विचार/ब्लग

कहिलेसम्म नेपाली बिरामीहरु भारतमा लुटिइरहने ?

डा. सुभाष लामिछाने

गत महिनाको कुरा हो, पेट दुख्ने समस्या लिएर एक अधबैंसे महिला मेरो ओपिडीमा आइन् । हातमा एक बिटो कागजात पनि बोकेकी थिइन् । ‘हिस्ट्री’ लिँदै जाँदा थाहा भयो- केही महिनाअघि मात्रै भारतको मुम्बईमा उनको पाठेघर निकाल्ने अपरेशन भएको रहेछ । कागजातहरु त्यही अपरेशनसँग सम्बन्धित थिए।

हामीकहाँ सामान्यतया हरेक बिरामीलाई लाग्छ- 'मेरो त १० वर्षअघि फलानो अपरेशन भएको थियो, कतै त्यही अपरेसन बिग्रेर त आज यस्तो भएको होइन ?' यी अधबैंसे महिलालाई पनि लागेछ- कतै पाठेघरको अपरेशन बिग्रेर पो पेट दुखेको हो कि!

अनि म लागेँ ‘हिस्ट्री’ भित्र पनि त्यो अपरेशनको ‘हिस्ट्री’ लिन । उनको योनिबाट बाक्लो सेतो पानी बग्ने, तल्लो पेटको दायाँ-बायाँ दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने भएको एक-दुई महिना भएको रहेछ । गाउँको स्वास्थ्य केन्द्रमा गएर औषधि सेवन पनि गरिछन् । केही समय त ठीक भए पनि दुखाइ फेरि बल्झेपछि मुम्बई बस्ने पतिले उतै बोलाएछन्।

पतिसँग भेटिने र उपचार पनि हुने सोचेर उनी भारत गइन् । मुम्बईको एक अस्पतालमा गएर देखाउँदा उनलाई पाठेघरमा ठूलो घाउ भएको र तुरुन्त अपरेशन गरी पाठेघर निकाल्नुपर्ने नत्र ज्यानै जानसक्ने त्रास देखाइयो । अन्ततः अपरेशनका लागि उनीहरु राजी भए र उनको पाठेघर निकालियो।

मैले उनको त्यो रिपोर्टवाला झोला खोतल्न थालेँ । ‘ठूलो घाउ’ भनेको के रहेछ भनेर अल्ट्रासाउण्ड रिपोर्ट पनि हेरेँ । तर, सबै रिपोर्टहरु नर्मल लिमिटभित्रै थिए । डाइग्नोसिसमा 'पेल्भिक इन्फ्लामेटरी डिजिज' (पिआइडी) लेखिएको थियो । लक्षण तथा जाँचका आधारमा सम्भवत: उनको रोग पिआइडी नै थियो ! तर, त्यतिकै आधारमा पाठेघर नै निकाल्नु जरुरी थियो त?

हुन त हरेक सर्जरीका केही न केही जटिलता पक्कै हुन्छन् । जतिसुकै नामी सर्जनले अपरेट गर्दा पनि कहिलेकाहीँ मृत्यु नै हुनसक्नेसम्मको जोखिम रहन्छ नै । तर, जब यस्ता घटना निश्चित ठाउँमा दोहोरिरहन्छन्, तब सोच्नुपर्छ- दालमे कुछ काला है!

पिआइडी अर्थात् स्त्री प्रजनन प्रणालीको माथिल्लो भागको संक्रमण । अझ बुझिनेगरी भन्दा ब्याक्टेरियाको संक्रमणबाट पाठेघर, डिम्बवाहिनी नली र अण्डासय जस्ता अंग प्रभावित हुने रोग । यस्तो संक्रमणको उपचार एन्टिबायोटिकबाट गरिन्छ, त्रास देखाएर तत्काल अपरेशनबाट होइन।

