विचार/ब्लग

क्यान्सर, मुटुरोग, मधुमेहजस्ता कडा रोग रोक्न यस्ता ४ बानी सुधारौँ

डा. रमेश केसी

केही दशक अघिसम्म हैँजा, पखाला, औलो ज्वरो, क्षयरोगजस्ता सरुवा रोग नेपालीको मृत्युको मुख्य कारण थियो। चिकित्सा सेवा, पोषण, सरसफाइसँगै स्वास्थ्य चेतनामा आएको परिवर्तनले सरुवा रोगहरु नियन्त्रण भए। तर, सँगसँगै अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोगको महामारी सुरु हुँदै गयो। 

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१६ मा विश्वमा भएको पाँच करोड ६० लाख मृत्युमध्ये चार करोडको मृत्यु नसर्ने रोगबाट भयो। नेपालमा पनि दुई तिहाई मानिसको मृत्यु नसर्ने रोगबाटै हुन्छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार स्वास्थ्य संस्थामा बहिरङसेवा लिनेमध्ये ८० प्रतिशत र अन्तरङ सेवा लिनेमध्ये ८८ प्रतिशत बिरामी नसर्ने रोगका छन्। 

ती नसर्ने रोगमा पनि एक तिहाइ उच्च रक्तचाप, ४३ प्रतिशत दीर्घदम (सिओपिडी),४० प्रतिशत मुटुरोग, १२ प्रतिशत मधुमेह र ५ प्रतिशत क्यान्सरको हिस्सा छ। ‘नन कम्युनिकेवल डिजिज रिक्स फ्याक्टर स्टेप सर्भे २०१३’ को रिपोर्ट अनुसार २५ दशमलब ७ प्रतिशत नेपालीमा उच्च रक्तचाप, २१ दशमलब ७ प्रतिशतमा मोटोपना, ३ दशमलब ६ प्रतिशतमा मधुमेह, २२ दशमलब ७ प्रतिशतमा उच्च कोलेस्टेरोल छ। 

नेपाल डायबेटिक एसोसिएसनका अनुसार २० वर्ष माथिका १४ दशमलब ६ प्रतिशत सहरी मानिस र २ दशमलब ५ प्रतिशत ग्रामीण मानिसमा मधुमेह छ। त्यस्तै, नेपाल डिमोग्राफिक हेल्थ सर्भे २०१६ को रिपोर्ट अनुसार १५ वर्षमाथिका १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगका मुख्य चार बानी–व्यवहारजन्य कारण छन्। तिनमा सुधार ल्याउन सके नसर्ने रोगबाट छुटकारा पाउन सकिन्छ।

१.चुरोट एवं सुर्तीजन्य पदार्थको सेवनः एक तथ्यांक अनुसार नेपालमा १८ दशमलब ५ प्रतिशत मानिसले धूमपान गर्छन्। अझै धूमपान गर्ने महिलाको मात्र तथ्यांक हेर्ने हो भने नेपाल विश्वमै अग्रणी स्थानमा पर्छ। सुर्तीमा टार, निकोटिन, कार्वनमोनोअक्साइडजस्ता सयभन्दा बढी हानीकारक रसायन पाइन्छ, जसमा ७० भन्दा बढीले क्यान्सर गराउँछन्।

धूमपान सेवनले मुख र फोक्सोको क्यान्सर, मुटुरोग, स्ट्रोक, दम आदि निम्त्याउँछ। धूमपान त्यागेमा यसको असरबाट बढेको रक्तचाप २० मिनेटमा घट्छ, तीन महिनामा रक्तसञ्चारमा सुधार आउछ र फोक्सोको कार्यक्षमता ३० प्रशितलले बढ्छ। यसैगरी, एक वर्षमा हृदयघात हुने सम्भावना आधा घटेर जान्छ भने पाँच वर्षमा स्ट्रोक हुने सम्भावना धूमपान नगर्नेको बराबर अवस्थामा पुग्छ।

