब्याउन डायलाइसिस र उपचारका लागि प्रत्यारोपण गर्ने प्रयास गरिन्छ । ‘सास हुन्जेल आस’ रहन्छ भनेझैँ कोही मिर्गौला फेल भएका बिरामी छन् भने उसलाई बँचाउन रह सम्भव कोसिसमा लाग्छ एउटा परिवार।

तर, मिर्गौला फेल भएका बिरामीले आफ्नै खर्चमा डायलाइसिस वा प्रत्यारोपण गर्ने हो भने उसको सिरीखुरी नै सखाप हुन सक्छ । अझ, मिर्गौला फेल भएका विपन्न र गरिब बिरामीको हालत ‘काल कुर्ने’ अवस्थामा पुग्न सक्छ । कतिपयको उपचार खर्च धान्नै नसकेर सम्पत्तिसँगै जीवन पनि सकिन्छ । एक जना मात्रै पनि मिर्गौला फेल भएका बिरामी हुँदा डायलाइसिस र प्रत्यारोपणका क्रममा घरखेतै सकिएर ‘घर न घाट’ हुने अवस्थामा पुगेका कयौँ परिवार छन् । यही समस्यालाई सम्बोधन गर्न सरकारले उपचारका दुवै विधि (डायलाइसिस र प्रत्यारोपण) लाई निःशुल्क गर्ने नीति लियो । अहिले मिर्गौला फेल भएका बिरामीको डायलाइसिस र प्रत्यारोपणको खर्च सरकारले व्यहोरिदिन्छ।

निःशुल्क उपचारको व्यवस्था लागू भएसँगै धेरैलाई लागेको हुनुपर्छ, मिर्गौला रोगीहरुको समस्या शतप्रतिशत समाधान भयो । तर, मिर्गौला फेल भएका बिरामीका लागि डायलाइसिस र प्रत्यारोपणले मात्र पुग्दैन, बिरामी र उसको परिवार यससँगै जोडिएर आउने अनेकौँ समस्याबाट गुज्रिनुपर्ने हुन्छ । नेपालमा मिर्गाैला फेल हुनेको संख्या बढ्दै जानु तर त्यस अनुसार उपचार सेवा विस्तार नहुनुले सीमित अस्पताल र विशेषज्ञ डाक्टरले समेत हैरानी खेपिरहेका छन्।

निःशुल्क डायलाइसिस र प्रत्यारोपणले आमजनतालाई मनोवैज्ञानिक त्राण मिलेको छ, तर पीडितले सरकारले दिएको सुविधाबाहेक थप के–कस्ता समस्यासँग जुध्नुपरिरेको छ भन्नेबारे पनि खोजिनीति गर्नु जरुरी छ । मिर्गाैला उपचारमा कस्ता–कस्ता समस्या छन्, बिरामीले कस्ता सकस झेलिरहेका छन् र कसरी यी समस्याबाट पार पाउन सकिएला भन्ने चासोको विषय बनेको छ।

कहाँ गर्ने डायलाइसिस?

निःशुल्क डायलाइसिसको व्यवस्थापछि अस्पताल तथा डायलाइसिस केन्द्रमा बिरामीको चाप ह्वात्तै बढेको छ । विगतमा आर्थिक अभावका कारण हप्तामा एक वा दुई पटक डायलाइसिस गराउने पनि अहिले हप्तामा तीन पटक निःशुल्क डायलाइसिस गराउन थालेका छन् । त्यस्तै मिर्गौल फेल भएर पनि रकम अभावका कारण अस्पताल जान नसक्नेहरु अहिले अस्पताल पुग्न थालेका छन् । 
हाल देशभर करिब दुई सय डायलाइसिस मेसिन सञ्चालनमा छन् । तर, त्यसको तुलनामा बिरामीको संख्या अधिक छ । अस्पतालले अहिले धेरै बिरामीलाई सेवा दिन तीनदेखि चार सिफ्टसम्म डायलाइसिस मेसिन चलाउन थालेका छन् । यसरी एउटै मेसिनलाई चार सिफ्टमा चलाउँदा पनि बिरामीको चापलाई धान्न गाह्रो परिरहेको अस्पताल र डायलाइसिस सेन्टरहरुले बताउँदै आएका छन् । एक जना बिरामीलाई डायलाइसिस गर्न चार घण्टा लाग्ने गर्छ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने विपन्न नागरिक उपचार कोषमा मिर्गौला रोगका लागि सहयोग लिन आउने बिरामीको चापले पनि नेपालमा डायलाइसिस मेसिनको अभाव रहेको पुष्टि गर्छ । सरकारले डायलाइसिस सेवा पूर्ण निःशुल्क गरेपछि कोषबाट सेवा लिनेको संख्या बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७१/७२ मा विपन्न उपचार कोषबाट मिर्गौला उपचारको सेवा लिनेको संख्या एक हजार तीन सय ५४ थियो । आर्थिक वर्ष २०७२/७३ मा बढेर दुई हजार दुई सय ८७ पुग्यो । दुवै आर्थिक वर्षको तथ्यांकमा डायलाइसिस सहित प्रत्यारोपणका लागि सेवा लिने बिरामीहरु पनि पर्छन् । चालू आर्थिक वर्ष २०७३/७४ को वार्षिक तथ्यांक भने अझै आइसकेको छैन । तर, यो वर्ष सरकारले निःशुल्क प्रत्यारोपण सेवा सुरु गरेका कारण विगतका तुलनामा सेवा लिनेको संख्या झन् बढ्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. विकास देवकोटा बताउँछन् । उनले बिरामीको चापका आधारमा उपकरण, पूर्वाधार र जनशक्ति थप्ने तयारी भइरहेको जानकारी दिए।

अस्पतालमा अहिले डायलाइसिस गराउनेमध्ये अधिकांश बिरामी विगतमै मिर्गौला फेल भएकाहरु हुन् । त्यसमाथि नयाँ बिरामीको चाप बर्सेनि थपिन्छ । नेपालमा बर्सेनि तीन हजारको मिर्गौला फेल हुने गरेको चिकित्सकहरु बताउँछन् । यद्यपि, यो यकिन तथ्यांक भने होइन । देशभरको आधिकारिक तथ्यांक नहुँदा चिकित्सकहरुले विकसित देशमा हुने रोगको दरलाई आधार मानेर नेपालमा मिर्गौला रोगीको अनुमान गर्दै आइरहेका छन् । नेपालमा बर्सेनि ३० हजार मानिसमा दीर्घकालीन मिर्गौला रोग हुने र तीमध्ये तीन हजारको मिर्गौला फेल हुने अनुमान गरिएको छ । विकसित देशलाई आधार मानेर अनुमान गरिएको यो संख्या नेपालमा अझ धेरै हुनसक्ने महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह बताउँछिन्।

यो तथ्यांकका आधारमा दुई सय डायलाइसिस मेसिनले सेवा दिन नसक्ने प्रस्ट छ । दुई सय मेसिनलाई चार सिफ्ट नै पूर्णरुपमा चलाउँदा पनि जम्मा आठ सय जनाले मात्र सेवा लिन सक्ने देखिन्छ । अहिले बिरामी र मेसिनको अनुपात हेर्दा धेरै बिरामीले डायलाइसिस सेवा पाउन निकै सकस भोग्नुपरिरहेको कुरा छर्लङ्ग छ।

वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बराल भन्छन्, ‘वार्षिक पाँच सय मेसिन थपिए मात्रै सबैको डायलाइसिस सम्भव छ ।’ मेसिन मात्र भएर हुँदैन डायलाइसि गराउन जान्ने जनशक्ति पनि बढाउनुपर्ने उनको भनाइ छ । भन्छन्, ‘सरकारले निःशुल्क सेवा सुरु गरेर राम्रो काम त ग¥यो तर त्यही अनुसार उपकरण, पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा भने ध्यान पुगेको देखिँदैन ।’
डायलाइसिस मेसिन अभावकै कारण एक पटक अस्पतालमा छिरेका बिरामी डिस्चार्ज भएर बाहिर जानसमेत नमान्ने अवस्था छ । फेरि डायलाइसिस गराउन पालो पाइँदैन भनेर बिरामी बाहिर निस्कन चाहँदैनन् । ‘धेरै स्थानमा एउटा बिरामीको मृत्यु भइसकेपछि वा उक्त बिरामी अन्यत्र कतै गएपछि मात्र अर्कोले पालो पाउने स्थिति छ,’ डा. बराल भन्छन्।

डायलाइसिस मेसिनहरु अनवरत रुपमा सञ्चालन हुने भएपछि बिग्रने क्रम पनि बढेको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका आठ वटा मेसिनमध्ये अहिले ६ वटा मात्रै सञ्चालनमा छन् । डा. शाह भन्छिन्, ‘अस्पतालमा डायलाइसिसका लागि आउने बिरामीको चाप बढ्दो छ । बिरामीको माग हेर्ने हो भने, दैनिक १५ वटा मेसिन चलउनुपर्ने अवस्था आइसक्यो।’

मिर्गौला फेल भएपछि डायलाइसिसका लागि अधिकांश बिरामी काठमाडौँ नै आउने गर्छन् । काठमाडौँमा अहिले करिब एक सय ५० डायलाइसिस मेसिन छन् । राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बनस्थलीमा ५० वटा डाइयासिस मेसिन छन् । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा ४० वटा मेसिन छन् । सधैँजसो १०–१२ वटा मेसिनहरु बिग्रिएका र मर्मतका क्रममा हुने भएकाले करिब ३० वटाले मात्रै सेवा दिइरहेको केन्द्रले जनाएको छ । हाल बिरामीको चापका कारण चारवटै सिफ्टमा बिरामीलाई डायलाइसिसको सेवा दिइरहेको देखिन्छ । यसैगरी, सुमेरु अस्पताल, ललितपुरमा रहेका १२ वटा मेसिनबाट चार वटै सिफ्टमा काम भइरहेको छ।