यहाँनेर पाठेघर निकालिएकोप्रति मैले किन शंका गरेको भने यस्ता केसहरु मैले अछामको दुईवर्षे बसाइँमा धेरै देखिसकेको छु । कसैका मिर्गौला झिकिएका हुन्छन्, कसैका पाठेघर अनि कसैका पित्तथैली । समस्या वा कारण भएर अपरेशन गरिएको हुँदो हो त यहाँ प्रश्नै उठ्ने थिएन । त्यो कार्य बिरामी बचाउने काम ठहरिन्थ्यो र सराहना पनि गरिन्थ्यो।

तर, एकथोक समस्या लिएर आएको बिरामीलाई अकारण नै तिम्रो फलानो अंग बिग्रेको छ, निकाल्नुपर्छ भनेर त्रास देखाउने अनि मोटो रकम असुलेर अपरेशन गरिदिएको देखियो । मुम्बईमा धेरै सोझासीधा सुदूरपश्चिमेलीको नियति नै यही बनेको छ । मिर्गौला तस्करीहरुको समाचार सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे लगायत जिल्लाहरुमा सीमित भइरहेको बेला कतै मुम्बईका ती अस्पतालमा पनि यस्ता गिरोहको जालो त छैन ? शंका गर्नुपर्ने भएको छ।

हालै एकजना दिदीसँग यसै विषयमा कुरा चल्दा आफ्नो दु:खद अनुभव सुनाउनुभयो- 'मेरो एकजना अंकलको मिर्गौलामा ट्युमर छ भनेर भारतको एक अस्पतालमा मिर्गौला नै निकालियो । तर, अपरेशनपछि उहाँ बाँच्नुभएन।’

हुन त हरेक सर्जरीका केही न केही जटिलता पक्कै हुन्छन् । जतिसुकै नामी सर्जनले अपरेट गर्दा पनि कहिलेकाहीँ मृत्यु नै हुनसक्नेसम्मको जोखिम रहन्छ नै । तर, जब यस्ता घटना निश्चित ठाउँमा दोहोरिरहन्छन्, तब सोच्नुपर्छ- दालमे कुछ काला है!

म कार्यरत जिल्ला अस्पताल अछामबाट कुनै केस रिफर गर्नुपर्‍यो भने कि धनगढी या त नेपालगञ्ज पठाउँछु । तपाईंको रोगको नेपालगञ्जमा राम्रोसँग उपचार हुन्छ भनेर बिरामी र आफन्तलाई आश्वस्त पार्न खोज्छु । तर, धेरैले मरेकाटे मान्दैनन् । किनभने मुम्बईभन्दा धनगढी र नेपालगञ्ज उनीहरुका लागि विरानो छ । उनीहरुका इष्टमित्रजति सबै मुम्बईमै हुन्छन् । त्यसकारण बस्न, खान र बिरामी कुर्नेदेखि यावत् कुरामा उनीहरुलाई त्यता सजिलो पर्छ । अप्ठ्यारो त तब शुरु हुन्छ, जब त्यही सजिलो मुम्बईमा ढुकेर बसेको एउटा गिरोहले उनीहरुलाई 'मुर्गा' बनाउन थाल्छ।

भएभरका चाहिने-नचाहिने परीक्षणहरु गराउने, कुनै एउटा मेजर/माइनर शल्यक्रिया पनि गरेर लाखौं रुपैयाँ असुल्ने अनि बिरामीलाई ल अब तिम्रो रोग चट् भयो भनी घर पठाउने गजबको धन्दा त्यहाँ फस्टाएको छ । गिरोहको यस्तो धन्दा फस्टाउँदै गर्दा यता भने कति गरिब नेपालीहरुको घरखेत सखाप भएको छ र कतिको ज्यानै गएको छ, कसैसँग यकिन हिसाब छैन।

सीमावर्ती जिल्लाहरुमा जनचेतना कार्यक्रम पनि चलाउनुपर्ने देखिन्छ । सीमाक्षेत्रमा ‘उपचारका लागि जाँदै हुनुहुन्छ ? सावधान, कतै मिर्गौला तस्करहरुको फन्दामा पर्नुहोला !’ जस्ता सन्देश लेखिएका होर्डिङबोर्डहरु पो लगाउने हो कि ?