२.रक्सीको अत्यधिक सेवनः नेपालमा १७ दशमलब ४ प्रतिशत मानिसले रक्सी सेवन गर्छन्। रक्सीको नियमित वा अत्यधिक सेवनले कलेजोको रोग, उच्च रक्तचाप, मोटोपना, मानसिक रोग आदि हुन सक्छ। थोरै मात्रामा (४० एमएल) रेड वाइन सेवन गर्दा मुटुजन्य रोग कम हुन्छ भन्ने मान्यता छ तर यसमा सर्वस्वीकार्यता पाइँदैन। ४ स्ट्यान्डर्ड ड्रिक्स (एक स्ट्यान्डर्ड ड्रिङ्क्स बराबर– वियर २५० एमएल, वाइन एक सय एमएल, घरेलु मदिरा ४५ एमएल र ह्विस्की ३० एमएल) दैनिक लिएमा कलेजोमा गम्भीर क्षति पुग्छ।

हेल्थ डिपार्टमेन्ट बेलायतले पुरुषका लागि प्रतिहप्ता २१ युनिट (स्ट्यान्डर्ड ड्रिङ्क्स) र महिलाका लागि १४ युनिटलाई (कम्तिमा दुई–तीन दिन रक्सीरहित हुनुपर्ने) कम घातक मात्रा भनी उल्लेख गरेको छ। संसारभरि नै सेवन गर्ने रक्सीको मात्रा र यसका गुण–दोषबारे आ–आफ्ना धारणा रहे पनि रक्सी सेवन स्वास्थ्यका लागि हानिकारक छ। अतः मद्यपान नगर्नु नै बुद्धिमानी हो।

३.अस्वस्थकर खानाः हामीले खाने खाना उत्पादन, मात्रा, प्रयोग विधि हरेक हिसावले अस्वस्थकर छ। विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक आठ सर्भिङ पानी (एक सर्भिङ बराबर– एक गिलास); ६ सर्भिङ खाना वा रोटी (एक सर्भिङ बराबर– आधा कप भात वा एक कप आँटाको रोटी); दुई सर्भिङ फलफूल –एक सर्भिङ बराबर– एउटा केरा÷स्याउ आदि); तीन सर्भिङ हरियो सागपात; दुई सर्भिङ प्रोटिनयुक्त खानेकुरा (माछा, मासु, गेडागुडी); दुई सर्भिङ दूधजन्य परिकार (एक सर्भिङ बराबर– एक गिलास दूध÷ दही) सेवन गर्नुपर्छ। 

एक अध्ययन अनुसार अमेरिकामा २० प्रतिशत मानिसले मात्र दैनिक आठ सर्भिङ पानि पिउँछन् भने हामीमा यसको तथ्यांक झनै कम हुन सक्छ। प्रतिघन्टा एक–एक गिलास पानी पिइयो भने शरीरको आवश्यकता पूरा हुन्छ। नेपालमा सन् २०१३ को तथ्यांक अनुसार फलफूल ० दशमलब ४ सर्भिङ र हरिया सागपात १ दशमलब ५ सर्भिङ प्रयोग गरिन्छ। १ प्रतिशत मानिसले मात्र तोकिएको मापदण्ड अनुसारको फलफूल एवं सागपात सेवन गर्छन्।

अतः फलफूल र हरिया सागपातको सेवन गुणात्मक रुपमा बढाउन जरुरी छ। फलफूल र हरिया सागपात भिटामिन, मिनरल्स एवं फाइटोकेमिकल्सका स्रोत हुन् जसले शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्छ। 

साथै यी क्षारीय गुणयुक्त भोजन हुन्। हाम्रो शरीरको संरचनामा ८० प्रतिशत क्षार र २० प्रतिशत अम्ल हुन्छ। स्वस्थ रहन यो सन्तुलन कायम राख्न जरुरी हुन्छ। तर, हामीले सेवन गर्ने अधिकांश भोजन अम्लीय छन्। जसले यो सन्तुलन बिगार्छ र रोगको जग तयार गर्छ। खानामा २०–४० प्रतिशत भात वा रोटी र ६०–८० प्रतिशत तरकारी/सलाद हुनुपर्छ। 

त्यस्तै, हामी खानामा नुनको प्रयोग बढी गर्छौं। शरीरलाई पाँच–सात ग्राम नुन प्रतिदिन आवश्यक पर्छ तर हामी ९–११ ग्राम नुन प्रयोग गरिरहेका छौँ। हामीले सोझै प्रयोग गर्ने नुनबाहेक मासु, फलफूल, सागपातमा पनि नुनको मात्रा हुन्छ। त्यस्तै तयारी अचार, बिस्कुट, आलुचिप्स, फास्ट फुड आदिमा नुनको मात्रा बढी हुन्छ। त्यसैले नुनको मात्रा घटाउनुपर्छ।

खानामा नुन थपेर खाने बानी छ भने हटाउनुपर्छ। नुन कम गर्दा २– ८ एमएमएचजी प्रेसर कम हुन्छ भने समग्र खानपिन व्यवस्थित गर्दा ८–१४ एमएमएचजी प्रेसर कम हुन्छ। चिल्लो पदार्थ (घ्यु, तेल) पनि हाम्रो खानामा बढी प्रयोग हुँदैन। स्वास्थ्यका हिसावले जनावरजन्य चिल्लोभन्दा वनस्पतिजन्य चिल्लो उपयुक्त छ।

खानपिनमा बेवास्ता गर्दा र पोषिलो सन्तुलित भोजन नगर्दा त्यसको प्रत्यक्ष असर स्वास्थ्यमा पर्न आउँछ र त्यसैले नसर्ने रोगहरुलाई फैलिने मौका दिन्छ।

४.शारीरिक निश्क्रियताः विकाश सँगै नेपालमा सहरी जनसंख्या बढिरहेको छ। शारीरिक श्रम कम हुँदैछ। विश्व स्वास्थ्य सगंठनका अनुसार स्वस्थ रहन हप्तामा एक सय ५० मिनेट व्यायाम गर्नुपर्छ। व्यायाम सामान्य (दैनिक क्रियाकलाप गर्दा हुने), मध्यम (व्यायाम गर्दा स्याँ–स्याँ हुने) र कडा (व्यायाम गर्दा बोल्न गाह्रो हुने) गरी तीन प्रकारमा विभाजन गरिएको छ।

स्वस्थ रहन दैनिक ३० मिनेट मध्यम र १५ मिनेट कडा व्यायाम गर्नुपर्छ। नियमित व्यायाम गर्नाले मुटु एवं रक्तनलीको रोग लाग्ने सम्भावना ३५ प्रतिशतले, मधुमेह ४० प्रतिशतले र क्यान्सर २०–३० प्रतिशतले कम हन्छ। त्यस्तै, दुई–आठ एमएमएचजी प्रेसर पनि कम हुन्छ। व्यायामअन्तर्गत मनिर्ङ वाक, स्विमिङ, स्किपिङ, योग, प्राणायाम आदि पर्छन्। मर्निङ वाक गर्दा हिँडाइको गति सामान्यभन्दा ३०–४० प्रतिशत छिटो हुनुपर्छ वा आर्मीहरु दौडिएझैँ दौडिन सकिन्छ (न त छिटो न त ढिलो)।

तनाव व्यवस्थापन पनि जीवनशैली व्यवस्थापनको अर्को महत्वपूर्ण पाटो हो। ८० प्रतिशत रोग (विषेशतः साइकोसोमाटिक डिजिज) को कारण तनाव हो भन्ने गरिन्छ। तनावको कारण पत्ता लगाउनु नै पहिलो उपचार हो। हुन त तनाव आजको प्रतिस्पर्धी जमानामा व्यक्तिगत, पारिवारिक, अफिसियल, सामाजिक जीवनसँगै जोडिएर आउने पाहुना हो। ध्यान, योग, प्राणायाम, साइकोकाउन्सेलिङ, मनोरञ्जन, भ्रमण आदिबाट तनावको व्यवस्थापन गर्न सकिन्छ।

नेपालमा मात्र होइन विश्वव्यापी समस्याका रुपमा नसर्ने रोग देखा परेको छ। स्वस्थ नागरिक नै देशका अमूल्य सम्पत्ति हुन्। नसर्ने रोगका ८० प्रतिशत सम्भावनालाई जीवनशैली व्यवस्थापनबाट रोक्न सकिन्छ। अव्यवस्थित जीवनशैलीजन्य रोगलाई उचित आहार, बिहार, विचार र व्यवहारका माध्यमबाट व्यवस्थापन गर्न/गराउन जरुरी छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम विकल्प हो। त्यसैले नसर्ने रोगहरु न्यून गरेमा व्यक्ति तथा देशको उत्पादनशीलता बढ्नेछ।

(डा. केसी  बुटवल उप–महानगरपालिका स्वास्थ्य संयोजक हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live