फिचर

कर्णालीमा एम्बुलेन्स चलाउँदाको यस्तो सास्ती

img

दुर्गा दुलाल

कर्णाली भन्नेबित्तिकै विकट भूगोल र कठिन दिनचर्या सबैको आँखामा आउँछ । यो भूगोलमा स्थानीयले जति कष्ट खेप्दै जीवनयापन गर्छन्, स्वास्थ्य सेवा लिन उत्तिकै चुनौती मोल्नुपर्छ । यस्तो ठाउँमा भिरालो पाखा छिचोलेर गाउँघर पुग्नुपर्ने भएकाले एम्बुलेन्स चालकले झेल्ने सास्ती झन् कम हुने कुरै भएन ।

जुम्लाको खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एम्बुलेन्स चालक खामबहादुर भण्डारीले यस्तै जोखिमसँग खेल्दै काम गरिरहेका छन् । एम्बुलेन्स चालक भएयताको उनको साढे तीनवर्षे अनुभवले भन्छ, जीवन जोखिमले भरिएको अक्कर भिर हो, त्यो भिर कुशलतापूर्वक छिचोल्नुमै असली मजा छ ।

तर, कर्णालीका पहिरो खस्ने जोखिमयुक्त सडकमा एम्बुलेन्स चलाइरहँदा खामबहादुरलाई मजाभन्दा पनि चुनौतीले बेस्सरी गाँज्ने गर्छ । जुम्लाको कर्णाली गुठीचौर ५ निवासी उनलाई कर्णालीका जिल्लाहरुको हरेक पाखा, पर्वत र सडक पूर्वाधारको अवस्था राम्ररी थाहा छ ।

एम्बुलेन्स सेवामा समयको निकै महत्व हुन्छ । गम्भीर अवस्थाका बिरामीलाई सही समयमा स्वास्थ्य संस्था पुर्‍याउन सकिएन भने ज्यानै समेत जान सक्छ । तर, पहिरो खस्ने ढुंगेनी सडकको बाहुल्य रहेको कर्णाली जस्तो ठाउँमा एम्बुलेन्सले बिरामीलाई द्रुत रुपमा अस्पताल पुर्‍याउनु त्यति सजिलो छैन ।

त्यस्तो जोखिमको बाटोमा पनि खामबहादुरले बिरामी र आफ्नो ज्यान हत्केलामा राखेर बिरामीलाई यथासम्भव चाँडै अस्पताल पुर्‍याउने गरेका छन् । साढे तीन वर्षको अवधिमा उनले कति बिरामी ओसारे, निको भएका कति बिरामीलाई घर पुर्‍याए, उनीसँग कुनै हिसाब छैन । यति भन्छन्, ‘आफूले अस्पताल पुर्‍याएका बिरामी निको भएर घर फर्किँदा आनन्द लाग्छ ।’

एम्बुलेन्स चालक भएपछि व्यक्तिगत जीवन नहुने उनको अनुभव छ । जुनसुकै बेला बिरामी लिन जानुपर्ने भएकाले चौबीसै घण्टा तम्तयार भएर बस्नुपर्छ । चाडपर्व, परिवार र आराम भन्न पाइँदैन । कतिसम्म भने, परिवारका सदस्य बिरामी हुँदा पनि छोडेर उनी रातबिरात हिँडेका छन् । मध्यरातमा मस्त निद्रामा हुँदा एउटा फोनकलले ब्युँझिएर उनी एम्बुलेन्स हुइँक्याउन तयार हुन्छन् ।

उनको यस्तो दैनिकी देखेर घर–परिवार दिक्क हुन्छन् । तर, उनी भने आफ्नो पेशागत जिम्मेवारीमा अविचलित छन् । घरका मान्छेले ‘यस्तो काम छाडिदे’ भनेर सम्झाउँदा उनी परिवारलाई उल्टै सम्झाउँछन्, ‘बिरामीहरुको उद्दार गर्ने सेवामूलक पेशामा लागियो, धर्म भनेको यही त हो नि !’

उनले आफ्नो पेशाका दुःख सुनाउँदै भने, ‘कति पटक घरमा खान ठिक्क परिएको हुन्छ, फोनको घन्टी बज्छ । सिकिस्त बिरामी परेर फोन गर्नेलाई निराश पार्नु त भएन । आफ्ना कारण कसैको जीवन बाँच्छ भने किन दुःख नगर्ने ?’