१० वटा डायलाइसिस मेसिन रहेको वीर अस्पतालमा हाल सात वटा मेसिनले मात्र काम गर्छन् । त्यसबाट हरेक हप्ता ४२ जना बिरामीले डायलाइसिस सेवा लिइरहेका छन् । अर्को हप्ता त्यही बिरामी दोहोरिने भएकाले मेसिन नथपेसम्म ४२ जना बाहेकका बिरामीलाई सेवा दिन नसकिने अस्पतालले जनाएको छ । ‘मिर्गाैला फेल भएका बिरामीले हप्ताको तीनपटक डायलाइसिस गराउनुपर्ने हुन्छ,’ डा. बराल भन्छन्, ‘हरेक तेस्रो दिनमा उही बिरामी दोहोरिन्छ । नयाँ बिरामी आउँदा ठाउँ छैन भन्नुबाहेक हामीसँग विकल्प छैन।’

वीर, शिक्षण अस्पतालजस्ता सबै बिरामी आउने अस्पतालका डायलाइसिस मेसिन मिर्गौला फेल भइसकेका बिरामीका लागि मात्रै उपयोग हुँदैनन् । कहिलेकाँही आकस्मिक अवस्थामा अल्पकालीन रुपमा मिर्गौले काम गर्न छाड्ने समस्याका बिरामी पनि आउँछन् । अस्पतालले उनीहरुलाई प्राथमिकतामा राख्नुपर्छ । किनभने निश्चित अवधि डायलाइसिस गरेपछि मिर्गौल पुनः ठिक हुन सक्छ । तर, समयमै त्यस्ता बिरामीको डायलाइसिस भएन भने मिर्गौला सधैँका लागि फेल हुन सक्छ।

बसाइँ सर्नुपर्ने वाध्यता

उदयपुर कटारी–२ की ५० वर्षीया जानुका तिमिल्सिना पोखरेलको परिवारको दिनचर्या मिर्गौला बिग्रिनुअघि हाँसी–खुसीसाथ बितिरहेको थियो । छोराले होटेल व्यवसाय गर्थे भने बुहारी बोर्डिङ स्कुलमा पढाउँथिन् । तर, २०७२ को अन्त्यतिर डाक्टरले उनको मिर्गौला फेल भएको जानकारी दिए । त्यसपछि उनको परिवारको एकनासे गतिमा ब्रेक लाग्यो, उथलपुथल सुरु भयो । डायलाइसिस गराउनुपर्ने भएपछि केही समय काठमाडौँको होटेलमा बसे । तर, त्यो साध्य लाग्ने कुरा थिएन । छोराले छँदाखाँदाको व्यापार त्यागे, बुहारीले जागिर छाडिन् । उनको परिवार काठमाडौँ बसाइँ सर्‍यो । हाल मण्डिखटारमा भाडामा बसेका उनीहरु कान्तिपुर जनरल अस्पतालमा डायलाइसिस गराइरहेका छन् । ‘कमाउने मान्छेले बिरामी स्याहार्नुपरेपछि आर्थिक समस्या पनि थपिँदै गएको छ,’ जानुकाका श्रीमान् कृष्ण पोखरेल भन्छन्, ‘सरकारले २५ सयको डायलाइसि निःशुल्क ग¥यो तर त्यतिका लागि ५० हजारभन्दा बढी मासिक खर्च गर्नुपरिरहेको छ । जिल्ला वा नजिकको स्वास्थ्य संस्थामा यो सेवा उपलब्ध भए यस्तो हालत हुने थिएन।’

जानुकाको मात्रै होइन, काठमाडौँसहित धनगढी, नेपालगञ्ज, विराटनगर जस्ता ठूला सहरमा मिर्गौला डायलाइसिस गराइरहेका ८० प्रतिशत बिरामीको पीडा उस्तै छ । सुदूरपश्चिम क्षेत्रमा धनगढीमा मात्रै डाइलाइसिस सेवा उपलब्ध छ । धनगढी केन्द्र भएका पहाडी ७ जिल्लाका बिरामीहरुले बसाइँ नसरी डायलाइसिस सेवा लिन सक्ने अवस्था छैन । यसैगरी, पूर्वी र मध्य पश्चिमका पहाडी जिल्ला अस्पतालमा पनि डायलाइसिसको सुविधा पुग्न सकेको छैन । मिर्गौला फेल भएर डायलाइसिसमा जानुपर्ने बिरामीका परिवारले बसाइँ सर्न वाध्य हुनुपर्छ।

