जीवनशैली

स्वस्थ रहन यस्तो खानपान

डा. सागर न्यौपाने

खानपान र हाम्रो स्वास्थ्यबीच निकै नजिकको साइनो छ। शरीर सञ्चालन गर्न खाइने यही खानेकुराले हामीलाई पोषण दिन्छ भने कहिलेकाहीँ बिरामी पनि बनाउँछ।

हाम्रो स्वादे जिब्रोले चट्याकचुटुक र मसालेदार खानेकुरा खाने जीवनशैली जब बनाउँछ, समस्या त्यहीँबाट सुरु हुन्छ।

हाम्रो समाजमा मासुलाई मिष्ठान्न र विशेष परिकार मानिन्छ। चाडबाड, खुसियाली र भोजभतेरमा एकैचोटि वा एकै दिनमा धेरै मासु खाने चलन सर्वत्र देखिन्छ। अरु बेला भने थोरै तरकारी र दालसँग धेरै भात खाने गरिन्छ। यो बानी स्वास्थ्यका लागि प्रत्युत्पादक हुन्छ। हामीले यो बुझ्नुपर्छ, एकैचोटि धेरै मासु खाए शरीरले सही उपयोग गर्न सक्दैन।

चिल्लो बढी पाइने रातो मासु (खसी, बोका, राँगा, बंगुर आदि) सँग अन्न (कार्बोहाइड्रेट) धेरै खाए शरीरमा धेरै बोसो जम्मा हुन्छ। त्यसैले तौल नियन्त्रण गर्न चाहनेले अन्न र चिल्लोको मात्रा नघटाई सुख छैन। रातो मासु नखाए पनि कोलेस्ट्रोल, ट्रिगलिसेरेड्स आदि बढेका र मोटोपन भएकालाई धेरै घिउ-तेल सेवनले अवश्य फाइदा गर्दैन। त्यसैले साकाहारी हुँदैमा स्वस्थ खाना खाइयो भन्नेमा ढुक्क हुनु हुँदैन।

साकाहारी हो भने भातको अनुपातमा धेरै तरकारी, सलाद र उपयुक्त मात्रामा दाल, गेडागुडी आदि खानु सन्तुलित आहार मानिन्छ। मांसाहारीले पनि धेरै तरकारी र सलादसँग थोरै मासुसहित ठिक्क मात्रामा भात वा अन्य अनाज खाँदा उपयुक्त हुन्छ।

बढी मासु खानु स्वास्थ्यका लागि उपयुक्त हुँदैन भन्नुको अर्थ बढी प्रोटिन हाम्रो शरीरले पचाउँदैन। त्यसमा पनि उमेर पाको हुँदै जाँदा मिर्गौलाको छान्ने क्षमता कमजोर हुन थाल्छ। ६० वर्ष नाघेपछि माछा, मासुका साथै दाल, गेडागुडी जस्ता प्रोटिनजन्य चिजबिज बढी मात्रामा खाँदा मिर्गौलालाई बोझ हुन्छ। स्मरण रहोस्, मासु हरेक दिन शरीरले चाहिने जति लिएर बाँकी मिर्गौलाबाट मूत्रसँगै बाहिर फ्याँकिन्छ।

त्यस्तै, रगतमा युरिक एसिड बढी भएका र कलेजोका रोगीहरुले पनि धेरै मासु खानु हानिकारक मानिन्छ। मिर्गौलाका दीर्घरोगीहरु (डायलाइलिस गरिरहेका बिरामी बाहेक) प्रोटिन मात्र नभई फोस्फोरस र पोटासियमजन्य खाद्य सेवनमा पनि नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु सुझाव दिन्छन्।

अण्डाको सेतो भागलाई उच्च गुणस्तरको प्रोटिन मानिन्छ। किनकि अण्डामा शरीरको लागि आवश्यक ४१ किसिमका एमिनोएसिड पाइन्छ। त्यसैले व्यायाम गर्नेलाई पनि अण्डा खाने सल्लाह दिइन्छ। तरकारी, गहुँ र चामलमा थोरै अनुपातमा भए पनि प्रोटिन पाइन्छ।

स्वस्थ युवाले दिनमा करिब ० दशमलब ८ ग्राम प्रतिकिलो (व्यक्तिको वजन) का दरले मासु खाने सल्लाह दिइन्छ। तर, शारीरिक परिश्रम गर्ने व्यक्तिले १ ग्रामदेखि १ दशमलब ५ ग्राम (प्रतिकिलो) सम्म खानु आवश्यक हुने विज्ञहरुको मान्यता छ। यद्यपि यसमा सबै डाक्टर एकमत भने छैनन्।

मासु सेवनले क्यान्सरको जोखिम समेत बढाउँछ। रातो र प्रोसेस्ड मासुले ठूलो आन्द्राको क्यान्सर गराउँछ भन्ने तथ्य त प्रमाणित नै भइसकेको छ। तर, सबै मासुले क्यान्सर गराउन मद्दत गराउँछ भन्ने कुरामा भने चिकित्सा विज्ञान सहमत हुन सक्दैन।

