विचार/ब्लग

मिर्गौला प्रत्यारोपणपछि स्वस्थ रहन यस्तो छ मेरो जीवनशैली : राजु कटुवाल

स्वास्थ्य खबरपत्रिका

मिर्गौला प्रत्यारोपण गरेपछि धेरै कुरामा ख्याल गर्नुपर्छ । प्रत्यारोपणपछिको जीवन हाम्रो नयाँ जीवन हो । हामीले लामो समयसम्म औषधि खानुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा खानपान, सरसफाइ र नियमित औषधि सेवन नै हो । हामीले खाने औषधिका कारण हाम्रो रोग प्रतिरोधात्मक क्षमता घटेको हुन्छ । त्यसकारण हामीले अरु रोग नलागोस् भनेर उमालेको शुद्ध पानी पिउने, सन्तुलित भोजन गर्ने, व्यक्तिगत र वरिपरिको सरसफाइमा ध्यान दिनुपर्छ।

म हरेक दिन बिहान ५ बजे उठ्छु । मर्निङ वाक र केही व्यायाम गर्छु । यसले मेरो शरीरमा छुट्टै स्फूर्ती ल्याउँछ । पिउने पानी असाध्यै शुद्ध चाहिने भएकाले उमालेको पानी मात्र पिउने गर्छु । औषधि हरेक १२ घन्टाको अन्तरालमा खानुपर्ने भएकाले मोबाइलमा अलार्म नै राखेर ठिक समयमा औषधि खाने गरेको छु । उमालेको पानी बोकेर हिँड्ने गरेको छु । अनि हरेक दिन नुहाउने र लुगा फेर्ने गरेको छु । किनभने हामीलाई रुघा, ज्वरो, पखला लाग्ने खतरा रहने र त्यसले गम्भीर समस्या ल्याउन सक्ने भएकाले जीवनशैली र खानपिन अनुशासित बनाउनै पर्छ । धूमपान, मद्यपान छुनै हुँदैन। विगतमा पनि मेरो यो अदत नभएकाले मलाई समस्या परेको छैन।

प्रत्यारोपण गरेको तीन महिना हामीले महँगो औषधि खानुपर्छ । त्यो तीन महिनाको अवधिमा हामीले एक लाख जतिको त औषधि नै खानुपर्छ । त्यसपछि क्रमशः औषधिको खर्च घट्छ । हामीले नियमित ‘टेक्रोलेमस’ नामक औषधि खानुपर्छ । सुरुमा मलाई दुई एमजीको औषधि दिइएको थियो । त्यसको डोज १ एमजी हुँदै अहिले ० दशमलब ५ एमजीमा आएको छ । अब केही समयपछि त्यो पनि घटेर ० दशमलब २५ एमजीमा आउने देखिएको छ । औषधिको मात्र घटेसँगै खर्च पनि घटिरहेको छ । मलाई सुगर तथा उच्चरक्तचाप छैन । त्यही भएर ती समस्याको औषधि खानुपरेको छैन।

खानपिन र सरसफाइमा ध्यान दिने क्रममा केही अप्रत्यक्ष खर्चहरु पनि हुन्छ । जस्तो क्याल्सियमका लागि म दैनिक एक गिलास दूध पिउँछु, हरेक दिन एउटा स्याउ खान्छु, मुख कुल्ला गर्ने औषधि लिन्छु । दैनिक कपडा धुनुपर्छ । यस्तै–यस्तै अप्रत्यक्ष खर्चहरु हुन्छन् । हामी अरु व्यक्ति सरह स्वस्थ जीवन जिउन सक्छौँ । मेरो हकमा त म पहिलाको भन्दा बढी जाँगरिलो र स्वस्थ भएको छु । अहिले पनि म दैनिक १६ घण्टा खटेर काम गरिरहेको छु।


यो पनि पढौं:

गगनका कानुनी सल्लाहकार, जो मिर्गौला प्रत्यारोपण गरे पनि १७ घण्टा खट्छन्

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने