मुख्य समाचार

टिचिङमा हेलिप्याडसहितको १० तले भवन बन्ने, ६ महिनापछि कलेजो प्रत्यारोपण

स्वास्थ्य खबरपत्रिका

फाइल तस्बिर


काठमाडौं- महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा हेलिप्याडसहितको १० तले अत्याधुनिक भवन बन्ने भएको छ। अस्पतालको ३५औं वार्षिकोत्सवका आवसरमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. दिपकप्रकाश महराले भवन निर्माणको काम भाटभटेनी डिपार्टमेन्ट स्टोरले गर्ने बताए।

‘भाटभटेनी सुपरमार्केटले अस्पतालको मुलगेटसँगै अत्याधुनिक भवन निर्माण गरिदिने भएको छ,’ उनले भने, ‘१० तलाको उक्त भवनमा हेलिप्याडसहित उपचारका लागि अत्याधुनिक सुविधा हुनेछ।’ उनका अनुसार नयाँ भवनमा अत्याधुनिक उपकरणसहितको आधुनिक शल्यकक्ष लगायतका सेवा राखिनेछ।

अस्पताललाई आगामी मङ्सिरसम्ममा जापान सरकारले करिब ७० करोड रुपैयाँ बराबरको अत्याधुनिक उपकरण पनि उपलब्ध गराउने भएको अस्पतालले जनाएको छ। कार्यक्रममा निर्देशक महराले अस्पतालले अबको ६ महिनापछि कलेजो प्रत्यारोपण सेवा सुरु गर्नेगरी तयारी गरिरहेको जानकारी दिए। यसका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्याकममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गुणस्तरीय उपचारको क्षेत्रमा अस्पतालले अतुलनीय योगदान पुर्‍याएको बताए। ‘नेपालमै दक्ष र गुणस्तरीय चिकित्सक र स्वास्थ्य जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने आइओएमले प्रमाणित गरेको छ,’ मन्त्री कार्कीले भने, ‘आइओएमसँगै अस्पतालको सुधार र विस्तारका लागि नेपाल सरकार थप सहयोग गर्न सदैव तत्पर छ।’

२०४० सालमा जापान सरकारको सहयोगमा अस्पताल सञ्चालनमा आएको हो। तीन सय एक शैय्याबाट सुरु भएको शिक्षण अस्पताल विस्तार हुँदै अहिले ७ सय शैय्याको भएको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live