यसै पनि कोठा पाउन मुस्किल हुने काठमाडौँमा बिरामीका लागि कोठा दिन नमान्ने गुनासो पनि उत्तिकै सुनिन्छ । ‘एउटा कोठामा मात्रै बस्ने हो भने पनि कम्तिमा १५ देखि २० हजार रुपैयाँ खर्च हुन्छ,’ वीर अस्पतालमा डायलाइसिस गराइरहेका एक बिरामीका आफन्त भन्छन् । सामान्य तथा मध्यमस्तरको परिवारको सदस्यका लागि मासिक १५ – २० हजार रुपैयाँ आय आर्जन गर्नु चानचुने कुरा हुँदैन । अझ गरिब–विपन्न परिवारले त मासिक त्यति रकम कल्पना पनि गर्दैनन् । त्यसमाथि परिवारका बाँकी सदस्य समेत बिरामीको उपचारमा लाग्नुपर्ने भएकाले नियमित आयआर्जनको बाटो बन्द हुन सक्छ । यसरी डेरै सरेर डाइलाइसिस गर्न धेरै बिरामीलाई हम्मेहम्मे पर्ने हिसाब निकाल्न मुस्किल पर्दैन । आफ्नो नजिकै सेवा नहुँदा निःशुल्क डायलाइसिस भनिए पनि त्यसको पहुँचमा धेरै बिरामी आउन नसकेको शंका गर्ने ठाउँ छ।

मिर्गौला जुटाउन महाभारत 

डायलाइसिसको झन्झटबाट मुक्ति पाउने उपाय मिर्गौला प्रत्यारोपण हो । तर, मिर्गाैला जुटाउन बिरामीलाई महाभारत पर्छ । नेपालको कानुनअनुसार, नजिकका नातेदारबाट मात्रै प्रत्यारोपणका लागि मिर्गौला दान लिन मिल्छ । कतिपय अवस्थामा नातेदार मिर्गौला दिन तयार हुँदा पनि मेडिकल रुपमा मिल्दैन । कतिपय अवस्थामा पारिवारि र व्यावहारिक झमेला आइलाग्छन् । ‘नातेदार तयार हुँदैमा कानुनी झन्झट र व्यावहारिक समस्या टुंगिन्छ भन्ने होइन,’ वीर अस्पतालमा मिर्गौला विशेषज्ञ डा. अनिल बराल भन्छन्, ‘दाइले भाइलाई मिर्गौला दिँदा आफ्नो आधा अंश दाइको नाममा मञ्जुरी गरिदिएका उदाहरण धेरै छन्।’

यसैगरी, एउटा मिर्गौला दिएमा कमजोर भइने भ्रम पनि समाजमा व्याप्त छ । डाक्टरहरुले दुईटै मिर्गौला स्वस्थ हुनेले एउटा दिँदा कुनै फरक नपर्ने भनिरहेका हुन्छन्, तर त्यतिले मात्रै बिरामीका आफन्त ढुक्क भएको भेटिँदैन । कतिपय हृदयविदारक घटनाका साक्षी डा. बराल भन्छन्, ‘जीवनसाथीलाई मिर्गौला दिनुप¥यो भनेर छाडेर अर्को विवाह गरेका उदाहरण पनि छन्।’

मिर्गौला दान दिन पुरुषहरु अनिच्छुक हुने गरेको शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको एक अध्ययनले देखाएको छ । अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका चार सय १८ जनाको तथ्यांक केलाउँदा दान गर्नेमा दुई तिहाई (६६ प्रतिशत) महिला र एक तिहाइ (३३ प्रतिशत) पुरुष छन् । मिर्गौला प्रत्यारोपण गर्नेमा भने आँकडा उल्टिन्छ । अर्थात् ८० प्रतिशत पुरुषले मिर्गौला लिएका छन् भने महिला २० प्रतिशत मात्रै छन्। ‘महिला मात्रै दाताका रुपमा धेरै देखिनु पनि चुनौती हो । यसले हाम्रो समाजकै चित्रण गर्छ । प्रत्यारोपण सर्जन डा. पवनराज चालिसेको भनाइ छ, ‘पुरुषहरु किन अंग दान गर्न चाहँदैनन् भन्ने पत्ता लगाएर उनीहरुलाई उत्प्रेरित गराउनुपर्ने देखिन्छ।’

नेपालमा आफन्तको ज्यान बचाउन मिर्गौला दानलाई प्रोत्साहन गर्ने नीति छैन । इरानसहितका कतिपय देशमा अंगदान गर्ने नागरिकलाई राज्यले सुविधा र सामाजिक सुरक्षा प्रदान गरेका छन् । जसले गर्दा अंग प्रत्यारोपणमा केही सजिलो हुने गरेको छ।

मानव अंग प्रत्यारोपण केन्द्रका सर्जन डा. नारायण भुसाल भन्छन्, ‘प्रायः बिरामीलाई आमा र श्रीमतीले मिर्गाैला दिएको भेट्न सकिन्छ । घरका पुरुषले कमाउनुपर्ने भएकाले उसले मिर्गौला दिँदा घरमा आयआर्जनको बाटो बन्द हुने सोच समाजमा व्याप्त छ ।’ यसले गर्दा मिर्गौला जुटाउने कुरा नै बिरामीका लागि प्रलय हुने गरेको डाक्टरहरुको अनुभव छ।

कहाँ गर्ने प्रत्यारोपण?

