विचार/ब्लग

‘लेबर रुम’को कथा 

सुविज्ञ पराजुली

स्थानः त्रिवि शिक्षण अस्पतालको प्रशूतिगृह।
समय बिहानीको ९ बजे।
चौथो वर्षको अन्तिम पोस्टिङका लागि हामी गाइनो वार्डमा खटिएका थियौँ। दिन सदाझैँ चलिरहेको थियो। विभिन्न उमेर समूहका ६ जना महिला लेबर रुमका बेडमा पल्टिरहेका। हामी उनीहरुलाई नर्सिङ स्टेसनको अगाडि रहेको सिसाबाट हेरिरहेका छौँ। हेर्दा लाग्छ ‘दे आर इन डिफरेन्ट स्टेज अफ लेबर’। लेबर अर्थात् प्रसव, प्रकृतिले महिलालाई सुम्पेको अद्भूत जिम्मेवारी।

यत्तिकैमा गाइनोकी कन्सल्ट्यान्ट म्याडम राउन्ड लिन आउनुभयो। हामीलाई देख्नेबित्तिकै उहाँले मलाई बोलाएर भन्नुभयो, ‘बेड नम्बर ...को बिरामीको हिस्ट्री लिइराख। आज त्यो केसमा डिस्कस गरौँला। म राउन्ड सकेएर आउँछु।’

हामी पाँचै जना म्याडमले भनेको बेडतर्फ लम्कन्छौँ। सुमनले भन्छिन्, ‘अस्ति मैले हिस्ट्री नलिएर म्याडम रिसाउनु भएको छ, म लिन्छु है आज?’ खासमा सुमन एमबिबिएसपछि गाइनेअब्समै विशेषज्ञता हासिल गर्न चाहन्छिन्। अघिल्लो पटक हजुरआमालाई जचाउनु परेकाले उनले हिस्ट्री लिन पाएकी थिइनन्। त्यसैले उनी आज जसरी पनि राम्रो हिस्ट्री लिएर म्याडमलाई ‘इम्प्रेस’ गर्न चाहन्छिन्।

सबैको मौन सहमतिपछि उनी बेडअगाडिको कुर्सीमा बसिन्। हामी सबैजना बेडको वरिपरि उभियौँ। अन्दाजी २०–२२ वर्षकी देखिने ती महिला बेडमा केही असजिलो गरी पल्टिएकी थिइन्। 
‘दिदी नमस्कार, म सुमन जोशी, यहाँ एमबिबिएस चौथो वर्षमा अध्ययनरत विध्यार्थी। हजुरको स्वास्थ्य सम्बन्धी कुराहरु बुझेर आऊ भनेर म्याडमले पठाउनुभएको, हजुरसँग कुरा गरौँ है?’ सुमन ‘कन्सेन्ट’ लिन्छिन्।

ती महिला एकछिन ट्वाल्ल परिन् र हुन्छ भनिन्। 

सुमनले बिस्तारै कुरा सुरु गरिन्। हामी सबै कुरा सुन्दै महत्वपूर्ण विवरणहरु नोट गर्न थाल्यौँ। सुमनले मलाई पिओजी अर्थात् गर्भावस्थाको अवधि निकाल्न आग्रह गरिन्। अर्काे साथीले बच्चा जन्मने अनुमानित मिती निकालिदियो। सुमनले क्रमशः फस्ट ट्राइमेस्टर, सेकेन्ड ट्राइमेस्टर र थर्ड ट्राइमेस्टरको हिस्ट्री लिँदै गई। बिरामी महिलाले घरिघरि कोल्टे फेर्दै कुरा गरिन्। कहिले–कहिले पीडाले होला, मन्द आवाजले ऐयाऽ ऐयाऽऽ गर्दै सुमनको प्रश्नको उत्तर दिन्थिन्। बीच–बीचमा सिस्टरहरु बच्चाको मुटुको चाल नाप्न पनि आउँथे। उनलाई बच्चाबारे आस्वस्त पारेर जान्थे।

हामीले हिस्ट्री लिइसक्दा लगभग एक घन्टा बितिसकेछ। ती दिदीको प्रसवको ‘कन्ट्याक्सन’ बढ्दै गयो। उनले भनिन्, ‘मलाई त दिशा आउलाजस्तो भयो।’ सुमनले आँकलन गरिहालिन्, सेकेन्ड स्टेज सुरु भयो।

