फिचर

छिनेका हात–औँला जोड्नेदेखि बिग्रिएको अनुहार मर्मत गर्ने ‘ईश्वर’

img

डिबी खड्का

मानिसको बाहिरी अंग (नाक, कान, हात आदि) बारे टिप्पणी गर्दा ‘ईश्वरले यस्तै बनाइदिए’ भन्ने गरेको खुब सुन्ने गरिन्छ। यो कुरा अदृश्य ईश्वरको हो। तर कान नभएकाहरुको कान, औँला नभएकाहरुको औँला बनाइदिने र हात छिनेर दुई टुक्रा भएकाहरुको हात जोडिदिने एकजना ‘ईश्वर’ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भेट्न सक्नु हुन्छ। प्लास्टिक सर्जन डा. ईश्वर लोहनी। अस्पतालको प्लास्टिक सर्जरी विभागका प्रमुख उनी यो विधालाई नेपालमा स्थापित गर्न लागिपरेका डाक्टरमध्ये एक हुन्। शिक्षण अस्पतालको प्लाष्टिक सर्जरी विभागमा उनलाई डा. जयनमान श्रेष्ठ र डा. संगम रायमाझीले सघाइरहेका छन्।

चट्टै छिनेको हात जोडियो

सुरुवाति दिनमा प्लास्टिक सर्जरीको आफ्नो विधा र कामलाई स्थापित गर्न डा. लोहनीलाई हम्मेहम्मे परेको थियो। प्लाष्टिक सर्जरीमा एमसिएच गरेर आए पनि कतिपय अवस्थामा सहकर्मी र अग्रजले नबुझिदिँदा उनले स्वतन्त्र रुपमा दक्षता प्रस्तुत गर्न पाइरहेका थिएनन्। 

सन् २००२ को कुरा हो। एउटा आइतबारको दिन बिहान ९ बजेतिर एकजना बिरामी छिनेको हात झोलामा पोको पारेर शिक्षण अस्पताल महाराजगञ्जको इमर्जेन्सीमा पुगे। राजकुमार नामक ती व्यक्तिको  हात्तीगौँडामा कसैले तरबारले हानेर हात छिनालिदिएको थियो। 

ड्युटीमा रहेका डा. लोहनीले तुरुन्तै खबर पाए। उनलाई हात जोड्न सकिन्छ भन्ने आत्मविश्वास थियो, तर अस्पतालमा यसको तयारी थिएन। उनले आफूसँग घरमा भएका सामाग्री ल्याए। अनि आँखाको उपचारका लागि प्रयोग गरिने माइक्रोस्कोपको सहायताले हात जोड्न सर्जरी थाले। उनको प्रयास सफल भयो, घाइतेले छिनेको हात फेरि चल्नेगरी फिर्ता पाए।

त्यसपछि उनले अर्को छिनेको हात सर्जरी गरे। ती घाइते थिए, गुन्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन। उनी पनि छिनेको हात छुट्टै बोकेर अस्पताल आइपुगेका थिए। डा. लोहनीकै नेतृत्वमा चक्रे मिलनको हात पनि जोडियो। यसैगरी, दुवै हात छिनालिएका शमशेर कार्कीले पनि शल्यक्रियापछि दुवै हात चलाउन सक्ने गरी पाए। हालसम्म डा. लोहनीको समूहले करिब २० जनाको छिनेका हात जोडेर पठाएका छन्। 

खुट्टाको औँला हातमा

एकजना व्यक्तिको मेसिनमा दायाँ हात परेर कान्छी औँला बाहेक सबै औँला काटिए। घाइतेले तुरुन्तै काटिएका औँला साथै नल्याएकाले डाक्टरले जोड्न सकेनन्। तर, डा. लोहनीले ती औँलाले सहारा पाए समातेर गर्ने धेरै काममा सहजता आउला भन्ने महसुस गरे। उनले खुट्टाको औँला काटेर हातमा जोडिदिने प्रस्ताव बिरामीलाई सुनाए। 

चिकित्सा विज्ञानमा धेरै प्रगति भइरहेको सुने पनि नेपालमै यस्तो शल्यक्रिया हुन्छ भन्ने कुरा धेरैले पत्याउँदैनन्। त्यसैले खुट्टाको औँला हातमा जोड्ने किसिमका सर्जरीका लागि बिरामीबाट अनुमति पाउन डा. लोहनीको समूहलाई मुस्किल पर्ने गर्छ। तर, हातका औँला काटिएका ती बिरामीले भने डा. लोहनीको प्रस्ताव स्वीकार गरे। त्यसपछि उनले खुट्टाको एउटा औँला काटेर हातको बुढी भएठाउँमा जोडिदिए। कान्छी औँला र बुढी औँला भएपछि अचेल उनलाई काममा निकै सहज भएको छ। 
यसैगरी, दशैँमा मासु काट्दा बच्चाले हात अगाडि ल्याएपछि औँला छिनिएको केस पनि उनीकहाँ आइपुग्यो। छुट्टिएको औँलो पनि सँगै ल्याएर आएकाले ती बच्चाले औँला पुनः पाउन सके। यसरी औँला जोडेर पठाएका केस त औँलामा भाँचेर गन्न नसकिने जति गरिसके उनले।