मिर्गौला दिने दाता जसोतसो जुटाए पनि तुरुन्तै प्रत्यारोपण हुन सक्ने स्थिति छैन । नेपालमा सरकारी स्तरमा जम्मा तीन वटा मिर्गौला प्रत्यारोपण केन्द्र छन् भने निजी स्तरमा एउटा । एउटा अस्पतालले अहिले सरदर हप्तामा दुई जनाको मिर्गौला प्रत्यारोपण गरिरहेका छन्।

नेपाल मेडिकल काउन्सिलका अनुसार नेपालमा मिर्गौला रोग विशेषज्ञ २२ जना छन् । अनि, युरोलोजिस्ट ३१ जना । प्रत्यारोपण गर्न मिर्गौला प्रत्यारोपण विज्ञ, युरोलोजिस्टसहितको टोली आवश्यक पर्छ । मिर्गौला रोगीको अनुपातमा यो जनशक्ति अत्यन्त न्यून हो । तर, आफूहरुले पनि सक्ने जति सेवा दिन नपाएको शिक्षण अस्पताल महाराजगञ्जका प्रत्यारोपण सर्जन डा. पवनराज चालिसेको भनाइ छ । उनी भन्छन्, ‘शिक्षण अस्पतालबाटै नेपालमा सफल मिर्गौला प्रत्यारोपण सेवा सुरु भए पनि यहाँ भौतिक संरचना अपेक्षित रुपमा विस्तार हुन सकेको छैन । जसले गर्दा प्रत्येक हप्तामा धेरै जनाको मिर्गौला प्रत्यारोपण गर्न सक्ने टिम भए पनि दुईटामा मात्रै सीमित हुनुपरेको छ । भौतिक पूर्वाधारको कमी नै यसको कारक तत्व हो । सम्बन्धित निकायले ध्यान दिनसके सेवा विस्तारमा सहज हुने थियो।’

शिक्षण अस्पतालमा पाँच जना मिर्गौला प्रत्यारोपण सर्जन छन् । भौतिक पूर्वाधार विकास गरेमा एक जनाले एउटा मात्रै प्रत्यारोपण गरे पनि हप्तामा पाँच वटा प्रत्यारोपण हुन सक्ने देखिन्छ । अस्पतालका सर्जनहरुले मिर्गौला प्रत्यारोपणका लागि छुट्टै युरोलोजी र नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण सेन्टर स्थापना गर्नुपर्छ भनेर लबिङ गरिरहेका छन् । तर, सरकारले सुनेको छैन । डा. चालिसेको सुझाव छ, ‘अन्य विकल्प तयार हुन्जेलसम्मका लागि सरकारले भौतिक पूर्वाधार भएका तर जनशक्ति नपुगेका उपत्यकाभित्रकै अन्य सरकारी प्रत्यारोपण सेन्टरमा समन्वय गरी काम गर्ने वातावरण बनाए, प्रत्यारोपणको संख्या बढ्न सक्छ।’

नयाँ विकल्प नसोच्ने हो भने, हाल डायलाइसिस गराइरहेकै बिरामीले प्रत्यारोपणका लागि वर्षौं लाइन बस्नुपर्ने अवस्था आउन सक्छ । चिकित्सकहरुका अनुसार अहिलेको क्षमताकै आधारमा डेढ वर्षभन्दा बढी समयका लागि प्रत्यारोपण गराउने बिरामी ‘प्याक’ भइसकेका छन्।

प्रत्यारोपण पछिको पीर

चिकित्सकका अनुसार डायलाइसिस गराइरहनुपर्ने झन्झटले परिवारका लागि बिरामी व्यक्ति बोझ बन्न सक्छ । तर, प्रत्यारोपण गरेर ‘मेन्टेन’ गर्न सक्यो भने सक्रिय जीवनशैलीमा फर्किन्छ । जसले आफैँले केही काम गरेर उत्पादनमूलक जीवन जिउन सक्छन् । यसकारण डाक्टरले डायलाइसिस गराइरहेकाहरुलाई जति सक्दो चाँडो प्रत्यारोपण गरेर दीर्घकालीन समाधान खोज्न सुझाउँछन्।

प्रत्यारोपण गरिएको मिर्गौलाको ‘मेन्टेन’ गर्न सहज छैन । त्यसपछि दैनिक लिनुपर्ने औषधिमा उत्तिकै खर्च हुन्छ ।स्वस्थ जीवनशैली अपनाउनुपर्ने हुन्छ । मिर्गाैला रोग विशेषज्ञ डा. दिव्या सिंह शाहका अनुसार प्रत्यारोपणपछि औषधिसहित स्वस्थ जीवनशैलीका लागि मासिक न्यूनतम ८ देखि २० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । त्यसो गर्न सकिएन भने फेरि मिर्गाैला फेल भएर डायलाइसिसमै आउनुपर्ने हुन सक्छ । ‘सरकारले निःशुल्क गरेपछि आय आर्जन न्यून भएकाहरुले पनि प्रत्यारोपण जसोतसो गराउलान् तर औषधि उपचारको खर्च धान्न नसकेर फेरि डायलाइसिसकै शरणमा आउनुपर्ने हुन सक्छ,’ डा सिंह भन्छिन्, ‘यसको पनि विकल्प खोज्न सकिए मात्रै दीर्घकालीन समाधान हुन सक्छ।’