समाधान के त ?

प्यूठान जिल्ला अस्पतालमा कार्यरत डा. समीर लामालाई हामी धेरैले चिन्छौं । उहाँले कुनै त्यस्तो गम्भीर प्रकृतिको बिरामी काठमाडौं रिफर गर्नुपर्‍यो भने सामाजिक सञ्जालका माध्यमबाट स्वयंसेवाका लागि आह्वान गर्नुहुन्छ।

काठमाडौंको बसपार्कदेखि सो बिरामीलाई लिने, अस्पतालसम्म पुर्‍याउने र अस्पतालमा सम्बन्धित डाक्टरको जिम्मा लाउनेसम्मको काम त्यो स्वयंसेवकले गर्छ  । डा. लामाले नै त्यो अस्पतालका चिनजानका डाक्टरसँग पहिल्यै सम्पर्क गरी फलानो बिरामी पठाउँदै छु भनी उसको रोगको विस्तृत विवरण पनि भनिसक्नुभएको हुन्छ । उपचार खर्चका लागि उहाँले आफ्नै पहलमा ‘विपन्न बिरामी सहयोग कोष’ स्थापना गर्नुभएको छ, जुन यस्ता बिरामीहरुका लागि प्रयोग गर्नुहुन्छ । यति गरिसक्दा भने डा. लामाको बिरामीले ढुक्कका साथ ‘म मुम्बई होइन, काठमाडौं जान्छु डाक्टरसा'ब’ भन्नसक्छ होला।

यस्तो पवित्र कार्यका लागि डा. समीर धन्यवादका पात्र हुनुहुन्छ । उहाँले थुप्रै बिरामीको आशीर्वाद पाइरहनुभएको छ । तर, व्यक्तिगत प्रयासका सीमितताहरु छन् । यही कुरा संस्थागत प्रयासमा ढाल्न सकियो र थिति बसालेर अघि बढियो भने झन् कति राम्रो परिणाम आउँथ्यो होला ! जोकोही बिरामी ठूला अस्पतालमा रिफर हुँदा ‘म त त्यहाँ कसरी पुग्न सकूँला र ! त्यहाँ मेरो पहुँच नै छैन, कुर्ने मान्छे छैनन्, त्यहाँसम्म जाने गाडीभाडा समेत छैन’ जस्ता प्रश्नहरु उठ्छन्; यी प्रश्नहरुको हल राज्यले खोज्नैपर्छ । मुम्बईतिरको यात्रामा ब्रेक लगाउने र बिरामी ठगिने प्रक्रिया रोक्नका लागि यति नगरी धरै छैन!

हुन त केही जिल्लाबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रमले यो मुद्दालाई केही हदसम्म सम्बोधन गरेको पनि छ।

सँगसँगै सीमावर्ती जिल्लाहरुमा जनचेतना कार्यक्रम पनि चलाउनुपर्ने देखिन्छ । सीमाक्षेत्रमा ‘उपचारका लागि जाँदै हुनुहुन्छ ? सावधान, कतै मिर्गौला तस्करहरुको फन्दामा पर्नुहोला !’ जस्ता सन्देश लेखिएका होर्डिङबोर्डहरु पो लगाउने हो कि ? कैलाली र कञ्चनपुरका जिल्ला जनस्वास्थ्य कार्यालयहरु यो काममा अग्रसर भइहाल्नुपर्ने जरुरी देखिन्छ । स्थानीय एफएमबाट पनि अब नेपालमै हरेकजसो रोगहरुको गुणस्तरीय उपचार सम्भव छ भन्ने किसिमका सन्देश प्रशारणमा जोड दिँदा वेश हुन्छ । आखिर सोझासीधा बिरामीहरुलाई कतिञ्जेल ठगहरुको हातमा सुम्पिरहने?

(डा. लामिछाने जिल्ला अस्पताल अछाममा मेडिकल अधिकृतका रुपमा कार्यरत छन् ।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live