मुख्य समाचार

मण्डनदेउपुर नगरपालिकाको निर्णय: स्वास्थ्य संस्थामा सुत्केरी हुने विपन्न महिलालाई १० हजार भत्ता

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- काभ्रेको मण्डनदेउपुर नगरपालिकाले गर्भवती महिलाको हितका लागि निकै महत्वपूर्ण निर्णय गरेको छ। स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी हुने कार्यलाई प्रोत्साहन गर्न नगरपालिकाले गर्भवतीलाई भत्ता दिने व्यवस्था सुरु गर्ने भएको छ।

मण्डनदेउपुर नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने विपन्न वर्गका महिलालाई १० हजार भत्ता दिने निर्णय गरेको हो। नगरपालिकाको प्रथम नगर सभाले उक्त निर्णय पास गरिसकेको छ। स्वास्थ्य मन्त्रालयले अहिले सरकारी स्वास्थ्य संस्थामा वा सरकारले सुचिकृत गरेका निजी संस्थामा सुत्केरी हुने महिलालाई गर्भवती अवस्थामा चारपटक स्वास्थ्य जाँच गरेवापत तराई, पहाड र हिमालमा ५ सय, एक हजार र १५ सय यातायात खर्च दिँदै आएको छ।

मण्डनदेउपुर नगरपालिकाले आमा र शिशुको स्वास्थ्यको ख्याल गर्दै उक्त निर्णय लिएको बताएको छ। यो निर्णयपछि स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्ने विपन्न वर्गले सहज रुपमा सुरक्षित सेवा पाउने भएका छन्।

नगरपालिकाको प्रथम सभाले आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गर्दै नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको हो। भुगोल सुहाउँदो र उत्कृष्ट योजनाहरूका साथ नगरले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगर प्रमुख टोकबहादुर वाइवाले जानकारी दिए।

उनका अनुसार सभाले आर्थिक वर्ष २०७४/०७५ का लागि ३४ करोड ६२ लाख बजेट पारित गरेको छ। सभाले सुत्केरीलाई भत्ता दिनेसहित नगरका प्रत्येक घरलाई स्वास्थ्य बिमामा समावेश गराउने, शुद्ध खानेपानीको व्यवस्था गर्ने लगायतका १९ बुँदे महत्वपूर्ण कार्यक्रम समेत सार्वजनिक गरेको छ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live