मुख्य समाचार

वीरमा क्यान्सर उपचारको अत्याधुनिक टोमोथेरापी रोक्न डाक्टर र व्यापारीको यस्तो खेल

img

डिबी खड्का

काठमाडौं– वीर अस्पतालमा क्यान्सर उपचारको अत्याधुनिक प्रविधि ‘टोमोथेरापी’ उपकरण ल्याउन नदिन व्यापारी र केही डाक्टरहरु चलखेलमा लागेको पाइएको छ। केही व्यापारीले उपकरण खरिद प्रक्रिया रद्द गर्न अख्तियारमा उजुरीसमेत दिएका छन्। केही व्यापारीले आफू टेन्डर प्रक्रियामा नपरेपछि यस वर्ष खरिद प्रक्रिया रद्द गर्ने मनसायले अख्तियारमा उजुरी दिएको स्रोतले जनाएको छ। निजी अस्पतालमा समेत कार्यरत वीर अस्पतालका केही क्यान्सर रोग विशेषज्ञहरुले नै व्यापारीलाई साथ दिएको बताइएको छ। 

वीरमा अत्याधुनिक टोमो उपकरण जडान भए निजी अस्पतालले सञ्चालन गरेका रेडियोथेरापी उपचार पद्दतिमा धक्का पुग्ने भएकाले ती डाक्टरहरु उपकरण खरिदको विपक्षमा देखिएको वीर अस्पताल स्रोतको भनाइ छ। 

वीरमा यसअघि रेडियो थेरापीका लागि कोवाल्ट उपकरण राखिएको थियो। सो उपकरणबाट बिरामीलाई रेडियोथेरापीका लागि वीर अस्पतालले पाँच हजार रुपैयाँमा सेवा दिएको थियो। तर, निजी अस्पतालहरुले त्यही सेवाका लागि ७५ हजारसम्म लिने गरेका छन्। वीरमा कोवाल्ट उपकरण बिग्रेर सेवा बन्द भएको दुई वर्ष पुगेको छ। जसका कारण बिरामीहरु निजीमा जान वाध्य छन् ।

यो अवधिमा नयाँ उपकरण खरिदतर्फ लाग्नुभन्दा पनि वीरबाट बिरामी निजीमा पठाउने खेल हुने गरेको अस्पताल स्रोत बताउँछ। वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेत भन्छन्, ‘जति चाँडो हामीले मेसिन ल्याउन सक्यौं, त्यति निजी अस्पतालमा महँगो सेवा लिन वाध्य र उपचार गर्ने पैसाको अभावमा छटपटाइरहेका बिरामीलाई राहत हुन्छ ।’

तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले आधुनिक पद्दतिको टोमोथेरापी खरिदका लागि बजेट दिएका थिए। निर्देशक डा. बस्नेत रेडियोथेरापी मेसिन किन्नै परे अत्याधुनिक किन्ने भनेर टोमोथेरापी रोजिएको बताउँछन्। 

अत्याधुनिक प्रविधियुक्त उक्त मेसिन विश्वमा एउटा मात्रै कम्पनीले बनाउने गरेको छ। जसका कारण टेन्डरमा सोही कम्पनी मात्र योग्य देखियो। एउटा कम्पनीको ‘लोकल एजेन्ट’ एउटा मात्रै हुने भएकाले यो खरिद प्रक्रियामा अन्य लोकल एजेन्टले विरोध गरेको देखिन्छ। 

टोमोबाट वीरले सेवा दिन थाल्ने बित्तिकै दिनमा ६० जनाले सेवा पाउनेछन्। त्यो पनि केहीलाई निःशुल्क र अन्यलाई न्यूनतम शुल्कमा। अस्पतालका निर्देशक डा. बस्नेतका अनुसार एकपल्ट टोमोथेरापीको शुल्क बढीमा १० हजार रुपैयाँ तोकिनेछ। नेपालका निजी सेवा प्रदायकले टोमोभन्दा एक स्तर कम मानिने लिनियाक रेडिएसन मेसिनबाट सेवा दिएको डेढ लाख रुपैयाँसम्म लिने गरेका छन्। टोमोबाट गुणस्तरीय सेवा सस्तोमा पाउने भएकाले क्यान्सरका बिरामी वीरमा केन्द्रित हुने देखिन्छ। जसले निजी अस्पतालको व्यापारमा ठूलो धक्का लाग्नेछ। 

