विचार/ब्लग

उपचारमा बायोमेडिकल उपकरणः जाने बरदान, नजाने अभिसाप

दिपक महत

सन् १८९५ मा रोएन्टेजनले ‘एक्स–रे’को आविस्कार गरे। यो सफलताबाट विश्वभरिका मानिसले प्रत्यक्ष फाइदा उठाइरहेका छन् र भविष्यमा पनि लाभान्वित हुनेछन्। बिरामीको उपचार सहज र सरल बनाउन अहिले पनि कैयौँ वैज्ञानिक प्रविधियुक्त ‘बायोमेडिकल’ उपकरणको खोज–अनुसन्धानमा तल्लीन छन्।

दिनानु–दिन चिकित्सा विज्ञानमा आधुनिक चिकित्सा प्रणालीले फड्को मारिरहेको छ। बितेका केही दशकमा उपचार पद्दतिहरु निकै जटिल थिए, तर आज विश्व फेरिएको छ र उपचार गर्ने तौरतरिकामा पनि सकारात्मक प्रभाव देखिन थालेको छ।

चिकित्सा विज्ञानमा बायोमेडिकल उपकरणको भूमिका विशेष रहन्छ। आज सेवामा अब्बल ठहरिएका अस्पताल तथा स्वास्थ्य संस्था यही विकसित बन्दै गएका नयाँ–नयाँ उपकरणका आविस्कारले सफल भएका हुन्। विश्वमा उपचारमा कहलिएका अस्पताल सफल हुनुमा बायोमेडिकल उपकरणको उचित प्रयोग र व्यवस्थापनलाई प्रमुख कारण मान्ने गरिन्छ।

सवल स्वास्थ्योपचारमा देशलाई उभ्याउन अहिले नेपालमा थुप्रै अस्पताल खुलिरहेका छन्। सरकारी र निजी अस्पताल बिरामीको उपचारमा जुटिरहेकै छन्। तर, समस्याका चाङ पनि उत्तिकै छन्। उपचारमा अगाँलिने सकारात्मक प्रयास मानवीय रुपमा मात्रै निष्फल छैनन्, उपकरणका कारण पनि धेरै प्रभावित हुन्छन्। आममानिस यसबारे जानकार बन्न सकिरहेका छैनन्। बिरामीकोे उपचारमा जसरी स्वास्थ्यकर्मी संग्लन हुन्छन् त्यसैगरी बायोमेडिकल उपकरणको पनि आफ्नै स्थान छ। हरेक रोगको निदान उपकरणबिना अपूर्ण बन्छ।

अहिले देशका दूरदराजमा पनि स्वास्थ्यको नयाँ अवधारणा फैलिँदो छ। धामीझाँक्रीको विश्वासमा मात्रै अडिने समाज अस्पताल पुग्नैपर्छ भन्ने चेतले सिञ्चित छ। यसलाई नेपाली समाजले परिर्वतनको लय समात्न थालेको बुझ्न सकिन्छ। आजभोलि मानिस अस्पतालसम्म पुग्न थालेका छन्। तर, अस्पतालमा भने आवश्यक र पर्याप्त उपकरण नहुँदा उपचार सोचेजस्तो हुन सकिरहेको छैन।

विश्वमा जति पनि आधुनिक उपकरणको प्रयोग गरिएको छ, त्यो प्रविधिमा नेपाल पनि सजिलै जोडिन थालेको छ। यो आममानिसका लागि खुसीको विषय हो। तर, देशमा उपकरण व्यवस्थापनको चुनौती पनि त्यत्तिकै छ। उपकरण चलाउन तथा मर्मत गर्न सक्ने दक्ष जनशक्तिको तारतम्य मिल्न सकिरहेको छैन।

लाखौँ–करोडौँ पर्ने बायोमेडिकल उपकरण सानो मर्मतको अभावमा त्यत्तिकै थन्किएका छन्। यसले देशको आर्थिक अवस्थामा समेत नराम्रो प्रभाव पारिरहेको छ। उपकरण मर्मतमा ठूलो चुनौती भनेको उपकरणका लागि आवश्यक पार्टपुर्जाको हो। पार्टपुर्जाको अभावले गर्दा नयाँ उपकरण खरिदतर्फ ध्यान जाने गरेको देखिन्छ, जसले गर्दा ठूलो धनराशि खर्च हुन्छ। मर्मत सम्भारकै अभावले उपकरणले दिनुपर्ने जति सेवा दिन सक्दैन। उदाहरणका लागि अझै पनि देशका कतिपय ठाउँमा एक्सरे मेसिनको फ्युज मात्रै जाँदा पनि नबनेर जनताले सास्ती खेप्नुपरिरहेको छ। यो दुःखको कुरा हो। यसबाट बिरामीले कति पीडा भोग्छन् त्यो कल्पना बाहिर हुन्छ।

रोगको निदानका लागि बायोमेडिकल परीक्षण अत्यावश्यक बनिसकेको छ। उपकरणबाट लिइएको नतिजाले मात्र बिरामीको अवस्थाबारे बोल्न सम्भव छ। नभए उपचारमै असहजता थपिन्छ, या भनौँ उपचार नै सम्भव हुँदैन। तर, उपकरणको अवस्था ठीक छैन भने त्यसले दिएको नतिजाले रोगको सही निदान र बिरामीको सही उपचार होला भन्न सकिँदैन। यसले बिरामीको जीवनमाथि नै प्रश्न चिन्ह खडा गरिदिन्छ।

अहिले एक्स–रे, अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआई, भेन्टिलेटर, एनेस्थिेसिया मेसिन, इलेक्ट्रो सर्जिकल युनिट, प्यासेन्ट मोनिटर, इसिजी मेसिन, अक्सिजन कन्सनटेटर, सक्सन, नेबुलाइजर, बिपी सेट, स्टेथस्कोप, दिसा–पिसाब–रगत जाँच गर्न ल्याबमा प्रयोग हुने विभिन्न एनालाइजर लगायतका बायोमेडिकल उपकरण बिरामीको उपचारमा प्रत्यक्ष प्रयोगमा छन्।

लामो समयसम्म वा वर्षौं प्रयोग भइसकेका उपकरणबाट सही नतिजाको अपेक्षा राख्नु गलत हुन्छ। कुन उपकरणले कति वर्ष राम्रोसँग काम गर्न सक्छ भन्नेबारे ज्ञान राख्नैपर्ने हुन्छ। उपकरण खरिद गर्दा उपकरणबारे जानकार व्यक्तिको संग्लनता रह्यो भने पहिल्यै धेरै कुराको समाधान निस्किन्छ। निम्नस्तरका उपकरणको सट्टा थोरै बढी लगानीमा गुणस्तरीय उपकरण भित्र्याउन सकियो भने त्यो लामो समयका लागि किफायती हुन्छ। गुणस्तरीय उपकरण र दक्ष जनशक्ति स्वास्थ्य सेवाका लागि बरदान साबित हुन्छ भने कमसल उपकरण र अदक्ष जनशक्ति अभिसाप।

(महत गुल्मी जिल्ला अस्पतालका बायो मेडिकल टेक्निसियन हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live