डक्टर्स आर्टिकल

निद्राका समस्या, सपनाको त्राश र निद्रा लगाउने उपाय

डा.सिपी सेढार्इं

नराम्रो सपना देखिएमा अब के हुन्छ भनेर मनमनै त्राशमा बस्ने मान्यता छ । तर, सपनाका कुरामा विश्वास गर्नु भ्रम मात्र हो । सपनाको त्राशले मनमा अशान्ति पैदा गर्छ भने राम्रो सपना देख्दा मन पनि खुशी हुन्छ । त्यसैले सपना सुल्टो वा उल्टो जे पनि हुन सक्छ, सपना नराम्रो देख्दा कुनै खतरा हुँदैन । हाम्रो मस्तिस्क एउटा कम्प्युटर हो । यसमा धेरै कुरा रेकर्ड भएर रहेका हुन्छन् । मान्छे  निद्रामा हुँदा पनि मस्तिस्क चाँहि अर्ध चेतन अवस्थामा हुन्छ । त्यसबेला सपनामा  वर्षौदेखिका रेकर्डहरु फाइल टेप जस्तै गरि एक अर्कामा घुलमिल भएर प्रस्तुत हुन्छन । कहिले यी आनन्ददायी हुन्छन् भने कहिले पीडादायी हुन्छन् ।

तनाव, व्यस्त जीवनशैली र प्रतिस्पर्धाका कारण मानिसमा निन्द्रा कम लाग्ने समस्या बढ्दै गएको पाइन्छ । उत्पादनशील उमेरमा मात्र होइन, वृद्धावस्थामा यो समस्याले निकै सताउँछ । ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार व्यूँझने, विहान चाँडै व्यूँझने आदि निद्राका समस्या हुन् ।

 हाम्रो शरीरको स्वास्थ्यकालागि निद्रा अति आवश्यक हुन्छ । निश्चित समयमा भोक लाग्नु जस्तै हामीलाई निश्चित समयमा निद्रा लाग्छ । निन्द्रा विभिन्न किसिमका हुन्छन् । गहिराईका आधारमा निद्रालाई हलुका निद्रा, गहिरो र आरामदायी निद्रा तथा आँखाको गेडी हल्लिने निद्रा गरी तीन किसिममा बाँड्न सकिन्छ । खासगरी यी विभिन्न निद्रा हामी सुतेको बेलामा एकपछि अर्काे हुदै चक्रीय रुपमा आइरहेका हुन्छन् । हलुका निद्रामा कसैले वोलेको थाहा पाएर झसंग उठिन्छ । आँखाको गेडी हल्लिने निद्रामा पनि यस्तै अनुभव हुन्छ । तर जव गहिरो निद्रामा परेपछि केही थाहा हुँदैन । यस्तो निद्रालाई भाते निद्रा पनि भनिन्छ ।  मस्तिस्कको आरामकालागि यो अति आवश्यक छ । मानव शरीरको स्वास्थ्यकालागि करिब ६ घन्टा निद्राको आवश्यकता पर्छ । वालक तथा विरामीलाई लामो निद्रा आवश्यक पर्छ । कहिलेकाहिँ १ दिनको निद्रा विथोलिएमा अर्काे दिन यसले असर देखाउँछ । त्यसैले एक दिनको निद्राले ७ दिन पिरोल्छ पनि भन्ने गरिन्छ ।

 धेरै मानिस आफूलाई निद्रा कम पर्ने गरेको गुनासो गर्छन् । कसैलाई ओछ्यानमा पुगेपछि निद्रा लाग्न घण्टौ कुर्नुपर्छ ।  कोही चाहिँ चाँडै निदाउने गरे पनि बीचमा व्यूँझने गर्छन्, कसै कसैलाई निदाएर उठेपछि फेरि निदाउन गाह्रो हुन्छ । यसले गर्दा भोलिपल्टसम्म फुर्तिलो देखिँदैन । कोही निकै वढी निदाउने गर्छन् । कसै कसैलाई दिउँसो वढी निद्रा लाग्ने, निद्राले गर्दा काम गर्न गाह्रो हुने, पढ्न नसक्ने र पटकपटक कार्य स्थलमै निदाउने हुन्छ ।

 कसैकसैलाई निद्रामै शरीर चलाउन नसक्ने पनि हुन्छ । यो अवस्थामा अचानक निद्रावाट मानिस व्यूँझन्छ । त्यतिबेला आत्तिने वा सपनाकै कारण  डराइरहने हुन्छ । त्यसबेला शरीर चलाउन सकिँदैन, वोल्न पनि सकिँदैन, त्यसैले निसासिए जस्तो लाग्छ । केही मिनेटपछि सपनाले पूरै छाडेपछि मात्रै बोल्न सक्ने हुन्छ र शरीर चलाउन सकिन्छ । यो अवस्थालाई सामान्य भाषामा ऐंठन परेको र गाउँघरमा वोक्सीले छलेको भन्ने गरिन्छ । वास्तवमा यो सही होइन, यो निद्राको अवस्थामा देखिने प्यारालाइसिस हो जुन १–२ मिनेट मात्र रहन्छ ।