प्रत्यारोपण गरिएका बिरामीलाई अन्य स्वास्थ्य समस्या आइलाग्ने सम्भावना पनि उच्च रहन्छ । विशेष गरी निमोनिया, पिसाबको इन्फेक्सन, छातीको इन्फेक्सन हुन सक्छ । यसका लागि व्यक्तिगत सरसफाइदेखि खानपानमा ध्यान पुर्‍याउनुपर्छ । खर्च यतातिर पनि बढ्ने भएकाले निम्न आयस्तरका बिरामीले अझै मिर्गौलाको समस्याबाट उन्मुक्ति पाउने स्थिति देखिँदैन।

डाक्टरहरुका अनुसार प्रत्यारोपणपछि कुनै कारणवश केही दिनमात्रै औषधि सेवन टुटेमा फेरि पुरानै समस्या दोहोरिन सक्छ । वीर अस्पतालका डा. बराल सरकारले प्रत्यारोपणपछिको औषधिमा पनि सहुलियतका कार्यक्रम घोषणा गर्नुपर्नेमा जोड दिन्छन् । ‘बिरामीले एकपटकका लागि आवश्यक पर्ने प्रत्यारोपणको २–४ लाख रुपैँया खर्च जसोतसो जुटाउँछन्,’ डा. बराल भन्छन्, ‘मासिक १० देखि २० हजार रुपैयाँ जुटाउन कम्ति सकस हँुदैन ।’ यति रकममा घर परिवार चलाउनेहरुको संख्या नेपालमा ठूलो छ । डा. बराल भन्छन्, ‘मिर्गौला पीडितको उपचारमा सामाजिक तथा आर्थिक पाटो हेरिएन र सम्बोधन भएन भने यसले समाधान निकाल्न सक्दैन।’

विकल्पको बाटो

अहिलेको प्रमुख समस्या डायलाइसिस नै हो । सरकारले बृहत् योजना बनाएर जिल्ला अस्पतालहरुसम्मै डायलाइसिस मेसिन पुर्‍याउनुपर्ने आवश्यकता छ । डा. बराल भन्छन्, ‘अस्पतालका डाक्टर र नर्सहरुलाई डायलाइसिस तालिम दिनुपर्छ । यसले डायलाइसि गर्ने ठाउँको अभाव, बसाइँ सर्नुपर्ने अवस्थालाई कम गर्छ र आर्थिक भार घटाउँछ।’

‘२–४ वटा मेसिन राखेर जिल्ला तहमै यो सुविधा दिन सकिन्छ,’ मानव अंग प्रत्यारोपण केन्द्रका डा. नारायण भुसाले भने, ‘सरकारले अहिले हरेक बिरामीको एक पटकको डायलाइसिसका लागि २५ सय रुपैँया उपलब्ध गराएको छ । राम्ररी व्यवस्थापन गर्ने हो भने यही शुल्कबाट पनि मेसिनहरु सञ्चालन गर्न सकिन्छ ।’ शुरुमा मेसिन किन्ने, तालिम दिने लगायतमा सरकारले सहयोग गरे नर्सिङ जनशिक्तबाटै डायलाइसिस सञ्चालन गर्न सकिने उनको भनाइ छ।

वार्षिक नयाँ बिरामी थपिने भएकाले मिर्गौला रोगको उपचारका लागि जनशक्ति उत्पादन गर्ने नीति लिन ढिलाइ भइसकेको विशेषज्ञहरु बताउँछन् । मिर्गौला रोगका लागि एउटा छुट्टै ‘सेन्टर’ स्थापना गर्न सकिने विकल्प विशेषज्ञहरुको छ । सेन्टरले सेवा विस्तार, सहजीकरण, विशेषज्ञ जनशक्ति उत्पादन तथा अध्ययन–अनुसन्धानका काम गर्नेछ । यसैगरी, नेफ्रोलोजिस्ट र सर्जन समेत उत्पादन गरेमा विकेन्द्रित रुपमा प्रत्यारोपण सेवा विस्तार गर्न सकिने उनीहरुको भनाइ छ । ‘अब कम्तिमा पनि प्रादेशिक तहमा मिर्गौला प्रत्यारोपण हुनु अनिवार्य भइसकेको छ,’ डा. भुसालको तर्क छ, ‘दक्ष जनशक्तिलाई तालिम दिने हो भने दुई वर्षमै प्रादेशिक र त्योभन्दा तल्लो स्तरमा गएर सेवा दिन कुनै गाह्रो हुँदैन।’

डाक्टरहरुले जनशक्ति उत्पादनमा किन पनि जोड दिएका छन् भने हालकै जनशक्तिले जतिसुकै तीव्र काम गरे पनि बिरामीको चाप अनुसार डायलाइसिस र प्रत्यारोपण हुन सक्दैन । अहिले नेपालमा प्राध्यापक तहले मात्रै तालिम दिन पाउने भएकाले यससम्बन्धी नीति परिमार्जन गरी दक्ष जनशक्तिले समेत तालिम दिन पाउने व्यवस्था ल्याउनुपर्ने विज्ञहरुको सुझाव छ । नेपालमा प्रत्यारोपणतर्फ प्राध्यापकहरुकै अभाव भएकाले तालिम र क्षमता विकासको काम साँघुरिँदै गएको छ।

