फिचर

कर्णालीमा अस्पताल नपुग्दै जान्छ बिरामीको ज्यान, तीन महिनाका यी ७ घटना

रमेश रावल

मुगुको सोरुबाट बिरामी बोकेर सदरमुकाम ल्याइँदै


मान्मा (कालीकोट)- कर्णालीका ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकी भए पनि दक्ष स्वास्थ्यकर्मीको अभाव र भौगोलिक कठिनाइका कारण समयमै उपचार नपाएर बर्सेनी बिरामीको ज्यान जाने गरेको छ।

कर्णालीका प्रायः ग्रामीण क्षेत्रबाट जिल्ला अस्पताल पुग्न दुईदेखि चार दिनसम्म लाग्ने गर्छ। यहाँका कतिपय बिरामीले अस्पतालको मुखसमेत देख्न पाउँदैनन् भने कतिपयले बाटोमा ल्याउँदा–ल्याउँदै ज्यान गुमाएका घटना प्रसस्त छन्। 

कालीकोटका चन्द्रप्रसाद कोइराला भन्छन्, ‘कर्णालीमा स्वास्थ्य सेवाको पहुँचमा नपुग्दै कयौँ बिरामीले ज्यान गुमाउँछन्।’

गाउँमा भएका स्वास्थ्य चौकी जीर्ण छन्। ती स्वास्थ्यचौकी पनि कार्यालय सहयोगीका भरमा सञ्चालन हुने गरेको कालीकोट नरहरीनाथ गाउँपालिकाका औषधि पसल सञ्चालक किशोरकुमार रावलले बताए। ‘कर्णालीका स्वास्थ्य संस्थाहरुको स्थिति कतिसम्म दयनीय छ भने एक जना करार अनमीको भरमा सञ्चालित हुन्छ,’ उनले भने, ‘सरकारी स्वास्थ्य चौकी आफैँ बिरामी अवस्थामा छ। त्यहाँको स्वास्थ्य सेवाप्रति स्थानीयमा विश्वास नै छैन। केही रुढीवादी सोचले पनि बिरामीलाई स्वास्थ्य संस्था लैजान ढिलाइ हुने गर्छ।’ 

‘स्थानीय स्वास्थ्य चौकीमा आवश्यक परेका बेला दक्ष जनशक्ति पनि हुँदैनन् र उपचार सेवा भरपर्दो छैन। कतिपय बिरामीले निजी मेडिकलहरुमा सामान्य औषधोपचार गर्छन्,’ जुम्ला सोरु गाउँपालिका–४ का नरवीर राउत भन्छन्, ‘स्वास्थ्यकर्मीले रिफर गरेर जिल्ला अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै बाटोमा नै बिरामीको मृत्यु हुनेगर्छ।’

कालीकोटको फोइमहादेवमा जीर्ण अवस्थामा रहेको स्वास्थ्य चौकी


कर्णालीको भौगोलिक कठिनाइका कारण बिरामीलाई आकस्मिक स्वास्थ्य सेवा दिन पनि हवाई एम्बुलेन्सको व्यवस्था हुनुपर्ने कर्णाली विकास आयोगका सदस्य कृष्णप्रसाद आचार्य बताउँछन्। ‘स्वास्थ्य संस्था टाढा भएकै कारण धेरैको अकालमा ज्यान जान्छ। हवाइ एम्बुलेन्स भयो भने यो समस्यालाई धेरै घटाउन सकिन्छ,’ उनी भन्छन्, ‘गाउँमा रहेका स्वास्थ्य चौकीहरुमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी पठाउन र आवश्यक औषधि गाउँगाउँमा नै पाउने व्यवस्था मिलाउन सरकारले पहल गरोस्।’ 

उनले कर्णालीको स्वास्थ्य सेवाप्रति दुःख पोख्दै भने, ‘स्वास्थ्य चौकी छन्, स्वास्थ्यकर्मी छैनन्। औषधि छैनन्। अब कर्णालीमा हवाई एम्बुलेन्स चाहिन्छ। अनि मात्र यहाँका बिरामीको ज्यान जोगाउन सकिन्छ।’

विगत तीन महिनामा कर्णाली क्षेत्रमा उपचारका लागि अस्पताल पुर्याउन ढिलाइ हुँदा ज्यान गुमेका १० घटना यस्ता छन्ः

घटना–१ः असार ३० गते कालीकोटको तिलागुफा नगरपालिका ११ कि हरिशोभा विकलाई सुत्केरी ब्यथाले च्याप्यो। सुत्केरी ब्यथाले च्यापेपछि उनलाई जसोतसो अस्पताल पुर्याइयो। तर अस्पताल ल्याउन ढिला भएका कारण उनले मृत्युवरण गरिन्। 

घटना–२ः साउन ६ गते कालीकोटकै रास्कोट नगरपालिका–७ कि २० वर्षीया बिन्दा लुवार घरमै सुत्केरी भइन्। अत्यधिक रक्तस्राव भएपछि उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।

घटना–३ः मुगु सोरु गाँउपालिका–६ का ३२ वर्षीय हर्क लावडको पेट दुखेपछि स्थानीयले उपचारका लागि जिल्ला अस्पताल ल्याउन खोजे, तर उनलाई अस्पतालसम्म पुर्‍याउनै पाएनन्। उनले बाटोमै प्राण त्यागे। 

घटना–४ः मुगु सोरु गाँउपालिका–२ का हिक्मतनाथ योगीले पनि यस्तै नियति भोग्नुपर्‍यो। उनको शरीरमा देखा परेको घाउखटिराको उपचार गर्न जिल्ला अस्पताल गमगढी ल्याउँदै गर्दा उनको पनि बाटोमै ज्यान गयो।

घटना–५ः मुगु सोरु गाउँपालिका–९ का सिद्ध जैशीलाई आफन्तले अस्पतालसम्म पुर्‍याउन पाएनन्। उनले पनि गत हप्ता उपचारका लागि अस्पताल जाँदै गर्दा बाटोमै ज्यान गुमाए।

घटना–६ः जेठ १३ गते जुम्ला तिला गाउँपालिका–३ लुम्सेराकी २७ वर्षीया ज्ञानु भट्टराईको सुत्केरी गराउन जिल्ला अस्पताल पुर्‍याउँदा–पुर्‍याउँदै बाटोमै मृत्यु भयो। 

घटना–७ः साउन १५ गते रास्कोट नगरपालिका–६ की गोरिकला फर्साललाई घरमा सुत्केरी ब्यथाले च्याप्यो। उनलाई जिल्ला अस्पताल कालीकोटमा पुर्‍याइयो। जिल्ला अस्पतालले जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिदियो। उनी स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्न पाइनन्। उनले बाटोमै संसार त्यागिन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live