रेजिडेन्ट डाक्टर लेबर रुमभित्र आउनुहुन्छ अनि भन्नुहुन्छ, ‘तपाईंको बच्चा तल आउँदैछ, त्यसैले तपाईंलाई दिशा आएजस्तो महसुस भएको हो। अब तागत लगाएर टाउको उठाएर सकुन्जेल कन्ने है त।’

उनी डाक्टरले भनेझैँ गर्छिन्। बल आएजस्तो भएपछि सकेको जति कन्छिन्। डाक्टर एउटा हात पेटमाथि राखेर कन्ट्याक्सनको समय हेर्दै भन्नुहुन्छ, ‘तपाईंले राम्रै गर्दै हुनुहुन्छ, तर पनि बल अझै पुगेको छैन । यस्तो हुँदा तपाईं आफैं थाक्नुहुन्छ र फेरि अरु समस्याहरु पनि आउन सक्छ।’

हामी सबैजना वरिपरि बसेर हेर्दै थियौँ। सुमन ती महिलालाई बल लगाउन ढाडस दिँदै थिइन्। उनी हरेक पल्ट बल लगाउँदै थिइन् तर धेरै बेरसम्म कनिरहन सक्दिनथिन्। डाक्टर, सिस्टर र बाँकी हामी सबै विद्यर्थी उनलाई सहानुभूति दिँदै उनको मनोबल कायम राख्न प्रयासरत थियौँ। 

बल्ल विस्तारै बच्चाको टाउको देखियो। अनि उनलाई डेलिभरी रुममा सारियो। उनी बल लगाउँदै थिइन्। हामी सबै उनलाई सान्त्वना दिँदै थियौँ। तर, उनको प्रोग्रेस सोचे अनुरुप भइरहेको थिएन। इपिजियोटोमी (बर्थ क्यानल ठूलो बनाउन दिइने इन्सेक्जन) पनि दिइसकेको थियो। तर पनि बच्चा निस्किन सकिरहेको थिएन। सुमन एकटकले सबै कुरा नियालिरहेकी थिइन्। सायद मनमनै कामना पनि गर्दै थिइन्, ‘बच्चा सकुशल र चाँडै जन्मियोस् अनि ती छट्पटाइरहेकी आमालाई सजिलो होस्। 

‘ओहो! समय घर्किंदैछ, अब त भ्याकुम लगाउनुपर्छ  जस्तो छ,’ त्यो तनावको क्षणमा समेत ‘कुल’ भएर सिचुएसन ह्यान्डल गरिरहेका डाक्टरले भन्नुभयो, ‘कन्सलट्यान्ट म्याडमलाई पनि खबर गर। बिरामीको भिजिटरसँग पनि कन्सेन्ट लिनुपर्याे।’

म्याडम पनि नर्सिङ स्टेसन अगाडिबाट सिधै डेलिभरी रुम छिर्नुभयो। डाक्टरले ‘एटेन्डिङ डक्टर सर्ट’ र ‘रेलिभेन्ट हिस्ट्री’सहित भ्याकुम लगाउनुपर्ने निर्णय सुनाउनुभयो। म्याडमले ‘ओके’ भनिदिनु भयो। सिस्टरले भिजिटरको कन्सेन्ट भयो भन्ने खबर आउने बित्तिकै भ्याकुम ‘अन’ भयो। अहिलेसम्म किताबमा मात्रै पढेका हामीले कल्पना गरेको भ्याकुम ‘थ्रि इडियट्स’ भन्ने भारतीय चलचित्रमा देखाएको जस्तो थिएन। 

भ्याकुमले मद्दत गरेपछि अन्ततोगत्वा बच्चा जन्मियो र संसारको रित बमोजिम नै ‘च्याँ’ गरेर निस्कन्यो। उसको टाउको माथि बेरिएको साल काटेपछि बच्चा पेडियाट्रिक्सको रेजिडेन्ट डाक्टरको जिम्ममा दिइयो। निकैबेरदेखि एकटकले हेरिरहेका सुमन लगायत हामीले लामो सास लियौँ। ती महिलाको डेलिभरी सक्सेस भएकोमा ताली बजाएर सम्मान गर्यौँ।
(पराजुली एमबिबिएस अध्ययनरत छन्)
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने