फिचर

प्लाष्टिक सर्जरीबारे भ्रम र सत्य 

img

प्रवीण ढकाल

काठमाडौं– ‘डाक्साप ! प्लाष्टिक सर्जरी गर्दा कस्तो प्लाष्टिक र कति प्लाष्टिक प्रयोग गर्नुपर्छ?’ त्रिवि शिक्षण अस्पतालका प्लाष्टिक सर्जन डा. ईश्वर लोहनीले चिकित्सकीय अभ्यासका क्रममा बिरामी र बिरामीका आफन्तबाट यस्ता जिज्ञासा निकै सुनेका छन्।

‘प्लाष्टिक सर्जरी’ नाम भएकाले यस्तो शल्यक्रियामा प्लाष्टिक नै प्रयोग हुन्छ कि भन्ने भ्रम अधिकांसमा छ । त्यसैले पटक–पटक यस्ता प्रश्न तेर्सिने गरेको डा. लोहनी बताउँछन्। उनका अनुसार कहिलेकाहिँ त स्वास्थ्यकर्मीले पनि प्लाष्टिक सर्जरीमा प्लाष्टिक नै प्रयोग हुन्छ कि भन्ने भ्रम पालेका हुन्छन्।  

उनी मात्र होइन त्रिवि शिक्षण अस्पतालमै कार्यरत अन्य दुई प्लाष्टिक सर्जन डा. जयनमान शाक्य र डा. संगम रायमाझीले पनि यी प्रश्नहरुको सामना धेरै धेरैपटक गरिसकेका छन्। 

बिरामी, बिरामीका आफन्त र स्वास्थ्यकर्मीका यी गलत बुझाइलाई यसरी प्रष्ट्याउँछन्, ‘वास्तवमा प्लाष्टिक सर्जरीमा प्लाष्टिकको प्रयोग हुँदैन। यसको नाम मात्र प्लाष्टिक सर्जरी हो। यो सर्जरीमा बिरामीको शरिरकै छाला तथा मासुलाई नै निकालेर बिग्रिएको, दाग बसेको वा समस्या भएको स्थानमा राख्ने काम गरिन्छ।’

डा. लोहनीका अनुसार प्लास्टिक सर्जरी भन्ने बित्तिकै शरिरका भागलाई प्लाष्टिकले नै छोप्ने वा प्लाष्टिकले नै सुन्दर र आकर्षक बनाउने होला भन्ने गलत सोचाई  छ धेरैमा। ‘चलचित्र तथा टेलिभिजनमा प्लाष्टिक सर्जरी गरेर अनुहार नै फेरेको देखाएका कारण आममानिसमा यस्तो भ्रम पर्न गएको हो,’ उनले भने, ‘वास्तवमा चलचित्रमा देखाए जस्तै पूरै अनुहार नै अर्कै बनाउने भन्ने होइन।’

के हो त प्लाष्टिक सर्जरी? 

डा. लोहनी भन्छन्, ‘शरिरका अन्य अंगको सर्जरी झैँ यो पनि एक किसिमको सर्जरी नै हो। तर, यस्तो सर्जरी केही विशेष हुन्छ । यसमा कुनै पनि मानिसको कुनै अंगमा दाग छ, अंगभंग भएको छ वा जन्मजात नै नराम्रो बनेको छ भने त्यसलाई पुनःनिर्माण गर्ने, राम्रो बनाउने र उक्त अंगको कार्यलाई सुचारु गर्ने काम हुन्छ । यसका लागि सोही व्यक्तिको शरिरका अन्य अंगका छाला तथा मासु ल्याएर समस्या भएको अंगमा ल्याएर राख्ने काम हुन्छ। तर, पछिल्लो समयमा छाला दान गर्ने क्रम पनि क्रमशः बढ्दै गएका कारण अन्य व्यक्तिको छाला ल्याएर पनि रिस्टोरेसन, रिकन्स्ट्रक्सन र रिसेप गर्ने काम हुन्छ।

उनका अनुसार प्लाष्टिक सर्जरी ग्रिक शब्द ‘प्लास्टिकोष’ बाट आएको हो। यसको अर्थ ‘मोल्डिङ’ हुन्छ अर्थात् प्लास्टिकजस्तै स्वरुप परिवर्तन गरेर विभिन्न आकार प्रकार दिन सकिने हुन्छ । जसरी प्लास्टिकलाई पगालेर त्यसलाई विभिन्न आकार र स्वरुपमा ढाल्न सकिन्छ, त्यसैगरी शरिरका छाला तथा मासुलाई पनि विभिन्न स्थानमा लगेर छालामा बसेको दाग, चोटपटक, हटाउन तथा स्वरुपमा परिवर्तन ल्याउन सकिने हुन्छ। शल्यक्रिया मार्फत यसरी चिरिएका ओठ जोड्ने, कोठी, दाग हटाउने तथा बांगिएको नाक, टाउको, अनुहार मिलाउने, कान नभएमा कान बनाउने, छाला प्रत्यारोपण गर्ने जस्ता काम गर्ने भएकाले यसलाई प्लाष्टिक सर्जरी भनिएको हो।

डा. जयनमानका अनुसार प्लाष्टिक सर्जरीलाई कस्मेटिक सर्जरीसँग बढी जोड्ने गरिएका कारण धेरै मानिसमा प्लाष्टिक सर्जरी भन्ने वित्तिकै सौन्दर्यसँग मात्र जोडिने विषय हो भन्ने छ। तर, यो सर्जरीमा आगोले जलेका बिरामीको जीवन बचाउनेदेखि लिएर कामै नलाग्ने अंगलाई पुनः चलाउनेजस्ता जटिल काम पनि हुने गर्छ।

‘जलेका बिरामीको जीवन बचाउनेदेखि छिनेका हात, औंला जोड्नेसम्मका काम प्लाष्टिक सर्जनले गर्छन्,’ उनले भने, ‘आगोले पोलेर घाँटी र छाती जोडिएको, हातहरु टाँसिएको, हड्डी नै निस्केर कुरुप भएको छ भने पनि मिलाउने काम हुन्छ।’ उनका अनुसार प्लाष्टिक सर्जनले छालाका क्यान्सर भएका बिरामीको काटेर फालिएको छालामा अरु छाला ल्याएर राख्नेसम्मको काम गर्ने गर्छन्। तर, स्तन बढाउन र घटाउने, अनुहारमा डिम्पल बनाउने, कपाल प्रत्यारोपण गर्ने जस्ता काम पनि प्लाष्टिक सर्जरी अन्तर्गत नै हुने भएकाले धेरैमा प्लाष्टिक सर्जरी भन्ने वित्तिकै कस्मेटिक सर्जरी हो भन्ने भ्रम पनि छ।

अर्का प्लाष्टिक सर्जन डा. संगम रायमाझीका अनुसार प्लाष्टिक सर्जरीभित्र टाउकोदेखि पैतालसम्मका सबै शल्यक्रिया पर्छन्। प्लाष्टिक सर्जरीलाई मुख्यतया दुई भागमा वर्गिकरण गरिएको छ। पहिलो रिकन्स्ट्रक्स र दोस्रो कस्मेटिक । तर, यी भित्र पनि विधागत रुपमा दुर्घटना तथा चोटपटक, जलेको, अंकोप्लाष्टिक, हात, माइक्रोसर्जरी, प्रत्यारोपण, ब्रसियल प्लेक्सस (हात र कुमको मसिना नसा), कस्मेटिक लगायत गरि वर्गिकरण गरिएको छ।

उनका अनुसार शिक्षण अस्पतालमा सबैभन्दा धेरै आगोले पोलेका र दुर्घटनाका कारण हातमा निम्तिएका समस्या (हात छिन्ने, औंला छिन्नेसम्मका) लिएर बिरामी आउने गर्छन्। त्यसपछि शरिरका डल्लाडुल्ली हटाउन, दाग हटाउने, पोलेको दाग मेटाउन, छालाका क्यान्सर, पुरुषको स्तन घटाउने र सौन्दर्यका लागि अन्य समस्याहरु लिएर बिरामी आउने गरेका छन्।

अस्पतालमा एक वर्षमा १६ सय ८५ बिरामी प्लाष्टिक सर्जरीका लागि ओपिडीमा आएका थिए।  तिमध्ये ३ सय ५० जनाको माइनर शल्यक्रिया, ५ सय ३९ जनाको मेजर शल्यक्रिया गरिएको थियो भने ४ सय १२ को इलेक्टीभ र १ सय २७ को आकस्मिक शल्यक्रिया गरिएको थियो।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने