डक्टर्स आर्टिकल

गर्भावस्थामा देखिनसक्ने लक्षण र समस्या

डा. अमृता गिरी,  स्त्रीरोग तथा प्रसुति विशेषज्ञ, नर्भिक अस्पताल 

गर्भवती भइसकेपछि शुरुका केही महिना सबै महिलामा बान्ता आउने र वाकवाकी लाग्ने हुन्छ । बच्चा पेटमा बसेपछि महिलाको शरीरमा विशेष हर्मोन उत्पादन हुन थाल्छ । जुन हर्मोन महिलाहरुको सामान्य अवस्थामा हुँदैन । गर्भवती अवस्थामा बढ्ने नयाँ खालको हर्मोन शरीरका लागि नयाँ खालको भएकाले प्रतिक्रियास्वरुप वान्ता र वाकवाकीको लक्षण देखा पर्ने गरेको हो । गर्भवती भइसकेको पहिलो तीन महिना यस्तो खालको लक्षण देखा पर्छ र पछि विस्तारै त्यो हराए जान्छ । १३ हप्ता पूरा भएपछि हर्मोनको स्तर कम भएर जान्छ र बान्ता तथा वाकवाकीको लक्षण पनि कम हुन्छ । 

सामान्यतया दिनको २–३ पटक वान्ता हुन्छ र त्यसले खासै असर गरेको छैन भने गर्भवतीले नियमित कामकाज गर्न सक्छन् । तर, कतिपय महिलालाई एकदमै ज्यादा बान्ता हुन्छ । कतिसम्म भने अरु केही नखाई पानी मात्रै खाए पनि बान्ता भइरहन्छ । बान्ता रोक्ने औषधि डाक्टरको सल्लाहमा सिफारिस पनि गर्न सकिन्छ । यस्तो अवस्थामा गर्भवतीले नियमित कामकाज समेत गर्न नसक्ने भएमा अस्पताल भर्ना गरेर स्लाइनबाट पोषण लगायतका कुरा दिनुपर्छ र सामान्य भएपछि डिस्चार्ज गरी औषधि दिइन्छ । 
एक्सरेको असरले पेटमा रहेको भ्रुणलाई सोझो असर गर्छ । एक्सरे हुने क्षेत्र वरपर जाने जोखिम पनि मोल्नु हुँदैन । गर्भको पहिलो ३ महिना बच्चाका अंगहरु बन्ने क्रममा हुने भएकाले बढी संवेदनशील हुन्छ । त्यसैले त्यो समयमा एक्सरे, सिटि स्क्यान नगराउँदा उत्तम हुन्छ। तर, रोगको पहिचान र उपचारको लागि गर्नैपर्ने भए नियमित चेकजाँच गरिरहेको चिकित्सकको सल्लाह अनुसार निर्णय लिनु उिचत हुन्छ।  बोलीचालीमा ‘भिडियो एक्सरे’ भनिने अल्ट्रासाउन्डले भने गर्भवतीलाई कुनै असर गर्दैन । एक्सरे जस्तै, औषधि पनि आफूखुसी जे मनलाग्यो त्यही सेवन गर्नु हुँदैन । डाक्टरको सल्लाहमा मात्रै औषधि लिनुपर्छ । 

गर्भवतीहरुलाई देखा पर्ने केही सामान्य खालका लक्षण र समस्या छन् । टाउको दुख्ने, आलस्य हुने, सुतिराख्न मन लाग्ने, रिँगाटा लागेजस्तो हुने, जिउ दुख्ने जस्ता लक्षणलाई हामीले सामान्य लक्षणका रुपमा लिन्छौँ । एउटा सामान्य व्यक्तिको तुलनामा गर्भवतीको शरीरमा विकास भइरहेको नयाँ जीवनका कारण कुनै न कुनै परिवर्तन देखा पर्छ । त्यही परिवर्तनका कारण मानिसमा विभिन्न लक्षण देखा परेको हो । यस्ता लक्षणहरुबाट आत्तिनु वा डराउनु आवश्यक छैन । 

गर्भवतीको हकमा पहिलो तीन महिना छिटो पिसाब लाग्नु सामान्य मानिन्छ । तर, पिसाव गर्दा पोल्न थाल्यो, पिसाव गरिसकेपछि तल्लो पेटमा दुखाई हुन्छ, ज्वरो आएजस्तो हुने, जाडो महसुस भयो भने पिसाव संक्रमण भएको हुनसक्ने भएकाले सजगता अपनाउनुपर्छ । 

शारीरिक सम्पर्कका बारेमा पनि धेरैले चासो राखेर प्रश्न गर्छन् । पहिलो तीन महिनाको अवधिमा अलि ज्यादा सतर्कता अपनाएकै राम्रो हुन्छ । नत्र अरु बेलामा शारीरिक सम्पर्कका कारणलाई मेडिकल विज्ञानले निषेध गरेको छैन । तर, सामान्य अवस्थाको तुलनामा सजगता अपनाएको राम्रो हो । 

कतिपय महिलालाई गर्भवती भएकै कारण रक्तचाप उच्च हुन सक्छ । रक्तचापको बिरामी नभए पनि  २० देखि २४ हप्तापछि कतिपयमा रक्तचाप बढ्न सक्छ । यसले गर्भवतीको ज्यानै जोखिममा पार्न सक्छ । काँप्ने, बेहोस हुने लगायतका लक्षण भएमा खतरा हुन सक्छ । कोही महिला पहिलेदेखि नै विभिन्न रोगबाट पीडित हुन्छन् । छारेरोग, रक्तचाप, डाइबिटिज जस्ता रोगहरु भएका महिलाले गर्भवती हुँदा औषधि खानै हुँदैन भनेर औषधि खान चटक्क छडिदिन्छन् । औषधि छाड्दा स्वास्थ्य अवस्था अझै बिग्रने खतरा हुन्छ । 

गर्भावस्थामा कतिपय औषधि सेवन गर्नै नमिल्ने हुन्छ भने कतिपय सेवन गर्दा फरक पर्दैन । डाक्टरहरुको सल्लाहमा यसबारे निर्णय लिनु उचित हो । आजभोलि ढिलोगरी बिहे गर्ने चलन भएकाले बच्चा जन्माउने उमेर बढ्दै गएको छ । कतिपयलाई बिहे गर्नासाथ बच्चा जन्माउन हतारो गर्नुपर्ने हुन सक्छ । २०–२१ वर्ष नाघेपछि सामान्यतया महिला गर्भवती हुन परिपक्व हुन्छन् । बच्चाको योजना बनाउन उमेरको अधिकतमको सीमा तोक्न त असम्भव होला तर बढी उमेरमा जोखिम हुने सम्भावना बढ्दै जान्छ । ३० वर्ष नाघेपछि केही असजिलो हुनुका साथै जोखिमको सम्भावना पनि बढेर जाने हुन्छ । 

गर्भवती हुनुअघि महिलाहरु मानसिक रुपमा तयार हुनु ज्यादै महत्वपूर्ण कुरा हो । बिहे भएको दुई महिनामै गर्भवती हुने महिलालाई नयाँ घरमा ‘एडजस्ट’ हुन कठिनाइ हुन सक्छ । गर्भवतीलाई घरमा शान्त र सकारात्मक वातावरण आवश्यक पर्छ । परिवारमा झैँझगडा र कचकच हुने साथै सहयोगको वातावरण छैन भने रक्तचाप बढ्ने, गर्भपतन हुने, महिना नपुगी व्यथा लाग्ने सम्भावना रहन्छ । त्यसैले गर्भवती भएको घरको पारिवारिक वातावरण एकदमै शान्त, सौहाद्र, सकारात्मक, रमाइलो खालको हुनु महत्वपूर्ण पक्ष हो । 
गर्भवती भइसकेपछि सन्तुलिन आहारमा ध्यान दिन एकदमै जरुरी छ ।

गर्भवती महिलालाई सामान्य अवस्थामा जस्तो आहारले पुग्दैन । वैज्ञानिक दरले नै हिसवाकिताव गर्दा नियमित दुई हजार किलो–क्यालोरीको आहार छ भने कम्तिमा ३५० किलो–क्यालोरी थप्नुपर्ने हुन्छ । त्यसैले पहिलो महिनादेखि नै नियमित आहारको करिव एक चौथाई हिस्सा थप्न सुझाव दिने गरिन्छ । सन्तुलित आहार पनि उत्तिकै आवश्यक छ । विशेषगरी गाउँघरतिर साग र भातमात्रै ज्यादा खाएर बस्ने तर अरु खाने कुरामा वास्ता नगर्ने चलन छ । यसले शरीरलाई आवश्यक पर्ने सबै खालका पोषणहरु पु¥याउन सक्दैन । कार्बोहाइड्रेट, प्रोटिन, फ्याटका साथै भिटामिनहरुको सन्तुलन हुनेगरी आहार दिनुपर्छ । गर्भवती महिलाहरुले फलफूल र सागसब्जी प्रसस्त खानुपर्छ । किनभने भिटामिनको मुख्य स्रोत हरियो सागपात नै हो । 

गर्भवतीहरुले घरको सानोतिनो सामान उठाउँदा केही फरक पर्दैन । तर, गह्रौँ खालका सामान उठाउँदा र सार्दा भने शरीरमा असर पर्न सक्छ । गह्रौँ चिज उठाउँदा गर्भपतन हुने सम्भावना रहन्छ । कुनै मानिसको काम नै गह्राँै सामान उठाउने खालको छ भने त्यसले समस्या देखा पार्न सक्छ । ज्यादा शारीप्रिक परिश्रम गर्ने महिलालाई ६–७ महिनामै व्यथा लाग्ने हुन सक्छ । दिनभरमा ८ घन्टाभन्दा बढी उठेर काम गर्नु जोखिमपूर्ण मानिन्छ । 

कामकाजी गर्भवतीहरुले राम्रो र सुरक्षित सडकमा स्कुटर चलाउँदा केही फरक पर्दैन । तर, नेपालमा खाल्डाखुल्डीयुक्त सडक ज्यादा भएकाले गर्भमा असर पर्न सक्छ । यस्तो अवस्थामा साल छुट्टिने, रक्तस्राब हुने र बच्चा खेर जाने सम्भावना एकदमै बढी हुन्छ । स्कुटर नै नचलाउनु भन्ने सुझाव कसरी दिनु? तर खाल्डाखुल्डी र भीडभाडयुक्त सडकमा नचलाएको राम्रो । दुईपाङ्ग्रे सवारीसाधनको पछाडपट्टि बसेर यात्रा गर्नेहरुका लागि पनि यही कुरा लागू हुन्छ । तुलनात्मक रुपमा सजिलो हुने भएकाले चारपाङग्रे सवारीसाधन सुरक्षित मानिन्छ । तर, लामो दूरी यात्राका लागि सिफारिस गरिँदैन । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live