कान बज्नबाट मुक्ति 

एकजना व्यक्तिले झन्डै ३५ वर्ष कान बजेर सास्ती खेपे। जन्मजात कान नजिकै रगतका नशा गुजुल्टो परेकाले उनको कानमा भित्रैबाट आवाज आइरहन्थ्यो। त्यो आवाज नशामा रगत जोडले बगेको बेला अनौठै सुनिन्थ्यो। ती मानिस जब डा. लोहनीकहाँ आइपुगे, त्यो समस्याको समाधान भयो। गुजुल्टो परेको रगतको नशा डा. लोहनी नेतृत्वकै समूहले शल्यक्रिया गरेर हटाइदियो। शल्यक्रियापछि ती मानिसको कान बज्न छोड्यो। यसैगरी, कतिपयको शरीरका अन्य भागमा पनि जन्मजात नशाहरु गुजुल्टिएका हुन्छन्। शिक्षण अस्पताल महाराजगञ्ज पुगेका धेरैले यो समस्याबाट मुक्ति पाएका छन्। 

कान बनाएर प्रत्यारोपण

केही मानिसको जन्मदैदेखि कान हुँदैन। त्यसमध्ये एउटा कान नहुनेको संख्या चाहिँ अलि बढी भेटिने गरेको डा. लोहनीको अनुभव छ। यसरी कान नहुँदा मानिसको अनुहारको आकृति नै अर्कै देखिन्छ। 

कान नहुनेलाई कान बनाइदिएर प्रत्यारोपणसमेत गरेका छन् डा. लोहनीले। शरीरमा यस्ता अंग निर्माणका लागि केही हड्डी ‘रिजर्भ’ हुने गरेको डा. लोहनी बताउँछन्। ‘करङमा कुरकुरे हड्डीको डल्लो नै हुन्छ। जसको आफैँमा कुनै काम हुँदैन तर यस्ता अंग निर्माणका लागि झिक्न मिल्छ,’ डा. लोहनी भन्छन्। उनले त्यही कुरकुर हाड निकालेर कानको आकारमा कुँदेर प्रत्यारोपण गरिदिएका छन्। 

अनुहारका ठूला चोट पुर्ने काम

जंगलमा भालुले चिथोरेर अनुहारमा ठूला–ठूला चोट लागेका बिरामीहरु शिक्षण अस्पताल महराजगञ्जमा आउने गरेका छन्। भालुले लुछ्दा अनुहारको चोक्टै उक्किएपछि अनुहारको रुप नै विरुप हुने गर्छ। कतिको नाकसमेत भालुले लुछिदिएको हुन्थ्यो। यस्ता धेरै बिरामीलाई हात वा शरीरका अन्य अंगबाट मासु झिकेर अनुहारमा टालो हालिदिएका छन् डा. लोहनीले। जसले गर्दा अनुहार केही सुन्दर र सहज देखिँदा बिरामी दंग पर्ने गर्छन्। 

मुखको क्यान्सर हुँदा पनि डाक्टरले त्यस वरपरको भाग काटेर फाल्छन्। यसरी ह्वाङ्गै बनेको अनुहार टाल्ने जिम्मा पनि प्लास्टिक सर्जनलाई नै दिइन्छ। क्यान्सरको शल्यक्रियापछि डरलाग्दो बनेको एक व्यक्तिको अनुहारमा पनि उनले शरीरका अन्य ठाउँबाट मासु लिएर टालिदिएका छन्। 

र, सबथोकका सर्जन!

प्लास्टिक सर्जरीमा भनाइ नै छ, ‘पैतालादेखि कपालसम्मको सर्जरी’। सर्जरीकै क्रममा बिग्रिएको अंगको मर्मत गर्ने काम यही विधाका डाक्टरको थाप्लोमा आउँछ। नशा, हाड, छाला, औँला, कान, खुट्टा आदि सबैको यस्तै प्रकारको सर्जरी गर्ने भएपछि कतिले डा. लोहनीलाई सोध्छन्, ‘सबै कुरामा कसरी पोख्त हुनु भयो?’

प्लास्टिक सर्जरीमा ‘हातको सफाइ’ भएर मात्रै पुग्दैन, सिर्जनशील दिमाग पनि जरुरी हुन्छ भन्छन् उनी। बाहिरी अंगका सबैथोकको सर्जरीको आधारभूत ज्ञान एउटै भए पनि त्यसलाई कसरी व्यवहारमा ल्याउने भन्ने कुराको निर्धारण सर्जनको सिर्जनशीलता भर पर्ने बताउँछन् डा. लोहनी।

डा. ईश्वर लोहनी (बिचमा)का साथ  डा. जयनमान श्रेष्ठ (बायाँ) र  डा. संगम रायमाझी (दायाँ)


 

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live