प्रवास

दर्जन बढी गरिब देशका नागरिकको दृष्टि फर्काउँदै नेपाली डाक्टर सुनु

उनले नेपालका ६८ जिल्लामा पुगेर धेरैका दृष्टि फर्काएका छन्

img

डिबी खड्का

डाक्टरले विदेशमा चिकित्सकीय अभ्यास गरिरहेका छन् भन्नेबित्तिकै धेरैले लगाउने अनुमान हो, अमेरिका, बेलायत वा अस्ट्रेलिया । तर, डा. सुनु दुलाल त्यस्ता डाक्टर हुन्, जो धेरैको अनुमान बाहिरका देशमा पुगेर चिकित्सकीय सेवा दिइरहेका हुन्छन् । उनी त्यहाँ पुगेर काम गर्न रुचाउँछन्, जहाँ साँच्चिकै सेवकको आवश्यकता छ।

२०५१ सालदेखि देशबाहिर रहेर सेवा दिइरहेका आँखा रोग विशेषज्ञ डा. दुलाल हाल म्यानमारमा छन् । उनले यसअघि सेवा दिएका देशको सूचीमा पपुवा न्युगिनी, एंगोला, कम्बोडिया, मंगोलिया, पूर्वी अफ्रिकाका देश, बंगलादेश आदि पर्छन् । एंगोलामा त उनले त्यस्तो समयमा दृष्टिबिहीनहरुको दृष्टि फर्काइरहे, जतिबेला पूरै देश गृहयुद्धमा होमिएको थियो । कम्बोडियामा पनि युद्धग्रस्त समयमा उनी सेवारत थिए।

इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) बाट एमबिबिएस र आँखा रोगमा विशेषज्ञता हासिल गरेका डा. दुलालले अमेरिकामा एफआइसिएस र बेलायतबाट एफआरएसपिएच गरेका छन् । यस्तै, युनिभर्सिटी अफ लन्डनबाट पब्लिक हेल्थअन्तर्गत आँखाको सुरक्षामा एमएसी र डिप्लोमा इन कम्युनिटी अप्थाल्मोलोजीमा पोस्ट ग्य्राजुएट गरेका छन्।

आँखा रोगमा विशेषज्ञता हासिल गरेपछि उनले आधा समय नेपालमा र आधा विदेशमा रहेर सेवा दिन थालेका हुन् । नेपालमा उनले ६८ वटा जिल्ला पुगेर धेरैका दृष्टि फर्काइदिएका छन् ।  उनी भन्छन्, ‘आँखा उपचार क्याम्प लिएर कर्णालीमा मात्रै १८ पल्ट पुगेको छु।’

उनको छनोटमा करियरको सुरुवातदेखि नै दुर्गम गाउँ, गरिब देश पर्दै आए । यसको कारण उल्लेख गर्छन्, ‘जहाँ मेरो महत्व हुन्छ, आवश्यकता हुन्छ र ज्ञानको पूर्ण अंशको प्रयोग गर्न सक्छु म त्यस्ता ठाउँ रोज्ने गर्छु ।’ उनले त्यस्ता ठाउँमा पुगेर पनि सेवा दिएका छन्, जहाँ आँखाको डाक्टर त के कहिल्यै कुनै डाक्टर पुगेका थिएनन्।

डा. दुलालले गैरनाफामुखी र सहयोगका लागि सञ्चालित समूह तथा अस्पतालमार्फत सेवा दिने गरेका छन् । भन्छन्, ‘म अति दुर्गम र गरिबीले पिल्सिएका क्षेत्रमा गएर सेवा गर्न पाउँदा गर्व गर्छु । यदि हामी त्यहाँ नपुगेका भए उनीहरुको जीवन अन्धकारमै समाप्त हुन्थ्यो । जब आँखा देखेपछि उनीहरु र उनीहरुका आफन्तले मेराबारे सोध्छन्, त्यतिबेला आफूलाई नेपाली भन्न पाउनुको जस्तो आनन्द अरु केही लाग्दैन।’

उनी ती देशमा राष्ट्रिय स्तरमा काम गरिरहेका विशेषज्ञ डाक्टर नपुगेका ठाउँमा गएर सेवा मात्रै दिइरहेका हुँदैनन्, सँगसँगै सीप हस्तान्तरण र शिक्षा प्रदान पनि गरिरहेका हुन्छन्।

 नेपालका गण्डकी, धौलागिरि र कर्णाली क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै नेत्रज्योति संघले नगद  र प्रमाणपत्रसहित सम्मान गरेको छ । विभिन्न देशमा पुगेर दृष्टिविहीनहरुको उपचार र जागरण फैलाएकोमा  कदर गर्दै एसिया प्यासिफिक एकेडेमी अफ अप्थाल्मोलोजी (एपिएओ) ले पुरस्कृत गरेको छ । यसैगरी,  एसोसिएसन अफ कम्युनिटी अप्थाल्मोलोजिस्ट्स अफ इन्डियाले पनि समुदायसम्म पुगेर सेवा गरेको भन्दै  गोल्ड मेडल दिएको छ।

 अहिले उनले काम गरिरहेको म्यानमारको अस्पताल पनि शहरी क्षेत्रभन्दा निकै टाढा छ । म्यानमार यसै पनि  संसारमै धेरै दृष्टिविहीनहरु भएको देश हो । सन् २०१५ को जनगणना अनुसार म्यानमारमा करिब ६ करोड  जनसंख्यामा ६ लाख मानिस दृष्टिविहीन थिए । म्यानमारको ‘अन्धोपन’लाई हटाउन राष्ट्रिय र  अन्तर्राष्ट्रियस्तरमा अनेक प्रयास भइरहेका छन् । जसका कारण बर्सेनि एक लाख मान्छेको आँखाको  शल्यक्रिया गर्न सम्भव भइरहेको छ । त्यसमध्ये बार्षिक २० प्रतिशत अर्थात् २० हजारको शल्यक्रिया उनको  समूहले गरेको छ । डा. दुलालको समूहले ग्रामीण क्षेत्रको सामान्य अस्पतालमा गरेको उक्त शल्यक्रियाको  सर्वत्र तारिफ भएको छ । उनी  भन्छन्, ‘हामी चार जनाले मात्रै २० प्रतिशत शल्यक्रिया गर्न सक्नु आँखाको  उपचारमा नेपालको तरिका एकदमै प्रभावकारी छ भन्ने पनि हो । किनकि चार जनामा हामी तीन जना नेपाली  छौँ र तुलनात्मक रुपमा आँखाको सफल शल्यक्रिया चाँडो गर्न सक्छौँ।’

यसैगरी, बिहान सबेरैदेखि शल्यक्रिया थालेर साँझसम्म गर्ने गरिएकाले पनि संख्या बढेको उनी बताउँछन् । उनी संलग्न रहेको अस्पतालमा आँखा रोगमा नेतृत्व भने नेपालकै अर्का आँखा रोग विशेषज्ञ डा. विद्याप्रसाद पन्तले गरिरहेका छन्।

म्यानमारका ८० प्रतिशत जनसंख्या ग्रामीण भेगमा बस्ने भए पनि अधिकांश आँखा अस्पताल भने राजधानी यङ्गुन र अर्को ठूलो शहर मान्डलेमा मात्रै सीमित छन् । यसकारण पनि  डा. दुलालको समूह ग्रामीण बस्तीका लागि वरदान सावित भएको छ । अन्तर्राष्ट्रिय नियोगहरुको सहयोगमा काम गरिरहेकाले उनीहरुले गर्ने शल्यक्रिया निःशुल्क हुने गरेको छ ।
नेपालजस्तो आँखा शिविर राखेर शल्यक्रिया गर्न भने म्यानमारमा नपाइने उनी बताउँछन् । अस्पतालमै शल्यक्रिया गर्नुपर्ने नियमका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगका बाबजुद त्यहाँको अन्धोपन हटाउन समय लागेको उनको ठम्याइ छ।

कृषि प्रधान देश म्यानमारमा लामो समय घाममा धेरै मानिसले काम गर्छन् । सूर्यका अल्ट्राभायोलेट किरणका कारण कतिपय अन्धोपन निम्तिएको डा. दुलाल बताउँछन् । पानी कम पिउने र दिनभरि कडा परिश्रम गर्ने भएकाले धेरैलाई आँखा सम्बन्धी समस्या हुने गरेको उनको अनुभवले बताउँछ । सामान्यतया नेपालमा ५० वर्षको उमेरपछि देखिने मोतियाबिन्दु म्यानमारमा भने ४० वर्षकै उमेरमा हुने गरेको उनले जानकारी दिए ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live