यही सोचले उनी बिरामीको ज्यान बचाउन जुनसुकै बेला जहाँसुकै पुग्नुपर्छ भनेर घरमा हुँदा समेत तयारी अवस्थामा हुन्छन् ।

भौगोलिक विकटताको कारण एम्बुलेन्स चलाउने क्रममा उनले खेप्नुपरेको हैरानी झन् सम्झिसाध्य छैनन् । त्यसैले ती अनगिन्ती घटनालाई उनले सम्झनामा त्यति साह्रै सुरक्षित राख्न सकेका छैनन् ।

उनले सिंगो एकदिन लगाएर बिरामी लिन गएको अनुभव गरेका छन् । बिरामी ल्याउँदा गाडी फसेर रातभरि बाटोमै बसेको अनुभव पनि छ । ग्रामीण भेगबाट सदरमुकामको अस्पतालसम्म गर्भवतीलाई ल्याउने क्रममा एम्बुलेन्समै सुत्केरी भएको पनि उनी सम्झिन्छन् ।

‘दुःख त कति भयो कति, दुर्गममा एम्बुलेन्स चलाउन सजिलो कहाँ छ र’ उनी भन्छन् ‘जति दुःख भए पनि एम्बुलेन्स चालकको पेशा यस्तै हो भनेर आफैंलाई सम्झाउने गरेको छु ।’

खामबहादुरलाई सबैभन्दा धेरै खुसी कुन समयमा लाग्छ त ?

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा आबद्ध भएर गाउँ–गाउँबाट बिरामी ओसार्दा उनले पुण्यको काम गरेको महसुस गरेका रहेछन् । बिरामीहरुको बाँच्ने आसमा केही सिँढी थप्न सकेकोमा उनी सन्तुष्ट छन् ।

एम्बुलेन्स चालक भएर कमाएको खुसी साट्दै भने, ‘जब सिकिस्त भएर बाँच्ने आस असाध्यै कम भएको बिरामी अस्पतालबाट आफैं ठमठम हिँडेर धन्यवाद है बाबू भनेर घर फर्किन्छ । त्यो बेला धेरै खुसी लाग्छ । राम्रो पेशामा लागेको रहेछु भनेर गर्व लाग्छ ।’

आफ्नो कारण उनीहरुले नयाँ जीवन पाए भनेर आफूलाई भाग्यमानी सम्झिन्छन् ।

बिरामी बोक्न उनी जुम्लाका साथै कर्णालीका अन्य जिल्ला हुम्ला, कालिकोट र डोल्पाका गाउँघर पनि पुगेका छन् । 

'कर्णालीका जिल्लाहरुमा जहाँ–जहाँ बाटो पुगेको छ, सबै ठाउँ पुगेको छु', उनले गर्वका साथ सुनाए, 'अलिअलि बाटो खनेको बाटोमा पनि ढुंगा पन्छाउँदै गएर बिरामी ल्याएको छु ।’

उनले अहिलेसम्म एम्बुलेन्समा विभिन्न प्रकृतिका बिरामी बोकेका छन् । भीरबाट खसेर अंगभंग भएका घाइतेदेखि मानसिक सन्तुलन गुमेकासम्मलाई सेवा दिइसके । एक पटक कर्णालीको सिञ्जाबाट मानसिक सन्तुलन ठीक नभएका बिरामी ल्याउँदा बिरामीले उनीमाथि आक्रमण गरेका थिए ।

खामबहादुरले एम्बुलेन्समा अहिले दिनमा सरदर ४ जना बिरामी बोक्ने गर्छन् । कहिलेकाहीँ यो संख्या वृद्धि हुँदा उनलाई दौडधुपमा गाह्रो पर्छ । केही सातायता प्रतिष्ठानमा उनी एक्ला चालक भएका छन् । उनको गुनासो छ, कहिलेकाहीँ पालो दिने साथी चालक भइदिए हुन्थ्यो ।

यस्तो सोच्नुको कारण पनि उनीभित्र बिरामीकै चिन्ता रहेछ । भने, ‘साथी भएमा आफूलाई सञ्चो नहुँदा पनि बिरामीले सेवा पाउने थिए ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live