पोलेर खाएको मासुले मात्र होइन, पकाएर राखेको बासी तरकारी (खासगरी हरिया तरकारी) खाँदा पनि क्यान्सर गराउन सहयोग गर्छ। चीनको च्यांसु प्रान्तमा केही वर्षअघि युवा वैज्ञानिकहरुले गरेको अनुसन्धानले बिहान पकाएको मासु साँझ (६ घन्टाको अन्तरमा) खाँदा फरक नपर्ने पाइयो। तर, साँझ पकाएको तरकारी वा मासु फ्रिजमै राखे पनि भोलिपल्ट त्यसमा अत्यधिक मात्रामा नाइट्रेटजन्य रसायन भेटिएकाले त्यसरी नियमित सेवन गरेमा क्यान्सर कोशिकाको निर्माणमा सहायता गर्ने देखियो।

पश्चिमा मुलुकहरुमा सन् १९८० भन्दा अगाडिको दशकमा मासु चिस्याउने प्रविधि नहुँदा धेरैमा पेटको क्यान्सर पाइन्थ्यो। तर, विगत तीन दशकको तथ्यांक हेर्दा त्यहाँ पेटको क्यान्सरका रोगीको अनुपात घटेको देखिन्छ। तर, ठूलो आन्द्राका बिरामीको अनुपात भने बढिरहेको छ।

उता पूर्वी एसियाली मुलुकमा (विशेषगरी जापान, कोरिया र उत्तरी चीनमा) पेटको क्यान्सरका बिरामी सबैभन्दा ठूला संख्यामा भेटिन्छन्। यो सबै खानपानको संस्कृतिले निम्त्याएको अनुसन्धानकर्ताहरु उल्लेख गर्छन्। पकाउने विधि, स्वादको लागि राखिने नाइट्रेटजन्य पदार्थ, तरकारीको कम सेवन आदिले ती ठाउँमा क्यान्सरका रोगीहरु बढी देखिएको हो।

स्वच्छ तरकारी र फलफूलको सेवनबाट एन्टिअक्सिडेन्ट र भिटामिन सी पाउन सकिन्छ, जसले क्यान्सर हुनबाट जोगिन मद्दत गर्छ। हामी नेपालीको हकमा केही वर्षअघि गरिएको एउटा अध्ययनमा पेटको क्यान्सरको अनुपात जापानभन्दा धेरै कम देखिन आयो।

हामीकहाँ धेरै मानिसमा आइरनयुक्त खानाको कमीले रक्तअल्पता बढी पाइन्छ। शरीरको लागि अत्यावश्यक आइरनले रक्तकोशिकामा हेमोग्लोबिनको उत्पादन गर्ने काम गर्छ। हेमोग्लोबिनले फोक्सोबाट शोषित अक्सिजनलाई रक्तप्रणालीमार्फत शरीरका तन्तु र कोषिकाहरुमा पुर्‍याउने काम गर्छ।

शरीरको लागि चाहिने आइरन खानेकुराबाट लिन सकिन्छ। जस्तै: विभिन्न प्रकारका माछा-मासु, तोफु, गेडागुडी, फर्सीको बियाँ, सुख्खा बदाम, ओखर, मधेसी बदाम, सूर्यमुखी फूलको बियाँ, किसमिस, आलु, ब्रोकाउली, सागपात, पास्ता, खैरो चामल आदि। तर, माछा-मासुबाट पाइने हेम आइरनको उपयोग शरीरले सजिलै उपयोग गरेर हेमोग्लोबिन बनाउन सक्छ भने साकाहारी खानाबाट पाइने नन-हेम आइरनबाट हेमोग्लोबिन बनाउन खासै सक्दैन। मासु र अन्य आइरनजन्य तरकारी, दाल आदि मिलाएर खाएमा शरीरमा आइरनको कमी हुन पाउँदैन।

शरीरमा आइरनको आपूर्ति राम्ररी गराउन खाना खाने समयभन्दा अघिपछि चिया, कफी, उच्च क्याल्सियमयुक्त खाना वा पेय पदार्थको सेवन पनि हानिकारक हुन्छ। त्यसले अन्य खानेकुराको आइरन शरीरले सोस्न बाधा गर्छ। भिटान सीजन्य तरकारीले भने आइरन उपयोग गर्न मद्दत गर्छन्।

अन्त्यमा,

माछा र चिल्लोरहित मासुले वास्तवमा शरीरको तौल घटाउन मद्दत गर्छ। तर, मासुसँगै अन्न कति खाइन्छ त्यसमा भर पर्छ। दिनभरि कुर्सीमा बसेर काम गर्ने र चिल्लो तरिकाले पकाएको मासु खानेहरुले अत्यधिक शारीरिक श्रम गर्ने किसानले खाएजति भात खाएमा मोटोपन, कोलेस्ट्रोल, डाइबिटिज आदि भएकालाई पक्कै असर गर्छ। चिल्लोरहित मासु (कुखुराको मासु र माछा) उपयुक्त तरिकाले पकाएर खाएमा मोटोपन, कोलेस्ट्रोल, हृदय रोग, क्यान्सर केही नहुने अनुसन्धानले नै देखाएको छ।

विभिन्न किसिमका माछाको तेलले ओमेगा ३ बाट हृदयघात र अन्य रोगहरु (इन्सुलिन रेजिस्टेन्स अर्थात् डाइबिटिज हुनुभन्दा अघिको अवस्था आदि) बाट बचाउने अनि दिमाग र आँखाको ज्योति तेज बनाउन सघाउने तथ्य विभिन्न अनुसन्धानबाट साबित भएको छ। तर, मर्करी भएको समुद्री माछाले भने स्वास्थ्यलाई हानि गर्छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live