विचार/ब्लग

कमिसनका लागि औषधि भिडाउन कुन नैतिकताले दियो?

डा. सुमन कर्माचार्य

एक जना महिला औषधिको ठूलो झोला बोकेर आइन्, व्यथा सुनाउन। उनी झन्डै चार घन्टाको बाटो हिँडेर, तीन घन्टाको बस यात्रापछि आइपुगेकी थिइन्। उनले भनिन्, ‘गाउँको निजी क्लिनिकबाट पेट पोलेको औषधि मागेको झन्डै चार हजार दुई सय रुपैयाँ बराबरको औषधि दिए।’ औषधिको झोला खोतलेर हेरेँ, झन्डै दुई महिनाका लागि थियो त्यो औषधि। जसमा अनावश्यक महँगा एन्टिबायोटिक लगायत ६ थरिका औषधि थिए। महँगो आयुर्वेदिक औषधिको बोतल पनि थियो। सबै हेरेँ र छक्क परेँ। 

ती व्यापारी स्वास्थ्यकर्मीलाई यी गरिब महिलालाई घरको एउटा बाख्रा बेच्नुपर्ने गरी औषधि भिडाउन कुन नैतिकताले दियो होला? के उनको अज्ञानताको फाइदा उठाइएको होइन र? जहाँ कुनै जाँचपड्तालको सामाग्री छैन, यी औषधि किन प्रयोग गरिन्छ भन्ने ज्ञान छैन, कसरी कुन मानवीय संवेदनाले यस्ता काम गरिन्छन्? 

अर्की एक महिला आइन्। उस्तै एक झोला औषधि बोकेर। उनले पनि गाउँको औषधि पसललेसँग तीन महिनाको लागि तीन हजार पाँच सय रुपैयाँ तिरेको बताइन् र झोला देखाइन्। ती औषधिमध्ये एउटा औषधि विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा प्रयोग गरिनुपर्ने थियो। उनले आफ्ना व्यथा सुनाइन्, ‘शरीरका सबै जोर्नी दुखेको थियो। १४ दिन त्यो औषधि प्रयोग गर्दा पनि निको भएन।’ यहाँ गम्भीर प्रश्न छ, ‘विशेषज्ञले मात्र प्रेस्क्राइब गर्न सक्ने त्यस्ता औषधि गाउँमा कसरी पाइन्छन्?’

अर्को घटना पनि उस्तै गम्भीर छ, टाउको दुख्न थालेको एक वर्ष भएका एक पुरुषको। उनी गाउँको औषधि पसलमा गएका रहेछन्। एउटा एन्टिडिप्रेसन, एउटा माइर्गेन र एउटा एन्टिसाइकोटिक ट्याबलेट एकै पटक खानका लागि दिई पठाएका रहेछन्। हाम्रो स्वास्थ्य क्षेत्रमा यतिसम्म बेथिती मौलाइरहेको भन्नुपर्दा आफैँलाई लाज लागेको छ। यी पुरुषमा हुने औषधिको नकारात्मक प्रभावको जिम्मेवारी कसको हो? यो प्रश्नको जवाफ छैन।

तामाकोशी सहकारी अस्पतालमा विगत चार वर्षदेखि सुरु गरिएको माइक्रोबायोलोजी ल्याबले अधिकांश संक्रमण भएका बिरामीमा भरखर उत्पादित महँगो एन्टिबायोटिकबाहेक सबैजसो रेसिस्टेन्स भएको भेटियो। यो डरलाग्दो नतिजा हो। रामेछापजस्तो पहाडी जिल्लामा त यो अवस्था छ भने सहरहरुमा के होला? मानव स्वास्थ्य र पर्यावरणको हिसावले यो कति भयावह अवस्था हो, सहजै अनुमान गर्न सकिन्छ। 

यी सबै नतिजाको पछाडि धेरै कारण छन्। सर्वप्रथमतः अधिकांश स्वास्थ्यकर्मी आफ्नो पेशाप्रति इमान्दार र जिम्मेवार छैनन्। कतिपयले जानेको ज्ञान र सीपलाई सदुपयोगभन्दा कमाउ धन्दाका लागि हतियार बनाएका छन्। कसैले आफूले जानेको भन्दा बढी गर्ने कोसिस जारी राखेका छन्। हरेक पेशाका पेशाकर्मी आफैँ आफ्नो पेशा, नागरिक र समाजप्रति उत्तरदायी भएन भने संसारको कुनै पनि ताकतले यस्ता कर्मलाई रोक्न सक्दैन सायद।

औषधि बिक्रेताहरुलाई पनि सायद आफ्नो व्यापारको घाटा–नाफामा बढी सरोकार छ, प्रयोगकर्तालाई हुने हानी–नोक्सानी भन्दा पनि। तर, यो पेशा सेवा व्यवसाय हो भन्ने हेक्कासम्म रहेदेखि औषधिहरुको दुरुपयोग धेरै मात्रामा घट्नेथियो। 

अर्को समस्या छ, कमिसनको खेल। जति मात्रामा औषधि बिक्री गर्न सक्यो, डिलरले कम्पनीबाट नाफा उति धेरै पाउने। जति मात्रामा बढी औषधि चिकित्सकले लेख्न सक्यो, कमिसन उस्तै प्रसस्त आउने। जति मात्रामा बढी खुद्रा व्यापारीले औषधि कटाउन सक्यो, उसलाई बोनसको मात्रा उति नै बढ्छ। यसले औषधिको अधिकतम प्रयोगलाई बढावा दिन्छ। तर यी कमिसन, बोनस सबैको आर्थिक भारसँगै अनावश्यक औषधिको नकारात्मक असर चाहिँ उपभोक्ताको भागमा आउँछ। 

बिरामीको मनोविज्ञानले पनि स्वास्थ्य समस्या बढिरहेको छ। आफूले कुन औषधि खाइरहेको छु, कसलाई देखाएर मात्र औषधि प्रयोग गर्नुपर्छ जस्ता सवाल आजको समयमा पनि ख्याल नगर्ने बानीले स्वयं बिरामीलाई नै हानी पुर्याउनेगर्छ। कतिपय बिरामीलाई महँगो सुइ नलगाए, चिल्ला क्याप्सुल या ठूलो बोतलमा आकर्षक फोटो भएका झोल औषधि नखाए रोग निको हुँदैन भन्ने भ्रम हुन्छ। त्यसैले उनीहरुको मनोविज्ञानलाई ध्यानमा राखेर औषधि पसेलेले पनि अनावश्यक र महँगै औषधि भिडाइरहेका हुन्छन्। त्यसैले गाउँगाउँका जनतालाई औषधिको खराब असरबारे सुसूचित गराउनुपर्ने आवश्यकता देखिएको छ। 

यतिका बेथिति भइरहँदा पनि निगमन गर्ने निकाय भने कता सुस्ताएको छ थाहापत्तो छैन। नियम र कानुनका ठेलीहरु सिरानीमुनि राखेर निदाएका निकायहरु प्रसस्त छन्। दर्ता, नवीकरण र बेलाबेला हुने अनुगमनलाई केहीकेहीले कमाइखाने भाँडो बनाएका छन्।

फार्मेसी, क्लिनिक, पोलिल्किनिक, अस्पताल आदि स्वास्थ्य संस्थाहरुको दर्ता वा नवीकरण गर्ने बेलामा पैसामा बार्गेनिङ हुने गरेका उदाहरण हामीमाझ लुकेका छैनन्। नियमका चाङले मात्र गुणस्तर नबढ्ने रहेछ, नियम कार्यान्वयन गर्ने÷गराउनेको नियत पनि सफा हुनु जरुरी रहेछ। रहेक व्यक्तिलाई जुनसुकै हर्कत गरेर भए पनि पैसा कमाउनु परेको छ। हाम्रो समाजका अधिकतर सदस्यको विशेषता नै ‘एनी हाउ, पैसा कमाउ’ बन्न थालिसकेको भान हुन्छ। यो चक्रले अन्नतः मानिसको स्वास्थ्यजस्तो संवेदनशील विषयमा निरन्तर प्रहार गरिरहेको छ। गाउँगाउँका अज्ञान जनता मात्र होइन सहरका शिक्षित जनता पनि स्वास्थ्य उपचार र औषधिको अनावश्यक चक्करमा फस्न वाध्य छन्।

पैसा कमाउने नाममा औषधिको अनुचित प्रयोग हुन दिनु र बिरामीलाई अनावश्यक औषधि भिडाउनु अपराध होइन र? त्यसै अरुको स्वास्थ्यमाथि, जीवनमाथि खेलवाड गर्न पाइन्छ त? एकपटक स्वास्थ्यकर्मीले यो प्रश्नमा घोत्लिनै पर्छ। नभए बिनाबित्थाका औषधिका पोकासँगै रोगले थिलथिलो परेको शरीर घिसार्दैँ गाउँघरमा हाम्रा आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरु हिँडिरहेका हुनेछन्।

(लेखक मेडिकल डाक्टर तथा स्वास्थ्य सेवा व्यवस्थापन विशेषज्ञ हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने