डक्टर्स आर्टिकल

यी हुन् मिर्गौला फेलपछिका उपचार विधि

डा. नारायण भुषाल 

मानिसको शरीरमा सिमीको दाना आकारका दुईवटा मिर्गौला हुन्छन् । मिर्गौला पेटको पछिल्लो भागमा मेरुदण्डको दुवैतिर करङको तल्लो भागमा एक–एक वटा बसेका हुन्छन् । मिर्गौलाले रगत छान्ने र अनावश्यक दूषित पदार्थ शरीरबाट बाहिर निकाल्ने काम गर्छ।

मिर्गौलाको रगत छान्ने क्षमतामा ह्रास आएमा मिर्गौलाको रोग लागेको भनिन्छ । मिर्गौलासम्बन्धी रोगहरु मिर्गौलाघात अर्थात् ‘एक्युट किड्नी डिजिज’ (एकेआई) र दीर्घकालीन मिर्गौला रोग अर्थात् ‘क्रोनिक किड्नी डिजिज’ (सिकेडी) गरी दुई प्रकारका हुन्छन् । मिर्गौलाघात उपचारपछि निको पार्न सकिन्छ भने दीर्घकालीन मिर्गौला रोगका कारण मिर्गौला विफलसम्म हुन सक्छ । केही मिर्गौलाघातका रोग र मिर्गौला असफल भएमा बिरामीको रगत शुद्धीकरण गर्ने कृत्रिम विधिलाई ‘डायलाइसिस’ भनिन्छ । डायलाइसिस दुई प्रकारको हुन्छ । मिर्गौला फेल भएका बिरामीको प्रमुख उपचार भनेको प्रत्यारोपण नै हो । डायलाइसिस भने बिरामीको जीवन लम्ब्याउने विधि हो।

१. पेरिटोनियल डायलाइसिस

२. होमो–डायलाइसिस 

१. पेरिटोनियल डायलाइसिस

पेरिटोनियल डायलाइसिस (पिडी) गर्ने क्रममा बिरामीको पेटमा पाइप लगाएर स्लाइनपानी हालेर पखालिन्छ । बिरामीको पेटमा पाइप मार्फत एकातिरबाट पानी हालिन्छ, त्यसलाई एक–दुई घन्टा राखिन्छ अनि फोहोर र विकार सोसेको पानी पेटबाट निकालिन्छ । शरीरमा पानी हाल्ने र निकाल्ने नली जोडिएको हुन्छ । यो प्रविधि नेपालमा भर्खरै शुरु भएको छ । होमो–डायलाइसिसको तुलनामा यो प्रविधिको नतिजा राम्रो मानिन्छ । कतिपय विकसित देशमा ‘पिडी–फस्ट’ भन्ने अवधारणा कार्यान्वयनमा ल्याएका छन्।

बिरामीका लागि पेरिटोनियल डायलाइसिस सजिलो हुन्छ र यसका जटिलता पनि कम छन् । बिरामी आफैँ घरमा बसेर पनि पिडी गर्न सक्ने भएकाले अस्पताल धाइरहने झन्झट हुँदैन । तर, दिनको दुई–तीन पटक ५–७ लिटर पानी हाल्ने र निकाल्ने झन्झट भने व्यहोर्नुपर्छ । दिनभरि हिँड्ने, डुल्ने, काम गर्ने मानिसका लागि यो उपाय सहज हुन्छ।

पिडी गर्ने क्रममा विरामीले नियमित रुपमा डाक्टरलाई भेटेर स्वास्थ्यजाँच गर्न आवश्यक छ । पाइप लगाएको ठाउँमा इन्फेक्सन हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्छ । यो प्रविधिमा रगतको ‘हेमोग्लोविन ड्रप’ नहुने भएकाले बिरामीहरु ‘फ्रेस’ देखिन्छन् र थाकेको महसुस गर्दैनन् । नेपालमा यो प्रविधिको प्रयोग १० प्रतिशत भन्दा पनि कम छ।

माग र आपूर्तिको सन्तुलन मिलाउने हो भने नेपालमा पेरिटोनियल डायलाइसिसलाई प्राथमिकता दिनुपर्ने हुन्छ । डायलाइसिस गर्ने मेसिन भएको अस्पताल नजिकै बस्नुपर्ने झन्झट समेत हट्छ र बिरामी आफू अनुकूलको ठाँउमा बस्न सक्छन् । डायलाइसिसकै लागि बिरामीहरु बसाइँ सर्नुपर्ने वाध्यता हट्छ । अहिले सरकारले पेरिटोनियल डायलाइसिसका लागि आवश्यक पर्ने पानी समेत घरमै उपलब्ध गराइदिने घोषणा गरेको छ । जतिसुकै दुर्गममा पनि बिरामीले यसको सुविधा लिन सक्छन्।

२. हेमो–डायलाइसिस 

डायलाइसिस मेसिनको सहयोगमा मिर्गौला रोगीहरुको रगत शुद्धीकरण गर्ने प्रक्रिया होमो–डायलाइसिस हो । बिरामीको शरीरमा दुईथरि नसा जोडेर ‘फिस्टुला’ बनाइन्छ र सुइको माध्यमबाट रगत निकाल्न सजिलो पारिन्छ । शरीरबाट रगत निकालेर मेसिनमा पठाइन्छ, मेसिनले रगतको शुद्धीकरण गरेर फेरि शरीरमा फिर्ता पठाउँछ । प्रयोग गर्न सजिलो भएकाले प्रायः यही प्रविधि अपनाइएको देखिन्छ।

डायलाइसिसका क्रममा बिरामीहरु एक पटकमा २ देखि ४ घन्टासम्म बस्नुपर्ने हुन्छ । मिर्गौलाका बिरामीहरुले हप्ताको ३ पटकसम्म होमो–डायलाइसिस गर्नुपर्ने हुन सक्छ । विकसित मुलुकमा घरमै यस्तो संयन्त्र जडान गर्न सकिने भए पनि नेपालमा भने अस्पतालहरुमा मात्रै यस्तो सेवा उपलब्ध छ । पेरिटोनियल डायलाइसिसको तुलनामा यो विधिमा संक्रमणको जोखिम कम हुन्छ। 

प्रत्यारोपण 

एउटा व्यक्तिको दुवै मिर्गौला कामै नलाग्ने भएमा अर्को व्यक्तिको एउटा मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । डाक्टरहरुले शल्यक्रियाको माध्यमबाट एउटा व्यक्तिको मिर्गौला निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्छन् । परीक्षणका क्रममा मिर्गौला मेल खाने (क्रस म्याच) हुनुपर्छ । प्रत्यारोपणका लागि थप परीक्षणहरु पनि आवश्यक पर्छ । मिर्गौला करिब आधाभन्दा बढीमा सहजै ‘क्रस म्याच’ हुने गर्छ । 
रक्तचाप, मधुमेह, मिर्गौलाको अवस्था लगायतका आधारभूत र विशेष परीक्षण गरेपछि मात्रै मिर्गौला निकाल्न हुने÷नहुनेबारे विशेषज्ञ डाक्टरहरुले राय दिन्छन् । मिर्गौलाको ‘सिटी–स्क्यान’ गरेर हेरिन्छ । एउटा मिर्गौला मात्रै बाँकी रहँदा उसलाई भविष्यमा कुनै समस्या आउँदैन भन्ने निश्चित भएपछि मात्रै प्रत्यारोपण गर्नसक्ने निष्कर्ष निकालिन्छ।

मिर्गौला दिने व्यक्ति कम्तिमा पनि १८ वर्ष पुगेको हुनुपर्छ । सकेसम्म ६० वर्षभन्दा कम उमेरका व्यक्तिको मिर्गौला दिन उपयुक्त मानिन्छ । तर, व्यक्ति स्वस्थ छ भने ६५ वर्षको उमेरसम्म पनि फरक पर्दैन । कुनै पनि चिकित्सकको टोलीले हतारमा मनोमानी रुपमा बिरामीका आफन्तको मिर्गौला निकाल्ने निर्णय गर्दैनन् । सबै परीक्षण गर्नुपर्ने भएकाले नै यसलाई खर्चिलो भनिएको हो । यो कुरा काउन्सिलिङका क्रममा बिरामी र आफन्तलाई अनिवार्य रुपले सूचित गरिन्छ।

मिर्गौलाको प्रत्यारोपण बिरामीको उपचारको पहिलो चरण मात्रै हो । त्यसपछि नियमित रुपमा ‘फ्लो– अप’ र उपचारले मुख्य अर्थ राख्छ । प्रत्यारोपणपछि जीवनभर नियमित औषधि सेवन गर्नुपर्छ । औषधिको मात्रा धेरै भए इन्फेक्सन र कम भए रिजेक्सनको जोखिम हुन्छ । बिरामीहरुले पुरानो जीवनशैली पनि सुधार गर्नुपर्छ । सन्तुलित खानपानसँगै स्वस्थ जीवनशैली अपनाउनुपर्ने हुन्छ ।
प्रत्यारोपणपछि बिरामीहरु करिव दुई महिनापछि आफ्नो नियमित जीवनमा फर्किन सक्छन् । तर, यो कुरा बिरामीको अवस्थामा निर्भर रहन्छ । प्रत्यारोपणपछि पहिलो महिना हरेक साता, दोस्रो महिना दुई पटक, त्यसपछि महिनाको एक पटक गर्दै चेकअपका लागि तालिका मिलाइएको हुन्छ । सामान्य अवस्था देखिएमा हरेक ६–६ महिनामा परीक्षण गरे पुग्छ।

प्रत्यारोपणपछि बिरामी १५–२० वर्षसम्म स्वस्थ रहन सक्छन् । स्वास्थ्यको ख्याल गर्ने कोही मानिस त्योभन्दा बढी समय पनि स्वस्थ रहन्छन् भने कतिपयमा प्रत्यारोपणपछि २–३ महिनामै समस्या देखा पर्न थाल्छ । कतिपयको प्रत्यारोपण असफल भएमा, ‘रिजेक्सन’, ‘सर्जिकल कम्प्लिकेसन’ वा ‘इन्फेक्सन’ भएमा दोहोर्‍याएर प्रत्यारोपण गर्नुपर्छ। 

(-डा. भुषाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत छन्)


मिर्गौला प्रत्यारोपण र डायलाइसिसका यस्ता सकस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live