 यो समस्या बाहेक निद्रामा डराउने, आत्तिने, चिच्याउने, नराम्रो सपना देख्ने, भोलिपल्ट कुनै कुरा सम्झन नसक्ने हुन्छ । कोही कोही निदाएको वेलामा घरवाट वाहिर निस्कने र हिँड्ने गर्छन् । उनीहरु धेरै हिँडिसकेपछि मात्र चेत आउने र फेरि घर फर्कने गर्छन् । कसैकसैलाई निदाएको वेलामा पिसाव छुट्ने गर्छ भने कोही निद्राको वेलामा बर्बराउने, दाँत चपाउने, निद्रामा धुर्ने, खुट्टा हल्लाउने आदि गतिबिधि थाहै नपाइ गरिरहेका हुन्छन् ।


धेरै मानिसमा उमेर ढल्कदै जाँदा निद्रा कम पर्ने हुन्छ । राती निद्रा नपर्नु अत्यन्त पीडादायी हुन्छ । मनमा अनेकौ कुरा खेल्छन् र दिमागले आराम पाउँदैन । छटपटी हुन्छ र वारम्बार पिसाव फेर्नुपर्ने हुन्छ । डर लाग्छ, पेट पोल्छ, खानामा अरुची हुन्छ, पसिना आउँछ र शरीरका मांशपेशी दुख्छन् । भोलिपल्ट मन कमजोर हुने र शरीर स्वस्थ्य नहुने हुन्छ । धेरै मनोरोगका विरामीहरु आफ्नो निद्रा गडवड भएको वताउँछन् । कतिपय स्वस्थ व्यक्ति पनि  निद्रा नपर्नाले शारीरिक समस्या देखिएको बताउँछन् ।

 निद्रा लगाउने उपाय

 सुत्ने कोठा शान्त र हल्ला नहुने खालको हुनुपर्छ । बिहान उठेर दैनिक रुपमा शारीरिक व्यायाम गर्ने, दिउँसो नसुत्ने, सुत्नु अगाडि चिया, कफी नपिउने गर्नाले पनि निद्राको समस्याबाट मुक्ति पाउन सकिन्छ ।  त्यस्तै वढी वा ज्यादै कम खानाले पनि निद्राको  समस्या देखिन्छ । त्यसैले बेलुकाको खाना सन्तुलित रुपमा खाने गर्नुपर्छ । जहिले पनि एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ । निद्रा लाग्ने वेलामा मात्र ओछ्यानमा जाने र जाँड रक्सी सेवन नगर्ने बानीले पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

 डिप्रेसन रोगका बिरामी गहिरो निद्रा नपरेको वताउँछन् । उनीहरु डरलाग्दो सपना देखेर आत्तिन्छन् । मेनिया रोगमा २ घण्टा सुते पनि उनीहरुलाई निद्रा पुग्छ । विरामी राति पनि टिभी हेरिरहने, कराउने र यताउता हिँड्ने गर्छन् । सिर्जाेफेनियाका विरामी रातभरी यताउता डुल्छन् र दिउँसो सुत्छन् । सन्तुलित भोजन र शारीरिक व्यायाम गर्ने मानिस राति राम्रोसँग निदाउँछन् । एक प्रकारको छारेरोग लागेका बिरामी अचानक ओछ्यानवाट खस्ने, शरीर कडा हुने, तन्किने, मुखवाट फिँज काढ्ने र १५ मिनेटपछि फेरि उठ्ने गर्छन् । एन्जाइटी डिसअर्डर भन्ने रोगका विरामी अँध्यारोमा डराउँछन । झ्यालढोका लगाउँदा आफू निसासिएजस्तो ठान्छन् । डराएर एक्लै वस्न सक्दैनन् । पुरानो अन्धविश्वासले गर्दा रात वढ्दै जाँदा भूत, वोक्सी आदि आउँछ  भनेर डराउँछन् । तर त्यस्तो केही भएको हुँदैन । कोही निद्रामा वेसरी घुर्ने गर्छन् । मोटो शरीर, कम शारीरिक व्यायाम र रक्सी सेवनले गर्दा प्रायः यस्तो भएको हुन्छ । रात लामो हुँदा शरीरको मेलाटोनिन भन्ने हर्माेन वढी प्रवाह हुँदा जाडो महिनामा कसैमा डिप्रेसन रोग देखिएको छ । सामान्य निद्रा नपर्दैमा औषधि लिनु हुँदैन । औषधिबिना गरिने उपचार सफल नभए मात्र औषधि प्रयोग गर्नुपर्छ । चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्नु हुँदैन ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live