स्रोतका अनुसार टोमोथेरापीले जस्तै सेवा दिने उपकरण अर्काे कम्पनीले पनि निर्माण गरिरहेको छ। आगामी वर्षभित्रै कम्पनीले उक्त उपकरण बजारमा ल्याउने तयारी गरेको छ। नयाँ कम्पनीसँग निकट रहेका नेपाली एजेन्टहरु टोमो खरिद प्रक्रिया रद्द गर्न चाहन्छन्। किनकि, टेन्डर प्रक्रिया रद्द गर्न सके अर्को वर्ष नयाँ कम्पनीलाई पनि टेन्डरमा सहभागी गराउने उनीहरुको योजना छ। 

के हो टोमोथेरापी?

सन् २००२ देखि प्रयोगमा आएको टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो। टोमोथेरापीमा विकीरण (रेडिएसन) का माध्यमबाट त्रीआयामिक रुपमा क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ। हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले रौं बराबर पनि फरक नपर्ने गरी ठ्याक्कै क्यान्सरग्रस्त कोषमा रेडिएसन दिनुका साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी त्यसै अनुरुप रेडिएसन सुनिश्चित गर्छ।

टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैैन। त्यसैले रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुने वीर अस्पतालका रेडिएसन अंकोलोजिस्ट डा. विवेक आचार्य बताउँछन्। डा. आचार्यका अनुसार सिटी स्क्यान जस्तै टोमोथेरापी उपकरण चौँडा, खुला र गोलाकार भएकाले बिरामीले सजिलोसँग सुतेर उपचार गर्न सक्छन्। 

टोमोथेरापीमा ३६० डिग्रीबाट बिरामीको शरीरमा जहाँसुकै पनि सहज उपचार गर्न सकिन्छ। टोमोले हजारौं ससाना रेडिएसन प्रयोग गर्ने हुँदा जति मात्रा आवश्यक छ त्यति मात्र र जस्तोसुकै कोणबाट पनि रेडिएसन दिएर उपचार गर्न सम्भव बनाउँछ। 

पछिल्लो प्रविधि भएकाले यसको मूल्य अन्य उपकरणभन्दा महँगो पर्ने डा. आचार्यले बताए। उनी भन्छन्, ‘उपचार प्रभावकारी हुने भएकाले मूल्यभन्दा पनि सेवामा जोड दिनुपर्छ।’ उपकरणलाई दिनमा ४–५ घन्टा मात्रै बन्द गर्दा पुग्ने भएकाले जनशक्तिलाई विभिन्न सिफ्टमा काम गर्न लगाएर धेरै भन्दै धेरैलाई सेवा दिन सकिने डा. आचार्य बताउँछन्। वीर अस्पताल जस्तो बिरामीको चाप हुने र गरिब बिरामी आउने ठाउँमा यो उपकरण रहँदा दिनमा ६० भन्दा बढीले निकै कम मूल्यमा सेवा पाउने उनको भनाइ छ।

सबै खालका क्यान्सरको विशिष्ट उपचार प्रविधि

टोमोथेरापीबाट रेडिएसन अंकोलोजिस्टहरूले धेरै प्रकारका क्यान्सर (सामान्य क्यान्सरदेखि जटिल क्यान्सरसम्म) को सहज र सफल उपचार गर्न सक्छन्। टोमोथेरापी निम्न क्यान्सरमा प्रयोग गर्न सकिन्छः

–    मस्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर,
–    टाउको, घाँटी र मुखको क्यान्सर,
–    ब्रेस्ट क्यान्सर (दुख्ने र सुन्निने ब्रेस्ट क्यान्सर समेत),
–    फोक्सोको क्यान्सर,
–    छालामा हुने क्यान्सरहरू,
–    प्रोस्टेट क्यान्सर (सुरु अवस्थादेखि पूर्ण विकसित अवस्थासम्म),
–    भोजन नली र पाचन प्रणालीका क्यान्सर,
–    सर्भाइकल, ओभ्यारियन, भेजिनल तथा भल्भ र गर्भासय क्यान्सर,
–    कोलोन, पेट, रेक्टल र एनल क्यान्सर,
–    कलेजो र फियो क्यान्सर,
–    शरीरका विभिन्न ठाउँमा भएका विस्तारित क्यान्सर,
–    प्रत्यारोपणअघि गरिने रगतसम्बन्धी रोगको उपचार (जस्तैः ल्युकेमिया)।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live