मस्तिष्क मृत्युः महत्वपूर्ण विकल्प

मष्तिष्क मृत्यु अर्थात् ‘ब्रेन डेथ’ भएका व्यक्तिहरुबाट मिर्गौला निकालेर बिरामीमा प्रत्यारोपण गर्नु सबैभन्दा सहज र भरपर्दो उपाय हो । यस्तो अवस्थामा मस्तिष्क मृत्यु भएको एउटा बिरामीबाट निकालिएको मिर्गाैलाले दुईवटा मिर्गाैलाका बिरामीको ज्यान जोगाउन सकिन्छ । कुनै व्यक्ति गम्भीर दुर्घटना वा चोटपटक लागेर उपचारका क्रममा उसको मस्तिष्कले काम गर्न छोड्यो भने डाक्टरहरुले त्यस्तो व्यक्तिलाई ‘मस्तिष्क मृत्यु’ भएको घोषणा गर्न सक्छन्।

मस्तिष्क मृत्यु भए पनि त्यस्तो बिरामी भेन्टिलेटरमा हुने भएकाले उसको मुटु चलिरहेको हुन्छ र मिर्गौला लगायतका केही अंग बिग्रिन पाउँदैनन् । मुटुले रगत पम्प गरिरहेका कारण उसको मिर्गौलामा नियमित अक्सिजन पुगिरहेको हुन्छ र त्यो निकालेर बिरामीको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । डाक्टरले ‘ब्रेन डेथ’को घोषणा गर्नुअघि त्यसबारे मानव अंग प्रत्यारोपण केन्द्रलाई सूचित गर्नुपर्ने प्रावधान छ। 

केन्द्रले खबर पाएपछि मस्तिष्क मृत्यु भएको व्यक्तिको मिर्गौलाको अवस्था परीक्षण गरिन्छ । उपयुक्त देखिएमा मस्तिष्क मृत्यु भएको व्यक्तिको आफन्तको स्वीकृतीमा ऊ रहेकै अस्पतालमा शल्यक्रिया गरेर मिर्गाैला निकालिन्छ । उक्त मिर्गौला ‘आइस’मा हालेर प्रत्यारोपण गरिने अस्पतालमा ल्याइन्छ र जतिसक्दो छिटो अर्को बिरामीको शरीरमा प्रत्यारोपण गरिन्छ । 
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गाैला निकालेपछि २४ घण्टासम्म अर्कोे बिरामीको शरीरमा राख्न सकिने डाक्टरहरु बताउँछन् । तर, जतिसक्दो छिटो बिरामीमा प्रत्यारोपण गर्न सकियो उति राम्रो मानिन्छ।

नेपालमा केही साता अघिमात्रै काठमाडौँको कान्तिपुर अस्पतालबाट मस्तिष्क मृत्यु भएका बिरामीको मिर्गौला भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा पहिलोपटक प्रत्यारोपण गरिएको थियो । केन्द्रका डा. भुसालका अनुसार सांस्कृतिक तथा सामाजिक मान्यता र शवलाई क्षति गर्नु हुँदैन भन्ने अन्धविश्वासका कारण मस्तिष्क मृत्यु भएका बिरामीका आफन्तहरु मिर्गौला दिन तयार हुँदैनन् ।  ‘हाम्रो समाजले कोमामा रहेका मानिसको अंग निकाल्ने विषयलाई  सजिलो गरी लिँदैन,’ भुसाल भन्छन्, ‘यस्तो मान्यतालाई सचेतना कार्यक्रमबाट हटाउन जरुरी छ । मृत्यु भएपछि अन्त्येष्टिका क्रममा नष्ट भएर जाने अंगबाट कुनै अर्को व्यक्तिले पुनर्जन्म पाउनु पुण्यको काम हो ।’ केन्द्रका डाक्टरहरुले केही महिनादेखि प्रयास गर्दा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला बिरामीमा प्रत्यारोपण गर्न सफल भएका हुन्।

मस्तिष्क मृत्यु भएका बिरामीबाट मिर्गौला निकालेर प्रत्यारोपण गर्न त्यति सहज छैन । त्यसका लागि राजधानी बाहिरका ठूला सहरमा पनि पर्याप्त विशेषज्ञ जनशक्ति हुनुपर्छ । प्रत्यारोपणका लागि थप केही विभागको आवश्यकता पर्छ । डाक्टर र नर्सहरुको छुट्टै टिम हुनुपर्छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट निकालिएको मिर्गौला कुन बिरामीलाई के आधारमा प्रत्यारोपण गर्ने भन्ने प्रश्न पनि उत्तिकै गहन छ । त्यसका लागि न्यायपूर्ण अभ्यास गरिनुपर्छ।

कतिपय विकसित मुलुकमा प्रत्यारोपणका लागि आवश्यक पर्ने मिर्गौलाको मुख्य स्रोत मस्तिष्क मृत्यु भएका व्यक्तिहरु रहेको प्रत्यारोपण सर्जन डा. चालिसे बताउँछन् । विकसित मुलुकमा आफन्तले मिर्गौला दान गर्नेको तुलनामा मस्तिष्क मृत्युबाट गरिने प्रत्यारोपणको हिस्सा ज्यादा छ । प्रायः दुर्घटनामा परेका बिरामीको मस्तिष्क मृत्यु हुने भएकाले यातायातको सुविधा, अस्पतालमा सुविधासम्पन्न उपकरण, भेन्टिलेटरहरु, चुस्त सूचना प्रवाहको संयन्त्र जस्ता पक्षको विकास हुनु आवश्यक छ । मस्तिष्क मृत्यु भएका बिरामीले अन्ततः मृत्युवरण नै गर्ने निश्चित भएकाले उसबाट मिर्गाैला निकाल्नुलाई विश्व चिकित्सा जगतले सही विकल्प ठम्याएको छ।

निर्विकल्प रोकथाम 

मिर्गौलाको समस्या आइसकेपछि कति दुःख, आर्थिक क्षति, झमेला, तनाव सहनुपर्छ भन्ने कुरा सर्वविदितै छ । त्यसैले सकेसम्म यो समस्या आउन नदिनेतर्फ सचेत हुनु उत्तम विकल्प हो । ‘मिर्गौला रोगीहरुलाई सुविधाजनक र सहुलियतपूर्ण उपचार राज्यबाट उपलब्ध हुनुपर्छ,’ डा. दिव्यासिंह शाह भन्छिन्, ‘तर बेलैमा सजगता अपनाएर मिर्गौला सम्बन्धी रोग लाग्नै नदिनु सबैभन्दा राम्रो उपाय हो ।’ नेपालमा मधुमेह (सुगर) का कारण धेरैको मिर्गौला बिग्रिने भएकाले नियमित सुगर र रक्तचाप परीक्षणलाई प्रोत्साहन गर्नुपर्ने डाक्टरहरुको सुझाव छ ।

डा. शाह भन्छिन्, ‘कतिपय बिरामी जाँचका क्रममा आएर सोझै डायलाइसिसमा जानुपरेका उदाहरण प्रसस्त छन् । उनीहरुले नियमित रुपमा स्वास्थ्यको ख्याल गरेको भए बेलैमा थाहा पाएर उपचार गर्दा मिर्गौलाको दीर्घरोगबाट बच्ने सम्भावना रहन्थ्यो ।’ 

जापानका विद्यालयमा नयाँ बालबालिका भर्ना गर्दा अनिवार्य रुपमा आधारभूत परीक्षण गर्नुपर्ने व्यवस्था छ । नेपालमा समेत राष्ट्रिय परिचयपत्र, मतदाना नामावली लगायतका अभिलेख प्रणाली सुरु भएकाले त्यही बेला स्वास्थ्य सम्बन्धी जानकारी संकलन गर्न सकिन्छ । विर अस्पतालका डा. बराल भन्छन्, ‘स्वास्थ्य सम्बन्धी आधारभूत तथ्य समावेश गरेर बिरामीहरुको स्क्रिनिङ गर्नुपर्छ । बेलैमा सतर्कता अपनाए जोखिम घटाउन सकिन्छ ।’ डायबिटिज नियन्त्रण गर्न सके र दुखाइ कम गर्ने औषधि जथाभावी सेवन नगरे मिर्गौला सम्बन्धी रोगको जोखिम कम हुने डा. बरालको भनाइ छ । उनी नियमित मिर्गौलाको परीक्षण गर्न सुझाउँछन्।

विद्यालय तहदेखि नै बालबालिकाको रक्तचाप, पिसाब, सुगर आदिको परीक्षण गर्न सकियो भने मिर्गौलाका रोगहरुबारे बेलैमा जानकारी पाएर उपचार गर्न सजिलो हुन्छ । सरकारी तथा निजी कार्यालयहरु, उद्योग, कलकारखाना आदिमा काम गर्ने कर्मचारी तथा मजदुरहरुका लागि अनिवार्य परीक्षणको व्यवस्था लागू गर्न सकिन्छ । यस्तै, गाउँका स्वास्थ्य चौकीहरुमा पनि यो सुविधा पुर्‍याउन आवश्यक छ । परीक्षणका क्रममा रोग पत्ता लाग्नासाथ बेलैमा उपचारका लागि पठाउन सकियो भने मिर्गौला फेल हुने अवस्थाभन्दा पहिले नै बिरामीलाई निको पार्न सकिन्छ । ‘रोगको मुहान नरोकी निःशुल्क डायलाइसिस वा प्रत्यारेपणबाट मात्रै मिर्गाैला रोग नियन्त्रणको सम्भावना छैन,’ डा. शाह भन्छिन्, ‘अब त थप बिरामीको डायलाइसिस र उपचार गर्ने ठाउँ समेत छैन।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने