मुख्य समाचार

डाक्टरहरुको आकस्मिक बैठकले भन्यो, 'चिकित्सा क्षेत्र बदनाम गराउने सांसदलाई कारबाही गर्नुपर्छ'

स्वास्थ्य खबरपत्रिका

फाइल तस्बिर/संसद बैठक


काठमाडौं– डाक्टरहरुको आकस्मिक बैठकले व्यवस्थापिका संसदमा चिकित्सा क्षेत्रलाई बदनाम गराउने सांसदहरुलाई कारबाही गर्नुपर्ने निर्णय गरेको छ।

नेपाल चिकित्सा संघको आह्वानमा संघको कार्यालयमा मंगलबार बसेको आकस्मिक बैठकले सदनमा सांसदहरुले चिकित्सा क्षेत्रलाई बदनाम गर्नेगरी वक्तव्य दिएको र चिकित्सा क्षेत्रको ज्ञानबिनै प्रस्तावित मनमोहन मेडिकल कलेजको घटनालाई अतिरञ्जित गरेको भन्दै भ्रत्सर्ना गरेको हो।

बैठकले उक्त विषयमा संसदमा बोल्ने सांसदहरुलाई कारबाहीको माग गर्दै सभामुख ओनसरी घर्तीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको संघका महासचिव लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

'सम्माननीय सभामुखलाई चिकित्सा क्षेत्रको वास्तविक स्थितिबारे अवगत गराउँदै संसदमा अनावश्यक बोल्ने सांसदलाई कारबाहीका लागि ज्ञापनपत्र बुझाउने निर्णय गरियो,’ महासचिव कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘व्यावस्थापिका संसद चलिरहेको अवस्थामा केही सांसदबाट चिकित्सा क्षेत्रलाई बदनाम गर्नेगरी वक्तव्य दिने, चिकित्सा क्षेत्रको ज्ञान बिना नै घटनालाई अतिरञ्जित गर्ने कार्यको घोर निन्दा गर्दछ।’

स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा उपचारकै क्रममा भएका घटनाको उचित छानबिन र कारबाहीका लागि कानुनी प्रावधान रहेको अवस्थामा कानुनविपरीत विभिन्न गतिविधिमा संलग्नलाई छानबिन गरी कानुनी राज्यको अक्षरशः पालना गर्न बैठकले आह्वान गरेको छ। संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ एवं नियमावली, २०६९ अनुरूप छानबिन तथा कारबाही नगरिए संघ कडा कदम चाल्न वाध्य हुने चेतावनी दिएको छ।

यसैगरी, बैठकले मनमोहन अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रियाका क्रममा बिरामीको जीवनरक्षाका लागि चिकित्सा पद्दतिअनुरूप नै आफन्तको सहमतिमा मिर्गौला झिकिएको निष्कर्ष निकालेको छ। बैठकमा संघका पूर्वअध्यक्ष, पूर्वमहासचि, विभिन्न विशेषज्ञ समाजका अध्यक्ष, महासचिव, उपत्यकामा रहेका अस्पतालका निर्देशक, विभिन्न अस्पतालका अध्यक्ष, सञ्चालक समितिका प्रमुख एवं संघका वरिष्ठ सदस्यहरु सहभागी थिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live