समाचार

राप्ती उपक्षेत्रीय अस्पतालको भवन निर्माण र डाइलाइसिस सेवा शुभारम्भ 

सुदर्शन रिजाल 


दाङ – राप्ती उपक्षेत्रीय अस्पतालले थप ५० सैयाको भवन निर्माण र मिर्गाैला  डाइलाइसिस सेवाको सुरुवात गरेको छ । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र स्वास्थ्य सचिव डा. किरण रेग्मीले शनिवार उक्त अस्पतालको बहुउद्देस्यीय भवनको शिलान्यास र मिर्गौला डाइलाइसिस सेवाको शुभारम्भ गरेका हुन्।  

दुई महिनाअघि सुरु भएको डाइलाइसिस सेवाको शनिवार औपचारिक उद्घाटन गरिएको हो । सेन्टरबाट दैनिक ६ जना मिर्गौलाका बिरामीले नियमित डाइलाइसिस सेवा पाइरहेका छन्। 

दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उद्घाटन भएको थप ५० सैयाको बहुउद्देश्यीय भवनले अस्पताललाई स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न तथा सेवामा गुणस्तर बृद्वि गर्न सहयोग पुग्ने अपेक्षा अस्पतालले गरेको छ । उक्त भवनको लागत १६ करोड  रुपैयाँ भन्दा बढी रहेको बताइएको छ । २०१६ सालमा महेन्द्र हेल्थ सेन्टरका नामबाट सेवा सुरु गरेको अस्पताल अहिले एक सय सैयाको पुगेको छ । 

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महराले स्वास्थ्य सेवालाई गुणस्तरीय र सुलभ बनाउने कार्यमा सरकार लागेको बताए । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जनर्दन पन्थीले अस्पतालले प्रदान गरेका सेवा तथा अस्पतालका लागि चाहिने थप न्युनतम उपकरण तथा पूर्वाधार सेवा बारे जानकारी दिएका थिए । कार्यक्रम पछि परराष्ट्र मन्त्री महरा तथा स्वास्थ्य सचिव डा किरण रेग्मीले मिर्गौलाका बिरामीका गुनासा सुन्नुको साथै अस्पतालको अवलोकन गरेका थिए ।  
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live