मुख्य समाचार

कर छुट गराउन मिलेमतोः यी ८ अस्पताल र मेडिकल कलेजले पाए १८ करोड छुट

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– कर फर्स्यौट आयोगबाट स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने आधा दर्जन कम्पनीले कर मिनाहा गराएको भेटिएको छ। २०७१ सालमा गठन भएको आयोगले यस्तो छुट दिएको हो। खोज पत्रकारिता केन्द्रको तथ्यांक अनुसार अस्पताल, ल्याब र मेडिकल कलेजहरुले यस्तो छुट पाएका हुन्। 

यी कलेजहरुले विभिन्न शीर्षकमा कर तिर्नुपर्ने थियो। तर, मिलेमतो र कमिसनको खेलमा ती संस्थाले कर छुट मिलाएका हुन्। कर छुट माग्ने र पाउने कम्पनीहरु निम्न अनुसार छन्ः 

लाइफ केयर प्रिन्स डाइग्नोस्टिकले ३ करोड ३९ लाख रुपैँया कर तिर्नुपर्नेमा २५ लाख रुपैँया मात्रै तिरेको छ। उसले ३ करोड १४ लाख छुट पाएको हो। 

जावलाखेलको अल्का अस्पतालले २ करोड २३ लाख रुपैँया कर तिर्नुपर्नेमा केवल २० लाख रुपैँया मात्रै तिरेको छ। उसले दुई करोड ३ लाख छुट पायो। 

वीरगञ्जको नेसनल मेडिकल कलेजले १ करोड १ लाख कर तिर्नुपर्ने अवस्थामा १४ लाख मात्रै तिर्यो। उसले ८७ लाख रुपैँया छुट पाएको छ। 

नयाँ बानेश्वरस्थित माउन्ट एभरेस्ट अस्पतालले १ करोड ५४ लाख रुपैँया कर तिर्नुपर्नेमा ३१ लाख मात्र तिर्यो। बाँकी १ करोड १४ लाख छुट पायो। 

युनिभर्सल इस्टिच्युट अफ एडभान्स स्टडिजले ७ करोड ११ लाख रुपैँया तिर्नुपर्नेमा एक करोड ८६ लाख रुपैँयामात्रै तिरेको छ। उसले ५ करोड २५ लाख रुपैँया छुट पाएको छ। गुगलमा सर्च गर्दा यो संस्थाले भैरहवाको युनिभर्सल मेडिकल कलेज सञ्चालन गरेको भेटिन्छ। 

कान्तिपुर डाइग्नोस्टिक सेन्टरले १ करोड २७ लाख रुपैँया तिर्नुपर्नेमा ३५ लाख मात्रै तिरेको छ। कान्तिपुर डाइग्नोस्टिकलाई ९२ लाख ८९ हजार छुट दिइएको छ। 

यसैगरी, इन्टरनेसनल सोसाइटी फर मेडिकल एजुकेसनले २ करोड ७७ लाख तिर्नुपर्नेमा १ करोड ३५ लाख तिरेर १ करोड ४१ लाख रुपैँया छुट लियो। 

नेम मेडिकल एजुकेसनले तिर्नुपर्ने ३ करोड ७३ लाखमा ९० लाख रुपैँया मात्र बुझायो। उसले २ करोड ८३ लाख रुपैँया छुट पाएको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live